हिमचुलीहरू अनुमान गरेभन्दा छिटो पग्लिरहेका छन्

Imja Glacier near Mt Everest has turned into a big lake in the past 20 years. Photo: Kiril Rusev via Nepali Times. Used with permission.

सगरमाथा नजिकै रहेको इम्जा हिमनदी पग्लिएर विगत ३० वर्षमा ठूलो तालमा परिणत भएको छ । तस्वीर: किरिल रुसेभ-नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

यो आलेख प्रथम पटक नेपाली टाइम्समा प्रकाशित भएको थियो र ग्लोबल भ्वाइसेजसँगको सामग्री साझेदारी सम्झौता अन्तर्गत सम्पादित संस्करण पुन: यहाँ प्रकाशित गरिएको छ।

वैज्ञानिकहरूले हिमचुलीहरू पग्लिने चिन्ताजनक प्रतिवेदन सार्वजनिक गरेको चार वर्षपछि अहिले उनीहरूले यो समस्या पहिले सोचेकोभन्दा पनि गम्भीर भएको चेतावनी दिएका छन् ।

यो शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूले आफ्नो ८० प्रतिशतसम्म बरफको मात्रा गुमाउन सक्ने नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ, जसलाई हिमालयमा हिउँ, बरफ र पर्माफ्रोस्टको अहिलेसम्मको सबैभन्दा सही आकलन मानिन्छ। अध्ययन प्रतिवेदनले हिमालका लागि मात्र नभएर विश्वका अग्ला हिमालहरूको पानीमा निर्भर तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एसियाली देशका करिब २ अर्ब मानिसहरूका लागि गम्भीर परिणामहरू समेत उल्लेख गरेको छ।

काठमाडौं स्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले २०१९ मा हिन्दुकुश हिमालय मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनले अघिल्लो दशकको तुलनामा २०१० को दशकमा हिमालयका हिमनदीहरू ६५ प्रतिशत छिटो पग्लिएको उल्लेख गरेको छ। यो क्रम जारी रहेमा आगामी दशकहरूमा हिमनदीहरू पग्लिने गति तीव्र हुनेछ।

हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली (HI-WISE) प्रतिवेदनले नवीनतम वैज्ञानिक प्रगतिका आधारमा हिमालमा हिउँ, बरफ र पर्माफ्रोस्ट पग्लिँदा हिमालय जलाधार क्षेत्रको पानी, पारिस्थिकीय प्रणाली र समाजमा पार्ने प्रभावको विश्लेषण गर्दछ।

सहकर्मी-समीक्षा अध्ययनका अनुसार, विश्वको एक चौथाइ जनसंख्यालाई ताजा पानी आपूर्ति गर्ने र चार विश्वव्यापी जैविक विविधता प्राचुर्यस्थल रहेको हिन्दुकुश हिमालय क्षेत्रले गम्भीर परिणामहरूको सामना गरिरहेको छ।

HI-WISE प्रतिवेदनले शताब्दीको मध्यसम्ममा “पानी सङ्कट” को अनुमान गरेको छ, त्यस पश्चात् सिँचाइ, घरायसी उपयोग, उद्योग र जलविद्युतका लागि हिमालयबाट उत्पत्ति भएका नदीहरूमा सीमित पानी उपलब्ध हुनेछ। साथै, जलवायु परिवर्तनका कारण सिर्जित चरम मौसम अवस्थाले भौगर्भिक र पारिस्थितिक रूपमा संवेदनशील पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम पनि बढाउनेछ।

पश्चिम नेपालको साइपाल हिमालको दक्षिणी मोहडाले विगत १५ वर्षदेखि बरफ कम हुँदै गएको देखाउँछ। तस्वीर नेपाली टाइम्स। अनुमति लिएर प्रयोग गरिएको।

बंगलादेश स्थित जलवायु परिवर्तन तथा विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रका सलिम उल हक भन्छन्, “जलवायु निष्क्रियता तीव्र हुँदै गइरहेको छ।” “यस प्रतिवेदनले हिन्दुकुश-हिमालय (HKH) क्षेत्र जलवायु परिवर्तनको प्रभावबाट विशेष गरी जोखिममा रहेको देखाउँछ। हामीले यस क्षेत्र र यहाँका मानिसहरूको सुरक्षाको लागि तत्काल कदम चाल्नुपर्छ।”

प्रतिवेदनले संवेदनशील पहाडी क्षेत्रहरूमा पग्लने हिममण्डलको प्रभाव विशेष गरी तीव्र भएको र यसले पारिस्थितिक प्रणाली र जैविक विविधतामा व्यापक असर पार्ने बताएको छ।

“हिन्दुकुश हिमालय क्षेत्रको ६७ प्रतिशत पर्यावरण-क्षेत्र र ३९ प्रतिशत चार विश्वव्यापी जैविक विविधता प्राचुर्यस्थलहरू संरक्षित क्षेत्रहरू बाहिर भएकाले यस क्षेत्रको अद्वितीय जैविक विविधता विशेष गरी जलवायु परिवर्तनका प्रभावप्रति संवेदनशील रहेको” प्रतिवेदनमा चेतावनी दिइएको छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने लगभग २४ करोड मानिसहरू र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने एसियाका १६ देशका १ अर्ब ६५ करोड मानिसहरू हिमचुलीहरू पग्लिएपछि पानीको अभावबाट प्रभावित हुनेछन्। हिमाली क्षेत्रका कृषकहरूले चरम मौसम अवस्थाका कारण बाली नोक्सान, घाँसको अभाव र गाईवस्तु मर्ने जस्ता समस्याको सामना गरिरहेका छन्।

१२ देशका ३५ जना वैज्ञानिकहरूले तयार पारेको प्रतिवेदनले भन्छ, “प्रकोपहरू थप चुनौतीपूर्ण र विनाशकारी हुँदै गइरहेका छन्।”

प्रतिवेदनले विश्वको एक चौथाइ जनसंख्यालाई ताजा पानी उपलब्ध गराउने हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका आकस्मिक प्रभावहरूको लागि तयार रहन नीतिनिर्माताहरूलाई आग्रह गरेको छ। यसले अवश्यम्भावी, अल्पकालिक नोक्सान र क्षतिको लागि तत्काल अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगको लागि आह्वान गर्दछ, र समुदायहरूलाई अनुकूलन गर्न मद्दत गर्दछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.