हराउँदै गएका थारू परम्परागत चिकित्सक

रामदीन महतो, चितवननिवासी थारू परम्परागत चिकित्सक। फोटोः गौरवध्वज खड्का। अनुमतिमा प्रयोग गरिएको।

काठमाडौंदेखि लगभग १८० किलोमिटरको दुरीमा रहको पर्यटकीय शहर सौराहा शायदै सुस्ताउँछ। अनि त्यहाँका चोक र गल्लीहरू पनि। तर, नजिकै रहेको रत्ननगर बाघमाराका गल्लीहरू चाहिँ प्रायः सुनसान देखिन्छन्। त्यहिँ गल्लीका दुवैतिर छरपस्ट रहेका पक्की घरमध्ये अगाडि जडीबुटीको सानो बगैंचा र साइनबोर्ड झुन्डाइएको एकतल्ले घर परबाटै चिनिन्छ।

बोर्डले जनाएझै थारू हर्बल गार्डेन होमस्टेमा थरीथरीका जडीबुटी लगाइएका छन् — दुर्लभ तथा सर्वसुलभ पनि।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त टाइगर टप्स रिसोर्टमा २० वर्षभन्दा बढी नेचर गाइडका रूपमा काम गरेका रामदीन महतो अहिले थारू परम्परागत चिकित्सामा होमिएका छन्। उनी नजिकैका जिल्लाहरूमा रहेका थारू परम्परागत चिकित्सक गुरुवाहरूका ज्ञान बटुलेर अभिलेखिकरण गर्दैछन्।

“मेरो जिज्यूबुबा मांगर महतो, हजुरबुबा नाथु महतो र बुबा बिघाइ महतो — सबैजना गुरुवा हुनुहुन्थ्यो,” रामदीन भन्छन्। “उहाँहरू जडिबुटीका बारेमा धेरै जानकार हुनुहुन्थ्यो।”

उनले आँतका रोगदेखि निद्रासम्बन्धी रोगसम्मका प्राकृतिक उपचार आफ्नो कापीमा लेखिराखेका छन्। उनले उपचारमा प्रयोग हुने जडीबुटीका थारू र नेपाली नामका साथै अंग्रेजी र वैज्ञानिक नाम पनि उल्लेख गरेका छन्।

केही थारू परम्परागत चिकित्सक रहेका ठाउँ देखाउने नक्शा। स्टामेन डिजाइनद्वारा तयार पारिएको स्टोरीम्यापजेएस लिफलेट म्यापटाइल्स। डाटाः ओपनस्ट्रीट म्यापसिसि बिवाइ–एसए ३.०

तीन तहको थारू परम्परागत चिकित्सा प्रणाली

थारूहरू हरेक प्रकारका रोगव्याधिको उपचार आफ्नो तीन तहको चिकित्सा प्रणालीद्वारा गर्दछन् — जडीबुटीद्वारा, जडीबुटीका साथै मन्त्रको प्रयोग गरेर र मालिसमार्फत।

थारू भाषामा वैद्य वा वैद्यवा भनिने यी चिकित्सकहरू नजिकैका जंगलबाट जडीबुटी संकलन गरी तिनीहरूका विभिन्न भागहरूलाई प्रयोग गरी रोगव्याधि निको पार्दै आफ्नो परम्परालाई निरन्तरता दिँदैछन्। पूर्वी, मध्य र पश्चिमी नेपालमा क्रमशः धामी र गुरुवाका रूपमा चिनिने यी चिकित्सकहरूले रोग निको पार्न जडीबुटी र मन्त्र दुवैको प्रयोग गर्दछन्। साथै महिला सोहरैनियाहरूले प्रसूतिमा तथा मालिसद्वारा विभिन्न रोगहरू निको पार्न महत्वपूर्ण भूमिका खेल्दछन्।

यद्यपि हजारौं वर्षदेखि चलिआएको यो चिकित्सा प्रणाली लोप हुने अवस्थामा छ। केही बुज्रुक थारूहरूले मात्र यस परम्परालाई निरन्तरता दिएका छन्। नयाँ पुस्ताको चाहिँ यस प्रणालीप्रति कुनै पनि लगाव देखिन्न।

प्रमिला गच्छदारले पूर्वी नेपालका मोरङ, सुनसरी तथा सप्तरी जिल्लाहरूमा गरेको एक अनुसन्धानका अनुसार त्यहाँका थारू चिकित्सकहरूले १३६ विभिन्न प्रकारका जडीबुटीलाई खरानी, मलम, काँढा, रस, धुलो, धुँवा तथा तेल बनाई प्रयोग गर्दछन् भने तिनीहरूका फल र फूलका साथै पूरै बिरुवा, त्यसको गुदी, खोटो, जरा र डाँठ पनि प्रयोग गर्दछन्।

यी बिरुवाहरू महिनावारीमा हुने गडबडीदेखि मधुमेहजस्ता रोगहरूको उपचारमा प्रयोग हुन्छन्। साथै साधारण जिउदुखाइ, ज्वरो, वमन, रिंगटा, झाडापखाला तथा चर्मरोगहरूको उपचारमा पनि प्रयोग गरिन्छन्।

