लोकगाथा अभिलेखीकरण किन महत्त्वपूर्ण छ? यसले पुस्तौंदेखि ओझेलमा परेका आदिवासी कथाहरूका नखुलेका पाटाहरूलाई उजागर गर्न मद्दत गर्दछ।

A Tharu woman with tattoos on her legs.

खुट्टामा ट्याटु खोपाएकी पश्चिम नेपालको कैलाली जिल्लाकी एक थारू महिला। तस्बिर: इन्दु थारू, अनुमति लिएर प्रयोग गरिएको।

यो अभिलेख ग्लोबल भ्वाइसेजको अगस्ट २०२६ को स्पटलाइट शृङ्खला, “आदिवासी अधिकार” को एक भाग हो। यस शृङ्खलाले क्षेत्रहरूबीच सम्बन्ध गाँस्न, आदिवासीहरूका अनुभवलाई केन्द्रमा राख्न र नेता, कार्यकर्ता, समुदायका सदस्यहरू एवम् अन्य व्यक्तिहरूका कथाहरू साझा गर्नका लागि आदिवासी जनजातिहरूको जीवन र अनुभवहरूको अवधारणा प्रस्तुत गर्दछ। तपाईंले यहाँ दान गरेर यो कभरेजलाई सहयोग गर्न सक्नुहुनेछ।

म सानो छँदा कठ्यांग्रिने जाडोका दिनहरूमा बोरैस (मकल) नजिकै आफ्नी हजुरआमासँग आगो ताप्थे। म थारू संस्कृति र परम्परामा विशेष महत्त्व राख्ने मनकारी र दुष्ट पात्रहरू — जिन्न, आत्मा, भूत, बोक्सी र धामी-झाँक्री, रूख, चराचुरुङ्गी र जनावरहरू हुने गरेका उहाँका कथाहरू सुन्ने गर्थें। उहाँ लोकगीत गाउनुहुन्थ्यो र मलाई तिनको अर्थ बुझाउनुहुन्थ्यो।

उहाँले हामीलाई छाडेर नजाने बेलासम्म मैले आदिवासी थारू लोकगाथाको अभिलेख राख्नेबारे कहिल्यै सोचिनँ। अहिले उहाँ हामीमाझ हुनुहुन्न तर म उहाँको त्यो ज्ञानका भण्डार खोतल्न भौंतारिइरहन्छु । सौभाग्यवश, मैले अमृत सुफी र सुभाशिष पाणिग्रहीसँग काम गर्ने अवसर पाएँ, जसले भारतमा मौखिक रूपमा हस्तान्तरण हुँदै आएको संस्कृतिको अभिलेख मात्र गरिरहेका छैनन्, बरु धेरै संस्कृति र परम्पराप्रेमीहरूलाई आफ्नै संस्कृतिको अभिलेख राख्न प्रेरणा र सहयोग पनि गरेका छन्।

आदिवासी लोकगाथाको अभिलेखीकरण समय लाग्ने काम हो। समुदायहरूलाई खुलेर आफ्ना लोककथा, गीत, भनाइ र गाउँखाने कथाहरू, साथै आफ्ना व्यक्तिगत अनुभवहरू साझा गर्न सहज गराउन तिनका साथ समय बिताउनु पर्छ। पूर्वी नेपालमा  मौखिक रूपमा हस्तान्तरण हुँदै आएको थारू संस्कृतिको अभिलेखीकरण गर्ने क्रममा, मैले धेरै रोचक तथ्यहरू फेला पारेँ जसले अझ थप अनुसन्धान गरेमा आदिवासी कथाहरूका नखुलेका पाटाहरू उजागर गर्नेछन्।

A fish tattoo on the hands of a woman

ट्याटुले धेरै कथा भन्छन् । नेपालको सुनसरी जिल्लाकी भुटी देवीको हातमा बनाइएको माछाको ट्याटु। तस्बिर: संजीव चौधरी, अनुमति लिएर प्रयोग गरिएको।

मोरङसैर: मौसमी बसाइँसराइको गीत

अझै पनि पूर्वी नेपालको दक्षिणी भागमा गाइने “मोरङसैर” वा “मोरंगेसरी” नामक लोकगीत रेकर्ड गर्दा मैले सप्तरी जिल्लाका युवाहरूको मौसमी बसाइँसराइबारे थाहा पाएँ। उनीहरू खोज्नका लागि मोरङ जिल्ला जाने गर्थे। त्यहाँको जमीन बढी उब्जाउ थियो र थप केही पैसा कमाउन चाहने पुरुषहरूका लागि काम उपलब्ध हुन्थ्यो।

सुरसैर नदी (जसलाई आजकल “सुनसरी नदी” भनिन्छ) को नामबाट नामाकरण गरिएको सुनसरी जिल्ला सन् १९६२ अघि मोरङ जिल्लाकै एक भाग थियो। आजकल सप्तरीबाट सुनसरी (पहिलेको मोरङ) पुग्न हामीले दुईवटा नदीहरू, कोशी नदी र सुनसरी नदी, तर्नुपर्छ। पुलहरू नबन्दाका ती दिनहरूमा यो यात्रा अझ धेरै गाह्रो हुने गर्थ्यो।

