विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले कोप २७ प्रायोजन गर्दैछ। यो प्रायोजन विवादास्पद छ

नदीमा कोका-कोला प्लास्टिकका बोतलहरू। तस्वीर विकिपीडिया (CC BY-SA 4.0)

विडम्बना यो छ कि विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक कोका-कोलाले नोभेम्बर ६-१८ सम्म इजिप्टको शर्म एल शेखमा हुने विश्वको सबैभन्दा ठूलो वार्षिक जलवायु सम्मेलन कोप २७ प्रायोजन गर्दैछ। 

यस वर्षको कोप २७ शिखर सम्मेलनको बारेमा आलोचना गर्नु पर्ने धेरै मुद्दाहरू (जस्तै इजिप्टको मानवअधिकार हनन र नागरिक समाजमाथि प्रतिबन्ध) भएतापनि कोका-कोलाको प्रायोजन अत्यन्तै विवादास्पद छ र यसले वातावरणीय र प्लास्टिक विरोधी अभियानलाई पनि बाधा पुर्‍याउन सक्छ।  

इजिप्टले सेप्टेम्बरको अन्त्यमा प्रायोजन सम्झौताको घोषणा गर्‍यो र कोकले तुरुन्तै प्रभावकारी विज्ञापन कब्जा गर्‍यो । कोका-कोला ग्लोबल उपाध्यक्ष, सार्वजनिक नीति तथा दिगोपनाका माइकल गोल्जम्यानले भने: “कोप २७ साझेदारी मार्फत कोका-कोला प्रणालीले जलवायु परिवर्तन विरुद्ध सामूहिक कार्यलाई समर्थन गर्ने लक्ष्य राखेको छ।”

तर अभियन्ताहरू निष्पक्ष रूपमा लडिरहेका छन् — र विरोध बढ्दै छ।

लज्जास्पद। सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक @CocaCola ले @COP27P प्रायोजन गर्दैछ😡

९९ प्रतिशत प्लास्टिक जीवाश्म इन्धनबाट बनेको हुन्छ । यो साझेदारीले प्रायोजन गर्न खोजेको कार्यक्रमको उद्देश्यलाई कमजोर बनाउँछ।

— Greenpeace (@Greenpeace) September 30, 2022

नागरिक समाज संगठन क्लीन अप केन्याले यस कदमलाई “घृणित” भन्यो र केन्यामा प्लास्टिकको बोतलको फोहोर लगभग आधा कोकको बोतल हुने उल्लेख गर्‍यो।

युगान्डा जलवायु कार्यकर्ता र संयुक्त राष्ट्र संघ मानवीय मामिला समन्वय कार्यालय राजदूत न्योम्बी मोरिसले बीबीसीलाई भने: “जब प्रदूषकहरू जलवायु वार्तामा हावी हुन्छन्, हामीले राम्रो नतिजा प्राप्त गर्दैनौं। एक अफ्रिकी अभियन्ताको रूपमा मलाई चिन्ता छ कि हाम्रा धेरै तालहरू फेरि प्लास्टिकले भरिनेछन्।”

न्यून आय भएका देशका बासिन्दाहरूको कोकसँग असन्तोष प्रकट गर्ने जायज कारणहरू छन्। कर्पोरेट दिग्गजले न्यून र मध्यम आय भएका देशहरूमा आफ्नो उत्पादन केन्द्रित गर्न अर्बौं डलर खर्च गरेको छ तर उत्पन्न हुने फोहोर व्यवस्थापन गर्न पर्याप्त पूर्वाधारहरू छन् भन्ने सुनिश्चित गर्न विरलै कुनै प्रयास गर्छ।

प्लास्टिक प्रदूषणले उल्लेखनीय रूपमा प्रभावित देश इन्डोनेसियाले यसको प्रत्यक्ष अनुभव गरेको छ। इन्डोनेसियन वेस्ट प्लेटफर्मको संस्थापक तथा निर्देशक नीना भ्यान टुलोनका अनुसार “जहाँबाट पनि घण्टौं लाग्ने यहाँको सबैभन्दा दुर्गम गाउँमा तपाईँ जानुभयो भने त्यहाँ पानी र कोकको बोतल देख्नुहुन्छ। तर गाउँका मानिसहरूले जलाउँछन्। यी कम्पनीहरूले आफ्ना उत्पादनहरू गाउँहरूमा पुर्‍याउने प्रयास गरेका छन्, तर तिनले गाउँबाट प्लास्टिक फिर्ता ल्याउन प्रयास गर्दैनन्।”

संयुक्त राष्ट्र संघलाई कोका-कोलालाई प्रायोजकको रूपमा हटाउन माग गर्ने change.org याचिका अक्टोबरमा तयार गरिएको थियो र अहिलेसम्म २३६,००० भन्दा बढी हस्ताक्षर संकलन भएको छ। आयोजकले याचिकाको साथ निम्नलिखित टिप्पणी पोस्ट गर्‍यो: 

I was a delegate at COP26 in Glasgow. Most days I felt despair – some days I cried. The infiltration of corporations into the conference was sickening – the collected CEOs of the world's biggest polluters, brazenly lobbying politicians to protect their interests and inflate their profits, telling us how we could save the planet if we bought more of their stuff.

