गाजा युद्धको जड

अक्टोबर १०, २०२३ मा गाजा पट्टीमा इजरायली हवाई हमलापछि अल-रिमाल आसपास भत्किएका भवनहरू र भग्नावशेषको दृश्य। फोटो- मोहम्मद जानौन। अनुमति लिएर प्रयोग गरिएको।

इजरायल-प्यालेस्टाइन द्वन्द्व एउटा अत्यन्त जटिल र लामो समयदेखि चलिरहेको विवाद हो, जुन हिंसा, हताहत र विस्थापनको इतिहासद्वारा स्थापित छ, जसले मुख्य रूपमा प्यालेस्टिनी नागरिक, ऐतिहासिक रूपमा प्यालेस्टाइन भनेर चिनिने मूलवासीहरूलाई असर गर्छ। सन् १९४८ मा इजरायल राज्यको स्थापना भएसँगै मानचित्रमा एउटा छुट्टै देशको रूपमा यो ऐतिहासिक राष्ट्रको अस्तित्व समाप्त भयो।

वर्षौंदेखि गिजोलिएको यस द्वन्द्वमा जारी घटनाक्रमहरू विस्तृत रूपमा बुझ्नका लागि बृहत् ऐतिहासिक सन्दर्भका साथै समसामयिक कारकहरू दुवैलाई विचार गर्नुपर्ने हुन्छ।

पछिल्लो द्वन्द्व कसरी भयो?

अक्टोबर ७, २०२३ मा गाजा पट्टीको लडाकु समूह, इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले लामो समयदेखि गाजा पट्टी वरपर रहेको इजरायलको सुरक्षा घेरा तोड्यो, जुन क्षेत्र १६ वर्ष भन्दा बढी समयदेखि इजरायलको कठोर नाकाबन्दीमा रहेको छ। गाजा पट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेपछि आसपासका इजरायली सहरहरूमा हमासले अकस्मात् आक्रमण सुरु गर्योबदलामा इजरायलले गाजा पट्टीमा भीषण हवाई आक्रमण गर्यो।

इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी द्वन्द्वमा ठूलो मानवीय क्षति भएको छ, दुवैतर्फ ३,००० भन्दा बढीको ज्यान गएको छ र १०,००० भन्दा बढी घाइते भएका छन्। दु:खद मृत्यु र अत्यधिक संख्यामा घाइतेका अलावा, द्वन्द्वले सामूहिक विस्थापन र दैनिक जीवनमा गम्भीर व्यवधान पनि खडा गरेको छ।

अक्टोबर ८, २०२३ मा इजरायली मन्त्रिपरिषद्ले हमास विरुद्ध युद्धको आधिकारिक घोषणा जारी गर्यो, तर यसको प्रभाव गाजामा बसोबास गर्ने सम्पूर्ण नागरिकले महसुस गरेका छन्। एक दिनपछि, इजरायलका रक्षा मन्त्री योह्याभ ग्यालान्टले गाजामा “पूर्ण नाकाबन्दी को आदेश दिए, “त्यहाँ विद्युत् आपूर्ति हुने छैन, खाद्यान्न आपूर्ति हुने छैन, इन्धन आपूर्ति हुने छैन, सबै आपूर्ति बन्द हुने छ।”

सामान्यतया सामूहिक दण्डको रूपमा लिइने नाकाबन्दीले अत्यावश्यक वस्तुहरूको मौजूदा आपूर्ति रोक्छ र गाजा पट्टी भित्र फसेका २५ लाख भन्दा बढी नागरिकको जीवनलाई खतरामा पार्छ।

मिडिया आउटलेट जेविस करेन्ट्सका अनुसार “अक्टोबर ९ मा अन्तर्राष्ट्रिय कानुन विशेषज्ञहरूले नरसंहारको रूपमा पहिचान गरेको अमानवीय भाषा प्रयोग गर्दै ग्यालान्टले भने-हामी मानवरूपी जनावरहरूसँग लडिरहेका छौं र तदनुसार काम गरिरहेका छौं।”

गाजामा युद्ध निम्त्याउने आधारभूत कारणहरू के थिए?

