
जेराल्डो गोमेजको बीउ घर । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।
यो लेख जनवरी २९, २०२६ मा ब्राजिलको एक स्वतन्त्र समाचार माध्यम ‘ओ होइयो इ ओ ट्रिगो’ (O Joio e O Trigo) की तातियाना मर्लिनोद्वारा प्रकाशित गरिएको थियो । सामग्री साझेदारी सम्झौताअन्तर्गत् यस लेखको केही अंश ग्लोबल भ्वाइसेसमा पुनः प्रकाशन गरिएको छ । यो ग्लोबल भ्वाइसेसको मे २०२६ को स्पटलाइट शृङ्खला, “विश्वव्यापी संकट, स्थानीय समाधान” (Global crisis, local solutions) को एक अंश हो । तपाईंले यहाँ आर्थिक सहयोग (Donation) गरेर यस लेखलाई समर्थन गर्न सक्नुहुन्छ ।
टोपी लगाएका, आँखामा चस्मा र हातमा एकर्डियन (बाजा) लिएर उभिएका जेराल्डो गोमेज आफैंले रचना गरेको एउटा गीत गाउँछन्: “म जंगलको बीचमा, प्रकृति आमाको नजिक बस्छु, फूलहरूको सुगन्धको आनन्द लिँदै… मेरो खेतमा विविधता छ, म थोरै-थोरै तर धेरै प्रजातिहरू लगाउँछु…” उनी बाजा बजाउँदै गाउँछन् र उनकी आमा डोना रिता नाच्छिन् ।
हामी मिनास गेराइस राज्यको उत्तरी भागमा रहेको सेरानोपोलिस डे मिनास शहरको ‘तौरो’ समुदायमा अवस्थित यो परिवारको बैठक कोठामा छौं । भित्ताहरूमा पारिवारिक तस्बिरहरू, प्रमाणपत्रहरू र जेराल्डो स्वयंले लिएका कैयन् तालिमका प्रमाणपत्रहरू झुण्डिएका छन् ।

जेराल्डोको बैठक कोठा उनको बीउहरूको विशाल संग्रहबाट उत्पादित सामग्रीहरूले भरिएको छ । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।
जेराल्डोको बैठक कोठा उनको खेतमा उत्पादित विभिन्न बीउ र अन्नहरूबाट बनाइएका सामग्रीहरूले भरिएको छ । त्यहाँ एउटा टेबल छ, जुन बीउहरूले भरिएका जारहरू र उनले आफ्नै खेतमा उब्जाएका बिरुवाहरूबाट बनाएका मदिराका बोतलहरूले सजिएको छ । “यो मदिरा म विभिन्न बिरुवाहरूबाट बनाउँछु । फर्सी, केरा, मकै, जुआ डे बोइ (एक प्रकारको स्थानीय वनस्पति) देखि मोरिङ्गा (सँजिवन) सम्म । हामी करिब तीस प्रकारका यस्ता खाले मदिरा बनाउँछौं ।”
जेराल्डो गोमेज ६२ वर्षका भए । उनी यही घरमा जन्मेका हुन्, जहाँ उनकी आमाको जन्म भएको थियो र उनकी हजुरआमाको विवाह भएको थियो । किसानका छोरा र नाति भएकाले उनी सात वर्षको उमेरदेखि नै आफ्ना बुबा र हजुरबासँग खेतमा जान थालेका थिए । उनका बुबा र हजुरबा सधैं भन्थे, “खेत धेरै प्रकारका बिरुवाहरू भएकाे जङ्गल जस्तै हुनुपर्छ ।” उनीहरूले धान, बदाम, उखु, फर्सी, म्याक्सिसे (काँक्रो जस्तो देखिने फल), मकै, सिमी, बोडी र अन्य धेरै कुराहरू रोप्ने गर्थे ।
