ब्राजिलको काटिङ्गाका बीउ रक्षक

Geraldo Gomes. Photos by Denise Matsumoto. Used with permission.

जेराल्डो गोमेजको बीउ घर । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।

यो लेख जनवरी २९, २०२६ मा ब्राजिलको एक स्वतन्त्र समाचार माध्यम ‘ओ होइयो इ ओ ट्रिगो’ (O Joio e O Trigo) की तातियाना मर्लिनोद्वारा प्रकाशित गरिएको थियो । सामग्री साझेदारी सम्झौताअन्तर्गत् यस लेखको केही अंश ग्लोबल भ्वाइसेसमा पुनः प्रकाशन गरिएको छ । यो ग्लोबल भ्वाइसेसको मे २०२६ को स्पटलाइट शृङ्खला, “विश्वव्यापी संकट, स्थानीय समाधान” (Global crisis, local solutions) को एक अंश हो । तपाईंले यहाँ आर्थिक सहयोग (Donation) गरेर यस लेखलाई समर्थन गर्न सक्नुहुन्छ ।

टोपी लगाएका, आँखामा चस्मा र हातमा एकर्डियन (बाजा) लिएर उभिएका जेराल्डो गोमेज आफैंले रचना गरेको एउटा गीत गाउँछन्: “म जंगलको बीचमा, प्रकृति आमाको नजिक बस्छु, फूलहरूको सुगन्धको आनन्द लिँदै… मेरो खेतमा विविधता छ, म थोरै-थोरै तर धेरै प्रजातिहरू लगाउँछु…” उनी बाजा बजाउँदै गाउँछन् र उनकी आमा डोना रिता नाच्छिन् ।

हामी मिनास गेराइस राज्यको उत्तरी भागमा रहेको सेरानोपोलिस डे मिनास शहरको ‘तौरो’ समुदायमा अवस्थित यो परिवारको बैठक कोठामा छौं । भित्ताहरूमा पारिवारिक तस्बिरहरू, प्रमाणपत्रहरू र जेराल्डो स्वयंले लिएका कैयन् तालिमका प्रमाणपत्रहरू झुण्डिएका छन् ।

Geraldo’s living room is filled with products made from produce from his extensive collection of seeds.

जेराल्डोको बैठक कोठा उनको बीउहरूको विशाल संग्रहबाट उत्पादित सामग्रीहरूले भरिएको छ । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।

जेराल्डोको बैठक कोठा उनको खेतमा उत्पादित विभिन्न बीउ र अन्नहरूबाट बनाइएका सामग्रीहरूले भरिएको छ । त्यहाँ एउटा टेबल छ, जुन बीउहरूले भरिएका जारहरू र उनले आफ्नै खेतमा उब्जाएका बिरुवाहरूबाट बनाएका मदिराका बोतलहरूले सजिएको छ । “यो मदिरा म विभिन्न बिरुवाहरूबाट बनाउँछु । फर्सी, केरा, मकै, जुआ डे बोइ (एक प्रकारको स्थानीय वनस्पति) देखि मोरिङ्गा (सँजिवन) सम्म । हामी करिब तीस प्रकारका यस्ता खाले मदिरा बनाउँछौं ।”

जेराल्डो गोमेज ६२ वर्षका भए । उनी यही घरमा जन्मेका हुन्, जहाँ उनकी आमाको जन्म भएको थियो र उनकी हजुरआमाको विवाह भएको थियो । किसानका छोरा र नाति भएकाले उनी सात वर्षको उमेरदेखि नै आफ्ना बुबा र हजुरबासँग खेतमा जान थालेका थिए । उनका बुबा र हजुरबा सधैं भन्थे, “खेत धेरै प्रकारका बिरुवाहरू भएकाे जङ्गल जस्तै हुनुपर्छ ।” उनीहरूले धान, बदाम, उखु, फर्सी, म्याक्सिसे (काँक्रो जस्तो देखिने फल), मकै, सिमी, बोडी र अन्य धेरै कुराहरू रोप्ने गर्थे ।

यस क्षेत्रका मानिसहरूको पुस्ताौंदेखि चल्दै आएको र जेराल्डोले जीवित राखेको एउटा परम्परा भनेको बीउ जोगाउने र साटासाट गर्ने काम हो । “हामीले बीउहरू यसकारण जोगायौं ताकि हामी अरूमा निर्भर हुन नपरोस् । कहिलेकाहीँ बीउ किन्ने बेलामा बजारमा पाइँदैनथ्यो र धेरै पटक पाइँदा पनि हामीसँग पैसा हुँदैनथ्यो ।”