पूर्वी भूमध्यसागरको तटमा रहेको एन्क्लेभ गाजाको दक्षिणपश्चिममा इजिप्ट र पूर्व र उत्तरमा इजरायलको सिमाना छ। २००७ देखि इजिप्टको समर्थनमा इजरायलले गाजामा निरन्तर जल, थल, तथा हवाई नाकाबन्दी गर्दै आइरहेको छ। मानव अधिकार संगठनहरूले अक्सर यसलाई “दुनियाँको सबैभन्दा ठूलो कारागार” भनी उल्लेख गर्छन्। यो नाकाबन्दीले उक्त एन्क्लेभमा बसोबास गर्ने २३ लाख प्यालेस्टिनीहरूलाई सामूहिक रूपमा दण्डित गर्छ।

इजरायलले गाजामा जीवनका आधारभूत पक्षहरूमा नियन्त्रण राख्छ, जसमा खाद्यान्न, पानी, स्वास्थ्य उपकरण आपूर्तिका साथै गाजालाई बाहिरी संसारसँग जोड्ने स्थलमार्ग आवागमन समावेश छ। वर्षौंदेखि इजरायलले प्यालेस्टिनी नागरिकहरूको जीवनप्रति कुनै परवाह नराखी लगातार गाजा पट्टीमा बमबारी गरेको छ, ती कतै जाने ठाउँ नभएकाले त्यहाँ फसेका छन्।

ह्युमन राइट्स वाचको रिपोर्टमा भनिएको छ “यस नाकाबन्दीले गाजाको अर्थतन्त्रलाई ध्वस्त पारेको छ, प्यालेस्टिनी नागरिकको विभाजनमा सघाउ पुर्याएको छ, र लाखौं प्यालेस्टिनीहरू विरुद्ध रङ्गभेद र उत्पीडन इजरायली अधिकारीहरूले गरेको मानवता विरुद्धको अपराधको हिस्सा बनेको छ।”

इन्फोग्राफिक-भिजुअलाइजिङ प्यालेस्टाइनCC BY-NC-ND 4.0 DEED अन्तर्गत प्रकाशित गरिएको।

यसबाहेक, इजरायलले सेना र यहुदी आप्रवासीको जारी घुसपैठलाई समर्थन गरेर प्यालेस्टिनीहरूलाई नाकाबन्दी गर्न, विस्थापित गर्न, हत्या गर्न, र कैद गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। भेदभावपूर्ण कानुन र अभ्यासले रङ्गभेदी प्रणालीको निर्माण गर्छ जसले प्यालेस्टिनीहरूलाई प्रत्यक्ष असर पुर्याउँछ।

इस्लामको तेस्रो-पवित्र स्थल अल-अक्सा मस्जिदको नाममा हमासले अपरेशनलाई “अल-अक्सा स्टर्म” नाम दिएको छ। एसोसिएटेड प्रेसका अनुसार, हमासले इजरायलको गाजामाथिको १६ वर्षदेखिको नाकाबन्दी, अल-अक्सा मस्जिदमा हिंसाका घटनाहरू, वेस्ट बैङ्कमा इजरायली हमलाहरू, प्यालेस्टिनीहरू विरुद्ध बढ्दो आक्रमण, र यहुदी बस्ती विस्तार लगायतका आक्रमणका धेरै कारणहरू उल्लेख गरेको छ।

इजरायली अखबार हारेट्जको सम्पादकीयमा इजरायली पत्रकार गिडोन लेवीले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु परिस्थितिको सबैभन्दा बढी जिम्मेवार रहेको बताए। यद्यपि, उनले यो पनि स्वीकार गरे कि यो स्थिति “नेतान्याहुबाट सुरु भएको थिएन र उनी हटेपछि समाप्त हुनेछैन।” अहिलेका घटनाहरू इजरायलका क्रियाकलापहरू र प्यालेस्टिनीहरू विरुद्ध दशकौं लामो भेदभावपूर्ण नीतिहरूको विनाशकारी परिणाम हुन् भनी लेवीले औंल्याए।

शनिबार, पहिलेदेखि नै गाजाको सम्पूर्ण इलाका नष्ट गर्ने, गाजापट्टी कब्जा गर्ने, र गाजालाई दण्ड दिने बारेमा कुरा चलिरहेको थियो “यस्तो दण्ड कि पहिले कहिल्यै गाजालाई यसरी दण्डित गरिएको थिएन।” तर इजरायलले गाजालाई सन् १९४८ देखि एक पलको लागि पनि दण्ड दिन छोडेको छैन।

