टेमर प्रशासनको अवरोधको बावजूद हजारौं आदिवासीद्वारा ब्राजिलको राजधानीमा प्रदर्शन

अप्रिल 23 देखि 27 सम्म ब्राजिलका सबै क्षेत्रबाट तीन हजार भन्दा बढी आदिवासी नेता देशको राजधानीमा भेला भए। फोटो: ३५०. ओआरजी CC BY-NC-SA 2.0

यो लेख विश्वव्यापी जलवायु अभियान चलाउने एक संस्था ३५०डटओआरजीका नाथालिया क्लार्कले तयार पारेकी थिइन् र  ग्लोबल भोइसेजसँगको साझेदारीको एक हिस्साको रुपमा यहाँ प्रकाशित गरिएको छ।३५०डटओआरजी ब्राजिलमा राष्ट्रिय आदिवासी आन्दोलन समर्थकको रूपमा सहभागी भएको थियो।

शिविरमा धुवाँ र शरीरमा चित्र बनाउन प्रयोग गरिने यूरुकम वनस्पति जस्तै गन्ध आइरहेको थियो। जनसमुदायमा अवज्ञापूर्ण उत्साह संचार भयो। हामी गीत, संस्कार सम्बन्धी मन्त्र र औपचारिक रोदन सुन्न सक्थ्यौं।

ब्राजिलको राजाधानी शहर ब्रासिलियामा अप्रिल २३ देखि २७ सम्म आयोजित पाँच दिवसीय राष्ट्रिय आदिवासी आन्दोलन २०१८ मा भेला भएका ब्राजिलका १०० भन्दा धेरै विभिन्न समूहका ३,००० जना भन्दा बढी आदिवासीको आवाजले शहर गुञ्जायमान भयो।

‘फ्री ल्याण्ड क्याम्प’ (पोर्चुगिज भाषामा अकाम्पामेन्तो तेर्रा लिभ्रे) पनि भनेर चिनिने विरोधस्थल ब्राजिलको आदिवासी जनसमुदायका आवाज (पोर्चुगिज संक्षिप्त रूप एपीआइबी) द्वारा आयोजित एक वार्षिक कार्यक्रम हो। यो वर्ष यसको १५ औं संस्करण हो।

ब्राजिलको पछिल्लो जनगणना अनुसार त्यहाँ २७४ विभिन्न भाषाहरू बोल्ने ३०५ आदिवासी समुदाय  छन्। सबै गरेर उनीहरूको जनसंख्या लगभग ८९७,००० छ जुन देशको २० करोड बहुसंख्यक जनसंख्याको लगभग ०.४७% हो।

तीमध्ये अधिकांश राष्ट्रिय भू-भागको उत्तरबाट दक्षिणसम्म पहिले नै निर्धारित तथा औपचारिक रूपमा संघीय सरकारद्वारा पहिचान गरिएका ७१५ आदिवासी भूमिमा अवस्थित कैयौं गाउँहरूमा छरिएका छन्। आदिवासी भूमिको ८०० भन्दा धेरै मामिला व्यवस्थापनको पर्खाइमा छन्।

‘जातिसंहार अभिप्राय’ तथा अन्य प्रहार

यस आन्दोलनले राजनीतिक बाधाहरू भोग्नुपरिरहेको छ, जसले यस वर्षको अभियानमा थप ऊर्जा प्रदान गर्यो।

कृषि व्यवसाय क्षेत्रसँग सम्बन्धित समर्थकहरूको पकड रहेको हालको ब्राजिल राष्ट्रिय कांग्रेसले एक विधेयक स्वीकृत गर्ने प्रयास गर्दै छ जुन ब्राजिलको १९८८ को संविधानले प्रत्याभूत गरेको आदिवासीका अधिकार तथा अन्य अन्तर्राष्ट्रिय कानून जस्तै अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं १६९ लाई कमजोर पार्नेछ।

ब्राजिलमा हालको जटिल राजनीतिक अवस्थामा राष्ट्रपति मिशेल टेमरको विवादास्पद प्रशासन मातहत कृषि व्यवसाय क्षेत्रका प्रतिनिधिहरूले अझ धेरै पकड जमाएका छन् र सरकारका अन्य अंगहरूमा पनि कब्जा जमाउन सफल भएका छन्।

