नेपालको लोपोन्मुख कुसुण्डा भाषा बोल्न जान्ने अन्तिम व्यक्तिमध्ये एक ज्ञानी मैया सेनसँगको कुराकानी

ज्ञानी मैया सेन कुसुण्डा। तस्वीर-लेखक।

वर्षौंदेखि मानिसहरूलाई पश्चिम र मध्य नेपालको कुसुण्डा भाषा बारेमा ज्यादै कम जानकारी थियो। केन्द्रीय तथ्याङ्क ब्यूरो नेपाल २०११ को जनगणना अनुसार पश्चिम नेपालको जंगलमा बसोबास गर्ने एउटा जाति कुसुण्डाको जनसंख्या करिब २७३ रहेको छ। कुसुण्डा जातिको भाषा र संस्कृतिको बारेमा अझ धेरै जान्नको लागि ग्लोबल भ्वाईसेजले लोपोन्मुख कुसुण्डा भाषा सहज रूपमा बोल्न सक्ने केवल दुई जनामध्ये एक ज्ञानी मैया सेन कुसुण्डासँग कुराकानी गर्यो।

‘जंगलको राजा’

प्रचण्ड गर्मी थियो, सडकहरू रित्ता थिए र ब्याट्रीद्वारा संचालित टुक-टुक चालकहरूले समेत हामीलाई आफ्ना सवारी साधनमा चढाउन चाहिरहेका थिएनन्। गह्रौँ ट्राइपोड, क्यामेरा एवं छायाङ्कन गर्ने अन्य उपकरणहरूसहित हामी नेपालको दाङ जिल्लास्ठित कुल्मोर गाउँमा रहेको ज्ञानी मैया सेनको घरतर्फ लाग्यौं। उमेरले ८० वर्ष पार गरेकी  ज्ञानी मैया सेन कुसुण्डा लोपोन्मुख कुसुण्डा भाषा सहज रूपमा बोल्न सक्ने केवल दुई जनामध्ये एक हुन्। कुसुण्डाको जनसंख्या २७३ रहेको अनुमान गरिएको छ। तथापि, सोधकर्ताहरूका स्थलगत अध्ययन अनुसार नेपालको दाङ, रोल्पा, प्युठान, अर्घाखाँची र सुर्खेत जिल्लाहरूमा उनीहरू केवल १५० जना छरिएर बसेका छन्।

कुसुण्डाहरू आफ्ना पुर्खाहरूले जंगल र गुफाहरूमा फिरन्ते जातिको रूपमा जीवन बिताएपछि अहिले गाउँहरूमा बसोबास गरेका छन्। उनीहरू माग्नको लागि मात्र गाउँतिर जाने गर्दथिए र धेरै कुसुण्डाहरू आफ्नो जात भन्न संकोच मान्दछन् किनकि उनीहरूलाई अझै पनि जंगलको मानिस भन्ने गरिन्छ। तथापि, आजकल उनीहरूले नेपालका शासक वर्गसँग जोडिएको शाही, सेन, र खाँण जस्ता ठकुरीका थर राखेका छन्। कुसुण्डाहरू आफूलाई वन राजा, जंगलको राजा भनी दावी गर्दछन्।

Read more: Indigenous Nepali Language With Only Two Fluent Speakers Sees Pages of Hope in Newly Launched Dictionary

पढ्नुहोस्: दुई जना मात्र सहज वक्ता रहेका लोपोन्मुख कुसुण्डा भाषाको हालै प्रकाशित पहिलो शब्दकोश

कुसुण्डा भाषा एक पृथक भाषा हो जसको मतलब यो संसारको अन्य कुनै पनि भाषाहरूसँग सम्बन्धित छैन। दुर्भाग्यवश, आफ्नो मातृभाषा बोल्न छाडेका युवा पीढी र पुरानो पुस्ताको निधनसँगै बिस्तारै यो भाषा लोप हुने अवस्थामा पुगेको छ। ज्ञानी मैया सेनको अलावा उनको ५० वर्ष नाघेकी बहिनी कमला कुसुण्डा समुदायको अर्की सहज बक्ता हुन्।

कुसुण्डा भाषा पुनरुत्थान गर्न समर्पित एक शोधकर्ता उदय राज आले पनि कुसुण्डा भाषा बोल्छन्। तथापि, ज्ञानी मैयालाई आफ्नी नातिनी रक्षाले मातृभाषा बोल्छिन् र परम्परालाई जीवित राख्छिन् कि राख्दिनन् भन्ने चिन्ता छ। जब हामीले ज्ञानी मैयालाई भेट्यौं उनी आफ्नो नातिनीसँगै हरिया आँपको बोक्रा ताछ्न व्यस्त थिइन्। उनी आफ्नी नातिनीलाई भविष्यमा उपभोग गर्नको लागि आँपको बोक्रा कसरी ताछ्ने र सुकाउने सिकाउँदै थिइन् तर दुर्भाग्यवश उनीहरू आफ्नो मातृभाषामा नभै नेपाली भाषामा बोल्दै थिए।