दुर्व्यवहारको ७५ वर्ष पछि, सबैभन्दा खराब सम्भावित परिदृश्य गाजाले फेरि पर्खिरहेको छ। “गाजालाई ध्वस्त पार्ने” धम्कीले केवल एउटा कुरा प्रमाणित गर्छ: स्थिति परिवर्तन भएको छैन।

गाजाको मानवीय अवस्था अहिले कस्तो छ?

गाजाको अवस्था तीव्र रूपमा खस्कँदो छ।

गाजामा इजरायलको निर्मम र निरन्तर हवाई बमबारी सातौं दिनमा प्रवेश गरेको छ, जसको परिणामस्वरूप सम्पूर्ण इलाकामा विनाशकारी विध्वंस भएको छ। प्यालेस्टिनीहरू मानवीय त्रासदीको सबैभन्दा खराब अवस्थामा फसेका छन्, व्हाइट फस्फोरस जस्ता अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित युद्ध-सामग्रीको प्रयोग र निरन्तर गोलाबारीबाट सुरक्षित रहनको लागि शरण खोज्ने कतै ठाउँ छैन। इजरायलले प्यालेस्टिनीहरूलाई थप दुर्दशाको अवस्थामा पुर्याएको छ, सबै प्रवेश नाकालाई बन्द गरेको छ र गाजालाई इजिप्टसँग जोड्ने एकमात्र मार्गलाई बारम्बार निशाना बनाएको छ।

पिउने पानी र खाद्यान्नको अभावसँगै गाजापट्टीका नागरिकहरूले अन्धकारमय अवस्था भोग्नु परेको छ। स्थल आक्रमणले पहिलेदेखि नै भयावह मानवीय अवस्थालाई थप बढाउनेछ।

ह्युमन राइट्स वाचका इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले जारी द्वन्द्वको बीचमा गाजालाई खाद्यान्न र विद्युतबाट वञ्चित गर्ने इजरायली रक्षा मन्त्रीको अभिव्यक्तिको आलोचना गरे।

इजरायली रक्षामन्त्री ग्यालान्टको अभिव्यक्ति निन्दनीय छ। कब्जा गरिएको क्षेत्रको नागरिकलाई खाद्यान्न र विद्युतबाट वञ्चित गर्नु सामूहिक रूपमा दण्डित गर्नु हो, जुन युद्ध अपराध हो, भोकभोकै राख्नु युद्धको हतियारको रूपमा प्रयोग गर्नु जस्तै हो। युद्ध अपराध गर्न उक्साउने यो आह्वानलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले ध्यान दिनुपर्छ।

शाकिरले बन्धकहरूको हत्या गर्ने हमासको चेतावनीको पनि आलोचना गरे, उनले भने:

हमासको सशस्त्र समूहद्वारा बन्धकहरूको हत्या गर्ने चेतावनी निन्दनीय छ। त्यस्ता धम्कीपूर्ण कार्यहरू स्पष्ट युद्ध अपराध हुन्। अन्तर्राष्ट्रिय फौजदारी अदालतले बन्धक बनाउने र क्रूर व्यवहारप्रति कुनै पनि आरोपको अनुसन्धान गर्नुपर्छ। सबै बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गरिनुपर्छ।

शुक्रबार, १३ अक्टोबर २०२३, इजरायलले ११ लाख प्यालेस्टिनीहरूलाई गाजा पट्टीको दक्षिणतिर जानको लागि आदेश जारी गर्यो।एसोसिएटेड प्रेस (एपी) का अनुसार, “यदि आदेश कार्यान्वयन भएमा यस क्षेत्रको सम्पूर्ण जनसंख्या ४०-किलोमिटर (२५-माइल) लामो गाजा पट्टीको दक्षिणी आधा भू-भागमा कोचिएर बस्नु पर्नेछ।” यद्यपि,संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले भने “विनाशकारी मानवीय परिणामहरू” बिना यस्तो निष्क्रमण असम्भव छ।”

संक्षेपमा, द्वन्द्वको ऐतिहासिक मूल कारण के हो?

