म सानो छँदा सुडानमा मार्भल कमिक्सको अरबी संस्करण पढ्ने गर्थे र सुपरहिरोहरू हुन्छन् भनी विश्वास गर्थे। तर किन कुनै पनि सुपरहिरो मजस्तो हुँदैन अनि किन उनीहरूको कथा मजस्ताले दाँज्नसक्ने हुँदैन भनी म सधैँ घोत्लिरहन्थे। शायद त्यसैले होला मैले कार्टूनिष्ट बन्ने निधो गरे।
मेरा बाल्यकालका यी सबै याद हिजो तरोताजा भयो जब मैले एउटा बच्चालाई बचाउन चारतल्ले घर २० सेकेन्डभन्दा कम समयमा बिना कुनै आशा चढ्दै गरेको एक युवकको #ParisSpiderman ह्याशट्याग गरिएको भाइरल भिडियो देखें।
मेरो ट्वीटर फिड रिफ्रेश गर्दै गर्दा त्यस रहस्यमयी पेरिसको स्पाइडरम्यान (#ParisSpiderman) को गोप्य पहिचान बारेमा टुक्राटाक्री जानकारी पाएँ, र त्यसपछि मेरो ट्वीटर फिडमा जानकारीको बाढी आयो। उसको नाम ममुदु गास्सामा हो र ऊ मालीबाट आएको कागजपत्ररहित आप्रवासी रहेछ। “यो प्लट ब्ल्याक प्यान्थरभन्दा पनि यथार्थपरक र गज्जबको रहेछ,” मैले आफैंसँग भने।
यस नयाँ नायकको उत्पत्तिको कथा जान्नका लागि त्यस ह्याशट्यागलाई रिफ्रेश गर्दै गर्दा उसको धर्म बारेमा उल्लेख नगरिएको कुराले मलाई झस्कायो। जब कि कुनै आप्रवासीले गलत कार्य गरेको खण्डमा धर्म नै त्यो विशेषण हो जसलाई पाठक आकर्षित गर्ने खालका शीर्षक तथा ह्याशट्यागमा प्रयोग गरिन्छ।
केही घण्टामै मुख्य समाचारहरूले पेरिसको स्पाइडरम्यानले फ्रान्सेली राष्ट्रपतिसँग भेट्ने निमन्त्रणा पाएको तथा उसलाई नागरिकता दिइने खबर रिपोर्ट गर्न थाले। सुपरहिरो कथाको सामान्यतया शून्यबाट हिरो भएको परिचय। कथाभित्रका विवरणलाई गौण मानी आप्रवासी सम्बन्धी चली आएका मान्यताहरू (जस्तै अश्वेत, संघर्षशील, गरीब, सुकुम्बासी) बारे प्रकाश पार्दै आएका ती समाचारहरूले एकाएक प्रलयको बेला एउटा अञ्जान नायकले सार्वजनिक स्थलमा एक बालकलाई बचाएको कथा पस्के। र, मुख्यतया गोरा सुपरहिरोहरूका माझमा एक नयाँ “अल्पसंख्यक” नायकको पदार्पण भयो।
नभनिएको कथा चाहि यस्तो छ: गस्सामाले किशोर हुँदै माली छाडेका थिए र उनी [बुर्किना फासो हुँदै] लिबिया पुगे जहाँ उनी गिरफ्तार भए, पिटिए र अन्ततोगत्वा समुद्र तट पुगे जहाँबाट उनले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्दै इटालीसम्मको दूरी तय गरे। चार वर्ष इटाली बसेपछि आफ्नो दाइ भेट्न सेप्टेम्बर २०१७ मा फ्रान्स आइपुगे। बिना कुनै कागजपत्र फ्रान्स आएकाले उनी पेरिसबाहिर मोथेइमा रहेका आप्रवासीका घरका भुँइमा पातलो गुन्द्री ओछ्याई रात बिताउथे भने बिहान त्यसलाई पट्याएर राख्ने गर्थे। उनी एउटा सानो कुचुक्क परेको कोठा अरु छजनासँग बाड्न बाध्य थिए भने कानुनी रूपमा काम गर्नबाट बञ्चित थिए।
त्यसैले त्यो भवन चढ्नु शायद उनको लागि सबैभन्दा सजिलो कार्य थियो होला।
अहिलेको समयमा पाठकहरूले बुझ्न र लेखकहरूले फरक तरिकाले के दर्शाउन जरूरी छ भने, हाल बच्चालाई बचाएर नायक बनेका उनले त्यो भवन चढ्नु अगाडि अथाह दुःख भोग्नुपर्यो। साथै उनको जीवनीमा प्रकाश पार्नु जरूरी छ। सुपरहिरोमध्ये सर्वश्रेष्ठ सुपरम्यान एक आप्रवासी थिए तर उनी “राम्रा खालका” आप्रवासी थिए जो “सामान्य” देखिन्छन् र जहाँ पनि मिसिन सक्छन् र जसलाई कसैले अन्धाधुन्ध परिक्षण वा निगरानी गर्दैन।
यस सुपरहिरोको प्रस्तुतिले फ्रान्स र विश्वका अन्य देशले बुझून् कि यस्ता डुङ्गामा आएका कतिपय सुपरहिरोहरू अझै पहिचानको पर्खाइमा बसिरहेका छन्।
अबको संस्करण: के हाम्रो सुपरहिरोले पाँच मिनेटको ख्यातिलाई थेग्न सक्नेछन्? अब उनको शक्तिको बारेमा सबैले थाहा पाइसकेपछि उनले यसको व्यवस्थापन कसरी गर्नेछन्?