विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

सामाजिक मुद्दाहरूलाई कथामा बदल्दै साओ पाउलोभन्दा मोफसलका नाट्य समूहहरू

एस्टाेपाे बालाईयाे नाट्य कम्पनीले रेलमा नै शुरू गरेकाे नाटक, जुन पूर्विय भेग आसपासका ठाउँहरूमा परिक्रमा गर्दछ । तस्वीर: रमीला साेउजा (अनुमति लिई प्रयाेग गरिएकाे)

याे लेख ग्लाेबल भ्वाइसेज र एजेन्सीया म्युरल बिचकाे साझेदारीकाे एक हिस्साका रूपमा प्रकाशित छ । यसका मूल लेखक प्रीसिला पासियाे हुन् । 

साओ पाउलाेकाे ठूला शहरहरूमध्येकाे एक, हिलियाेपाेलिसमा आफ्नाे निर्दाेषपनालाई लिएर अश्वेत युवाहरूका एक जत्थाले समुदायमा उत्तेजना फैलाएकाे छ । जार्दिम राेमानाेतर्फ जाँदै गरेकाे रेलमा अडियाेमार्फत् त्यसमा सवार यात्रुहरूका कानमा त्यस स्थानकाे इतिहासका बारेमा आवाज गुन्जिन्छ । क्षणभरमै वर्षासँगै बाढी समेत देखापर्छ । शहरका हरेक दक्षिण भेगमा मृत शरिर ब्राजिलिएन फन्क (सङ्गीत) सँगै ब्युतिन थाल्दछन् । 

यी तीनवटा भिन्न-भिन्न नाटकका उपकथाहरू हुन्, जसले पछिल्लाे समयमा साओ पाउलाेकाे रङ्गमञ्चलाई तताएकाे छ । 

हिलियाेपाेलिस नाट्य कम्पनी, एस्टाेपाे बालाईयाे, र न्यूक्लियाे पेले नामक तीनवटा कम्पनी स्थापना भएका शहरमा बसाेबास गर्ने र कम्पनी स्थापना गर्ने मानिसहरूले आफ्ना आसपासका टाेलछिमेकलाई नाटकमार्फत् कहिले मञ्चमा त कहिले सडकमा उतार्दछन् । 

स्याकाेमाकाे दक्षिणीपूर्वी जिल्ला साउ पाउलाेकाे छिमेकी हिलियाेपाेलिस आइपुग्दा मिगेल रूचा (हाल ३९ वर्ष) १६ वा १७ वर्षका थिए ।  उनकाे पूर्ख्याैली थलाे भने पीआलाकाे दक्षिणपूर्वी ब्राजिली राज्य साउ मिगेल डू फिडाल्गाे हाे । हाल, रङ्गकर्मी बनेका मिगेलले स्कूल हुँदा नै कला विषय रूचाउन थालेका थिए । उनले स्कूल छँदै प्रथमपटक अभिनय प्रस्तुति देखेका थिए, जुन उनकाे लागि शुरूवाती विन्दु बन्न सफल भएकाे थियाे । 

सन् २००० मा स्थानीय समुदायिक केन्द्रहरू तथा स्थानीयहरूका सहयाेगमा उनले हिलियाेपाेलिस नाट्य कम्पनीकाे स्थापना गरे । 

नाटक ‘(इन्)जस्टिसा’ काे एक दृष्य, जसमा ब्राजिली कानूनी प्रणालीकाे चित्रण गरिएकाे छ । तस्विरः क्याराेलिन फेरीरा (अनुमति लिई प्रयाेग गरिएकाे)

निर्देशकका अनुसार हिलियाेपाेलिस उनीहरूका लागि कार्यथलाे जस्तै हाे । जहाँ उनीहरू कथा बुन्छन् र यसले शहर र पुरै देशलाई संलग्न गराउन सफल भएकाे छ । “कलाकाे सबैभन्दा राम्राे पक्ष भनेकाे यसले सदैव सूक्ष्म पक्षहरूकाे उजागर गर्ने प्रयास गर्दछ ।” हालै मञ्चन भएकाे र उनी फैले निर्देशन गरेकाे नाटक ‘(इन्)जस्टिसा’ यसकाे एउटा उदाहरण हाे ।

