पिंकी श्रीस रानाको यो लेख प्रथम पटक नेपाली टाइम्समा प्रकाशित भएको थियो र ग्लोबल भ्वाइसेजसँगको सामग्री साझेदारी सम्झौता अन्तर्गत सम्पादित संस्करण पुन: यहाँ प्रकाशित गरिएको छ।
इतिहासले प्रमुख पात्रहरूलाई सदैव पहिचान गर्दैन जो यसको हिस्सा रहेका हुन्छन्। नेपालका गोर्खा सैनिकहरूको इतिहास पनि अपवाद छैन। गोर्खा सैनिकहरूलाई सबैभन्दा दक्ष, दुर्जेय, र बहादुर सिपाहीको रूपमा चिनिन्छ, जो ऐतिहासिक रूपमा बेलायती सेनामा कार्यरत थिए र आज पनि स्वदेश तथा विदेशमा सेवा गरिरहेका छन्।
खाकी बर्दी, टोपी र खुकुरी-भिरेर लडाइँमा प्रस्थान गर्ने बहादुर सैनिकहरू शताब्दीयौंदेखि नेपालको विगतको हिस्सा हुन्। विडम्बना, नेपाल वा विदेशमा बसोबास गर्ने यी सैनिकहरूका लुँगी लगाउने श्रीमतीहरू इतिहासको बिर्सिएका पानाहरूमा अलपत्र परेका छन्। उनीहरूको कठिन संघर्ष र अमूल्य योगदानलाई धूमिल बनाइएको छ र बेवास्ता गरिएको छ।
पछिल्लो समय गोर्खा सैनिकका श्रीमतीका अनुभवलाई अभिलेखीकरण गर्ने स्वागतपूर्ण प्रयासले कमजोरी सच्याउने प्रयास भएको छ। कलाकार सुजाना थापा श्रीसको हालै सम्पन्न चित्रकला प्रदर्शनी गोर्खा वुमन: एन इको इन द स्टोरीले गोर्खा सैनिकका श्रीमतीका जीवनकथालाई चित्रकलाबाट प्रस्तुत गरेर यो कमीलाई पूरा गर्न मद्दत गरेको छ।
“जतिबेला गोर्खा सैनिकहरू युद्ध लड्दै थिए, उनीहरूका श्रीमतीहरू एक्लै घरपरिवारको जिम्मेवारी वहन गर्दै थिए, ती गुमनाम थिए,” २९ वर्षीय थापा श्रीस भन्छिन्। “आफ्नो सीमित आर्थिक स्रोत र साधनको बावजूद लाहुरे (विदेशमा सेवा गर्ने नेपालीहरू) बनेका परिवार र छोराहरूलाई हुर्काउन सफल भए। उनीहरूको योगदान असीमित छ।”
गुल्मी जिल्लाको आफ्नो पुर्ख्यौली गाउँ भार्सेका गोर्खा सैनिकहरूको जीवनलाई झल्काउने भार्सेली गोर्खा: कथादेखि चित्रसम्मको पहिलो प्रदर्शनीपछि थापा श्रीसले गोर्खा सैनिकका श्रीमतीहरूलाई पनि महत्त्व दिनुपर्ने आवश्यकता महसुस गरेकी छन्।
पूर्व भारतीय गोर्खा सैनिककी नातिनी थापा श्रीसलाई आफ्नो परिवारको ऐतिहासिक विरासत बारे बाल्यकालदेखि नै परिचित गराइएको थियो। उनी बुटवलमा आफ्ना हजुरबा हजुरआमासँग लडाइँ र घर दुवै मोर्चाको कथा सुन्दै हुर्किएकी थिइन्।
उनका बाबा, पेशाले बागवानी व्यवसायी र लेखक, बमबहादुर थापाले आफ्ना पुर्खाहरूको बारेमा “भार्सेली गोर्खागाथा र सेरोफेरो” (गोर्खाहरूको इतिहास) पुस्तक लेखेका थिए। जब थापा श्रीसले आफ्नो परियोजना सुरु गरिन्, बाबा-छोरी जोडीले बाग्लुङ, गोर्खा, गुल्मी, कास्की, पाल्पा, रुपन्देही र सुनसरीका ७० वर्षभन्दा माथिका करिब ५० जना महिलासँग अन्तर्वार्ता लिए। उनीहरू सबै बेलायत, भारत, सिङ्गापुर र मलाया (अहिलेको मलेसिया) मा सेवा गरेका गोर्खा सैनिकका श्रीमतीहरू थिए ।
