
ब्राजिलको सबभन्दा उच्च पर्वतमा एक अभूतपूर्व अभियान मार्फत पर्यापर्यटनको लागि एउटा पदयात्रा आरम्भ गर्ने लक्ष्य लिइएको छ। फोटो: गिलह्मे गिनिपेर/ फुनाई, अनुमतिमा प्रकाशित गरिएको।
मार्कोस वेस्लेको यो समाचार विवरण शुरुमा इन्स्टतुतु ससियमबिएन्ताउद्वारा मिडियममा प्रकाशित गरिएको थियो र ग्लोबल भ्वाइसेजसँगको साझेदारीअन्तर्गत यहाँ पुनर्प्रकाशित गरिएको छ।
यदि पिको द नेब्लिना (मिस्ट पिक) चढ्ने पहिलेदेखि नै एक रोमाञ्चक अनुभव हो भने आफ्नो सम्पूर्ण जवानी पहाड छेउमा बिताएका एक यानोमामी झाँक्रीद्वारा निर्देशित यात्रा कल्पना गर्नुहुन्छ?
“यो स्थान हाम्रो घर थियो र हामी यसलाई इरोका (ग्वारीबा बाँदरको आवाज) भन्थ्यौ,” कर्लोस यानोमामी जंगलतिर औंल्याउँदै आफ्नै भाषामा भन्छन् जहाँ ६० वर्ष पहिले उनका नातेदारहरु पार्टी र संस्कार अभ्यास गर्दै एक घरमा बस्दथे।
पिको द नेब्लिनाको बारेमा संसारभरका आरोहीहरूलाई थाहा छ। समुद्र सतह भन्दा २,९९५ मिटर (लगभग १०,००० फिट) माथिको यो शिखर ब्राजिलको सबभन्दा अग्लो पर्वत हो। अमेजन जङ्गलको बीचमा रहेको यस पर्वत संघीय प्रोसिक्युटरको सिफारिस र ब्राजिलको पर्यावरण एजेन्सी आइबिएएमए (IBAMA) को निर्णयअनुसार यहाँ घुमफिरमा सन् २००३ देखि रोक लगाइएको छ। केही आरोहीहरू पर्वतमा पहुँच नपाएर निराश थिए, तर नीति निर्माताका तर्क छ त्यस क्षेत्रको पर्यावरण क्षय रोक्न र यानोमामीका अधिकार रक्षा गर्नका निम्ति यी काम गर्न आवश्यक थियो।
इन्स्टतुतु ससियमबिएन्ताउ (सामाजिक-वातावरणीय संस्था) को सहयोगमा यानोमामीद्वारा स्थापित यारीपो इकोटुरिजम प्रोजेक्टले पर्वत घुमफिरमा लगाइएको रोकलाई अन्त्य गर्नेछ । नियंत्रित पहुँचले, पर्यटकहरुले यानोमामी संस्कृतिको बारेमा बुझ्न, उनीहरुका आतिथ्यको आनन्द लिन, अमेजन र यसको आदिवासीहरु दुवैका लागि सम्मान बढाउन सक्षम हुनेछन्।

पिको द नेब्लिना नजिकको एक पर्वत। फोटो: गिलह्मे गिनिपेर/फुनाई, अनुमतिमा प्रकाशित गरिएको।
यो जुलाईमा पुन: खुल्ला गरिएको पहिलो चरण पुरा भएको छ: जब पर्वत यात्राको अन्वेषण तथा नक्साको अवस्थाका लागि यनोमामीले माँग राखे, ३२ जना मानिसहरुको एक अभियान दलले दश दिन लगाएर यारीपो शिखरको यात्रा गरे। कार्लोस बाहेक अन्य १८ जना समूहका सदस्य थिए, तिनीहरुमध्ये १६ जना पुरुष र २ जना महिला, मरिया र फ्लोरिजा थिए। उनीहरु यात्राको अनुगमन गर्न र पथप्रदर्शक, भरिया, भान्छेको रुपमा काम गर्न साथै उनीहरुले योजना बनाएको पर्यटन परियोजनाको व्यवस्थापन गर्न प्रशिक्षण लिइरहेका छन्। अभियान दलमा आइसिएमबिओ (ब्राजीलको संरक्षण एजेन्सी), संघीय प्रोसिक्युटरको कार्यालय तथा ब्राजिलियन सेनाका प्रतिनिधिको सहभागीता थियो।