नाटककाे प्लटमा, एकजना अश्वेत वर्णका किशाेरले बाेकेकाे बन्दुक दुर्घटनावस पड्किन जाँदा एकजना महिलाकाे हत्या हुन पुग्छ । त्यसपछि न्यायसम्बन्धी विभिन्न प्रश्नहरू उठ्छन्, की त्याे ‘न्याय प्रणालीद्वारा पारित हाे’ वा ‘समाजद्वारा परिकल्पना गरिएकाे हाे’ भनी । याे नाटक इभिल रिबाउकसले कम्पनीसँगकाे साझेदारीमा लेखेका हुन् । याे नाटक “फैसलाले के प्रष्ट पार्दैन?” भन्ने प्रश्नबाट मार्गनिर्देशित छ, जसले ब्राजिलकाे न्याय प्रणालीलाई झल्काउन प्राेत्साहन गरेकाे छ । 

(इन्)जस्टिसा हिलियाेपाेलिससँग सम्बन्धित, ग्राजाउ, पूर्विय क्षेत्रका बारेकाे एउटा विवरणबाट शुरू हुन्छ । ती हामीले भनिरहेका कथाहरू हुन्; जुन मानिसहरू निकट छन्; र धेरैजसाेका अख्यानात्मक पाटाे पनि छ,” राेचाले बताए । साे समूहसँग पाठ्यक्रममा ११ वटा रङ्गमञ्चिय प्रस्तुतिहरू छन् । यसकाे प्रधान कार्यालय हिलियाेपाेलिकाे छिमेकी जिल्ला इपरेङ्गाकाे मरिया हाेजे डी कार्भालाे नाटकघरमा छ ।

यस कम्पनीले तयार गर्ने नाटकहरूमा अफ्राे–बाजिली संस्कृती जस्तैः साम्बा, फन्क तथा शहरी संस्कृतिहरूबाट प्रेरणा लिने गरेकाे छ । केन्द्र बाहिरका शहरलाई यहाँका केही मानिसहरूले हराएकाे वा टुक्रिएकाे मान्ने गरेकाे कुरामा मिगेलले ध्यानाकर्षण गराए । 

“केन्द्र बाहिर कम जनसङ्ख्या वा घरधुरीहरू छ भन्ने कुरा गलत हाे । हाे, त्यहाँ धेरै गरिव मानिसहरू भने छन् । तर, त्यहाँ आम्दानी आर्जन गर्ने व्यापार–व्यवसाय पनि छन् । त्यहाँका मानिसहरूसँग आधुनिक कार छन् । बाहिरी क्षेत्र वा इलाका झन् विविधतामय छ,” उनले सुनाए । 

बाढी, रेल र दक्षिणपूर्व

जार्डम राेमानाेकाे छिमेक, इटेम पाउलिस्टा, एस्टेपाे ब्यालाे नामक नाटक समूहकाे प्रस्थान बिन्दु हो। याे रियाे ग्रान्डे डू नाेर्टेका अप्रवासीहरूद्वारा सन् २०११ मा गठन भएकाे हाे । याे राज्य साउ पाउलाेबाट २,८०० किलाेमिटर टाढा छ । एस्टेपाेले ‘द सिटी अफ इन्भिजिवल रिभर्स’ अर्थात् ‘अदृष्य नदीहरूका शहर’ नामक नाटकमा अभिनय गरेका थिए ।

