‘बाहिरी संसारलाई नेपाली साहित्य कति सम्पन्न छ भन्ने थाहा छैन’: लेखक डा. संगीता स्वेच्छासँगकाे अन्तर्वार्ता

३–५ अगष्ट २०१९, लण्डनमा भएकाे अन्तर्राष्ट्रिय नेपाली सम्मेलनमा ‘गुलाफसँगकाे प्रेम’ । फाेटाे साैजन्यः डा. संगीता स्वेच्छा ।

इङ्गल्याण्ड निवासी डा. संगीता स्वेच्छा नेपाली साहित्यिक व्यक्तित्व हुन् । उनका कविता, कथा र लेखहरू नेपाल र बेलायतमै पनि प्रकाशित हुँदै आएका छन् । उनका केही कविताहरू रेडियाे नेपाल र नेपाल टेलिभिजनमा प्रकाशित भएका छन् । उनका ‘अश्मिताका पाइलाहरू’ र ‘गुलाफसँगकाे प्रेम’ नामक नेपाली कथाहरूका संग्रह प्रकाशित छन् ।

उनले १८ वर्षकै उमेरमा लेखेकी पहिलाे उपन्यास ‘पखालिएकाे सिउँदाे’ ले साहित्यिक वृत्तमा उत्कृष्ट समिक्षा हासिल गरेकाे थियाे । यो उपन्यास नेपाली महिला पात्र सन्ध्याकाे भावनात्मक यात्रामा केन्द्रित छ । यसमा उनले विगतमा भाेगेका दुःख, पीडा  र आफ्ना विगतबाट पार पाउन उनले गरेकाे संघर्षकाे कथा रहेको छ। यसले नेपालमा हुने गरेका मानव बेचबिखनका मुद्दाहरूलाई समेत समेटेकाे छ । ग्लाेबल भ्वाइसेजले उनीसँग उनका कार्य तथा साहित्यिक प्रेरणाका बारेमा कुराकानी गरेकाे छ ।

ग्लाेबल भ्वाइसेजः तपाईंले कहिलेबाट लेख्न शुरू गर्नुभयाे?

डा. संगीता स्वेच्छा: मलाई वर्ष एकिन भएन तर मैले त्यस्तै १२ वा १३ वर्षकी हुँदादेखि लेख्न थालेकी हुँ । त्याे कविता थियाे कि के थियाे त्याे पनि मलाई याद छैन तर मनमा लागेकाे कुरा म लेखी हाल्थे । म सानैदेखि कम बाेल्ने र शान्त स्वभावकी थिए । आफू कम बाेल्ने र अरूकाे धेरै सुन्ने गर्थे । म मानिसहरूका अगाडि बाेलेर भन्दा पनि कवितामार्फत् आफ्ना अभिव्यक्तिहरू राख्न सहज मान्थे ।

ग्लाेबल भ्वाइसेजः तपाईंलाई नेपाली भाषामा लेख्न कसले हाैसला दियाे?

डा. संगीता स्वेच्छा: नेपाली भाषा नेपालकाे राष्ट्रिय भाषा हाे । नेपाली भएकाे नाताले पनि अङ्ग्रेजीमा भन्दा पनि नेपाली भाषामै लेख्न बढी सहज लाग्थ्याे । म कसरी लेखनतिर लागे भन्ने हेक्का छैन तर मेरा बुबा, आमाले मलाई सदैव लेख्न हाैस्याउनु हुन्थ्याे । शुरू-शुरूमा मैले लेखेका कुराहरू उहाँहरूलाई भन्दिन थिए । मलाई लेखनमा रूचि भएकाे र मैले लेख्न थालेकाे केही वर्ष भयाे भनी उहाँहरूलाई जानकारी दिन मलाई केही वर्ष लाग्याे । म भर्खरै किशोरावस्थामा प्रवेश गर्ने बेलामा आफूले लेखेका रचनाहरू लुकाउने वा च्यातेर फाल्ने गर्दथे । शुरूमा मेराे घर वरपरका प्रकृतिले पनि मलाई लेख्न हाैस्याएकाे हुनुपर्छ । म पहिले पनि र अहिले पनि प्रकृतिकाे सुन्दरताबाट माेहित हुने गर्छु ।

ग्लाेबल भ्वाइसेजः तपाईंकाे ‘पखालिएकाे सिउँदाे’ उपन्यासका बारेमा केही भन्नुस् न?

