एउटा थोत्रो जीपको छतमा बसेको भ्यात्त परेको जिउ भएको मान्छेको स्केच — सन् २०११ को फेब्रुअरीमा पश्चिमी नेपालको हाम्रो महिनादिनको यात्रापश्चात् डा. चार्ल्स नरिस-ब्राउनले सरसर्ती कोरेको अन्तिम चित्र अझै पनि मेरो मानसपटलमा रुमल्लिरहन्छ। हामीले बाघसम्बन्धी कथा र मिथक संकलन गर्ने उद्देश्यले पश्चिमी नेपालका पाँच जिल्ला बाँके, बदिर्या, कैलाली, कञ्चनपुर र दाङ घुमेका थियौं।
मैले त्यो चित्रको विशेषताबारे सोध्दा उनले कुटिल मुस्कानसहित भनेको सम्झन्छुः “म यो जीपलाई कदापि भुल्ने छैन, मैले आफ्नो बजेटको दुई तिहाई यसकै भाडाका निम्ति खर्च गरे। अनि त्यो जीपको छतमा बस्ने चाहिँ सधैं गमक्क परेर बस्ने ड्राइभर।”
अमेरिकाको भरमन्टमा बस्ने मानवविज्ञानी, कलाकार तथा कथाकार चार्ल्स बालबालिकाका लागि बाघसम्बन्धी चित्रकथा लेख्ने तरखरमा थिए। त्यसैका लागि उनी पश्चिमी नेपालका थारू गाउँ डुलेर बाघसम्बन्धी समुदायको धारणा जान्न चाहन्थे र साथै सम्बन्धित कथाहरू बटुल्न चाहन्थे। सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने उद्देश्यसहित सञ्चालित विश्व वन्यजन्तु कोषको टिएक्सटु अभियानको नेपालमा प्रारम्भिक चरण अगुवाइ गरेकोले उनले मलाई इमेल गरे। म पनि बाघसम्बन्धी कथाहरू संकलन गर्न इच्छुक भएकोले मैले उनलाई सघाउने निधो गरे।
चार्ल्सको मुस्कान गजबको थियो। साना बाबुनानी देख्नासाथ उनी नजिक जान्थे र क्यामेरा तेर्स्याउँदै “हास हास” भन्थे। तर हामीलाई चाहिँ “हाँस हाँस” भनेको झै लाग्थ्यो। त्यो सुनेर बालबालिका मरीमरी हाँस्थे र हामीसबै हाँस्न थाल्दथ्यौ। चार्ल्सले हाम्रो कुरा बुझ्थे र मुसुक्क मुस्काउँथे। उनी धेरै कम बोल्थे। तर उनका आँखाले बाँकी काम गर्दथे।
उनी मानिसका बानीबेहोरा विश्लेषण गर्न खप्पिस थिए। कसैसँग केही बेर कुरा गर्नासाथ फ्याट्ट मिल्ने नाम जुराउँथे। हाम्रा एक साथीको नाम उनले “डाटाबेस” राखिदिएका थिए। उनले सही ठाउँका सही व्यक्ति पहिचान गर्न सक्थे। उनकै मद्दतले हामीले कुनै बाधाबिना पश्चिमी नेपालका जिल्लाहरू घुम्न भ्यायौं।
त्यस यात्राको बेला हाँसो, खुशी तथा नैराश्यता सबै अनुभव गरियो। एक ठाउँमा खोला तर्नुपर्ने भयो। खोलो सानो तर गहिरो। हिंडेरै तरेको भए शायद १५ मिनेटमै तरिन्थ्यो होला। तर हामीसँग जीप जो थियो। ड्राइभरलाई गाडी खोला भएरै लगौं भन्दा मान्दै मानेन् उनले, खोलाको माझमा फस्ने डरले। अनि त के थियो र, खोला तीरैतीर दुई घण्टा अँध्यारोमा जंगलभित्रभित्रै हुँइकियौं हामी, उबडखाबड बाटोमा जीपसँगै उफ्रदै, थचारिदैं। अन्त्यमा हामीले एउटा पुल भेट्यौ भारतीय सिमानानजिक र खोला तर्यौ।
कहिलेकाहीँ त त्यो यात्रा त्यहिँबाट छोट्याएर फर्कौ झै लाग्थ्यो र पुनः राम्रो तयारीका साथ फेरि आउनुपर्ला झै लाग्थ्यो। किनकि धेरै जसो भेटिएका व्यक्तिले खालि आफ्ना र आफ्ना बाबुबाजेका संस्मरणमात्र सुनाउथे। केहीलेमात्र आफ्ना पुर्खाले सुनाएका बाघसम्बन्धी दन्त्यकथा सुनाए।
भाग्यले भन्नुपर्ला दाङको एउटा गाउँमा हामीले चाहेको जस्तै जनावरका दन्त्यकथा भन्नसक्ने एकजना बुढा बा भेट्यौं। उनीसँग यति धेरै कथा थियो कि लगातार वाचन गर्ने हो भने हप्तामात्र नभई महिनौं लाग्नसक्थ्यो। अचम्म त के भने उनले पंचतन्त्रका बारेमा सुनेकै रहेनछन्। उनले हामीलाई सुनाएका कथामध्ये एक बाँदर, स्याल र बाघको बारे थियो। त्यस कथामा वर्षातको बेला स्यालले आफ्ना बच्चालाई बाघको ओडारमा राख्छ र बाघबाट आफ्ना बच्चालाई बचाउँछ। अनि सधैंका लागि ओडारलाई आफ्नो घर बनाउँछ।
