डिजिटल युगमा जर्जियाको प्राचीन वर्णमालाको संरक्षण

जर्जियन वर्णमाला। ‘राइट इन जर्जियन’ प्रतियोगिताको एक प्रविष्टि। ‘राइट इन जर्जियन'को आधिकारिक वेबसाइटबाट लिइएको फोटो।

यो EurasiaNet.orgमा प्रकाशितमोनिका एलेनाद्वारा लिखित साझेदारी पोष्ट हो। यहाँ अनुमति लिएर पुन:प्रकाशित गरिएको छ।

आफ्नो छोरालाई टेक्स्ट मेसेज लेख्दै गर्दा, डाटो डलिजका औंलाहरू उनको पुरानो मोबाइलको सेटमा सुस्तरी चल्छन् ।

“मेरो फोनमा ल्याटिन वर्णमाला मात्र छ, त्यसैले हरेक पल्ट टेक्स्ट गर्दा जर्जियन अक्षरहरूलाई ल्याटिनमा अनुवाद गर्नुपर्ने हुन्छ। यो साह्रै झन्झटिलो छ,” ५० जतिका टिबिलिसी तरकारी बजारका यी सुन्तला व्यापारी भन्छन्।

नयाँ स्मार्टफोनले जर्जियन वर्णमाला लेख्न सजिलो गराए पनि जर्जियामा डलिजजस्ता महिनामा औसत अमेरिकी डलर ३३३ जति कमाउनेहरू सस्ता, पुराना फोनहरूमै अल्झिएका छन्।

फरक खाले जर्जियन वर्णमाला यस्ता डिजिटल सम्झौताले गर्दा नचिताएको मारमा परेको छ।

शदियौंदेखि विद्वान तथा क्यालिग्राफरहरूको मन जितेको घुमाउरो जर्जियन वर्णमालाले युनेस्कोलाई प्रभावमा पारेको छ। गत डिसेम्बरमा युनेस्कोले जर्जियन वर्णमालालाई मानवताका अमूर्त साँस्कृतिक धरोहरका रूपमा दर्ता गरेको छ।

जर्जियन तीन लिपिमा लेखिन्छ – हाल प्राय:जसो प्रयोग गरिने मखेद्रुली र धार्मिक ग्रन्थ तथा धेरैजसो प्राचीन आलेखहरूमा प्रयोग गरिएका प्राचीन असोम्ताभ्रुली तथा नुश्खुरी। यी तीन लिपिका बारे युनेस्कोले आफ्नो उद्धरणमा लेखेको छ, “फरक फरक प्रयोगका यी तीन समकालीन लिपिले जर्जियाको साँस्कृतिक पहिचानको विविधता दर्शाउँछ।”

जर्जियन वर्णमाला तुरुन्तै कुनै कदाचित् शंकटमा परेको छैन। तर यो भाषागत रूपले उपेक्षित रहेको छ। विश्व जनसंख्याको ०.०६ प्रतिशत वा ३७ लाख मानिसले बोल्ने जर्जियन तथा मिंग्रेलियन र स्वान जस्ता जर्जियामा बोलिने सम्बन्धित भाषाहरूका लागि यसको प्रयोग गरिन्छ। साथै हरेक १४ दिनमा एक गौण भाषा हराएर जाने दरलाई ध्यानमा राखी जर्जियामा केहीले आफ्नो भाषा तथा वर्णमालाको दीर्घकालीन संरक्षणका प्रयाश गर्दै आएका छन्।

“गौण भाषाहरू विशेषत: आजभोलि जोखिममा छन्। त्यसैले यिनीहरूलाई संरक्षणको खाँचो छ,” टिबिलिसीको इलिया चाभ्चाभाद्जे स्टेट युनिभर्सिटीको इन्स्टिच्युट अफ लिंग्विस्टीक स्टडीजका प्रमुख निनो दोबोर्जगिनिद्जे भन्छन्। “जर्जियन लगायत त्यस्ता भाषाका लागि प्रविधि विकास नहुनाले विभिन्न माध्यममा, मौखिक रुपमा, पाण्डुलिपी तथा प्रिन्टमा रहेका महत्वपूर्ण जर्जियन भाषासम्बन्धी तथ्यांक अन्तरराष्ट्रियस्तरमा विस्तार हुनबाट बञ्चित हुने गर्दछ।”

सन् २०१५ मा प्रकाशित युनेस्कोको एक रिपोर्टका अनुसार हाल विश्वमा प्रयोग गरिने ७,१०० भाषामध्ये ५०० मात्र अनलाइनमा प्रयोग गरिन्छ भने विश्वकै अग्रणी सर्च इन्जिन गूगलले जम्मा ३४८ लाई मात्र समर्थन गर्दछ। साथै इन्टरनेटमा भएका धेरै भाषामा पनि सीमितता रहेका छन्, उदाहरणका लागि माइक्रोसफ्ट वर्डमा जर्जियनका लागि एकमात्र फन्ट उपलब्ध छ।

अनलाइनमा जर्जियाको सीमित पहुँचका कारण प्राय:जसो जर्जियनको साटो ल्याटिन वर्णमाला प्रयोग गरिन्छ। उदाहरणका लागि, फुटकर कम्पनीहरू तथा सेवा प्रदायकले आफ्ना प्रवर्धनका लागि ल्याटिन वर्णमाला प्रयोग गर्ने गर्दछन्। “25% ფასდაკლებას ახალ ჩამოსვლის” को सट्टा “25% p’asdaklebas akhal ch’amosvlis” (नयाँ सामानमा २५% छूट)।