डा. संगीता स्वेच्छा: मेराे ‘पखालिएकाे सिउँदाे’ उपन्यास दुःख र पीडा सहिरहेकी एक महिला र परिस्थितिले उनलाई कसरी शक्तिशाली बनाउँछ भन्ने बारेमा छ । यसले आफ्ना नातेदार वा प्रेमीहरूबाट बेचिन बाध्य भएका महिलाहरूका कथा पनि भन्छ । याे त्यस्ताे एक शक्तिशाली महिलाकाे कथा हाे जसले विभिन्न बाधाअड्चनका बावजुद पनि कटिबद्ध भई आफ्नाे जिवनलाई अघि बढाई आफ्ना सपनाहरू पूरा गर्न सक्छिन् ।

डा. संगीता स्वेच्छा । फाेटाे साैजन्यः डा. स्वेच्छा । 

म १८ वर्षकी हुँदा र नेपालकाे सेन्ट जेभिएर्स कलेजबाट आईएस्सी (१२ कक्षा सरह) काे अध्ययन समाप्त गरेपछि मैले याे उपन्यास प्रकाशित गरेकी थिए । परिक्षा सकेर परिक्षाफल कुरिरहेकाे खाली समयमा केही कथाहरू लेख्ने साेचिरहेकी थिए । मैले एउटा कथा लेख्न थाले । त्याे कथाले मलाई मज्जाले तान्याे र मैले लेखिरहे । पछि गएर त्याे २६५ पृष्ठकाे उपन्यास नै बन्याे । म अहिले भने आफै छक्क पर्छु कि त्याे उमेरमा मैले कसरी याे लेख्न सके हुँला भनेर । लेख्ने काम सकिएपछि मेराे बुबाले मलाई याे उपन्यास छाप्न हाैस्याउनु भयाे । प्रारम्भिक दिनहरूमा मेरा अभिभावकहरूले मलाई गर्नु भएकाे सहयाेगकै कारण मेराे लेखक बन्ने सपना साकार भएकाे हाे भन्ने मलाई लाग्छ । म भाग्यमानी थिए कि, उपन्यासकाे प्रकाशनपछि पनि सञ्चार, समिक्षक र पाठकहरूबाट माया र मूल्याङ्कन पाए ।  त्यसपछि म नेपालमा हुने साहित्यिक गतिविधिहरूमा नियमित रूपमा संलग्न हुन थाले । तिनै गतिविधिहरूमध्ये ‘आकाश’ नामक साहित्यिक मासिक पत्रिकाकाे प्रकाशन पनि एक थियाे । म त्याे पत्रिकाकाे सह–सम्पादक थिए । उपन्यास प्रकाशनपश्चात् नेपालका विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरूमा समेत नियमित रूपमा लेख्न थाले । त्यसपछि मलाई स्तम्भ लेखन तथा रिपाेर्टिङका लागि प्रस्तावहरू आउन थाले । हाल क्यापिटल एफएम ९६.४ मेगाहर्जबाट मेराे याे उपन्यास हरेक हप्ता वाचन हुन्छ । यसबाट नेपाल र नेपाल बाहिरका वृहत स्राेता तथा पाठकहरू माझ (अनलाइन रेडियाे तथा युट्युब संस्करणमार्फत्) मेराे कृति फैलिन सहयाेग पुगेकाे छ । म यसकाे दाेस्राे संस्करण प्रकाशन कार्यमा व्यस्त छु र यसकाे अङ्ग्रेजी संस्करण पनि चाँडै प्रकाशित हुनेमा म आशावादी छु ।

ग्लाेबल भ्वाइसेजः एक्काईसाैं शताब्दिमा नेपाली साहित्यकाे अवस्था कस्ताे पाउनु हुन्छ?

