मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवाले आफ्ना भाषाका लागि इन्टरनेटमा पुनर्विचार गर्दै

आइसेला जोस्पाद्वारा तयार पारिएको रेखाचित्र। ग्लोबल भ्वाइसेजमा कपिराइटअन्तर्गत अनुमतिमा प्रयोग गरिएको।

विश्वभरि कम्तिमा ७,००० भाषा प्रयोमा रहेका छन्, तर इन्टरनेटमा मात्र १० भाषाको प्रभुत्व रहेको छ। अंग्रेजी २५.९ प्रतिशत अनलाइन सामग्रीका साथ प्रथम स्थानमा रेहेको छ भने त्यसपछि क्रमैसँग चाइनिज, स्पानिश, अरबिक, पोर्चुगिज, इन्डोनेसियन, फ्रेञ्च, जापानिज, रसियन र जर्मन रहेका छन्। यस वास्तविकतालाई स्वीकार्दै मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी युवा आफ्ना भाषाका लागि इन्टेरनेटमा उचित स्थान बनाउन लागी परेका छन्।

युनेस्कोका अनुसार ४० प्रतिशत भाषा “केही हदसम्म जोखिम”मा रहेका छन्। प्रमुख भाषाहरूले शिक्षा, सरकार र मिडियामा आफ्ना आधिपत्य जमाउँदै गर्दा खास गरेर आदिवासी भाषाहरू जोखिममा परेका छन्।

जुलाई १३ का दिन मेक्सिकोअवस्थित अष्ट्रेलियन दूतावासको सहयोगमा ग्लोबल भ्वाइसेज तथा फस्र्ट ल्यांगवेजेज अष्ट्रेलियाद्वारा आयोजित अनलाइन कुराकानीका बेला मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी भाषा अधिकारकर्मीले आफ्ना रणनीति साझा गरे।

मेक्सिकोमा ६८ तथा अष्ट्रेलियामा २५० आदिवासी भाषा बोलिन्छन्। पपुआ न्यू गिनिया, नाइजेरिया, इन्डोनेसिया, भारत तथा ब्राजिलका साथ यी दुई देश भाषिक विविधताका लागि चिनिन्छन्।

“अष्ट्रेलिया र मेक्सिको उपनिवेश तथा भाषिक आधिपत्य थोपरिएका उदाहरण हुन्,” यस कार्यक्रमका सञ्चालक तथा आदिवासी नाहुआ चित्रकार आइसेला जोस्पा भन्छिन्। उनी भन्छिन् यसले गर्दा एकमात्र भाषामा विश्वलाई हेर्नु र बुझ्नुपर्ने अवस्था सिर्जना गर्छ जुन साह्रै ठुलो ह्रास हो।

“इन्टरनेट केही भाषाको प्रभुत्व रहेको बुझ्न जरुरी छ। तपाईं ती प्रभावशाली भाषा जान्नुहुन्छ भने इन्टरनेटमा पहुँच प्राप्त गर्नसक्नुहुन्छ, तर आफ्नो भाषामा सक्नुहुन्न,” उनले भनिन्। त्यसैले उनी युवा पुस्ता इन्टरनेटमा अनलाइन नभएको र उनीहरूले आफ्ना भाषा छाड्न सक्नेछन् भन्ने तर्क गर्छिन्।

मुख्यतया अग्रजहरूसँगको सम्बन्धमा निरन्तरता नभएका कारण युवाहरूले आफ्ना पुर्खाका भाषा कम बोल्ने गरेकोबारे प्यानेलिस्टहरू सहमत भए। अभिभावकहरू आफ्ना भाषा जान्दैनन् वा आफ्ना बालबालिकालाई प्रायः आफ्ना भाषा सिकाउँदैनन्। यो काम चाहिँ उनीहरू बाजेबज्यैका लागि छाडिदिन्छन्, उहाँहरू वरपर भएका खण्डमा।