यस लोकगीतमा एक युवतीले आफ्नो श्रीमानलाई मोरङ नजान बिन्ती गर्दै विलौना गर्छिन् । उनी घना जङ्गल, त्यहाँको गर्मी र मोरङ पुग्नका लागि उनका श्रीमानले तर्नुपर्ने सुरसैर नदीको कुरा गर्छिन्। तर, यो गीतमा सप्तरीबाट मोरङ जाने बाटोमा सुनसरी नदीभन्दा अगाडि पर्ने नेपालको सबैभन्दा ठूलो कोशी नदीको उल्लेख छैन।

तलको भिडियोमा, सुनसरी जिल्लाको इटहरीकी चन्द्रकला चौधरीले “मोरङसैर” गाउनुभएको छ । यस गीतलाई “मोरंगेसरी” पनि भनिन्छ:

अझ थप अनुसन्धान गर्दा, मैले थाहा पाएँ कि वर्तमान कोशी नदी अहिले बगिरहेको ठाउँभन्दा धेरै किलोमिटर पूर्वतिर बग्ने गर्दथ्यो। भारतीय भागमा, यो नदी लगभग १०० किलोमिटर पश्चिमतिर सरेको छ। साथै, शिखहरूको पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबमा गङ्गा नदीलाई “सुरसुरी” वा ” सुरसरी” भनिएको छ। सुरसैर र कोशी नदीहरू अन्ततः गङ्गामै मिसिन्छन्।

बियाही: विवाहित महिलाको नाममा राखिएको नदीको नाम

नेपालको सप्तरी जिल्लाका एक थारू ज्येष्ठ नागरिक महाबीर चौधरीसँग कुरा गर्दा मैले एउटा रोचक तथ्य थाहा पाएँ: एउटा नदी र त्यसको सहायक नदीको नाम विवाहित महिलाका लागि प्रयोग हुने थारू शब्दहरूबाट राखिएको छ।

नेपालीभाषी प्रशासकहरूले यस नदीको नाम परिवर्तन गरेर “बेहाई” राखेका छन्। यद्यपि, थारू ज्येष्ठ नागरिकहरूका अनुसार नदीको मूल नाम “बियाही” हो, जसको अर्थ कोचिला थारू वा पूर्वी थारू भाषामा “पहिलो पत्नी” हुन्छ। “समदाही” नामक सहायक नदीले यस नदीमा मिसिन्छ। पूर्वी थारू भाषामा समदाहीको अर्थ “दोस्रो पत्नी” हुन्छ। समदाही नदी र बियाही नदीको सङ्गमपछि यी नदीहरू बियाही नदीकै रूपमा अगाडि बग्छन्।

साबुदानाके गाछी: साबुदानाको कथा भन्ने ट्याटुको बुट्टा

A woman with tattoos on her lower arms

आफ्नो पाखुराको तल्लो भागमा ‘साबुदानाके गाछी’ र सयपत्री फूलको ट्याटु खोपाएकी नेपालको सुनसरी जिल्लाकी कशिया चौधरी। तस्बिर: संजीव चौधरी, अनुमति लिएर प्रयोग गरिएको।

आजकल बजारमा पाइने साबुदाना मुख्यतया सिमल तरुलको जराको माडबाट बनाइन्छ। यद्यपि, परम्परागत रूपमा साबुदाना ‘सागो पाम’ (ताडको एक प्रजाति) को गुदीबाट पनि बनाइन्थ्यो। मैले पूर्वी थारूभाषी ज्येष्ठ महिलाहरूसँगको अन्तर्वार्ताका क्रममा साबुदाना बनाउने यो प्रक्रियाबारे थाहा पाएँ। तीमध्ये एक जनाले खजुरको बोटजस्तो देखिने ट्याटु देखाउँदै त्यसलाई ‘साबुदानाके गाछी’ भन्नुभयो। थारू भाषामा “गाछी” को अर्थ रूख हुन्छ। उहाँले मलाई पहिले साबुदाना खजुर/ताडको बोटबाट बनाउने गरिएको कुरा पनि बताउनुभयो।

त्यसपछि मैले थप अनुसन्धान गरेँ र पत्ता लगाएँ कि विगतमा उनीहरू खजुरको बोट ढाल्ने गर्थे, त्यसको काण्डबाट सेतो पदार्थ खुर्किन्थे र साबुदाना बनाउन त्यसलाई प्रसोधन गर्थे। यो परम्परा अझै पनि केही दक्षिणपूर्वी देशहरूमा प्रचलित छ।

मौखिक रूपमा हस्तान्तरण हुँदै आएको थारू संस्कृतिको अभिलेख राख्ने क्रममा मैले यस्ता धेरै कथाहरू सुनेको छु जुन व्यापक श्रोतासम्म पुर्याउनु आवश्यक छ।
तर म अझै पनि ती जाडोका दिनहरूमा मकलको छेउमा हजुरआमासँगै बसेर उहाँले मलाई सुनाएका कथाहरू सम्झिने कोसिस गर्छु।

 

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.