
नेपालको तराई क्षेत्रका थारू र कुम्हारहरूले बनाउने माटोको बाजा ‘ पिलरु'। तस्बिर: संजीव चौधरी, अनुमति लिएर प्रयोग गरिएको।
थारू कलाकार लवकान्त चौधरीको नेतृत्वमा सञ्चालित एक कला अभियानमार्फत नेपालको तराई क्षेत्रका आदिवासी थारू र कुम्हार समुदायले बनाउने चरा आकारको माटोको बाजा ‘पिलरु’ पश्चिम नेपालको एउटा गाउँबाट काठमाडौँ उपत्यकाको आर्ट स्टोरसम्म आइपुगेको छ।
पुस्ताौँदेखि आदिवासी जनजातिहरूले पूजाआजा, सामाजिक समारोह र उत्सवहरूमा माटोबाट बनेका बाजाहरूको प्रयोग गर्दै आएका छन्। यिनका उद्देश्य भेला भएका मानिसहरूलाई मनोरञ्जन गराउनु मात्र नभई देवीदेवता र आत्माहरूसँग संवाद गर्नु र जोडिनु पनि रहिआएको छ ।
पिलरु – प्रतिरोधका गीतहरू
“पिलरु — प्रतिरोधका गीतहरू तराईका आदिवासी थारू र कुम्हार समुदायद्वारा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हस्तकलाबाट निर्मित बाजा ‘पिलरु'को अभिलेख राख्न, संरक्षण गर्न र पुनः दाबी गर्न समर्पित एक समुदायको नेतृत्वमा थालिएको अभियान हो,” कलाकार लवकान्त चौधरी आफ्नो वक्तव्यमा भन्छन्।
“यस परियोजनाले समुदायका अभिव्यक्तिलाई केन्द्रमा राख्दै र पिलरुलाई क्षणिक फेसन वा प्रवृत्तिका रूपमा नभई एक जीवन्त अभ्यासका रूपमा स्थापित गर्न तथा मौखिक इतिहास, गीत र निर्माण प्रविधिहरूको अभिलेख राख्नेछ।”

दाङका रोइनु चौधरी काठमाडौँमा आयोजित एक कार्यक्रममा पिलरु बजाउँदै। तस्बिर: संजीव चौधरी, अनुमति लिएर प्रयोग गरिएको।
“म सानो छँदा पिलरु बजाउन र बनाउन सिकेको थिएँ,” पश्चिम नेपालको लमही, देउखुरीका ७० वर्षीय रोइनु चौधरीले ग्लोबल भ्वाइससँगको अन्तर्वार्तामा भने। काठमाडौँमा आयोजित कार्यक्रममा पिलरु बजाउने परम्परालाई जोगाउन दिएको योगदानका लागि उनलाई अभिनन्दन गरिएको थियो। “हामी गाईवस्तु चराउन जाँदा र जङ्गल जाँदा यो बजाउने गर्थ्यौँ।”
“मैले थारूहरूबाहेक अरू कसैले यो बाजा प्रयोग गरेको देखेको छैन,” थारू साहित्यकार तथा अभियन्ता छविलाल कोपिलाले कार्यक्रमका बेला भने। “युवा पुस्ताले यो बाजामा चासो नदेखाउनु चिन्ताको विषय हो।”
कोपिलाका अनुसार पिलरुका कुशल वादकहरूमध्ये एक दाङका सन्तु चौधरी हुन्। उनले यो बाजाबाट जुनसुकै प्रकारका गीतका लागि पनि संगीत सिर्जना गर्न सक्छन्।
सन्तु चौधरीले पिलरु बजाउँदै गरेको क्लिप यहाँ हेर्नुहोस्:
माटो वा बाँसबाट बनाइने यस्तै प्रकारको बाजा ‘सुतुली’ (Xutuli) भारतको आसाममा बिहु पर्वका बेला प्रयोग गरिन्छ। असामी लोक संस्कृतिमा चराको आकारमा बनाइने सुतुलीको आवाजले वर्षालाई निम्त्याउँछ भन्ने विश्वास रहेको छ।
पारम्परिक ज्ञानको दुरुपयोग
लवकान्त चौधरी भन्छन्, “यस परियोजनाले निर्माताहरूलाई कुनै श्रेय नदिई यस कलाको प्रतिलिपि बनाउने, बजारीकरण गर्ने र यसको अर्थ नै ओझेलमा पारी सांस्कृतिक अतिक्रमण गर्ने गैर-आदिवासी संस्थाहरूलाई पनि खबरदारी गर्नेछ।”
पिलरु त एउटा उदाहरण मात्र हो, धेरै संस्थाहरूले सम्बन्धित समुदायहरूलाई जानकारी नै नदिई र उनीहरूको योगदानलाई स्वीकारै नगरी आदिवासी कला र सांस्कृतिक वस्तुहरूको उत्पादन र बिक्री वितरण गर्दै आएका छन्।
“पारम्परिक सांस्कृतिक अभिव्यक्ति (TCEs) र पारम्परिक ज्ञान (TK) मा आदिवासी जनजातिहरूको संस्कृति र परम्पराका महत्त्वपूर्ण पक्षहरू समावेश हुन्छन्, त्यसैले यो ज्ञानको प्रयोगमा रोक लगाउने वा अनुमति दिने अधिकार उनीहरूकै हुनुपर्छ,” मेक्सिकोको ‘OZM लिगल एन्ड बिजनेस कन्सल्थिङ सर्भिस'की अधिवक्ता एस्थर अबुर्टो ओलागुए लेख्छिन्। “समुदायबाहिरका तेस्रो पक्षहरूद्वारा यसको प्रयोग हुनुले यी आदिवासी समुदायहरूको सांस्कृतिक धरोहरमाथि आघात पुर्याउन सक्छ।”
लवकान्तको भनाइलाई समर्थन गर्दै कोपिलाले फेसबुकमा लेखेका छन्, “थारू र कुम्हार समुदायहरू आफ्नो पहिचानका लागि सङ्घर्ष जारी राखिरहेका बेला यसको सर्जकत्व, गरिमा र सांस्कृतिक न्यायलाई केन्द्रमा राख्नु अति आवश्यक छ।”
पारम्परिक सांस्कृतिक अभिव्यक्ति र पारम्परिक ज्ञानको संरक्षण गरिरहेका आदिवासी समुदायहरूलाई मेक्सिकोको जस्तै स्थानीय कानूनले उनीहरूलाई आफ्ना संस्कृति र पहिचान झल्किने जुनसुकै प्रकारका कृतिहरूमाथि स्वामित्व प्रदान गरेमा मात्र उनीहरूले यसको उचित श्रेय र प्रतिफल पाउनेछन्।






