म्यानमारका गाउँलेहरू आफ्ना विकास योजनाहरू फेसबुकमार्फत् प्रसारित गर्छन्

Community deliberations during the drafting of the 'Village Book'. Photo from ActionAid

“गाउँटोल किताबहरू” बनाउँदा समुदाय अन्तरक्रिया । फोटोः एक्सनएड

गाउँटोल फेसबुक (भिलेज् फेसबुक) परियोजनाले म्यानमारका ग्रामीणबासीहरूलाई आफ्नो गाउँका प्रतिवेदनहरू फेसबुकमा अपलोड गर्न प्रोत्साहन गर्दछ ताकि सरकारी कर्मचारीहरू, विकासे साझेदारहरू र सम्भावित दातृनिकायहरूले ती प्राप्त गर्न सकून ।

स्थानीय र केन्द्रीय निकायहरूसमक्ष विकासका परियोजनाहरू सिफारिश गर्ने एक आधार निर्माण गर्नका लागि एक्सनएड म्यानमारले पहल गरेको उक्त परियोजनाले सहभागिमूलक विधिहरू प्रयोग गरेर गाउँलेहरूलाई आफ्नो “गाउँटोल किताबहरू” बनाउन सबल पार्दछ । एक्सनएड भन्छ, “यो एक महत्वपूर्ण विधि हो किनकि यसले समुदायमा के आवश्यकता हुनसक्ला भनेर हामीले सोचेको भन्दा पनि वास्तवमा समुदाय आफू साँच्चै के चाहन्छ भन्ने कुरा पहिचान गर्दछ ।”

“गाउँटोल किताब” समुदाय बहस र अन्तरक्रियाको माध्यमबाट प्राप्त सूचनाहरू समाविष्ट भएको एक दस्ताबेज हो । यसमा सामाजिक नक्शा, मौसमी पात्रो र समस्या वृक्ष हुन्छ जसले समुदायको नजरबाट उक्त गाउँको वर्तमान अवस्थालाई ब्याख्या गर्दछ । गाउँभित्र जोखिममा रहेका समूहहरू र शक्तिको गतिशिलता पहिचान गर्न यसमा माकुरेजालो नक्शा (स्पाइडर म्याप्) र चपाती नक्शा (भेन् डायग्राम) पनि हुन्छ । अन्त्यमा, यसमा सपना अथवा परिकल्पना नक्शा र कार्ययोजना हुन्छ जसमा गाउँलेहरूले प्रस्ताव गरेका कार्यक्रम र परियोजनाहरू चित्रण गरिएको हुन्छ ।

मेइहिला टाउन्सिपको किन् पाउन चाउङ् गाउँका ऊ हान सोइ विनले “गाउँटोल किताब”को मूल्य बुझेका छन्ः “आफ्नो गाउँको अवस्थालाई स्पष्टरूपले प्रस्तुत गरेको कुनै एक पुस्तक भएको म हेर्न चाहन्थेँ । यस पस्तकमा समस्त आवश्यकताहरूः सामाजिक, आर्थिक, यातायात र यस्तै अन्य चित्रण गरिएको कुरा मलाई मनपर्छ ।”

म्यानमारभरि ५०० भन्दाबढी यस्ता किताबहरू मस्यौदा गर्न एक्सनएडले सहजीकरण गरेको छ र यी किताबहरूमध्ये १२९ वटाका “गाउँटोल फेसबुक” पेज एक अर्कासँग मेल खाने किसिमका छन् । संलग्न उक्त परियोजना समूह भन्छ कि स्थानीय अधिकारीहरूसमक्ष मात्र नभई अन्यत्र देशका सम्भावित साझेदारहरूसँग पनि आफ्ना परिकल्पना र विकासका आवश्यकताहरू बाँड्चुँड् गर्नका लागि दूर्गम समुदायहरूलाई अवसर प्रदान गर्दै यस परियोजनाले आफ्ना समुदायले भोगिरहेका समस्याहरूलाई स्पष्टसँग व्यक्त गर्न गाउँलेहरूलाई उत्साहित गरेको छ । उदाहरणार्थ, कोन देइन् गीको “गाउँटोल फेसबुक”ले एक शिक्षा कार्यक्रमका लागि अनुदान भित्र्याउन सफल भएको थियो