COP conferences are supposed to be gatherings of national leaders, engaged in urgent negotiations to prevent climate change, not a multi-million dollar jamboree for corporate polluters and their lobbyists.

The UNFCCC must stop receiving corporate sponsorship today – starting with ejecting Coca-Cola as sponsor of COP27.

म ग्लासगोको कोप २६ मा प्रतिनिधि थिएँ। प्राय: सबै दिन मैले निराशा महसुस गरे — कुनै दिन म रोएँ। सम्मेलनमा कर्पोरेट घुसपैठ दु:खदायी थियो — संसारका सबैभन्दा ठूला प्रदूषकहरूका एकत्रित भएका प्रमुख कार्यकारी अधिकृतहरू राजनीतिज्ञहरूलाई उनीहरूको हितको रक्षा गर्न र आफ्नो मुनाफा बढाउन निर्लज्जताका साथ पैरवी गर्दै थिए, यदि हामीले उनीहरूका उत्पादनहरू खरिद गरेमा ग्रहलाई कसरी बचाउन सकिन्छ भनी हामीलाई बताउँदै थिए।

कोप सम्मेलनलाई जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर प्रभावलाई कम गर्ने विषयमा वार्ता गर्न संलग्न भएका राष्ट्र प्रमुखहरूको भेला हुने सम्मेलन मानिन्छ, प्रदूषणकारी कम्पनीहरू र उनीहरूका प्रचारकका लागि करोडौं डलरको समारोह होइन।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिले अब कर्पोरेट प्रायोजन बन्द गर्नुपर्छ — कोका-कोलालाई कोप २७ को प्रायोजकको रूपमा हटाएर यसको सुरुवात गर्नुपर्छ।

कम्पनीले आफू वातावरण-मैत्री रहेको झूटो दावी गरिएको यो एउटा उत्कृष्ट उदाहरण हो — कोका-कोलाले आफ्नो ब्रान्डलाई प्रवर्द्धन गर्न र वातावरणीय आन्दोलनसँग आफूलाई जोड्न पाउँछ, जसले गर्दा यस्तो लाग्छ कि कोका-कोला समस्याको प्रमुख जड नभएर यो समाधानको हिस्सा हो। 

वास्तवमा गैर सरकारी संस्था ब्रेक फ्री फ्रम प्लास्टिकको २०२१ ब्रान्ड अडिट रिपोर्टले कोला-कोला लगातार चार वर्षदेखि विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक भएको फेला पारेको छ। र यद्यपि २०२२ को रिपोर्ट आउन अझै बाँकी छ, यो वर्ष पनि कोला-कोला विश्वको सबैभन्दा ठूलो प्लास्टिक प्रदूषक बन्ने सम्भावना छ।

सन् २०१९ मा कम्पनीले एक वर्षमा ३० लाख मेट्रिक टन प्लास्टिक प्याकेजिङ प्रयोग गरेको स्वीकार गर्‍यो। यसले हरेक वर्ष १२० बिलियन एकल-प्रयोग प्लास्टिक बोतलहरू पनि उत्पादन गर्दछ।

पर्यावरण अभियन्ता जोन होसेभर, ग्रीनपीस युएसए ओशन अभियान निर्देशक भन्छन्— प्रायोजनले “प्रायोजन गर्न खोजेको कार्यक्रमको उद्देश्यलाई कमजोर पार्छ।” उनी अगाडि भन्छन् “कोका-कोलाले वार्षिक १२० बिलियन प्लास्टिकका बोतलहरू उत्पादन गर्छ — र ९९ प्रतिशत प्लास्टिक जीवाश्म इन्धनबाट बनाइन्छ, जसले प्लास्टिक र जलवायु संकट दुवैलाई बढाउँछ।” 

कोका-कोलाको प्लास्टिक समस्या

यस वर्षको फेब्रुअरीमा कोका-कोलाले २०३० सम्ममा आफ्नो प्लास्टिक उत्पादनलाई २५ प्रतिशतले घटाउने व्यापक जलवायु प्रतिज्ञा गरेको थियो; यद्यपि, यसका लागि कुनै ठोस योजना जारी गर्न असफल भएको छ र अहिलेसम्म वास्तविक समाधानहरू खोज्नु भन्दा आफ्नो ब्रान्ड वातावरण-मैत्री भएको झूटो दावी गर्नमा अधिक रुचि लिएको देखिन्छ।  

ब्रेक फ्री फ्रम प्लास्टिकले आफ्नो २०२१ को प्रतिवेदनमा २०१९ मा कोका-कोलाले विज्ञापन र मार्केटिङमा ४.२४ बिलियन अमेरिकन डलर र आफ्नो वातावरणीय पहलहरू — नदी सफाइ कार्यक्रममा १ करोड १० लाख डलर मात्र लगानी गरेको पत्ता लगाएको छ। यो प्लास्टिक प्रदूषणबाट प्रभावित समुदायमा सफाइ गर्ने एक वास्तविक प्रतिबद्धताको साटो उत्पादनको प्रचार हो भन्ने यसले देखाउँछ। प्रतिवेदनमा भनिएको छ:

The best way for Coca-Cola to address its plastic footprint is by producing less of it in the first place, not by cleaning it up once it is already in the environment. Top plastic polluters like Coca-Cola would rather spend money on greenwashing instead of redesigning their product packaging or system of delivering their products to consumers. By failing to take real action to address the problem at source, these corporate polluters are passing the burden to those least responsible for the climate and plastic crises — especially young people, low-income communities, and countries in the Global South.