त्यो कथालाई मैले अंग्रेजीमा अनुवाद गर्दा चार्ल्सको अनुहार धपक्क बलेको जस्तो लाग्यो मलाई, उनले आफ्नो कापीमा लेख्दै गर्दा। लाग्छ उनले आफ्नो कथाका लागि उपयुक्त पात्र पाए त्यसबेला।
पछि गएर कञ्चनपुरमा एक र बर्दियामा अर्को पात्र भेटिए — दुई स्कुले नानीहरू। उनीहरूलाई भेटेपछि चार्ल्सको दिमागमा उनले भन्न खोजेको कथाको रेखाचित्र स्पष्ट भएझै लाग्यो मलाई।
उनी पुरुष, महिला, बालबालिका, रूखबिरुवा र वरिपरिका दृश्य क्यामेरामा कैद गरिहाल्थे। केही चाखलाग्दो भेटिएमा झट्ट चित्र पनि बनाइहाल्थे। साथै बालबालिकाहरूलाई बाघको चित्र बनाउन लगाउँथे।
उनले भरमन्ट फर्किसकेपछि मलाई इमेल गरेः “तिमीलाई सम्झना होला, मैले उनीहरूलाई बाघको चित्र बनाउन भनेको थिए। उनीहरूले बाघ र आफ्ना गाउँका गजबका चित्र कोरे अनि बाघलाई नदीको अर्को किनारतिर राखे। मैले आफ्नो किताब संस्कृति र प्रकृतिमा आधारित राख्न चाहेकोले एउटा सानो नानीले खोला तरेको विषयलाई समेट्ने प्रयास गर्दैछु।”
उनले दुईवटा किताब प्रकाशन गर्ने योजना बनाएका थिए। भ्वाइस अफ थारू ब्लगले लिएको अन्तरवार्तामा उनले भनेका थिएः “पहिलो किताबमा नानीहरू बाघ किन गाउँ पसेको थियो भन्ने कुरा पत्ता लगाउन जंगल जान्छन्। त्यहाँ उनीहरूले एउटा स्याल र केही लंगुर भेट्छन्। उनीहरूले नानीहरूलाई जंगल, त्यहाँका जनावर र बोटबिरुवाबारे बताउँछन्, साथै जंगललाई हरियो र स्वस्थ राखिराख्न किन जरुरी छ पनि भन्छन्।”
सन् २०१५ मा चार्ल्ससँग फेरि भेट भयो र हामी कथाका दुई नानीहरूलाई भेट्न गयौं। किताब प्रकाशन गर्नु अघि कथा र उनीहरूको भूमिकाबाट दुवै नानी सन्तुष्ट भएको हेर्न चाहन्थे चार्ल्स। हामी एक अर्काको सम्पर्कमा रही रह्यौ र उनले मेरी छोरीसमेत नेपाली बालबालिकाको एक समूहलाई चित्रकला सिकाए।
“बाघ र पानी” हार्डकभरमा सन् २०१६ मा अमेरिकाको भरमन्टअवस्थित ग्रीन राइटर्स प्रेस अफ ब्रेटलबोरोले प्रकाशन गर्योे। यो ओपनसोर्स पुस्तक अहिले प्रथम बुक्सको स्टोरीवेभर प्लेटफर्ममा उपलब्ध छ र हालसम्म अंग्रेजीबाहेक अन्य छ भाषामा अनुवाद भइसकेको छ।
चार्ल्स आफ्नो दोस्रो पुस्तकमा एक थारू गुरुवा र उनकी नातिनीको कथा भन्न चाहन्थे। पहिलो किताबजस्तै बाघ र संरक्षणको सेरोफेरोमा कथा बुन्न चाहन्थे उनी।
“म अझैपनि उत्तरी स्वीडेनका सामी आदिवासीले व्यवस्थापन गरेझै थारू संस्कृतिमा आधारित पर्यापर्यटनले मूर्तरूप लिएको हेर्न चाहन्छु,” उनले भनेका थिए। “यसले थारू बालिकाहरूलाई स्कुल जानका लागि केही अनुदानको जोहो गर्न सघाउने थियो।”
तर भावीको अर्कै योजना रहेछ। अक्टोबर १९ का दिन कंकर्ड अस्पताल, न्यु हेम्पशरमा उनको असामयिक निधन भयो।
अहिले आएर जब म त्यो जीपको छतमा ड्राइभरवाला चित्र सम्झन्छु मैले चार्ल्सलाई किन त्यसमा रंग नलगाएको भनेर सोधेको याद आउँछ। उनले मुस्काउँदै भनेका थिए, “म अर्को पटक नेपाल आउँदा यसमा रंग भर्नेछु — पृष्ठभूमिमा चाहिँ हरियो लहलहाउँदो गहुँका खेत र त्यसमाथि पहेंलपुर फुलेका तोरीका फूल।”
आउँदो हिउँदमा त्यो ठाउँ फेरि पनि गहुँ र तोरीका बालीले गर्दा हरियो र पहेंलो देखिनेछ। तर चार्ल्सको चित्र चाहिँ श्यामश्वेत नै रहिरहनेछ।
तपाईंको आत्मालाई शान्ति मिलोस्, डा.चार्ल्स!