क्यारिबियनमा जिका भाइरसको ठुलो त्रास र संकट

“#Trinidad मा चिकुनगुन्याले मृत्यु” चाँडै नै “जिकाले मृत्यु” मा पुन:नामाकरण हुन सक्नेछ। जर्जिया पोपलवेलद्वारा तस्वीर CC BY-NC-SA 2.0 लाइसेन्स अन्तर्गत प्रयोग गरिएको।
ब्राजीलियन स्वास्थ्य निकायहरुले आफ्नो देशमा धेरै लामखुट्टेको संख्या भएको क्षेत्रमा असमान्य रुपले ठूलो परिमाणमा माइक्रोसेफाली देखेपछि जिका भाइरसले क्यारिबियनमा आंशिक आकस्मिक भय मच्चाइरहेको पाइएको छ। माइक्रोसेफाली भन्नाले स्नायु विकासमा गड्बडी हुनु हो जसले गर्दा भर्खरै जन्मेका बच्चाहरुको टाउकोको परिधी सामान्य भन्दा सानो हुन्छ। ब्राजीलले लामखुट्टेबाट सर्ने जिका भाइरस र भ्रूण-मस्तिष्कमा हुने क्षतिको प्रकोपबीच सम्बन्ध देखाएको छ र पछि चिकित्सकहरुले सो भाइरसले भ्रूण विकासमा ब्यापक असर गरिराखेको हुन सक्ने सुझाव दिएका छन् । अपेक्षित रुपमा सो भाइरस साउथ अमेरिका भन्दा बाहिर फैलिरहेको छ।
क्यारिबियन द्वीपसमूहको सबैभन्दा दक्षिणी टापुहरु त्रिनिडाड एन्ड टोबागोमा यस भाइरसले गर्दा राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गरिएको छ।
#Caribbean #News: The post Trinidad declares health emerge… https://t.co/W7BdOdfTqQ
— Le JAKO de l'île! (@TwitJAKO) January 31, 2016
#Caribbean #News: त्रिनिडाडले जिका भाइरसले गर्दा स्वास्थ्य संकटकाल घोषणा गरेको छ।
त्यस्तै अरु ठाउँहरुमा जहाँ भाइरसको त्रास छ, त्यहाँ महिलाहरुलाई गर्भवती नहुन सुझाव दिइएको छ। तर जुन क्षेत्रमा गर्भनिरोधकको सीमित पहुँच हुन्छ अथवा न्यून आय आर्जन भएका वर्गहरुले यसलाई कम प्राथमिकता दिएका हुन्छन् र जहाँ धार्मिक आस्थाले प्राय: कृत्रिम जन्म नियन्त्रणमाथि निर्णायक भूमिका खेल्दछ, त्यहाँ यो सधैंको लागि रोकथामको उचित तरिका होइन।
यद्यपि, त्रिनिडाड एन्ड टोबागोले यस समस्या विरुद्ध अग्रसकृय नीति लिईरहेको देखिन्छ। यी जुम्ल्याहा टापु गणराज्यहरुभरि यो रोग फैलाउने एडिज एजिप्टी लामखुट्टेको व्यापकताको सामना गर्न रयापिड रेस्पोन्स युनिट्स (तीव्र प्रतिकृया गर्ने एकाईहरु ) स्थापित भईरहेका छन्। व्यापक रुपमा नफैलिएको आवासीय समुदायहरुमा लामखुट्टेको संख्या नियन्त्रण गर्न औषधि छर्कने प्रकृया तीव्र गरिनेछ। यस देशका स्वास्थ्य मन्त्रीले कार्निभल मौसममा सबै प्रमुख कार्यक्रम स्थलहरु स्प्रे गर्न आदेश दिनुभएको छ, तथापि उहाँले प्रवेशद्वारहरुमा आगन्तुकहरुलाई भाईरस जाँच गर्न सम्भव नरहेको जनाउनुभयो। यसको सट्टा उहाँले लामखुट्टेको टोकाइबाट बच्न सावधानि अपनाउन तथा घरवरिपरि लामखुट्टे प्रजनन् हुन नदिन प्रेरित गर्नुभयो ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले जिका भाइरस विश्वव्यापी स्वास्थ्य संकटकालको रुपमा स्थापित भएको घोषणा गरेको छ:
Zika-linked disease is WHO emergency https://t.co/NVSsGyLIcM #Caribbean #LatAm
— ISLAND SWAG (@islandswagco) February 1, 2016
जिकासम्बद्ध रोग विश्व स्वास्थ्य संगठनको लागि संकटकाल हो
बार्बाडोस अण्डरग्राउण्ड ब्लगमा, कामि होल्डरले देशको स्वास्थ्य निकायहरुद्वारा जिका त्रासविरुद्ध लिइएका कदमलाई “सुस्त” संज्ञा दिएर खेद प्रकट गर्दै अतिथि पोष्टमा लेखे:
जिका हामी वरिपरि छ र साथसाथै US CDC (रोग नियन्त्रण तथा रोकथाम केन्द्र) ले यसको प्रकोप भएका देशहरु विरुद्ध यात्रा परामर्श जारी गरिरहेको छ। दुर्भाग्यवश, धेरैले यो लामखुट्टेबाट सर्ने रोगले वयस्कमा पक्षघात पनि भइराखेका छन् भनी जानकारी गराइरहेका छैनन्। आशा गरौं, केही दिनमा सुस्त र उदासीन निर्णयकर्ताहरुले अग्रसकृय कदमको महत्व बुझ्नेछन्। मेरो विचारमा तिनीहरुले काम बिग्रिसकेपछि कार्य थाल्न पर्खिरहेका छन्।
वैज्ञानिकहरु आजभोलि स्नायुमा गड्बडी हुने र पक्षघात पनि गर्नसक्ने गिलेन ब्यारी (Guillain-Barré) रोगसँग जिका भाइरसको सम्बन्ध छ या छैन भनेर अनुसन्धान गरिरहेका छन्।
धेरै टाढा द्वीपसमूहसँगै उत्तरमा रहेको डोमिनिकन गणतन्त्रका ब्लगर ब्याबेटले लामखुट्टेबाट सर्ने चिकुनगुन्या भाइरसले उनलाई दुर्बल बनाएको कुरा सम्झिइन:
मलाई साँच्चै नै चिकुनगुन्या लागेदेखि सञ्चो छैन।
त्यो लगभग दुई वर्ष हुनु पर्छ […] कसैले भविश्यवाणी गरे जस्तै मेरा जोर्नीहरुको दुखाइले साँच्चै नै छाडेको छैन।
डोना ग्लोरिया, २५ वर्षको मेरी छिमेकी, बजार जाने क्रममा मेरो अपार्ट्मेन्टको भुँई तलामा गजबारको अगाडि रोकिन्छिन् र हामी आ-आफ्ना नाडी रगड्छौँ र गोलीगाँठोको बारेमा गुनासो गर्छौँ।
जिकाको खतरा बारेमा उनले लेखिन्:
अब अर्को भाइरस आउने क्रममा छ। जसले नवजात शिशुहरुलाई आक्रमण गर्छ [sic]। जिका नाम गरेको। यसले तिनीहरुका टाउकोलाई सानो बनाइदिन्छ। महिला र केटीहरुलाई गर्भवती नहुन भनिएको छ।
तर पोपको दुतको अधीनमा रही यहाँ नियमहरु लागु गर्ने क्याथोलिक चर्चले गर्भनिरोधक उपाय प्रयोग गर्न निषेध गर्दछ (ए हो, के तपाईं तिनीहरुले प्रयोग गर्छन् भन्ने सोच्नुहुन्छ? के लक्का जवानहरुले तिनीहरुको पैसा ल्याटेक्समा खर्च गर्छन्? के तिनीहरु वर्षाती लगाएर स्नान गर्छन्? एकपल्ट फेरि सोच्नुहोस्)
र गर्भपतन निषेधित छ [….]
रोग फैलिने डर र गर्भाशयमै रहेका बच्चाहरुमा यसबाट हुने खतराका कारण विभिन्न देशहरुले यात्रा परामर्श जारी गरिरहेका छन्। विभिन्न प्रादेशिक प्रान्तको मुख्य आर्थिक आधार पर्यटन भएको हुनाले यसले गर्दा क्यारेबियनको पर्यटनमा गम्भीर नकरात्मक असर पार्न सक्दछ। हाल यस भाइरसका लागि कुनै उपचार तथा खोप उपलब्ध छैन।