निल्न पनि गाह्रो हुने पाँच भियतनामी परिकार

मुख्य बजार, माइ थो, भियतनाम। तस्वीर: Milei.vencel। विकिपिडिया कमन्स (Creative Commons Attribution-Share Alike 3.0 Unported)।

तियन नुयेनले लोआका लागि तयार पारेको यो आलेख ग्लोबल भ्वाइसेजसँगको साझेदारीअन्तर्गत यहाँ पुनःप्रकाशन गरिएको छ। लोआ भियतनामबारे लेखहरू प्रकाशन गर्ने भियत तानको न्यूज वेबसाइट र अनलाइन रेडियो परियोजना हो।

प्रत्येक देशको आफ्नै मौलिक र केहि अनौठा खानाका परिकार हुन्छन् जस्तै कि जापानमा पाइने टुना माछाको आँखा, चीनमा खाइने बाँदरको गिदी र फ्रान्समा रुचाइने बासी चीजमा पाइने झिंगाका म्यागोट। मैले भियतनाममा पाइने पाँच अनौठा परिकारको सूची तयार पारेको छु। अवश्य पनि तपाईंलाई यी खानेकुरा नौला लाग्नेछन्।

टिउरासमेतको हाँसको अण्डा — बालुट

स्रोत: फ्लीकर, शंकर एस।(CC BY 2.0)

टिउरा बसिसकेको अण्डालाई उसिनेर अण्डाकै खोस्टाबाट खाइने परिकार हो, बालुट। १९ देखि २१ दिनसम्मको टिउराको भ्रूणकालाई कुरकुरे हाडसहित कर्यामकुरुम चपाउँनुपर्ने हुन्छ। यो परिकार खादाखेरि अलिकति नुन थप्नुपर्छ, फुलभित्र भएको पानीलाई सुरुप्प पार्नुपर्छ र बाँकी भागलाई भियतनामी धनियाका पातसँगै चपाउनुपर्छ।

भियतनामी पिज्जा

स्रोत: फ्लीकर/ पेत्र तथा बारा रुजिका(CC BY 2.0)

यदि तपाईंलाई पिज्जा मनपर्छ भने “भियतनामी पिज्जा” खानैपर्ने हुन्छ। यसमा प्रयोग हुने सामग्री चाहि बदाम, धनियाको पात, माछाको सस, कागती र मुख्यतया हाँसको रगत हुन्। र यो रगत चाहि आलो हुनुपर्छ! हाँसको रगत जमिसकेपछि र रातो हुँदै खानुपर्छ, साथै चम्चाले सोहोर्दा रगत ठोस हुनुपर्छ।

नरिवलको बोटमा पाइने लार्भा/ किरा

नरिवलको बोटमा पाइने लार्भा/ किराको स्क्रीनशट – कोन दुओङ दुआ। स्रोत: युट्युब।

यी मोटा दुधिला देखिने किरा तीनदेखि पाँच सेन्टिमिटरसम्मका हुन्छन्। यी किराहरू नरिवलको रूखका माथिल्लो भागमा पाइन्छन्। यिनीहरू त्यहाँ प्वाल पारेर बच्चा कोरल्दै, हुर्काउँदै जीवन बिताउँछन्। यी किराका कारण जब रूख नै नबच्ने स्थितिमा पुग्छ तब किरा लागेको भागलाई काटेर यी किराका पुरै घारलाई तल झारिन्छ। पछि रूखको काटिएको भाग फेरि पलाउछ।

यस किरालाई धेरै प्रकारले पकाउन सकिन्छ तर यसबाट बन्ने सबैभन्दा लोकप्रिय परिकार चाहि “माछाको ससमा पौडिरहेका लार्भा” हो। यिनीहरूलाई प्लेटमा राखिएको माछाको ससमा राख्नुहोस् र पौडिदै गर्दा यिनीहरूलाई जिउँदै खानुहोस्। भियतनामीका अनुसार चपाउनुपर्ने यी किरा पोषणयुक्त र स्वादिला हुन्छन्। यो किरा निवर्तमान भियतनामी महारानीको मनपर्ने परिकार थियो।

मुसा

स्रोत: फ्लीकर/ जीन पियरे दालबेरा (CC BY 2.0) ।

यी मुसा तपाईंको बारी या ढलमा पाइने जातका होइनन् तर धानखेतमा पाइने जातका हुन्। यी घरमा पाइने मुसाभन्दा अलिक कम गन्हाउछन् र धान भित्र्याउने बेला लोकप्रिय हुने गरेका छन्। किसानहरूले खास गरेर समूहमा एउटा दुलोबाट १०० वटासम्म मुसा समात्छन्। यसलाई पकाउने सबैभन्दा उत्तम तरिका माटोको भाडोमा ग्रील गर्ने र माछाको ससमा काँचो आँपसँगै चोपल्ने हो। यो मृगको मासु जस्तै मिठो हुन्छ!

तारेको झ्याउँकिरी

तारेको झ्याउँकिरी। तस्वीर: हाइथाइत। विकिपिडिया कमन्स (Creative Commons Attribution-Share Alike 3.0)।

भिन्ह लोंगमा मन पराइने यी किरा झिंगा जस्तै तर अलिक ठुला हुन्छन्। मेरी हजुरआमाका अनुसार यी किराहरूमा बालबालिकालाई लाग्ने रोग उपचार गर्नसक्ने क्षमता हुन्छ। यिनीहरू छाला फेरिने बेला अति स्वादिला हुन्छन् किनकि त्यसबेला यिनीहरूको मासु नरम हुन्छ। खानका लागि तपाईं यसलाई तार्न सक्नुहुन्छ, उसिन्न सक्नुहुन्छ र कोन्जे अथवा खीरमा मिसाउन सक्नुहुन्छ।

के तपाईंले यीमध्ये कुनै परिकार चाख्नु भएको छ ? तपाईंले खाएको सबैभन्दा अनौठो खानेकुरा चाहि के हो त ?

यी भियतनामी परिकारका बारे थप जान्न यो पोडकाष्ट सुन्नुहोस्:

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.