डा. संगीता स्वेच्छा: नेपाली भाषामा साहित्य लेखनकाे शुरुवात उन्नाईसाैं शताब्दिमा मात्र भएकाे हाे । त्यसअघि नेपाली साहित्य संस्कृतमा लेखिन्थ्याे । पहिलाे नेपाली भाषामा लेखिएकाे साहित्यिक कृति भानुभक्तकाे रामायण (सन् १८८३) हाे । यसर्थ, नेपाली साहित्यकाे इतिहास सय वर्षभन्दा बढीकाे छ । हाल विभिन्न विधामा साहित्यिक कृतिहरू प्रकाशित हुन थालेका छन् । एक्काईसाैं शताब्दिसम्म आइपुग्दा संख्याका हिसाबले नेपाली साहित्यकाे विकास उल्लेखनीय देखिन्छ । संख्यामा मात्र हैन गुणस्तरमा समेत नेपाली साहित्यमा सुधार आउन थालेकाे छ । हरेक वर्ष नयाँ र नाैलाे शैली एवं पद्धतिमा लेखिएका विभिन्न विधाका पुस्तकहरू प्रकाशित हुन थालेका छन् । यी कृतिहरू नेपाली भाषामा मात्र लेखिने र प्रकाशित हुने हुँदा बाहिरी संसारलाई नेपाली साहित्य कति धनी छ भनी एकिन गर्न गाह्राे हुने नै भयाे । यस कारण पनि बाहिरी संसारमा नेपाली साहित्य ओझेलमा परेकाे भान हुन्छ । यद्यपि, हाल आएर याे अवस्थामा बदलाव आउन थालेकाे छ । अङ्ग्रेजी भाषामा लेख्ने नेपाली लेखकहरूका संख्या बढ्नुका साथै नेपालीमा लेखिएका कृतिहरू विभिन्न भाषाहरूमा अनुवाद हुन थालेका छन् । याे बदलिँदाे शैलीले मानिसहरू नेपाली साहित्यका बारेमा जानकार हुनुका साथै नेपाली साहित्यले बाहिरी संसारमा स्थान पाउन थाल्नेछ ।

यसका साथै, आजकाे विश्वव्यापी संसारमा नेपाली लेखकहरू विश्वभरी नै छरिएर रहेका छन् । संसारका विभिन्न कुनामा छरिएर रहेका लेखकहरूलाई एकै स्थानमा ल्याउनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे स्थापना भएकाे हाे । अनेसासकाे विश्वका ८० देशहरूमा शाखा छन् । १२ विभिन्न देशहरूमा रहेका १०० नेपाली लेखकहरूलाई एकै स्थानमा भेला गराई नेपाली साहित्यकाे संवृद्धिका लागि प्रतिबद्धता जनाउनुका साथै प्रवासी नेपाली लेखकहरू तथा नेपालमा बस्ने लेखकहरूलाई हाैसला प्रदान गर्न हालै लण्डनमा भएकाे अनेसासकाे सम्मलेन यसकाे एक उदाहरण हाे । उक्त सम्मेलनमा अङ्ग्रेजीमा लेखिएका लघु कथाहरूकाे सङ्ग्रह ‘सिल्भर क्यास्केड’ काे पनि विमाेचन भएकाे थियाे । नेपालकाे बुक हिल नामक प्रकाशन गृहले प्रकाशन गरेकाे याे कथा सङ्ग्रहमा चलेका लेखकहरूका कथाहरू सङ्ग्रहित छन् । हामी आशावादी छाैं कि, अनुवाद भएका नेपाली साहित्यिक कृतिहरूले अन्तर्राष्ट्रिय बजारका पाठकहरूकाे ध्यानाकर्षण गर्नुका साथै उनीहरूका माया पाउने छन् ।  हामी यस्ता धेरै कृतिहरू प्रकाशित हाेउन् भन्ने चाहन्छाैं । यसै गरी, मेराे कथा सङ्ग्रह ‘गुलाफसँगकाे प्रेम’ पनि अङ्ग्रेजीमा अनुवाद हुने तयारीमा छ ।

डा. संगीता स्वेच्छासँगकाे याे अन्तर्वार्ता इमेलमार्फत् गरिएकाे हाे । 

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.