ज्ञानी मैया सेन आफ्नी नातिनीसँग। तस्वीर-लेखक।

खुररहित, पञ्जा भएका जनावरको मासु मात्र उपभोग

जब हामीले ज्ञानी मैयासँग कुराकानी गर्न थाल्यौं र उनले हामीलाई आफ्नो संस्कृति र परम्पराको बारेमा भन्न थालिन्,एउटा छाडा छोडिएको गोरु खलियानमा पस्यो। उनी अचानक उठिन्, ‘लिस्नो ’ (लामो काठ खोपेर बनाइएको भर्र्याङ्) बाट ओर्लिन् र गोरुलाई भगाइन्। जब उनी फर्किन् उनले हामीलाई कुसुण्डाले खाने गरेका खानाको बारेमा कुरा गरिन्: उनले भनिन् कुसुण्डाहरू खुर भएका जनावर खाँदैनन् तर पञ्जा भएका जनावरको मासु खान मन पराउँछन्।उनीहरू बाख्रा र सुँगुर सहित चौपायाहरू छुनसम्म पनि छुँदैनन्। उनीहरु न त हरिण मार्छन् न त हरिणको मासु नै खान्छन्, यसले उनीहरू प्रकृतिसँग कसरी सह-अस्तित्वमा रहेका छन् भन्ने देखाउँछ।

यद्यपि उनीहरू चरा खान मन पराउँछन्, कालिज उनीहरूको प्रिय भोजन हो। गोहोरो उनीहरूको मनपर्ने शिकार हो। गोहोरो यत्ति विशेष छ कि जुन वैवाहिक समारोहको एक अंग बनेको छ, किनकि दुलहा तर्फकाले यसको अण्डा, मासु, लुगा र केही पैसा हुनेवाला दुलहीको परिवारलाई दिन जरुरी छ।यदि उनीहरूले गोहोरोको अण्डा फेला पार्न नसकेको खण्डमा विवाह गर्न तयार परिवार बीचमा कुरा चल्न सक्दैन। र गोहोरोको मासु नभै कुनै हालतमा विवाह हुन सक्दैन।

झोला र पासो। तस्वीर-लेखक।

अहिले पनि शिकार र संकलन

त्यसपछि उनले गाँठो परेको रस्सी भएको पोका पन्तरा खोलिन् । रस्सीको जाल जंगलको पक्षीलाई पासोमा पार्नको निमित्त थियो र झोला पासोमा परेका पक्षी बोक्नलाई थियो। जंगली लहराबाट बनाइएको रस्सीको पासोलाई कुसुण्डा भाषामा ‘आँट‘‘ र झोलालाई ‘आम्जी‘‘ भनिन्छ। कुसुण्डाहरू पासोलाई दुई रुखको बीचमा बाँध्छन्, नजिकै लुकेर बस्छन् र थाकल (कलवल) को पात ओठमा च्यापेर कालिजको जस्तो आवाज निकाल्छन्। जब चराहरू रुखका बीचबाट उड्छन् तिनीहरू पासोमा पर्छन् त्यसपछि उनीहरूले ती चराहरूलाई समाएर जालीदार झोलामा बोक्दछन्।

हामी कुसुण्डा भाषाको विशेष शब्दहरूका अभिलेख राख्न व्यस्त थियौं, मैले काठको टुक्रामा राखेको सानो प्वालमा मसिना पतंगको हुल गइरहेको देख्न सक्थें। ती न त मौरी थिए न त झिंगा, ज्ञानी मैयाका अनुसार तिनीहरूलाई ‘पुट्का’ भनिन्छ र तिनीहरूले मह जस्तै गुलियो पदार्थ उत्पादन गर्छन्।

अन्तमा ज्ञानी मैयाले हामीलाई अन्नको ढुकुटी देखाइन्। उनले जताततै तरुल रोपेकी थिइन्। सानो कुटोको सहायताले उनले अलिकती तरुल खनिन् र आम्जी मा राखिन् । ८० वर्ष माथिको उमेरमा पनि उनी अझै तगडा थिइन्। र सबैभन्दा महत्वपूर्ण उनको प्रभावशाली स्वर उनी जवान हुँदा रूप-रंगको प्रमाण थियो जंगलकी रानी जस्ती शक्तिशाली।

पुट्का। तस्वीर-लेखक।

Exit mobile version