
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पोष्टर। साभार: मानव अधिकार चलचित्र केन्द्र । अनुमति लिएर प्रयोग गरिएको।
काेराेना भाइरस (काेभिड–१९) काे प्रभाव विश्वव्यापी रूपमा फैलिएसँगै धेरै देशहरूले यसकाे राेकथामका उपायका रूपमा विभिन्न कार्यक्रम तथा भेलाहरू स्थगित गर्न थालेका छन् । नेपालमा समेत सरकारले धेरै मानिसहरू भेला हुने गरी विभिन्न सभा, समाराेह, भेला, भाेज, भतेर जस्ता कार्यक्रमहरू आयाेजना नगर्न सुझाएकाे छ ।
काेराेना भाइरसकाे सम्भावित असरकाे राेकथामका लागि खेलकुददेखि चलचित्रसम्मका विभिन्न कार्यक्रमका आयाेजकहरूले लामाे समयसम्म प्रतिक्षित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेका छन् ।
नेपालमा पहिलाे पटक काेभिड–१९ काे असर जनवरी २३ मा चीनबाट नेपाल आएका एकजना विद्यार्थीमा देखिएकाे थियाे । स्वास्थ्य स्थितिमा सुधार आएपछि उनकाे डिस्चार्ज भइसकेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मार्च ६ को सूचना अनुसार ४३७ परिक्षण गरिएकोमा ४३६ नेगेटिभ र १ पोजिटिभ भेटिएका थिए। उक्त मन्त्रालयले मार्च ८ मा अद्यावधिक गरेकाे सूचनाअनुसार हालसम्म ४४१ नमूनाहरू परीक्षण भएका छन्; जसमध्ये सबै नमूनाहरू नेगेटिभ भेटिएका छन् ।
नेपालमा प्रभावितको संख्या न्यून भएपनि, एशियाली विकास बैंक (एडीबी) ले गरेकाे एक विश्लेषणका अनुसार काेराेना भाइरसकाे असरले नेपालकाे हरेक आर्थिक क्षेत्रमा प्रभाव पार्ने देखिएकाे छ । नेपालकाे कुल ग्राह्यस्थ उत्पादन घटेर ०.०४–०.१३ प्रतिशतमा पुग्ने सम्भावना देखिएकाे छ ।
अन्तर्राष्ट्रिय कार्यक्रमहरू धमाधम स्थगित
नेपाल सरकारले जारी गरेकाे अपिललाई कदर गर्दै ४ मार्चबाट शुरू हुने भनिएकाे आठाैं अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महाेत्सव पनि स्थगित भएकाे छ ।
मानव अधिकार चलचित्र केन्द्र, नेपालले हरेक वर्ष विश्वभरबाट आव्हान गरी सङ्कलित मानव अधिकारका विषयका सेराेफेराेमा बनेका चलचित्रहरू ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव‘ मार्फत प्रदर्शन गर्दै आएकाे छ । यस महाेत्सवमा विश्वभरीका मानव अधिकार चलचित्रकर्मी तथा मानव अधिकारकर्मीहरू उपस्थित भई चलचित्र देखाउने तथा मानव अधिकारका विषयमा छलफल तथा बहस गर्ने गर्दछन् । यसै वर्षकाे महाेत्सवका लागि ३२ वटा देशहरूबाट ८४ वटा चलचित्रहरू प्रदर्शनीका लागि भनी छानिएका थिए । त्यसै गरी १७ देशहरूका २२ जना चलचित्रकर्मीहरू यसै महाेत्सवमा सहभागी हुनका लागि नेपाल आउँदै थिए । महाेत्सवकाे तयारी तथा प्रचारप्रसारले व्यापकता लिइरहेकै बेला मानव अधिकार चलचित्र केन्द्रले २ मार्चमा महाेत्सव अर्काे सूचना प्रकाशित नहुन्जेलका लागि स्थगित गरिएकाे जनाएकाे छ ।
मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक तथा चलचित्र महाेत्सवमा निर्देशक पाण्डव खत्रीले प्रेस वक्तव्यमार्फत जानकारी दिए:
महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिनेछ। आठौं महोत्सवमा प्रदर्शनका लागि छानिएका चलचित्रहरू नै आगामी मितिमा पनि प्रदर्शन गरिने छ। महोत्सव स्थगित भएका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममेकरहरू, हाम्रा आदरणीय दर्शक, सहयोगी, प्रायोजक तथा अन्यमा परेको असरका लागि मानव अधिकार चलचित्र केन्द्र क्षमायाचना गर्दछ।

पोखरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रचार सामग्री । साभार: पाेखरा फिल्म साेसाइटी । अनुमति लिएर प्रयोग गरिएको।