ओहाका मेक्सिकोको जापोटेको शिद्जा समुदायका ह्वाकिन येस्कास मार्टिनेजले स्पष्ट पारेः “धेरै अभिभावकहरू स्कुलबाट डराएका थिए, साना छँदा स्कुलमा उनीहरूले [आफ्ना भाषा बोलेकाले] सजाय पाएका थिए। यही डरले गर्दा मेरो पुस्ताका स्कुले साथीहरू आफ्ना भाषा बोल्दैनन्।”

आदिवासी जनजातिका भाषालाई अनलाइनमा व्याप्त गर्दा भाषा सिक्न, अभ्यास गर्न तथा आफ्नै भाषा बोल्न लजाउने प्रवृत्ति हटाउनका लागि युवाहरू आकर्षित हुने देखिन्छ।

“जब युवाहरू लोकप्रिय सामाजिक सञ्जालमा आफ्ना भाषा प्रयोग भइरहेको, सेयर भइरहेको तथा इन्टरनेटमा उपलब्ध भएको देख्न र सुन्न सक्छन्, उनीहरू आफ्ना भाषा तथा संस्कृतिबारे ज्ञान बाड्न हौसिन्छन्,” मध्य क्विन्सल्याण्ड, अष्ट्रेलियामा बस्ने वाक्का वाक्का आदिवासी महिला आन्नाली पोप भन्छिन्।

यद्यपि, यो लोकप्रिय अनलाइन प्लेटफार्ममा आदिवासी जनजातिका भाषा प्रयोग गर्नेबारे मात्र नभई इन्टरनेट नै आफ्नो बनाउने जस्ता समाचारबारे सोच्नु हो। उदाहरणका लागि अष्ट्रेलियको नर्दन टेरिटरीकी योलंगु महिला रेचल डिकुल बेकर योलंगु माथा भाषा प्रयोग गर्ने तथा योलंगु दर्शनशास्त्र दर्शाउने नयाँ इन्टरनेट डोमेनहरूका लागि वकालत गर्छिन्। सम्बन्धको सिद्धान्तमा अडिएको योलंगु दर्शनशास्त्रअन्तर्गत केही सांस्कृतिक नियममा रहेर बालबालिकाले हरेक योलंगु तथा प्राकृतिक समाजका धेरै तत्वहरूसँगका विशेष सम्बन्धबारे सिक्छन्।

“योलंगु सम्बन्ध सिद्धान्त जमीनसँगको सम्बन्ध हो, जमीनभित्र जे जे रहेका छन् उनीहरूसँगको सम्बन्ध, जसअन्तर्गत मानिस र भाषा पनि पर्दछन्,” उनी भन्छिन्। “धेरै सम्बन्धहरू जोडिन पाउँदैनन् किनकि इन्टरनेट डोमेनहरू योलंगुमय हुँदैनन्। त्यसकारण इन्टरनेटमा भाषा सिकाइ योलंगु सम्बन्ध सिद्धान्तमा आधारित हुन्नन्।” उनको संस्था एआरडिएस अबोरिजनल कर्पोरेशनमा उनले “सम्बन्धमा आधारित वारामी भाषाको प्लेटफर्म” विकास गर्न सघाउदैछिन्।

जुलाई १३ का दिन मेक्सिकोअवस्थित अष्ट्रेलियन दूतावासको सहयोगमा ग्लोबल भ्वाइसेज तथा फस्र्ट ल्यांगवेजेज अष्ट्रेलियाद्वारा आयोजित अनलाइन कुराकानीका बेला मेक्सिकोदेखि अष्ट्रेलियासम्मका आदिवासी भाषा अधिकारकर्मीले आफ्ना रणनीति साझा गरे।

ह्वाकिन आदिवासी जनजातिका लागि उनीहरूकै भाषामा निःशुल्क सफ्टवेयर र सामाजिक सञ्जालको सिर्जना गर्न चाहन्छन्। शिद्जा भाषाको प्रयोग बढाउन निःशुल्क सफ्टवेयरका लागि वकालत गर्नुका साथै ह्वाकिनले कैयन् पहलहरूको डिजाइन तथा सहस्थापना गरेका छन्। यी दुई सोखलाई एकै ठाउँमा ल्याएर इन्टरनेटमा नयाँ स्थान सिर्जना गर्ने उनको सोचाइ छ।