कोका-कोलाको प्लास्टिक फुटप्रिन्टलाई सम्बोधन गर्ने सबैभन्दा राम्रो तरिका भनेको सर्वप्रथम यसको उत्पादन कम गर्नु हो, सफा गरेर होइन, यो पहिले नै वातावरणमा छ। कोका-कोला जस्ता ठूला प्लास्टिक प्रदूषकहरूले आफ्नो उत्पादन प्याकेजिङ्ग वा उपभोक्ताहरूलाई आफ्ना उत्पादनहरू पुर्‍याउने प्रणालीलाई पुन: डिजाइन गर्नुको साटो उत्पादनहरू वातावरण-मैत्री भएको झूटो दावी गर्नमा पैसा खर्च गर्छन्। समस्याको जड सम्बोधन गर्न वास्तविक कदम चाल्न विफल भएर यी कर्पोरेट प्रदूषकहरूले जलवायु र प्लास्टिक संकटका लागि कम जिम्मेवार व्यक्तिहरूलाई बोझ दिइरहेका छन् – विशेष गरी युवा पिँढी, न्यून आय भएका समुदायहरू र ल्याटिन अमेरिका, एशिया, अफ्रिका र ओशिनिया क्षेत्रका देशहरूमा।

र प्रमाणले मात्र ब्रेक फ्री फ्रम प्लास्टिकको दावीलाई पुष्टि गर्दछ। द इन्टरसेप्टद्वारा प्रकाशित एक अनुसन्धान प्रतिवेदन र रहस्योद्घाटन गर्ने भिडियो रेकर्डिङ अनुसार दशकौंसम्म कोका-कोलाले अमेरिकामा प्लास्टिक नियन्त्रण नीतिहरू विरुद्ध पैरवी गरेको थियो जुन नीतिहरूले कम्पनीहरूलाई उनीहरूले उत्पादन गर्ने प्लास्टिकको फोहोरको लागि जवाफदेही बनाउँथे। पुनः प्रशोधन विरोधी कानुनमा लाखौं खर्च गरियो र कुनै पनि जवाफदेहितालाई कडाइका साथ प्रतिरोध गरियो। भिडियो निन्दनीय छ र ठूला कर्पोरेटहरूको सन्दर्भमा पैरवीले कसरी काम गर्छ भन्ने कुराको दु:खद दृश्य प्रस्तुत गर्दछ — अर्को शब्दमा पैसा शक्ति हो र शक्ति प्रभाव हो भन्ने देखाउँछ।

यदि हामीले दिगोपनाको दिशामा दीर्घकालीन परिवर्तनहरू गर्ने हो भने यो प्रणालीलाई परिवर्तन गर्न आवश्यक छ। कम्पनीहरू उत्सर्जनको आफ्नो जिम्मेवारीबाट पन्छिन सक्षम हुनु हुँदैन। यदि जलवायु भविष्यवाणी सही छ भने हामीसँग (आशावादी रूपमा) जलवायु प्रकोपलाई रोक्न लगभग नौ वर्ष समय छ। यसका लागि प्रदूषक कम्पनीहरूले आफ्नो व्यापारिक मोडेललाई आमूल परिवर्तन गर्न आवश्यक छ — वा हामी नागरिकहरूले यसलाई तिनका लागि रूपान्तरण गर्न आवश्यक छ र वातावरणीय प्रतिबद्धताहरू केवल कर्पोरेट मार्केटिङ उपकरणको रूपमा देख्ने कम्पनीहरूलाई अस्वीकार गर्न आवश्यक छ। 

जबसम्म कोका-कोला ठोस दिगोपना योजना सहित इमानदारीताकासाथ वार्ताको टेबलमा आउँदैन, तबसम्म यसलाई जलवायु समाधानको प्रदायकको रूपमा गम्भीरताका साथ लिनु हुँदैन — र निश्चित रूपमा वर्षको सबैभन्दा ठूलो वातावरणीय सम्मेलनलाई प्रायोजन गर्नु हुँदैन। आजसम्म, कोका-कोला फर्निचरको चमकदार हरियो आकर्षक सतह जस्तै ग्राहकहरूलाई लोभ्याउन प्रयास गर्ने अर्को कम्पनी हो।

यदि कोप २७ आयोजकहरू र संयुक्त राष्ट्र संघका अधिकारीहरूले जलवायु परिवर्तन विरुद्धको लडाइँमा भिन्नता ल्याउन चाहन्छन् भने उनीहरूले कडा अडान लिनेछन् र कोका-कोलाको प्रायोजनलाई अस्वीकार गर्नेछन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.