यस क्षेत्रका मानिसहरूको पुस्ताौंदेखि चल्दै आएको र जेराल्डोले जीवित राखेको एउटा परम्परा भनेको बीउ जोगाउने र साटासाट गर्ने काम हो । “हामीले बीउहरू यसकारण जोगायौं ताकि हामी अरूमा निर्भर हुन नपरोस् । कहिलेकाहीँ बीउ किन्ने बेलामा बजारमा पाइँदैनथ्यो र धेरै पटक पाइँदा पनि हामीसँग पैसा हुँदैनथ्यो ।”
यदि यो किसानको बैठक कोठाले आफ्नो समृद्ध विवरणका कारण ध्यान आकर्षित गर्छ भने, उनको ‘बीउ घर’ अझ बढी लोभलाग्दो छ । त्यहाँका तखताहरूमा विभिन्न रंग र आकारका सयौं बीउहरूले भरिएका जारहरू र प्लास्टिकका बोतलहरू राखिएका छन् । भुइँभरि अरू धेरै बोतलहरू छन् । र दर्जनौं चिण्डाहरू पनि छन् । उनीसँग २०० भन्दा बढी प्रजातिका बीउहरू रहेको उनी बताउँछन् ।

जेराल्डो गोमेजको बीउ घरमा रहेका तखताहरूमा धेरै रंग र आकारका सयौँ बीउहरूले भरिएका जार र प्लास्टिकका बोतलहरू राखिएका छन् । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।
संरक्षणकाे सय वर्ष
जेराल्डो आफ्नो क्षेत्रमा परम्परागत बीउहरूको एक महत्त्वपूर्ण रक्षकका रूपमा चिनिन्छन् र सम्मानित छन् । “रक्षक भनेको त्यो व्यक्ति हो, जससँग धेरै बिरुवाका विभिन्न प्रजातिहरू हुन्छन्, जसले तिनीहरूलाई संरक्षण गर्छ र लाेपाेन्मूख अन्य प्रजातिहरूको खोजी गर्छ । उसले ती बीउहरूलाई जोगाउँछ र बढाउँछ । हामीसँग १०० वर्षभन्दा बढी समयदेखि लगाइँदै आएका बीउका प्रजातिहरू छन् । विगतमा तिनीहरूको के महत्त्व थियो र भविष्यका पुस्ताका लागि तिनीहरू कति महत्त्वपूर्ण हुन सक्छन् भनी देखाउन हामीले तिनीहरूलाई राखेका हौं,” उनी भन्छन् । “आज हामी देख्न सक्छाैं कि यीमध्ये अधिकांश प्रजातिहरू, चाहे ती रैथाने हुन् वा खेती गरिएका, हराउँदै गइरहेका छन् ।”
यो पारिवारिक फार्म अर्ध-सुक्खा ‘काटिङ्गा’ क्षेत्रमा अवस्थित छ, जहाँको मौसम लामो समयको खडेरी परेकाे ठाउँ भनेर चिनिन्छ । यहाँ विषादी बिना नै खेतीपाती गरिन्छ र बीउहरू छनोट गरेर भण्डारण गरिन्छ । उनीसँग तरबुजा, फर्सी, कपास र ७० भन्दा बढी प्रकारका सिमी र बोडीका बीउहरू छन्: सेतो, कालो, पहेंलो, रातो, छिरबिरे र अन्य धेरै । उनीसँग औषधीय बिरुवाका बीउहरू पनि छन् । मकैका त अनगिन्ती प्रजातिहरू छन्: सेतो मकै (जुन स्थानीय परिकार कान्जिका बनाउन प्रयोग गरिन्छ); चम्किलो र रंगीचंगी ‘कोरुजा’ मकै (जसको घोगा ठूलो हुन्छ र पशुपंक्षीका लागि राम्रो मानिन्छ); कालो क्रियोलो मकै; तुपिनिक्विम मकै; काटिङ्गुएरो मकै र काटेटो मकै ।

जेराल्डो गोमेजको बीउ घरमा रहेका तखताहरूमा धेरै रंग र आकारका सयौँ बीउहरूले भरिएका जार र प्लास्टिकका बोतलहरू राखिएका छन् । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।
