ग्रान्डमा मार्च डे, हस्तनिर्मित जन्तरहरुको आदान-प्रदान गरिने बाल्कन परम्परा

Tree decorated with amulets. Photo by Flickr user Niv Singer (CC BY-SA).

रूखमा सजाइएका जन्तरहरू । फ्लिकर प्रयोगकर्ता निव सिङ्गरको तस्वीर (CC BY-SA).

बाल्कनका केही भागहरुमा मार्चको पहिलो दिनसँग सम्बन्धित ग्रान्डमा मार्च डे नामक प्रथा प्रचलनमा छ । बसन्त ॠतुको आगमनको सँकेत गराउँदै, यस दिन प्रियजनहरु एक आपसमा रातो र सेतो झल्लर, पोम पोम अथवा बाँधेका चुराहरु आदान-प्रदान गर्दछन्।

यी हस्तनिर्मित जन्तरहरु धेरै नामले चिनिन्छन्: मर्तिन्की (Мартинки – म्यासेडोनियामा), मार्तेनित्सा (Мартеница – बुल्गेरियामा), मार्तिसोर (रोमानिया र मोल्दोभामा), र मार्तिस् ( Μάρτης – ग्रीसमा)। तिनीहरु प्रकृतिमा फूल नफुलेसम्म लुगामा लगाइन्छन्, पिन गरिन्छन् अथवा नाडीमा बाँधिन्छन्, त्यसपछि रुखमा झुण्ड्याइन्छन् । रोमानियाली विदेश मन्त्रालयद्वारा बनाइएको यो शिक्षात्मक भिडियोमा तिनीहरुको मार्तिसोरबारे विस्तृत वर्णन गरिएको छ:

चार देशहरु – म्यासेडोनिया, बुल्गेरिया, रोमानिया र मोल्दोभाले सन् २०१३ मा ग्रान्डमा मार्च डे परम्परालाई बाल्कन् जनताको अमूर्त साँस्कृतिक सम्पदाको रुपमा सुरक्षित राख्न युनेस्कोमा बहुराष्ट्रिय आवेदन पेश गरे। सन् २०१५ डिसेम्बरमा युनेस्कोले ती राज्यहरुलाई आवेदन पुन: पेश गर्न आमन्त्रण गर्यो र यो प्रकृया अहिलेसम्म चलिरहेको छ।

यस साझा साँस्कृतिक प्रथाको प्रवर्धन गर्ने उद्देश्यले म्यासेडोनिया, बुल्गेरिया, रोमानिया र सर्बियाका चार वटा संगठन र साँस्कृतिक प्रतिष्ठानहरुले “ह्याप्पी ग्रान्डमा मार्च डे २०१६” परियोजना प्रारम्भ गरेका छन्। यस परियोजना अन्तर्गत तीनवटा देशहरुबाट मौलिक रुपमा हस्तनिर्मित जन्तरहरुको यात्रा प्रदर्शनी र साथसाथै प्यानल बहसहरु, डकुमेन्टरी, रचनात्मक कार्यशाला र बजार संचालन गरिदैछ जहाँ उपस्थित व्यत्तिहरुले उनीहरुको आफ्नै जन्तर खरिद गर्न सक्दछन्।

म्यासेडोनियाबाट हस्तनिर्मित मर्तिन्का। HAEMUSमार्फत तस्वीर। अनुमति लिएर प्रयोग गरिएको।

अन्तिम गन्तव्यको मतलब नगरी संस्थागत अन्तर्देशीय साझेदारी “संयुक्त युरोपभित्र राष्ट्रिय पहिचान” अनुरुप सन् २०१६ मार्चभित्र पहिला स्कोप्जे (म्यासेडोनिया), त्यसपछि भिदिन (बुल्गेरिया) र बुजाउ (रोमानिया) मा  यात्रा प्रदर्शनी गरिनेछ । यो परियोजनाको आशय मानवताको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा यस जन्तर परम्परालाई सूचीबद्ध गर्न युनेस्कोमा पेश गरेको बहुराष्ट्रिय आवेदनलाई प्रत्यक्ष रुपमा सहायता गर्नु हो।

बसन्त ॠतुसँग सम्बन्धित मनोरञ्जनको यस रिति-रिवाजलाई बाल्कनहरुसँग मात्रै सीमित गर्नु आवश्यक छैन। तपाईं जहाँ कहीँ हुनुहुन्छ, बुल्गेरियाबाट प्रसारित यस भिडियो ट्युटोरियलमा जस्तै तपाईंको आफ्नै मर्तिन्की, मार्तेनित्सा, मार्तिसोर र मार्तिस् बनाएर तपाईं पनि सामेल हुन सक्नुहुनेछ।

भासिल्का दिमित्रोभ्स्का, HAEMUS – सेन्टर फर साइन्टिफिक रिसर्च एण्ड प्रोमोशन अफ कल्चरको सह-संस्थापक हुनुहुन्छ, जुन ह्याप्पी ग्रान्डमा मार्च डे २०१६ को एक प्रायोजक हो।
Exit mobile version