उक्त नाटकघरका निर्देशक ४० वर्षिया जाेआ जुनिएर हुन् । सन् २०१० मा उनी नाटाल आएका हुन् । नाटाल, ब्राजिलकाे दक्षिणपूर्वी राज्य तथा रियाे ग्रान्डे डू नाेर्टेकाे राजधानी हाे । उनी साउ पाउलाेकाे पश्चिम क्षेत्र बेरा फन्डामा बस्न गएका थिए र पूर्वी जार्दिम रूमानाेकाे एउटा शैक्षिक केन्द्रमा काम गरेका थिए । त्यही उनले आफूजस्ता धेरै दक्षिणपूर्वीहरूलाई भेटेका थिए । 

उनी देशकाे सबैभन्दा ठूलाे शहरमा कसरी दक्षिणपूर्व जिवन्त छ भनी साेचमग्न थिए । साथै, उनले बेरा फन्डादेखि साउ पाउलाेकाे पूर्वी क्षेत्रका भूभागमा आएकाे परिवर्तनलाई प्रत्यक्ष अवलाेकन पनि गरेका थिए । “मैले साेध्ने ठूलाे प्रश्न हाेः याे त्याे भूपरिधी वा भूभाग हाे जसले हामीलाई टुक्रायाे र एकै शहरभित्र अन्य शहरहरू जन्मायाे ।”

उनी जर्दिम रूमानाे सरे र त्यहाँ चार वर्षसम्म बसे । उनले सिमानाका समुदायलाई संलग्न गराई  र नाटालबाट आएका अन्य कलाकार साथीहरूसँग मिलेर एस्टेपाे ब्यालाे स्थापना गरे । 

याे वर्ष पनि उनीहरूले ‘द सिटी अफ इन्भिजिवल रिभर्स’ प्रदर्शनमा ल्याए । याे सन् २०१२ बाट शुरू भएकाे पानीसम्बन्धी तीन भागमा तयार गरिएकाे नाटक थियाे । यसले उक्त क्षेत्रमा परेकाे बाढीकाे प्रभावकाे विषयलाई समेटेकाे थियाे ।  

“‘द सिटी अफ इन्भिजिवल रिभर्स’ ले साे क्षेत्रका छिमेकी बासिन्दाहरूले भाेगेका बाढीकाे वितन्डाकाे इतिहासकाे कथा भन्छ । साे कथाहरू स्थानीय स्तरमा त्यहाँका सडकहरूमा, सडक नृत्य, र्याप तथा भित्ते कला अर्थात् ग्राफिटी सहित प्रस्तुत गरिन्छ । छिमेकी क्षेत्र हुँदै जाने रेलमार्गमा नाटकाे प्रारम्भ हुन्छ ।” 

जर्दिम रूमानाे, टीट नदीकाे किनारामा पर्ने छिमेकी क्षेत्र हाे । याे क्षेत्र सन् २००९ मा आएकाे बाढीका कारण समाचारहरूमा समेत छाएकाे थियाे किनकी याे क्षेत्र तीन महिनासम्म जलमग्न भएकाे थियाे । उक्त समयमा स्थानीय समुदायका मानिसहरू घुँडा घुँडासम्म त कहिलेकाँहि कम्मर कम्मरसम्मकाे फाेहाेर पानीमा हिँड्नु पर्थ्याे ।  

एस्टेपाे ब्यालाेले पानी, दक्षिणपूर्व र रेलसम्बन्धी विषयवस्तुमा नै नाटकहरू उत्पादन गर्दै आएकाे छ । “यहाँकाे सबै शहरहरूमा रेलबाट नै यात्रा तय गरिन्छ । रेल त्यस्ताे माध्यम हाे जहाँ तपाई एकअर्कालाई नचिनिकन सँगै यात्रा गर्नुहुन्छ । याे त्यस्ताे ठाउँ हाे जहाँ तपाई थकित शरिर लिएर चढ्नु हुन्छ,” उनले बताए ।

फन्क र ग्राजाउका सडकहरूमा नाटक

२३ वर्षिया सेट डिजाइनर तथा अभिनेत्री, एलिन डाेमिगाे डी ओलिभेराले सन् २०१३ बाट साउ पाउलाे शहर परिषद्काे परियाेजनाबाट नाट्य यात्रा प्रारम्भ गरेकी हुन् । जसले विद्यालयहरूमा कलासम्बन्धी तालिमहरू प्रदान गर्दथ्याे ।