बीउ घरको प्रवेशद्वारमा एउटा साइनबोर्ड छ, जसले यो पहललाई ‘सेमी-एरिड नेटवर्क’ (Articulação do Semiárido) को ‘वान ल्यान्ड एण्ड टु वाटर्स प्रोग्राम’ (Programa Uma Terra e Duas Águas) ले सहयोग गरेको बुझाउँछ । यो नेटवर्कले अर्ध-सुक्खा क्षेत्रमा प्रकृतिसँग सामन्जस्यपूर्ण रूपमा बाँच्न पैरवी गर्दछ । उत्तरी मिनासको ‘सेन्टर फर अल्टरनेटिभ एग्रिकल्चर’ (जसले कृषि-पारिस्थितिकी र यस क्षेत्रका परम्परागत समुदायहरूको अधिकार प्रवर्द्धन गर्दछ) पनि गोमेजको कामलाई सहयोग गर्ने संस्थाहरूमध्ये एक हो ।
जलवायु परिवर्तन
बीउ रक्षकको भूमिका गोमेजको जीवनमा धेरै चाँडै सुरु भएको थियो । सुरुमा बीउका लागि छुट्टै घर थिएन; तिनीहरूलाई मकै राख्ने भकारीमा भण्डारण गरिन्थ्यो । “र प्रत्येक बित्दो वर्षसँगै हामीले यी बीउहरू छनोट गर्दै आएका छौं । आज बजारमा सबैभन्दा बढी जीएमओ (transgenic/कृत्रिम रूपमा परिवर्तित) प्रजातिहरू पाइन्छन् ।,” उनी दुखेसो पोख्छन् । उनी आफ्ना बीउहरू खुला बजारमा, बीउ विनिमय मेलाहरूमा वा अर्डर अनुसार बिक्री गर्छन् ।
उनको यो संरक्षण कार्यले धेरै कठिनाइहरूको सामना गरिरहेको छ। “यदि तपाईंसँग बीउप्रति धेरै धैर्य र प्रेम छैन भने, तपाईंले हार मान्नुहुनेछ। यस काममा धेरै कम प्रोत्साहन छ र धेरै कम मानिसहरू यसमा रुचि राख्छन्। तर म आफूले रोपेको कुराबाट पाइने फाइदाहरूलाई हेर्छु। यति धेरै विषादी प्रयोग भइरहेको बेला यी कठिनाइहरूको सामना गर्न यो एउटा ग्यारेन्टी (सुरक्षा) हो। किनभने अहिले पूरै खेती प्रणाली बदलिएको छ।”
जेराल्डोले कृषि-पारिस्थितिकीय खेती विधि अपनाएका छन् जहाँ उनले कृषि-वन अर्थात् एग्राेफरेष्ट्री प्रणाली अपनाएका छन्। आफ्नो जग्गामा हिँड्दै गर्दा उनी हामीलाई इम्ली, सरिफा, काजु र जामुन जस्ता फलफूलका रूखहरू र औषधीय बिरुवाहरू देखाउँछन् । “यो सबै कुरा एकै साथ प्राप्त गर्ने एउटा तरिका हो: वातावरण संरक्षण गर्नुका साथै खाद्य उत्पादन र माटोको उर्वराशक्ति बढाउनका लागि एकीकृत कृषि-वन ।”
बिरुवा र उत्पादनहरूको विविधता यहाँ स्पष्ट देखिन्छ, तर नजिकै सुरु भएका एकल-खेती फार्महरू र जलवायु परिवर्तनको प्रभावले उनको उत्पादनलाई नोक्सान पुऱ्याइरहेको छ । “तपाईंले विषादीकाे प्रयोग नगरेता पनि अर्को व्यक्तिले गर्छ — उसले बालीमा औषधि छर्दा तपाईंले हावामा त्यसको गन्ध पाउन सक्नुहुन्छ । त्यसैले यसले हामीलाई असर गर्छ । आजभोलि त विषादी छर्कन उनीहरू ड्रोनको समेत प्रयोग गर्ने गर्छन् ।” नदीको पानी पनि दूषित भएको उनी बताउँछन् । “हामीले यसलाई दुःखका साथ हेर्छौं, किनभने कपासको एकल-खेती सुरु हुनुअघि यहाँ नदी बग्थ्याे । थोरै पानी परे पनि यो बगिरहन्थ्यो । तर तीव्र रूपमा भएको विनाशसँगै वन फँडानी भयो । आज सबै कुरा नाश हुँदैछ र जलवायु परिवर्तन ठ्याक्कै यसैको कारणले भएको हो ।”

