दुई जनामात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोष

कुसुण्डा भाषा सहज रूपमा बोल्न सक्ने दुई जनामध्ये एक ज्ञानी मैंया सेन। स्क्रीनशट: फेलिक्स गेद्केको भिडियो।

नेपालमा लोपोन्मुख धेरै भाषाहरूमध्ये एक कुसुण्डा भाषासम्बन्धी हालै प्रकाशित पहिलो पुस्तक तथा शब्दकोषले उक्त भाषालाई लोप हुनबाट रोक्न मद्दत गर्नेछ। संसारमा बोलिने कुनै पनि भाषासँग स्पष्ट सम्बन्ध नभएको यस  पृथक भाषाको उत्पत्तिबारे  भाषाविद्हरू अचम्भित छन्।

सन् २०११ को जनगणनाअनुसार नेपालमा कुसुण्डा जातिको जनसंख्या २७३ रहेको छ र मातृभाषाको रूपमा २८ जनाले कुसुण्डा भाषा बोल्ने गरेको देखाएतापनि फिल्ड अध्ययनले बताउँछ कि वास्तवमा १५० जना मात्र कुसुण्डा छन् जसमध्ये आफ्नो भाषा सहज रुपमा बोल्न सक्ने केवल दुईजना छन्।

कुसुण्डा भाषा कुनै पनि लिपि नभएको मौखिक भाषा हो र कुनै लिखित अभिलेखहरू, कागजातहरू वा पुस्तकहरू उपलब्ध छैनन्। हाल कुसुण्डाहरू देशका विभिन्न भागहरुमा फैलिएका छन् र उनीहरूले आफ्ना मातृभाषा बोल्ने अवसर पाउँदैनन्। उनीहरू अहिले जहाँ बसेका छन् ती ठाउँहरूका जीवनशैली तथा सांस्कृतिक प्रथा आत्मसात गर्नु परेको छ। परिणामस्वरूप, कुसुण्डाहरू घरमा आफ्ना मातृभाषा बोल्दैनन्।

पुस्तकका लेखक उदय राज आलेका अनुसार कुसुण्डा भाषा सहज रूपमा बोल्न सक्ने केवल दुई जीवित दाङ देउखुरीकी ८१ वर्षीया ज्ञानी मैंया सेन र रोल्पाकी ४८ वर्षीय कमला सेन खत्री हुन्। हाल कुसुण्डाहरू नेपालको कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ र सुर्खेत जिल्लाहरूमा बस्दछन्।

कुसुण्डा जाति र शब्दकोश पुस्तकको आवरण। अनुमतिमा प्रकाशित

‘वन राजा’ (जंगलको राजा) को नामले चिनिने कुसुण्डाहरू , नेपालको मध्य तथा मध्य-पश्चिमी विकास क्षेत्रका पहाडी जंगलमा केही दशक अघिसम्म समूहमा फिरन्ता शिकारी जीवनशैली व्यतीत गर्दथिए। उनीहरूका जीवनशैली, बस्ने तरीका र पृथक तथा अनौठो कुसुण्डा भाषाले कुसुण्डाहरू प्राचीन समयदेखि नेपालमा बस्दै आएका हुन् भन्ने देखाउँछ।

कुसुण्डाहरू आफूलाई जंगलको राजा बताउँछन्, यद्यपि कुसुण्डा भाषामा यसको अनूदित अर्थ गिलाङ्देई म्याहाक  हुन्छ र उनीहरू नेपालका शासकवर्ग ठकुरीसँग समान हैसियत तथा सम्बन्ध हुने दावी गर्छन्। कुसुण्डाका अनुसार, ठकुरीहरू खेतीयोग्य भूमिका राजा हुन् जब कि कुसुण्डाहरूको जंगली भूमिमा प्रभुत्व छ। कुसुण्डाहरूले सामान्यतया शाही, सेन र खाँण जस्ता ठकुरीको थर राखेका छन्।

आलेको पुस्तकले कुसुण्डाका इतिहास, भाषा, संस्कृति र परम्पराको बारेमा वर्णन गर्छ जसमा कुसुण्डा भाषाको २,५०० भन्दा धेरै शब्दहरूको संग्रह छ। यद्यपि, आले कुसुण्डाका बारेमा अध्ययन गरिरहेका .एकमात्र व्यक्ति होइनन्। ब्रायन हौटन हडसन, जोहान राइनहार्ड, डेविड वाल्टर्स, बी के राना  र माधव प्रसाद पोखरेल  अन्य शिक्षाविदहरु हुन् जसले यस रहस्यमय भाषाको निमित्त योगदान दिएका छन्।

फेलिक्स गेद्के तथा गायत्री परमेस्वरनद्वारा निर्मित यस भिडियोले ज्ञानी मैँया सेन, उनका छोरा र त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागका प्रोफेसर पोखरेलसँगको साक्षात्कार प्रस्तुत गरेको छ।

यस वर्षको स्थानीय चुनावले कुसुण्डाका लागि केही शुभ समाचार ल्यायो। नेपाल कुसुण्डा उत्थान समाजका संस्थापक धन बहादुर कुसुण्डा,सीमान्तकृत वर्गका कोटामा नेपालको सातौं ठूलो शहर घोराही नगरपालिकाका लागि कार्यकारी समितिको प्रतिनिधि चयन गरिएका छन्।

कुसुण्डा भाषा अझै पनि लोप हुने संकटदेखि गुज्रिरहँदा स्थानीय सरकारमा कुसुण्डाका प्रतिनिधित्व र कुसुण्डा शव्दकोषको संग्रहले कुसुण्डा संस्कृति तथा परम्परा साथै भाषाको जगेर्ना गर्न मद्दत गर्नेछ।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.