उनलाई साे पाठ्यक्रम मन परेपछि क्याथाेलिक चर्चका अन्य साथीहरूलाई समेत उनले बाेलाएका थिए । त्यसपछि, दक्षिणी क्षेत्रकाे ग्राजाउ मा न्यूक्लियाे पेले नामक नाटक कम्पनी जन्मियाे । उक्त कम्पनीले सन् २०१५ मा पहिलाे नाटक ‘द स्किन अफ वाेर्क’ प्रदर्शनमा ल्यायाे । वृहत दर्शकहरूसम्म पुग्नका लागि उनीहरूले साे नाटकलाई चर्चबाट निस्किएका र आइतवारे किनमेलमा जाने मानिसहरूलाई लक्षित गरी सडक छेउका बजारहरूमा देखाए । 

अलिनका अनुसार, सडक नाटक गर्नु चुनाैतिपूर्ण काम हाे । “याे ठूलाे संघर्षपूर्ण कार्य हाे किनकी याे भनेकाे ठूलाे आवाज निकालेर हुइकिएकाे कार, राेइरहेकाे बच्चा, फाेराे (सङ्गितकाे प्रकार) बजाई रहेकाे बार जस्तै हाे । किनकी बाहिरी वा दुर्गम क्षेत्र जिवन्त हुन्छ । केही न केही घटिरहेकै हुन्छ,” उनले बताइन् । 

‘प्यानकिडियाे (संगीत)! पार्टी चलिराछ?” नाटककाे एक दृष्य । जसमा नृत्य र संगीतका कारण आफ्ना छाेराछाेरीहरू सुत्न नपाएकाे भनी आमाले एक पादरीलाई गुनासाे गर्छिन् । तस्वीर: बार्वरा टेरा (अनुमति लिई प्रयाेग गरिएकाे) 

“द स्किन अफ वाेर्क” नाटकले कामदारहरू र उनीहरूले दैनिक जिवनमा भाेग्नु परेका कठिनाइहरू जस्तैः भीड भएकाे बस वा रेल चढ्नु, महिलाहरूले दाेब्बर काम गर्ने दिनकाे भाेगाई, उनीहरूलाई हुने ज्यादतीका कथा भन्छ । “मानिसहरू भनिरहेका थिए वाह, याे त गज्जब भयाे! मैले यस्ताे नाटक त कहिल्यै हेरेकाे थिइन, जसले हाम्रै जिवनका बारेमा कथा भनिरहेकाे छ,” उनले बताइन् । 

याे वर्ष याे समूहले आफ्नाे दाेस्राे प्रस्तुति दिए । उनीहरूले मेकाे पहिलाे सातासम्म ‘प्यानकिडियाे (संगीत)! पार्टी चलिराछ?” नामक नाटक देखाए । प्यानकिडियाे ब्राजिली फन्ककाे प्रकार हाे । 

यस नाटककाे प्लटमा, तीन महिनासम्म फन्क पार्टी चलिरहेकाे हुन्छ । साेही बेला एकजना व्यक्तिकाे मृत्यु हुन्छ तर उसकाे शरिर भने सङ्गितलाई धन्यावाद दिँदै चलायमान नै हुन्छ । स्थानीय बासिन्दाहरूले नृत्यलाई निरन्तरता दिने वा राेक्ने भनेर निर्णय लिनुपर्ने हुन्छ ।  

बाहिरी दुर्गम क्षेत्रमा कलाकाे शक्ति छ  भन्ने कुरामा अलिन विश्वस्त छन् । “बाहिरी क्षेत्रले कलामा विविधता पस्कन सक्छ । हरेककाे आफ्नै विशेषता छ र साेही अनुसार उत्पादन पनि गरिरहेका छन् ।”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.