जर्जियाको वेब उपस्थितिलाई मजबूत बनाउन नीजि पहलहरू शुरु भएका छन्। सन् २०१५ मा इण्डष्ट्रियल डिजाइनर जिवाइद जिकोलियाले जर्जियाको सबैभन्दा ठूलो ऋणप्रदायक टिबिसि बैंकको सहकार्यमा #WriteinGeorgian प्रतिस्पर्धा प्रारम्भ गर्यो। यस अन्तर्गत सिर्जनशील स्वयंसेवकलाई वर्णमालाका अक्षरहरूका लागि नयाँ स्वरुप र शैली निर्माण गर्न आह्वान गरियो। जर्जियनहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै पाँच हप्तामा १६० नयाँ फन्ट प्रस्तुत गरे।

“हाम्रो भाषा र हाम्रो वर्णमाला हाम्रा धरोहर हुन्; यो एउटा यस्तो खजाना हो जसलाई सुरुक्षा गर्नुपर्छ साथै जीवित राख्नुपर्छ र अद्यावधिक गरिरहनुपर्छ,” दैनिक डिजिटल संचारमा जर्जियन लिपिको प्रयोगका कट्टर पक्षसमर्थक ४५ वर्षीय जिकोलिया भन्छन्। “विश्व उत्तरोत्तर डिजिटलतर्फ लम्कदैं छ र कागजमा मात्र नसमेटिइकन हाम्रा अक्षरहरू यथार्थअनुकूल तथा समयसँगै विकासरत हुनु जरूरी छ।”

मार्चसम्ममा सबै फन्टहरू प्रतिस्पर्धाको वेबसाइटमा ओपनसोर्स डाउनलोडका लागि उपलब्ध हुनेछन्, जिकोलियाले भने। “भविष्य विश्वव्यापी तथा स्थानीयको सम्मिश्रण हुनेछ, स्थानीय परम्परालाई विश्वका नागरिकले सम्मान गर्नेछन्,” जिकोलिया टिपोट गर्छन्। “जर्जियन कीबोर्डमा स्थानान्तरण गर्न दुई सेकेण्ड लाग्छ तर धेरै मानिसहरू त्यतिमात्र गर्न पनि चाहदैनन्,” जिकोलिया भन्छन्।

छिमेकी आरमेनियाको पनि यस्तै खाले चुनौती छन्। त्यहाँको भाषा पनि आफ्नै खाले छ र आफ्नै वर्णमाला छ जुन आरमेनियनका लागि मात्र प्रयोग गरिन्छ।

“ट्रान्सलिटरेशन (लिप्यंतरण) सामान्य भएको छ, खास गरेर ठूलो प्रवासी समुदायमाझ, तर तिनीहरूमाझ मात्र हैन,” मिडियासम्बन्धी कुराकानी गरिने मंच media.amका प्रधान सम्पादक गेघाम वर्दान्यन स्पष्ट पार्छन्। “यो ल्याटिन लिपिको कुरामात्र हैन, रूसमा बस्ने आरमेनियनहरू सिरिलिक लिपिको प्रयोग गरी संचार आदानप्रदान गर्छन्। यसको परिणाम अनौठो हुन्छ, धेरै जसो बुझ्न पनि सकिन्न।”

यहाँ जर्जियामा जस्तै उत्साहीहरूले पहल गरेका छन्। आरमेनियाको मानव अधिकार लोकपालका प्रेस अधिकारी जोहराब येगान्यन वेबमा आरमेनियनको दुरुपयोग देखेर दिक्क भए र आफ्नो रीस फेसबूक पेजमा पोखे। “फेब्रुअरी ७ लाई इन्टरनेटमा आरमेनियन लेख्ने दिनका रूपमा मनाऔं,” उनले सन् २०१२ को आफ्नो एक पोष्टमा उनले लेखे। यस प्रतिको प्रतिक्रिया, आरमेनिया तथा प्रवासी दुबैमाझ, अत्याधिक रह्यो।

“आरमेनियनमात्र बोल्नेहरूले आरमेनियनमा लेख्न सिक्ने निर्णय गरे, सामाजिक सञ्जालका पोष्टबाट शुरुवात गर्दै,” येरेभानबाट प्रकाशन हुने युरेशियानेटलाई येगान्यनले भने। येगान्यनका अनुसार वर्णमालालाई सहयोग गर्न आरमेनियन सरकार अपेक्षाकृत रूपमा निष्क्रिय रहे पनि नीजि क्षेत्रले अधिक मात्रामा यसलाई अंगाल्ने संकेत देखाएको छ। “हालै एक मोबाइल कम्पनीले आफ्ना ग्राहकलाई ल्याटिन वर्णमालाको सट्टा आरमेनियन लिपिमा टेक्स्ट पठाउन शुरु गर्यो,” उनले भने।

राष्ट्रिय लिपिहरूलाई प्रचलित बनाउन यस्ता लोकप्रिय बढावाले सहयोग गरेको तर्क गर्छन् येगान्यन। मानिसहरूले महशूस गरेका छन् कि उनीहरूका खास वर्णमालाले उनीहरूको भाषाको ध्वनिहरूलाई अद्वितीय ढंगले प्रतिनिधित्व गर्दछन्।

“ट्रान्सलिटरेशन अब खासै चलनमा छैन,” येगान्यन भन्छन्। आजकल, उनी भन्छन्, “कुनै कुराको वा कसैको खिल्ली उडाउन प्रयोग गरिन्छ।”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.