इन्फोग्राफिक-भिजुअलाइजिङ प्यालेस्टाइनCC BY-NC-ND 4.0 DEEDअन्तर्गत प्रकाशित गरिएको।

इजरायल-प्यालेस्टाइन द्वन्द्व ​​सन् १९१७ को बालफोर घोषणा सँगै सुरु हुन्छ, उक्त घोषणामा बेलायतले प्यालेस्टिनी अरबहरूको बाहुल्यता भएतापनि प्यालेस्टाइनमा यहुदीका लागि मातृभूमि स्थापना गर्ने आश्वासन दिएको थियो। 

बढ्दो तनाव र प्रतिरोधले सन् १९३६ देखि १९३९ सम्म अरब विद्रोह भयो, कठोर ब्रिटिश दमनको सामना गर्यो, जसमा दण्डस्वरूप घरहरू ध्वस्त पार्ने र गाउँहरूमा हवाई बमबारी गर्ने कार्यहरू समावेश थिए – जुन रणनीति इजरायलले आजसम्म प्रयोग गर्दछ।

सन् १९३० को दशकको अन्त्यतिर, ब्रिटिश अधिकारीहरूले यहुदी आप्रवासीहरूसँग मिलेर सशस्त्र समूहहरू निर्माण गर्न काम गरे जुन पछि गएर इजरायली सेना बन्यो। सन् १९४७ सम्म प्यालेस्टाइनमा यहुदीहरूको जनसंख्या बढेर ३३% भएको थियो, तर उनीहरूले ६% भूमिमा मात्रै कब्जा जमाएका थिए । संयुक्त राष्ट्र संघले प्यालेस्टाइनलाई अरब र यहुदी राज्यहरूमा विभाजन गर्ने प्रस्ताव राख्दै संकल्प प्रस्ताव १८१ पारित गर्यो।

यहुदी पारामिलेटरीले सन् १९४८ मा “नकवा” (महासंकट) भनी नामाकरण गरिएको सैन्य कारबाही सुरु गरे, जसले नरसंहार र ५०० भन्दा बढी प्यालेस्टिनी सहरहरूको विनाश निम्त्यायो। करिब ७५०,००० प्यालेस्टिनीहरू विस्थापित भए।

इजरायलले सन् १९६७ मा ६ दिने युद्धपछि वेस्ट बैङ्क, गाजापट्टी, पूर्वी जेरुसेलम, गोलान हाइट्स र सिनाई प्रायद्वीपका बाँकी प्यालेस्टिनी भू-भागहरू कब्जा गरेको थियो। 

सन् १९८७ र सन् १९९३ को बीचको पहिलो “इन्तिफादा” (विद्रोह) इजरायली कब्जाको बिरूद्ध विरोध र बहिष्कारको साथ सुरु भयो, अन्ततः हमासको गठन भयो। प्रतिक्रियास्वरूप इजरायलले दमन, गिरफ्तारी र विनाश गर्न थाल्यो।

पहिलो इन्तिफादा सन् १९९३ मा ओस्लो सम्झौता सँगै समाप्त भयो, जसले सीमित स्व-शासनको साथ प्यालेस्टिनी प्राधिकरण (PA) को गठन गर्यो। दुई राज्यको समाधान अधुरो रह्यो । 

सन् २००० मा, एरियल शेरोनको अल-अक्सा मस्जिद भ्रमणको कारण व्यापक हिंसा फैलियो र दोस्रो इन्तिफादा सुरु भयो। प्रतिक्रियास्वरूप इजरायलले प्यालेस्टिनी प्राधिकरणद्वारा शासित क्षेत्रहरू पुन: कब्जा गर्‍यो, एक अलग पर्खाल निर्माण गर्न थाल्यो, र थप यहुदी बस्ती विस्तार गर्‍यो।

इजरायलले सन् २००७ देखि गाजामा नाकाबन्दी गर्दै आएको छ, सन् २००८, २०१२, २०१४, र २०२१ , मा गाजा पट्टीमा सैन्य आक्रमणहरू गरेको थियो, जसको परिणामस्वरूप गाजामा उल्लेखनीय रूपमा मानवीय र पूर्वाधारको क्षति भयो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.