कुनै समयमा नेपालको तराईमा अधिकांश घरहरू बाँस र माटाका भित्ता भएका र टायल वा परालले छाएका हुने गर्दथे। खास गरेर पूर्वी नेपालका थारू समुदायका घरहरूका माटाका भित्ता मोख कलाले सजिएका हुन्थे। तर परम्परागत घरहरू भत्काई पक्की घर बनाउने होडका कारण यो सुन्दर कला लोप हुने अवस्थामा पुगेको छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ५० प्रतिशतभन्दा बढी घरहरू सिमेन्टका भित्ता भएका छन् भने ३० प्रतिशत जति इट्टा वा ढुंगा र माटोको गारो लगाएका छन्। नेपालमा जम्मा ३० प्रतिशत घर बाँसका भित्ता भएका छन् भने ३.९ प्रतिशत परालले छाएका र ९.२ प्रतिशत घर टायलले छाएका छन्।
पुस्तौँदेखि चली आएको मोख कला
नेपालका पूर्वी जिल्ला सुनसरी र मोरङमा थारूहरूले लेसिलो माटो, भुस, गोबर, पराल तथा सनपाट मुछेर घरका भित्तामा सुन्दर आकृतिहरू बनाउँछन् जसलाई मोख कला भनिन्छ।
यस युट्युब भिडियोमा देखाएझै खास गरेर महिला कलाकारले माटो र सनपाट मिसाउँछन्। भित्तामा माटोको तह तह थप्दै सुगा तथा मयूरजस्ता चराचुरुङ्गीसमेत भएका विभिन्न ज्यामितिय तथा पुष्प आकृति बनाइन्छन्। सुकिसकेपछि यी आकृतिलाई प्राकृतिक रंगले रंगाइन्छ। हाल प्राकृतिक रंगका सट्टामा बजारमा पाइने रासायनिक रंग प्रयोग गरिन्छ।
त्यसै गरेर, सप्तरी, सिराहा तथा उदयपुर जिल्लाहरूमा कलाकारहरूले माटोमा भुस, गोबर मिसाएर बाँसको भित्तामा परालसमेत हालेर तह तह थप्दै जान्छन्। यसै क्रममा विभिन्न ज्यामितिय तथा पुष्प आकृतिका साथै सुगा, मयूर र हात्ती आदि पनि बनाउँछन्। सुकिसकेपछि प्राकृतिक सेतो माटोले लिपेर अन्य प्राकृतिक रंग लगाइन्छ जस्तै कि रातो र पहेलो माटो तथा भाडाँको पिँधमा जमेको कालो रंग। यस किसिमको मोख कलालाई पाइर भनिन्छ।
ब्लगर लेक्स लिम्बूले एक्स (पहिलेको ट्वीटर) मा गरेको पोस्टः
Beautiful mokha artwork on the walls of Saptariya Tharu family homes in Goigada. More: https://t.co/FMIFMGDedN #Tharu #Mokha #Art #SaptariyaTharu #PurviTharu #Nepal pic.twitter.com/4fkgveilvP
— lexlimbu (@lexlimbu) July 9, 2023
गोइगडा (घोइंघदाहा?) का सप्तरीया थारूका घरका भित्तामा बनाइएका सुन्दर मोख कला। थपः
यो कला, यसको प्रविधि, प्रक्रिया, यसका अवयव तथा बुट्टा, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भई आएका हुन्। खास गरेर महिलाहरूले आफ्ना आमा र हजुरआमाबाट यो कला सिक्ने गरेका छन्।
“यो कला ग्रामीण परिवारमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भएको हो, तर सधैँ महिला मात्रले गरी आएका चाहिँ हैन,” ३०० भन्दा धेरै थारू गाउँमा चार वर्षजति बिताएका लेखकद्वय कुर्त मेयर र पामेला दुएल लेख्छन्। “उनीहरूलाई के ‘ठिक’ र के ‘बेठिक’ भन्ने न कुनै विद्यालय न कुनै कला महाविद्यालय वा कुनै शिक्षक नै हुन्छन्, त्यसैले हामी यस कलालाई ‘कलाकार बिनाको कला’ भन्छौ।”
घरका झ्याल र ढोका सजाउने कला
चाडपर्व तथा विवाहजस्ता विशेष समारोहमा घरका भित्ता सजाउनका लागि मोख र अन्य चित्र बनाइन्छन्। “मोख ढोकाका दायाँ र बायाँतिर बनाइन्छ भने झ्यालको चारैतिर बनाइन्छ,” थारू लोककला नामक पुस्तकमा लेखक विष्णु प्रसाद चौधरी लेख्छन्। “सनपाट र कपास मोख बनाउने माटोमा मिसाउँदा बुट्टाहरू चर्किदैनन्।”
साथै रंगमा दूध मिसाउँदा रंग चाडो उड्दैन। महिला कलाकारहरूले घरका खम्बालाई पनि मोख कलाले सजाउँछन्।
“अहिले पनि राम्रा मोखले सजाएका घरमा भाग्यमानी महिला बस्छन् भन्ने बुझाइ छ,” कलाकार एस सी सुमन लेख्छन्। “मोख भएको घर समृद्ध हुन्छ। थारूहरूमाझ मोख नभएको घरबाट हरेक दिन आधा किलो धान हराउने विश्वास रहिआएको छ।”
आधुनिकताको मारमा परम्परागत कला
सुनसरी जिल्लाको लबिपुरकी प्रमिला विश्वास उनकी सासू झलैया विश्वासले बनाएको मोख कला गौरवका साथ देखाउँछिन्। “हाम्रो गाउँमा धेरैजसो घरहरू मोख कलाले सजिएका हुन्थे,” ग्लोबल भ्वाइससँगको अन्तरवार्तामा विश्वासले भनिन्। “तर परम्परागत घरहरूको ठाउँ पक्की घरहरूले लिदै गर्दा हामीसँग मोख कलाले सजिएका केही घरमात्र बाँकी रहेका छन्।”
“नगरपालिकाले बाटो चौडा गरिरहेकोले केही दिनमै मेरो घरमा रहेको मोख हराएर जाने छ,” त्यहिँ गाउँकी किश्नी माझीले भनिन्।
मोख बनाउने जटिल पक्रिया र यसलाई राम्रो अवस्थामा राखिरहन कठिन परिश्रम चाहिने भएकोले धेरैले यसलाई निरन्तरता नदिई पक्की भित्ता बनाउने गरेका छन्। यसको सुन्दरता कायम राख्न पटक पटक रंगरोगन गर्नु पर्ने हुन्छ।
“हामी हाम्रो घरमा रहेको मोख कलालाई जस्ताको त्यस्तै राखिराख्ने छौं,” दुहबीका होम नारायण चौधरीले भने। “तर हाम्रा छोराछोरीले राख्छन् कि राख्दैनन् भन्न सक्दैनौं।”
लबिपुरका घरहरूमात्र होइन तराईमा रहेका धेरैजसो थारू घरहरूको पनि त्यही हाल रहेको छ। यस सुन्दर कलालाई संरक्षण गर्न कुनै कदम नचालिएमा मोख कला सदाको लागि हराएर जाने छ।