वनविनाशले जडीबुटीको उपलब्धतामा पुर्याएको असर

यद्यपि एकताका चारैतिर पाइने यी बोटबिरुवाहरू आजकल चरिचरन, जमिनको स्तरमा आएको ह्रास, बासस्थान विनाश, व्यापारिक तवरको संकलन र वनविनाशजस्ता कारणले दुर्लभ हुन पुगेका छन्।

काठमाडौंबाट लगभग ३०० किलोमिटरको दुरीमा रहेको सप्तरी जिल्ला बस्ने धामी अछाइ चौधरीका अनुसार उनले प्रयोग गर्ने जडीबुटीे खेतबारीमा तथा नजिकैको जंगलमा पाइन्छन्।

सप्तरी जिल्लाका थारू परम्परागत चिकित्सक अछाइ चौधरी। फोटोः संजीव चौधरी। अनुमतिमा प्रयोग गरिएको।

“तुलसीजस्तै देखिने यो अतिउपयोगी जडीबुटी हो,” अछाइ भन्छन्। “यसका पात र डाँठलाई रातभरि पानीमा भिजाउनुस् र बिहान पानी छानेर पिउनुस्। यसले मधुमेहलाई तपाईंबाट टाढै राख्नेछ। हामी यसलाई थारू भाषामा जेठमल भन्छौ।”

उनको घरपछाडि लगाइएका जडीबुटीमध्ये सधैँजसो प्रयोगमा आउने तितो कल्पनाथ पनि एक हो। यसलाई कालमेघ वा हरियो चिरैता पनि भनिन्छ र यसको प्रयोग ज्वरो आएको बेला तथा शरीरको पतिरक्षा प्रणाली बढाउनका लागि गरिन्छ। हालसालै थाइ सरकारले यसको प्रयोग कोभिड–१९ को प्रारम्भिक चरणमा उपचारका लागि अनुमोदन गरेको थियो।

अछाइका अनुसार केही दुर्लभ प्रजातिका जडीबुटी जंगलका भित्री भागमा मात्र पाइन्छन्। वनविनाशका कारण घना जंगल पूर्व–पश्चिम लोकमार्गभन्दा लगभग ३ घण्टा उत्तरतिर हिंडेपछि मात्र भेटिन्छ। अवैध संकलनले गर्दा पनि कतिपय बोटबिरुवा लोप भएका छन्।

संरक्षित क्षेत्रले बढाएको दुरी

त्यस्तै, रामदीन बदलिँदो भू–बनोट र जलवायुले गर्दा बोटबिरुवा लोप भएको आफूलाई थाहा नभएको बताउँछन्। यद्यपि, केही जडीबुटी चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा मात्र पाइन्छ जहाँ निकुञ्ज बन्नुअघि जान छुट थियो।

थारूहरूले चितवनमा वन फाँडेर बस्न र कृषिका लागि जमिन तयार पारे। त्यसबेला चारैतिर वनजंगल थियो र जडीबुटी जताततै पाइन्थे। अहिले धेरैजसो जंगल मासिएका छन् र यत्रतत्र पाइने जडीबुटी पनि लोप हुन पुगेका छन्।

अस्सीवर्ष पार गरेका चितवनका गुरुवा बुद्घिराम महतो आफू निकुञ्जभित्र निर्धक्क जाने गरेको सम्झन्छन्। उनीहरू जंगलको भित्रीभागसम्म गाईवस्तु चराउन जान्थे र फर्किने बेला स्याउला तथा जीवनदायी जडीबुटी बटुली ल्याउथे। उनीहरू जथाभावी बुटानै मासिने गरी कहिल्यै पनि बोटबिरुवा संकलन गर्दैनथे जसले गर्दा जडीबुटीको अभाव हुँदैनथ्यो।

यसमा रामदीनले पनि सहमति जनाए तर औषधीमा पहुँच गाह्रो भएकोमा दुःख जनाए। “अझैपनि हाम्रा वनजंगलमा जडीबुटी छन् तर अहिले हामीलाई अनुमति चाहिन्छ। पहिला हामी जंगल गएर जडीबुटी संकलन गर्न सक्दथ्यौ। हामीलाई अनुमति चाहिदैनथ्यो।”

अस्सी वर्ष पार गरेका सौराहाका गुरुवा बुद्घिराम महतो। फोटोः गौरवध्वज खड्का। अनुमतिमा प्रयोग गरिएको।

यद्यपि जडीबुटी अनुमति लिएर वनबाट संकलन गर्न सकिन्छ। “राष्ट्रिय वन तथा सामुदायिक वनबाट राजस्व तिरेर अनुमति लिई दीगो तवरमा सूचीकृत जडीबुटी संकलन गर्न सकिन्छ,” डिभिजन वन कार्यालय धनकुटामा कार्यरत सहायक वन अधिकृत आनन्द चौधरी भन्छन्।