“गोर्खा इतिहासमा गोर्खाली सेनाका श्रीमतीहरूको पहिचान, जीवनका अनुभवहरू र उल्लेखनीय योगदानको खोजी गर्ने क्रममा परियोजनाले मूर्त रूप लियो,” उनी थप्छिन्। “उनीहरूको पहिचान र योगदान यस प्रदर्शनीको मुख्य उद्देश्य हो।”
थापा श्रीसले औपचारिक रूपमा कला कहिल्यै सिकेकी छैनन् तर चित्रमा उनको प्राकृतिक कौशल सबैले देख्न सक्छन्। नेपाल कला परिषद्मा नोभेम्बर २५ देखि २८ सम्म गरिएको प्रदर्शनीमा चित्रकला, तस्वीर, वृत्तचित्र र ध्वनिको माध्यमलाई समेटिएको थियो।
तर घटनाको मुख्य विशेषता भनेको दुई प्रकारका महिलाहरू चित्रण गर्ने आ-आफ्ना तस्वीरहरू सहितको मार्मिक कथाहरू थिए: नेपालमा रहेका र उनीहरूका श्रीमानहरू खटिएका विदेशी भूमिमा। अधिकांश जीविकोपार्जनको लागि संघर्ष गरिरहेका थिए – विशेष गरी विदेशी भूमिमा जहाँ उनीहरूले स्थानीय भाषा बोल्न जान्दैन थिए।
“गोर्खा सैनिकहरू सम्पन्न र सहज जीवन बिताउने कुरा सधैं सत्य होइन” भनी बमबहादुर स्पष्ट पार्छन्। “त्यस बेला पैसा पठाउने वा तत्काल सञ्चार सम्पर्क गर्ने कुनै माध्यम थिएन। यी साहसी महिलाहरू जसले आफ्नो जीवन आफैं हाँकिरहेका थिए।”
प्रदर्शनीमा ऐतिहासिक भिडियोले दर्शकहरूलाई विदेशमा बसोबास गर्ने व्यक्तिहरूको जीवनको झलक दिएको थियो, खामले भरिएको परम्परागत नेपाली झोला सहितको कलाकृतिले श्रीमान् श्रीमतीबीचको सञ्चार सम्पर्कको एक मात्र माध्यम हुलाक चिठीपत्रहरू थिए भनी चित्रण गरेको छ।
प्रदर्शनीको एउटा खण्ड हातको फोटोग्राफीमा समर्पित थियो जसको उद्देश्य यी महिलाहरूले आफैं हाँकिरहेका जीवनको उत्थानशीलता र भोगाइ देखाउनु हो। सबै फोटोमा महिलाहरूको बुट्टादार लुँगीमाथि (परम्परागत नेपाली स्कर्ट) राखिएका चाउरी परेका हातहरू थिए।
प्रदर्शनीमा गोर्खा महिलाका परम्परागत पहिरन र गरगहनाका साथै विगतमा यी आदिवासी समुदायले प्रयोग गर्ने काठका भाँडाकुँडा पनि राखिएको थियो । लुँगी, सुनको बेरुवा चुरा र लाहुरेनीको पर्यायवाची सुनको असर्फी औँठी पनि कला र तस्वीरमा प्रमुखतासाथ प्रदर्शन गरिएका थिए।
सुजानाका अनुसार “सुन युद्धकालको धेरै पछि आएको थियो।”
“सबै बोजुहरू (हजुरआमा) ले कमसेकम सुन लगाउन पाएकामा हर्षित रहेको सुनाएका थिए।”
बाबा-छोरी जोडीले अब सबै कथाहरूको लेखन कार्य गरेर पुस्तकको रूप दिने योजना बनाइरहेका छन्। बमबहादुरले भने, “हाम्रा गोर्खा महिलाहरूलाई प्रमुखता दिइएकामा मलाई खुशी लागेको छ। मेरी छोरीले यसमा काम गरिरहेकी छिन् भन्ने तथ्यले मलाई थप गौरवान्वित बनाउँछ।”