फ्री ल्याण्ड क्याम्प हुनु केही दिन अघि मात्र राष्ट्रपति टेमरले रुरलिस्ट ककसको दबाबमा नेशनल इन्डिजेनस फाउण्डेशन (एफयूएनएआइ) का अध्यक्षलाई हटाएर कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई लिए।

आदिवासी भूमिका सीमालाई औपचारिक मान्यता दिने सवालमा सरकारको अनिच्छा र आन्दोलनमा संलग्न नेताहरूलाई अपराधी ठान्ने रवैया ब्रासिलियामा जम्मा भएका आन्दोलनकारीहरूका सरोकार तथा गुनासो प्रमुख मुद्दा थिए।

पाराना राज्यका एक जना आदिवासी नेता तथा ब्राजिलमा ३५०डटओआरजीका आदिवासी कार्यक्रम संयोजक क्रेटा कांगाङले आफूले सामना गरेका धम्की स्मरण गरे। “मलाई पहिले कैदी बनाइएको थियो, प्रमाणित गर्न नसकेका अपराधबारे आरोप लगाइएको थियो र म जन्मेको ठाउँमा जान मलाई न्यायाधीशद्वारा रोक लगाइएको छ। चार वर्षसम्म म त्यस ठाउँमा जान पाउँदिन जहाँ मेरो गर्भनाल गाडिएको छ,” उनले भने।

सेप्टेम्बर २०१७ मा ब्राजिलका महान्यायधिवक्त्ताले आदिवासीहरू जो १९८८ को संविधान लागू हुँदा आफ्ना भू-भागमा बस्दै आएका थिए उनीहरूले मात्र भूमि अधिकारको मान्यताबाट लाभ उठाउनुपर्छ भन्दै बलपूर्वक लिखित व्याख्यान जारी गरे।

“समय सीमा” थेसिसको रूपमा जानिने र कहिलेकाहीँ “जातिसंहार अभिप्राय” भनिने यस अभिप्रायलाई राष्ट्रपति माइकल टेमरद्वारा अनुमोदित गरिएको छ । कुनै पनि बेला यो कानून बनेको खण्डमा यसले अन्य आदिवासी भूमिको पहिचानलाई गम्भीर रूपमा निर्बल बनाउनेछ।

‘हाम्रो एउटै मात्र उद्देश्य छ: हाम्रो भूमिको सीमांकन प्रक्रिया पुनः सुरु गरिनु’

आदिवासी नेताहरू संघीय सरकारको कार्यालय भवन अगाडि जागा बस्दा रात पर्यो । एकै ठाउँमा, जनसमूहले मैनबत्तीहरू उचाले र एक जना आदिवासी महिलाको शोकगीत सुन्न उनीहरूले आफ्ना गतिविधि बन्द गरे। यो एक शोक समारोह थियो।

अर्को दिन, वरिपरि मन्त्रालयहरूले घेरिएको मुख्य मार्गको चोक जहाँ सबै संघीय भवनहरू रहेका छन्; प्रदर्शनकारीहरूले पुन: कब्जा गरे र नेशनल कांग्रेसको भवनतर्फ लागे।

चित्रकला र सजावट, नृत्य गर्दै र अभियानमा सहभागीहरूलाई एकत्रित हुन आव्हान गीत सहित आदिवासी कांगाङ, ग्वारानी, ग्वारानी-काइवा, ग्वारानी-ब्य, सुकुरु, पातासु, मुन्दुरुकु, अवा-ग्वाजा, ग्वाजाजारा, मारुबो, सेरेन्ते, सभान्ते, कायापो, तेनेतेहारा, तेम्बे, तुकानो, क्राहो, कानेला र अन्य धेरैले उनीहरूका भूमि सीमांकन प्रकृया पुन: सुरु हुनुपर्ने मांग गरे र १९८८ को संविधान मुताविक उनीहरूका अधिकारको सम्मान गर्न अनुरोध गरे।

आदिवासी नेताहरूले “सीमांकन गर!” “हाम्रा भूमिको प्रकृतिक स्रोत दोहन नगर!” र “ग्वारानी प्रतिरोध गर्छ” सन्देश लेखिएका सत्ताधारीहरूलाई लक्षित ब्यानरहरू बोके। त्यस्तै, पूर्वाधार तथा ऊर्जा परियोजनाहरूद्वारा हुने भूमि, नदी तथा प्राकृतिक स्रोतको विनाश रोक्न मांग गरे।