वन तथा वातावरण मन्त्रालयको वन नियमावली २०७९ का अनुसार उक्त सूचीमा रू २ प्रतिकिलो पर्ने सेतो सरोदेखि प्रतिगोटा रू ५०० पर्ने पाँचऔंलेसमेत रहेका छन्।

जडीबुटीविज्ञ डा. दीपेश प्याकुरेल जडीबुटीको उपलब्धताबारे अछाइ र रामदीनसँग सहमत छन्। उनी भन्छन्, “तराईमा मात्र ७ प्रतिशत भू–भागमा वनजंगल रहेको छ र यहाँबाट हर्रो र बर्रोजस्ता केही औषधीय वनस्पतिको मात्र व्यापार हुन्छ। बढी मात्रामा संकलन र जलवायु परिवर्तनले पहाडी र हिमाली भेगका वनस्पतिलाई बढी असर गरेको छ किनकि धेरैजसो यहाँका वनस्पतिहरूको व्यापार हुने गरेको छ।”

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क डाटाबेसका अनुसार नेपालबाट सन् २०१४ मा अमेरिकी डलर ६०,००,००० बराबरका १०,००० टन मुख्यतया जडीबुटी ५० भन्दा बढी मुलुकमा निर्यात भएको थियो।

जब जडीबुटीमानै अन्तिम आश अड्किएको हुन्छ

दाङका देवी सिंह चौधरीले आफ्नै सानो जंगलमा विभिन्न किसिमका जडीबुटी लगाएका छन्। फोटोः गौरवध्वज खड्का। अनुमतिमा प्रयोग गरिएको।

देवी सिंह चौधरीले सत्तरी वर्ष पार गरिसकेका छन्। तापनि उनी पचास हाराहारीका देखिन्छन्। उनी दाङको पवित्रस्थल जंगलकुट्टीमा रहेको आश्रममा बस्छन्। काठमाडौंबाट लगभग ४०० किलोमिटर पश्चिम र पूर्व–पश्चिम लोकमार्गको दाङ, लमही खण्डबाट १५ किलोमिटर दक्षिणमा रहेको जंगलकुट्टी सिद्ध बाघनाथ बाबाले लगभग २०० वर्षअघि स्थापना गरेका थिए। उनले आफ्नो आश्रम वरिपरि रूखबिरुवा लगाए जुन अहिले आएर जंगल र ध्यानकेन्द्रमा परिणत भएको छ।

अनुरोध गरेको खण्डमा देवी सिंहले आगन्तुकहरूलाई जंगल घुमाउँछन्, जडीबुटी चिनाउँछन् र तिनका विशेषताका बारेमा बताउछन्। उनका अनुसार एलोप्याथी औषधीले सञ्चो नभएपछि मानिसहरू त्यहाँ पुग्छन्।

केही आधुनिक चिकित्सक पनि आफ्नो उपचारमा जडीबुटीको प्रयोग गर्छन्।

आयुर्वेदका सिद्धान्त बुझ्नका लागि म आयुर्वेद एनसाइक्लोपेडिया पढ्छु। यसले मलाई शिलाजित, त्रिफला चुर्ण, अश्वगन्धा र अन्य धेरै औषधीका फाइदाबारे जान्नबुझ्न मद्दत गरेको छ,” भन्छन् अमेरिकाबाट फर्किएका क्लिनिकल न्युरोलोजिष्ट तथा न्युरोफिजियोलोजिष्ट डा. इशान अधिकारी

“म यी औषधीहरू एलोपेथिक न्युरोसम्बन्धी विकारको उपचारमा प्रयोग गर्छु। एलोपेथिक औषधीहरूले चाहेजति असर नगरेका मामिलामा पनि यिनीहरूले राम्रो प्रभाव देखाएका छन्। एलोपेथीमा आयुर्वेदको समाहरण गर्दा राम्रो परिणाम देखिएको छ र म आयुर्वेदलाई समाहित गरिरहनेछु।”

चिकित्सासम्बन्धी मौखिक ज्ञानलाई दस्तावेजिकरणको खाँचो

देवी सिंहको आश्रम नेपालभरिका तथा भारतका छिमेकी जिल्लाका परम्परागत चिकित्सकहरूका लागि सिकाइ केन्द्र पनि हो।

“जडीबुटी र तिनीहरूका प्रयोगका बारे सिक्नका लागि धेरै जना आश्रममा आउँछन्,” देवी सिंह भन्छन्। “तर मैले केही लेखेर राखेको छैन। जे छ मेरो दिमागमा छ — मेरो गुरुसँग जे जे सिके
, सबै।”

यद्यपि सन् १९९४ देखि रामदीनले लेख्न थालेको पुस्तिका रैथाने जडीबुटी र तिनका प्रयोगको दस्तावेजिकरणका लागि कोसेढुङ्गो साबित हुनेछ।

“यदि हामीले हाम्रो ज्ञान अरुसँग बाँडेनौ भने यो सदाका लागि हराएर जानेछ,” रामदीन भन्छन्।

यो आलेख अर्थ जर्नालिज्म नेटवर्कको इन्डिजिनस स्टोरी ग्रान्ट्स फर २०२२ को आर्थिक सहयोगमा तयार पारिएको हो।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.