उनी डिजिटल पहुँच कम भएका आफ्ना समुदायमा इन्टरनेट सेवा सहज गराउने तथा सूचना साझा गर्न आदिवासी जनजाति “समुदायमा आधारित इन्टरनेट” प्रवर्धन गर्ने डिजिटल अधिकारकर्मीका सञ्जाल विस्तार भएको हेर्न चाहन्छन्।

“हामी आदिवासी जनजाति समुदायभित्रै आफ्नै सामाजिक सञ्जाल सिर्जना गर्न सक्छौं र झन धेरै वक्ताहरू विकसित गर्न सक्छौं; हामी हाम्रा भाषामा झन धेरै सामग्री भएका अन्य इन्टरनेट सञ्जाल सिर्जना गर्न सक्छौं,” उनले भने।

मेक्सिकोको उकातानअवस्थित किनिल मूल घर भएकी माया भाषा वक्ता मारिया लिलिया हाउ उकान आशा गर्छिन् कि युकातानका युवाले आफ्ना सिर्जनात्मक अभिव्यक्ति आफ्नै आदिवासी भाषामा गीत, कविता, तथा अन्य माध्यममार्फत व्यक्त गर्नेछन्।

“उनीहरू लेख्दाखेरि आफ्नो भाषाको प्रयोग गर्दैछन् जुन आफैमा राम्रो हो। युवाहरूका केही समूह सामुदायिक रेडियो, प्रसारण, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा संलग्न छन्…उनीहरू टिकटकमार्फत भाषा सिकाउँदै भाषाको प्रसारमा लागेका छन्।”

उदाहरणका लागि ल्याटिन अमेरिकामा टिकटकमार्फत भाषा सिक्न सकिन्छ जस्तै कि एल साल्भाडोरमा नाहुआत, मेक्सिको र ग्वाटेमालामा माया काक्चिकेल, इक्वेडरमा किच्वा र अमेजनियन इक्वेडरमा वाओरानी। साधारणतया “नेटिभ टिकटक” उत्कर्षमा छ जहाँ युवाहरू आदिवासी संस्कृति, व्यंग्य, र आदिवासी तथा भूमि अधिकारसम्बन्धी माग राख्छन्। साथै मेक्सिकोअष्ट्रेलियामा आदिवासी भाषा सिक्ने एप पनि उपलब्ध छन्।

आदिवासी युवा संगीतमार्फत पनि आफ्ना भाषा प्रवर्धन गर्दैछन्। जेसबि रहेको आफ्नो गीत मेदित्जिनमा र्यापर बेकर ब्वाइ अंग्रेजीका साथै आफ्नो मातृभाषा योलंगु माथामा पनि र्याप गर्छन्:

ग्वाटेमालाकी गायिका सारा कुरुचिच आफ्नो मातृभाषा माया काक्चिकेल र स्पेनिशमामा गाउँछिन्। भाषा तथा मानव अधिकारको वकालत गर्ने सारा संगीतमार्फत आदिवासी भाषा प्रवर्धन गर्छिन्। सन् २०२० मा उनले स्पटिफाइमा संसारभरिका आदिवासी महिलासंलग्न भोसेस दे मुहेरेस इन्दिजेनास इक्जोकी नामक प्लेलिस्ट सिर्जना गरिन्।

“आफ्ना भाषामा बोल्नु, अभिव्यक्ति दिनु, समाजमा घुलमिल हुनु तथा आफ्ना भाषा बोल्न नलजाउनु आदिवासीका लागि मानव अधिकार हो,” आइसेला जोस्पा भन्छिन्।

स्पेनिशमा अनलाइन कुराकानी “इन्डिजिनस + डिजिटलः हाउ योंग पिपल आर रिभाइजलाइटिंग दियर नेटिभ ल्यांग्वेजेज अन द इन्टरनेट” को रेकर्डिङ यहाँ हेर्न सकिन्छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.