“हाम्रो एउटै मात्र उद्देश्य छ: हाम्रो भूमिको सीमांकन प्रक्रिया पुनः सुरु गरिनु। हाम्रा धेरै जना आफन्तहरू सहभागी हुन सकेनन् त्यसैले हामी हाम्रा समुदायहरूको प्रतिनिधित्व गर्न आयौं,” क्रेटा कांगाङले भने।

दमन र हिंसाको कारण रक्तपातको प्रतीक जनाउने रातो निशान प्रदर्शनको क्रममा सडकमा पोतिएको थियो, जसलाई धेरैले औपनिवेशिक कालमा आदिवासी विरुद्धको ऐतिहासिक नरसंहारको निरन्तरताको रूपमा लिन्छन्।

हामीले पोतेका रगतको निशानीले राज्यद्वारा यस देशका मूलवासी प्रति थोपरिएको हिंसा र आक्रमणको प्रतिनिधित्व गर्दछ। हाम्रा नेताहरूलाई अपराधी घोषित गर्ने क्रूर कार्यको अतिरिक्त ब्राजिलमा अनेक हस्तक्षेप, धम्की र हत्या भइरहेका छन्। तर यस्तो जटिल परिस्थितिको बावजूद हामी सधैं प्रतिरोध गर्ने छौं र लड्ने छौं, किन कि हामीले सधैं हाम्रो योद्धा पुर्खाबाट सिक्यौं,” पेर्नाम्बुकोका प्रमुख मार्कोस सुकुरुले भने।

संघीय सर्वोच्च अदालतमा वकालत गर्ने पहिलो आदिवासी महिला वकील जोनिया वापिचानाले वास्तवमा व्यवहारिक रूपमा के हुन्छ भन्ने कुरा स्मरण गरिन्: “सीमांकन अधिकार रोक्ने सरकारको संयन्त्र रहेको तथ्यले सम्पूर्ण आदिवासीको जीवन जोखिममा पार्छ, जसको निर्वाह प्रत्यक्ष रूपमा भूमिमा निर्भर गर्दछ र यसले दिने सबै वस्तुमा।”

“हाम्रो भूमिको सीमांकन उनीहरूको संरक्षणको समान हुन्छ। हामीले रुख काट्ने, खनिज पदार्थ खोज्ने, अवैध धन्दा गर्ने र राज्यको स्वामित्व रहेको उद्योगद्वारा गरिएको हस्तक्षेपको बारेमा सबै क्षेत्रबाट हाम्रा नातेदारहरू मार्फत खबर सुनेका छौं। हामीले चाहेको के हो भने भविष्यको पीढीका जीवन सुनिश्चित होस्। हामी यहाँ केवल आदिवासीका निम्ति मात्र नभई पूरै ब्राजिलियन समाजको निम्ति लडिरहेका छौं,” साओ पाउलो स्थित आदिवासी क्षेत्र तेनोदे पोराका तुप ग्वारानी ब्याले भने।

अध्यक्ष ज्वारेज मुन्दुरुकुका लागि आदिवासीहरु रुख जस्तै हुन्। “रुखको जीवन हाम्रो जस्तै छ। तपाईंले रुखलाई काटेमा मर्छन् र सधैंका लागि नष्ट हुन्छन्। एउटा दाउरेले रुखझै आदिवासी नेता “कासकि”लाई मार्दा सबै कथाको त्यही अन्त्य हुन्छ।”

उनले सम्झना गरे कि अमेजन स्थित तापजोस नदीको मध्य भागमा जहाँ उनको इलाका रहेको छ, ४३ ठूला जल विद्युत प्लान्ट निर्माण गर्ने योजना छ। यी प्लान्टले देशको सबैभन्दा ठूलामध्ये एक नदीमा ड्याम निर्माण गर्नेछ, जुन आफ्नो समुदायको लागि पवित्र स्थान हो। यी मध्ये दुई परियोजना पहिले नै कार्यान्वयन गरिएका छन् र खानी तथा गैरकानूनी काठका अतिरिक्त मोनोकल्चर सोयाबीन निर्यात गर्न ३० वटा बन्दरगाह निर्माण गर्ने योजना पनि छ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.