यस भिडियोले “गाउँटोल किताब” प्रक्रियाबारे संक्षिप्तमा जानकारी दिन्छ :

तलका फोटाहरूले उक्त किताबहरू निर्माण गर्नका लागि सलंग्न केही गतिविधिहरू देखाउँछन् :

“गाउँटोल किताब” निर्माणका लागि पखोकू गाउँ भेला। फोटोः एक्सनएड।

सामाजिक नक्शाले “गाउँको विस्तृत दृश्य (बर्ड आई भ्यु) प्रदान गर्दछ जसले जनसङ्ख्यासम्बन्धी विवरणहरू र मानिसहरूका लागि उपलब्ध सामाजिक संरचनाहरू देखाउँदछ ।” १२४ घरधुरीमा ४४४ जना मानिसहरू रहेको स्या प्यार कियिन गाउँको सामाजिक नक्शा ।

मौसमी पात्रोले “गाउँभित्र जीविकोपार्जनका पद्धतिहरूका बारेमा बुझ्न सहयोग गर्दछ।” कोन देइन् गी गाउँको मौसमी पात्रो।

समस्या वृक्ष “समस्याको कारणहरू विश्लेषण र तिनलाई तदानुसार समाधान गर्ने उपाय खोजी गर्न प्रयोग गरिन्छ ।” ७२ घरधुरीहरू रहेको वाह याओन सुका गाउँलेहरूले तयार गरेको समस्या वृक्ष ।

परिकल्पना नक्शा “उनीहरू के बन्न चाहन्छन् भन्ने गाउँले परिकल्पना” हो । कोन देइन् गी गाउँको परिकल्पना नक्शा ।

एक सांसदकहाँ “गाउँटोल किताब” प्रस्तुत गरिसकेपछि त्यस गाउँकी एक महिलाले आफ्नो समुदायमा पुलेसो बनाउन निवेदन गरिन्। फोटोः एक्सनएड।

म्यानमारको थुप्रै गाम्रीण नगरहरूमा विद्यमान इन्टरनेटको सीमित पहुँचको कारण फेसबुक पेजहरु एकीकृत गर्ने कार्यका लागि एउटा ठूलो चुनौती भएको कुरा एक्सनएडले बतायो । स्मार्टफोनको मूल्य पनि अलिक महङ्गो नै छ । गाउँलेहरू आवश्यक उपकरण खरिद गर्न वा इन्टरनेट [साइबर] क्याफेमा जान टाढासम्म जानुपर्ने हुन्छ र फोनको सिमकार्डको मूल्य पनि चर्को पर्छ । तर आउने वर्षहरूमा देशमा इन्टरनेट जडानमा निरन्तर सुधार हुँदै जानेछ भन्ने कुरामा परियोजना समूह आशावादी छ ।

“समष्टिगत विकासका लागि स्थानीय र राष्ट्रियस्तरका नीतिनिर्माताहरूले न्यायोचित समृद्धिको एक बृहत् स्तरको परिकल्पना ल्याउनु अपरिहार्य हुन्छ” भन्ने कुरालाई आत्मसात गर्दै म्यानमारको सामाजिक–आर्थिक समस्याहरूका उत्तर “गाउँटोल किताब” वा “गाउँटोल फेसबुक” हैन भन्ने कुरामा एक्सनएड जोड दिन्छ ।

देशको राजधानीमा राष्ट्रिय नीतिनिर्माताहरू उन्नतिको खाकाबारे छलफल गरिरहेको सन्दर्भमा “गाउँटोल किताब” वा “गाउँटोल फेसबुक” जस्ता समुदायस्तर (ग्रासरुट) पहलहरू विकास प्रक्रियामा नागरिकको सहभागिता प्रवर्द्धन गर्नका लागि उपयोगी हुने देखिन्छन् ।

Exit mobile version