
वृत्तचित्र “यारेन” को एउटा दृश्यको स्क्रिनसट जसमा माझी र गरुडलाई देखाइएको छ।
टर्कीका माझी एडेम यिलमाज, जसलाई “अंकल एडेम” पनि भनिन्छ र यारेन नामको गरुडको कथा ला फन्टेन दन्त्यकथाहरू — पश्चिमी र पूर्वी युरोपमा लोकप्रिय बालबालिकाका कथाहरूबाट सोझै लिइएको जस्तो लाग्न सक्छ — यद्यपि यो सम्बन्ध वास्तविक हो। टर्कीको एस्कीकारागाक गाउँमा विगत १२ वर्षदेखि यी दुईको हरेक वर्ष भेट हुने गरेको छ। हरेक वर्ष मार्चतिर उत्तरतर्फ हुने गरुडको वार्षिक बसाइँसराइको क्रममा माछा मार्ने डुङ्गामा यारेन एडेमलाई भेट्छन् र दुवैका लागि फोटो खिचाउनु एक वार्षिक परम्परा बनेको छ। एडेमले तालमा भर्खरै समातिएका माछा दिएर यारेनलाई स्वागत गर्छन्। यी दुईबीचको मित्रता एक अनौठो मित्रताको प्रतीक बनेको छ साथसाथै उनीहरूलाई स्थानीय सेलिब्रिटीमा पनि परिणत गरेको छ। युट्युबमा हेर्न सकिने “यारेन” नामक वृत्तचित्र पनि छ।
12. yılda da Yaren Leylek sözünde durdu. Yağmurlara, fırtınalara göğüs gerdi, ülkeleri, şehirleri, dağları aşıp dün yuvasına bugün de yarenlik ettiği Adem Amca'nın kayığına kondu ve pozunu verdi. Tüyü kadar ömrün olsun hepimize derin bir oh çektirdi sonunda!#YarenLeylek pic.twitter.com/6EQOCCPjho
— Alper Tüydeş (@alpertuydes) March 17, 2023
१२ औं वर्ष भयो यारेन गरुड वफादार रहेको। उसले वर्षा र आँधीबेहरी सह्यो, थुप्रै देश, सहर र पहाडहरू पार गर्यो, र हिजो आफ्नो गुँडमा र आज अंकल एडेमको डुङ्गामा आइपुग्यो, र फोटोको लागि पोज दियो। तिम्रो दीर्घायुको कामना। अन्ततोगत्वा यारेनको आगमन हामी सबैका लागि सुखद अनुभव हो।
फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पले ४५ हजार भन्दा बढीको ज्यान गएको र ठूलो मात्रामा क्षति पुगेको राष्ट्रमा यस वर्ष यारेनको आगमन पनि आशावादी र सामान्य अवस्थाको सङ्केत थियो। गरुड अपेक्षा गरेभन्दा धेरै ढिलो आइपुग्यो, र वर्षौंदेखि यारेन र एडेमको कथा पछ्याउने धेरैजना चिन्तित थिए, जसमा केही समयदेखि एडेम र यारेनलाई पछ्याइरहेका वन्यजन्तु फोटोग्राफर अल्पर ट्युडेस पनि थिए। तर यारेनको आगमन ढिलो भएपनि देश र जनताको मनोबल बढ्यो। “प्रकृति र वन्यजन्तु फोटोग्राफर अल्पर ट्युडेसको यो फोटोले हामीलाई आगामी सुनौला दिनहरूको आशा दिलाएको छ। माझी र गरुडको वफादारीता र न्यानो मित्रताको कथा सुखद लाग्छ,” टर्कीको डिजिटल प्लेटफर्म जसले प्रायः यात्रा, संस्कृति, कला, सिनेमा र संगीतको बारेमा लेख्ने द म्यागरले लेख्यो।
यसैबीच, यारेन र उसको जोडी नाज्लीले टर्कीको एस्कीकारागाक गाउँ स्थित “युरोपियन स्टर्क भिलेज नेटवर्क” नेटवर्क क्षेत्रमा गुँड लगाएका छन्। नेटवर्कमा रहेका गाउँहरूलाई “सेतो गरुड संरक्षणमा उनीहरूको उदाहरणीय प्रतिबद्धताको लागि चिनिन्छन्।” गरुडहरू दक्षिणतर्फ नफर्केसम्म छ महिनाको लागि एस्कीकारागाकमा रहनेछन्। बुर्सा प्रान्तको एस्कीकारागाक गाउँ हजारौं गरुडहरू अफ्रिकाबाट टर्की हुँदै युरोपेली देशहरूमा बसाइँ सर्ने मार्गमा पर्दछ। यारेनलाई माया गर्नेहरूका लागि गुँडको लाइभ भिडियो पनि छ। गत वर्ष यो जोडीले तीनवटा बच्चा हुर्काएका थिए।
दुई वर्षअघि मे महिनामा फोटोग्राफर ट्युडेसले एडेम र यारेनलाई भेटेका थिए। उनले यारेनलाई एडेमले खानेकुरा दिइरहेका र यारेनको बचेराहरू र जोडीको बारेमा सोधिरहेका वास्तविक क्षणहरू कैद गरे।