३६ किलोमिटर (२२ माईल) लामो यात्रा ब्राजिलको आमाजोनास राज्यको साओ गब्रिएल द कचोइरा शहर नजिक यानोमामी आदिवासी क्षेत्रको ईगारप तुकानो ग्रामदेखि शुरु हुन्छ। जीपीएस ट्रेकर, क्यामरा साथै अन्य अभिरुचिका वस्तुहरुका पैकिंगको साथ यात्रा अवधिभर अन्वेषकहरुले झाँक्री कार्लोसका कथा सुने।
लामो दूरी र कठिन भू-भाग पार गर्दा आदिवासी समूहले जनावर पाइने वा हिंड्ने स्थान, पानी पिउने स्थान, यात्रा सुधारको आवश्यकता भएको भाग साथै रातमा शिविर आधार निर्माणको लागि सबैभन्दा उचित स्थानको पहिचान गर्यो। टोलीले सबभन्दा वातावरण संवेदनशील क्षेत्रको पनि पहिचान गर्यो।
५२ वर्षकी मरिया यानोमामीले यारीपो शिखर चढ्ने पहिलो यानोमामी महिला बनेर इतिहास बनाइन्। तर उनको यात्राको सहयात्री फ्लोरिजा यानोमामीले आफ्नो परम्परा प्रतिको आदर र डरले गर्दा यात्रा पुरा गर्न सकिनन्: शिखर पुग्ने दिन उनको रजस्वला भयो। त्यसैले रीति रिवाज तोड्नु र शिखरमा आनन्द मनाउनेको उत्साहमा जोखिम मोल्नुभन्दा बरु उनी फर्किन्। यदि उनले महिनावारी भएको समयमा आफ्नो यात्रा पुरा गरेकी भए, परम्पराअनुसार उनले आफ्नो यात्रा टोलीको प्रत्येक सदस्यको ज्यान जोखिममा पार्ने थिइन्।
यारीपो इको टुरिजम प्रोजेक्टले कृषि औजार, भान्साको सामान साथै कपडा जस्ता अति आवश्यक निर्मित सामानहरु खरीद गर्न यानोमामीलाई आयको वैकल्पिक स्रोत प्रदान गर्ने अपेक्षा लिएको छ।

एक यनोमामी युवा जसले पिको द नेब्लिनाको अभियानमा भाग लिएका थिए। फोटो: गिलह्मे गिनिपेर/फुनाई, अनुमतिमा प्रकाशित गरिएको।
समुदायमा आधारित पर्यापर्यटन परियोजनाको कार्यान्वयनसँगै ८० यानोमामीले यात्रीहरुलाई नियमित सेवा दिए बापत आय आर्जन गर्ने अपेक्षा गरिएको छ। अप्रत्यक्ष रुपमा ८०० भन्दा बढी उनीहरुका आफन्त तथा आस्रितहरुले लाभ लिन सक्नेछन्।
पद यात्राको विकासले सबै यानोमामीले भाग लिने एवाइआरसिए (AYRCA) सामुदायिक संघलाई पनि फाईदा पुग्नेछ।
जब यारीपो पर्यटनको लागि आखिरमा खुल्ला गरिनेछ कार्लोस यानोमामी र उनका मानिसहरुका कथाले जीवन्तता पाउनेछन् र पिको द नेब्लिनाको यात्रीहरुले ती कथाहरुलाई संसारभर फैलाउनेछन्।
यारीपो इकोटुरिजम प्रोजेक्टले सहयोगीहरु खोजिरहेको छ। यदि तपाईं यस पहलका निम्ति इच्छुक हुनुहुन्छ भने वा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया marcos@socioambiental.org मा ईमेल गर्नुहोस्।