त्यसै गरी, मार्च १४ देखि पाेखरामा हुने भनिएकाे पाेखरा अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव २०२० पनि अनिश्चित कालका लागि स्थगित भएकाे छ । महाेत्सवका निर्देशक सराेज सापकाेटाले विश्वव्यापी रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे प्रकाेपलाई मध्यनजर गरी यस वर्षकाे महाेत्सव स्थगित गर्नु परेकाे बताए । हरेक वर्ष पर्यटकीय शहर पाेखरामा हुने यस चलचित्र महाेत्सवकाे मार्च १४ देखि १५ सम्म दुई दिनसम्म चाैंथाे संस्करणकाे आयाेजना हुँदैथियाे । विगत पाँच वर्षदेखि पोखरामा आयोजना हुँदै आइरहेको यस महोत्सवमा यो पटक २२ देशका ३५ चलचित्र प्रदर्शनीका लागि छनाैंटमा परेका थिए । महोत्सवका लागि ५ विदेशी र ८ नेपाली चलचित्रकर्मीहरू पोखरा आउने कार्यक्रम थियो । स्थिति सामान्य भएपछि भविष्यमा अनुकूल समय पारी महाेत्सवकाे नयाँ मिति तोकिने पाेखरा फिल्म साेसाइटीका अध्यक्ष जितेश प्रधानले बताए ।
यस्तै, प्रशिद्ध अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुने बहुप्रतिक्षित टी२० क्रिकेट बाेनान्जा, एभरेष्ट प्रिमिएर लिगसमेत स्थगित गरिएकाे छ ।
The 2020 TVS Everest Premier League has been postponed until further notice following detailed discussions with the Government of Nepal & other stakeholders to avoid possible transmission of COVID–19
It will be back bigger & better than ever before #JaiNepal#EPLT20 pic.twitter.com/j1XmUfOqh0
— EPL – Everest Premier League (@eplt20official) March 5, 2020
नेपाल सरकार तथा अन्य साझेदारसँगको परामर्शपश्चात् कोभिड–१९ को संभावित संक्रमण रोक्न अर्को सूचना जारी नभएसम्मका लागि २०२० टिभिएस स्थगित गरिएको छ।
यो कार्यक्रम पहिलेभन्दा भव्य र राम्रो हुनेछ।
त्यस्तै, यही अप्रिल २ देखि ४ सम्म हुने भनी तय भएकाे ‘सगरमाथा संवाद’ पनि स्थगित भएकाे छ । यसकाे पनि मुख्य कारण त्यही नै हाे । अझ याे त नेपाल सरकारले नै आयाेजना गरेकाे कार्यक्रम थियाे । जसमा जलवायु परिवर्तनसँग जाेडेर पर्वतीय मुलुकहरु र मानव जातिको भविष्यका बारेमा संवाद गर्ने याेजना सरकारकाे थियाे । अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न राजनीतिज्ञहरू तथा विश्वविद्यालाय तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूकाे सहभागित रहने भनिएकाे यस कार्यक्रमलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल समेत काेराेना भाइरसबाट उच्च जोखिममा पर्न सक्ने देशकाे सूचीमा पारेपछि सरकारले याे कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले काेराेना भाइरसकाे अत्याधिक असर रहेका देशहरू विशेष गरी चीन, दक्षिण काेरिया, जापान, इरान, इटाली, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल आउने विदेशी नागरिकहरूलाई अन–अराइभल प्रवेशाज्ञा दिनमा राेक लगाएकाे छ ।
The Nepali government has suspended the visa-on-arrival regime for nationals of five countries – China, South Korea, Japan, Italy and Iran which were badly affected by the #coronavirus epidemic. #COVIDー19 #Nepalhttps://t.co/VMVFe0aS6b
— South Asia Center (@ACSouthAsia) March 5, 2020
नेपाल सरकारले काेराेना भाइरसकाे अत्याधिक असर रहेका पाँच देशहरू – चीन, दक्षिण काेरिया, जापान, इटाली र इरानका नागरिकहरूलाई अन–अराइभल प्रवेशाज्ञा दिनमा राेक लगाएकाे छ।
त्यसै गरी, नेपाल सरकारले ३७ वटा नेपाल–भारत सिमाना प्रवेश केन्द्रहरू हुँदै आवतजावत गर्ने व्यक्तिहरूमा काेराेना स्क्यान गरिने समेत निर्णय गरेकाे छ ।