जेराल्डो गोमेज आफ्नो बगैँचाको हेरचाह गर्दै । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।
सन् १९७० को दशकमा यस क्षेत्रमा पशुपालन, सिँचाई र कपासको एकल-खेतीका आयोजनाहरू भित्रिए, जसले तथाकथित ‘हरित क्रान्ति’ द्वारा प्रवर्द्धन गरिएका कृषि अभ्यासहरू जस्तै: हाइब्रिड बीउ, रासायनिक मल, विषादी र यान्त्रीकरणको प्रयोग गर्थे । गोमेजका अनुसार, “त्यो ठूलो विनाशको अवधि थियो… कपास खेतीका लागि धेरै स्थानीय बिरुवाहरू फँडानी गरिए । र मानिसहरूले धेरै कठिनाइहरू भोगे । किनभने कपासको एकल-खेतीलाई बैंकले ऋण दिएको थियो र मानिसहरू आर्थिक रूपमा त्यहिँ प्रणालीमा निर्भर भए । फलस्वरूप, धेरैले आफ्नो ऋण तिर्नका लागि आफ्नो जग्गा गुमाए,” उनी सम्झन्छन् । “यस्ता समयहरू पनि थिए जब तपाईं नदीमा दिउँसो नुहाउन जाँदा विषको त्यो सानो धार बगेर आएको देख्नुहुन्थ्यो, जुन चिल्लो र हरियो रंगको हुन्थ्यो ।”
“र यो प्रणाली जुन यहाँ मैले अपनाएकाे छु — धेरै पटक मानिसहरूले मलाई यो बौलाहाको खेत हो भन्थे, यो प्रणाली प्रयोग गर्नका लागि म पक्कै बौलाहा हुनुपर्छ भन्थे ।” उनी भन्छन् । “तर कमसेकम मैले धेरै प्रजातिहरूको जीवन त जोगाएँ । यो मेरो त्यही ‘बौलाहापन'का कारण नै सम्भव भएको हो । अन्यथा, आज सबै कुरा लाेप भइसकेकाे हुनेथियो ।”
जेराल्डोको यो “पागल खेत” काटिङ्गा क्षेत्रको संरक्षणका लागि अत्यावश्यक छ । ‘म्यापबायोमास’ प्लेटफर्मका अनुसार, सन् १९८५ देखि २०२३ को बीचमा यस बायोम (प्राकृतिक क्षेत्र) ले आफ्नो स्थानीय वनस्पति क्षेत्रको १४.४ प्रतिशत अर्थात् ८६ लाख हेक्टर गुमाएको छ । अब बाँकी रहेको भागले यस क्षेत्रको ५९.६ प्रतिशत अर्थात् ५ करोड १४ लाख हेक्टर मात्र ओगट्छ । झण्डै चार दशकमा कृषिका लागि प्रयोग हुने क्षेत्र १८ लाख हेक्टरले बढेको छ । सन् १९८५ मा यस गतिविधिले १ लाख १५ हजार हेक्टर ओगटेको थियो भने सन् २०२३ मा यो १९ लाख हेक्टर पुग्यो । सबैभन्दा बढी चरन क्षेत्र बढेको छ: १ करोड २१ लाख हेक्टर, जुन १९८५ र २०२३ को बीचमा ११२ प्रतिशतको वृद्धि हो (१ करोड ८ लाखबाट बढेर २ करोड २९ लाख हेक्टर पुगेको छ)।
जेराल्डो आफ्नाे बीउ घरलाई ‘बीउ संग्रहालय’ मा परिणत गर्न चाहन्छन् । “यहाँ जो कोही आउँछन्, उनीहरू सधैं यहाँको मदिरा लिएर जान्छन् । र हामी पारिवारिक खेतीको महत्त्वलाई जोगाउनु कति आवश्यक छ भनेर सबैलाई बुझाउँदै आएका छाैं ।”