यदि यो किसानको बैठक कोठाले आफ्नो समृद्ध विवरणका कारण ध्यान आकर्षित गर्छ भने, उनको ‘बीउ घर’ अझ बढी लोभलाग्दो छ । त्यहाँका तखताहरूमा विभिन्न रंग र आकारका सयौं बीउहरूले भरिएका जारहरू र प्लास्टिकका बोतलहरू राखिएका छन् । भुइँभरि अरू धेरै बोतलहरू छन् । र दर्जनौं चिण्डाहरू पनि छन् । उनीसँग २०० भन्दा बढी प्रजातिका बीउहरू रहेको उनी बताउँछन् ।

In Geraldo Gomes’s seed house, shelves hold jars and plastic bottles filled with hundreds of seeds in many colors and sizes. Photos by Denise Matsumoto. Used with permission.

जेराल्डो गोमेजको बीउ घरमा रहेका तखताहरूमा धेरै रंग र आकारका सयौँ बीउहरूले भरिएका जार र प्लास्टिकका बोतलहरू राखिएका छन् । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।

संरक्षणकाे सय वर्ष

जेराल्डो आफ्नो क्षेत्रमा परम्परागत बीउहरूको एक महत्त्वपूर्ण रक्षकका रूपमा चिनिन्छन् र सम्मानित छन् । “रक्षक भनेको त्यो व्यक्ति हो, जससँग धेरै बिरुवाका विभिन्न प्रजातिहरू हुन्छन्, जसले तिनीहरूलाई संरक्षण गर्छ र लाेपाेन्मूख अन्य प्रजातिहरूको खोजी गर्छ । उसले ती बीउहरूलाई जोगाउँछ र बढाउँछ । हामीसँग १०० वर्षभन्दा बढी समयदेखि लगाइँदै आएका बीउका प्रजातिहरू छन् । विगतमा तिनीहरूको के महत्त्व थियो र भविष्यका पुस्ताका लागि तिनीहरू कति महत्त्वपूर्ण हुन सक्छन् भनी देखाउन हामीले तिनीहरूलाई राखेका हौं,” उनी भन्छन् । “आज हामी देख्न सक्छाैं कि यीमध्ये अधिकांश प्रजातिहरू, चाहे ती रैथाने हुन् वा खेती गरिएका, हराउँदै गइरहेका छन् ।”

यो पारिवारिक फार्म अर्ध-सुक्खा ‘काटिङ्गा’ क्षेत्रमा अवस्थित छ, जहाँको मौसम लामो समयको खडेरी परेकाे ठाउँ भनेर चिनिन्छ । यहाँ विषादी बिना नै खेतीपाती गरिन्छ र बीउहरू छनोट गरेर भण्डारण गरिन्छ ।  उनीसँग तरबुजा, फर्सी, कपास र ७० भन्दा बढी प्रकारका सिमी र बोडीका बीउहरू छन्: सेतो, कालो, पहेंलो, रातो, छिरबिरे र अन्य धेरै । उनीसँग औषधीय बिरुवाका बीउहरू पनि छन् । मकैका त अनगिन्ती प्रजातिहरू छन्: सेतो मकै (जुन स्थानीय परिकार कान्जिका बनाउन प्रयोग गरिन्छ); चम्किलो र रंगीचंगी ‘कोरुजा’ मकै (जसको घोगा ठूलो हुन्छ र पशुपंक्षीका लागि राम्रो मानिन्छ); कालो क्रियोलो मकै; तुपिनिक्विम मकै; काटिङ्गुएरो मकै र काटेटो मकै ।

In Geraldo Gomes’s seed house, shelves hold jars and plastic bottles filled with hundreds of seeds in many colors and sizes.

जेराल्डो गोमेजको बीउ घरमा रहेका तखताहरूमा धेरै रंग र आकारका सयौँ बीउहरूले भरिएका जार र प्लास्टिकका बोतलहरू राखिएका छन् । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।

बीउ घरको प्रवेशद्वारमा एउटा साइनबोर्ड छ, जसले यो पहललाई ‘सेमी-एरिड नेटवर्क’ (Articulação do Semiárido) को ‘वान ल्यान्ड एण्ड टु वाटर्स प्रोग्राम’ (Programa Uma Terra e Duas Águas) ले सहयोग गरेको बुझाउँछ । यो नेटवर्कले अर्ध-सुक्खा क्षेत्रमा प्रकृतिसँग सामन्जस्यपूर्ण रूपमा बाँच्न पैरवी गर्दछ । उत्तरी मिनासको ‘सेन्टर फर अल्टरनेटिभ एग्रिकल्चर’ (जसले कृषि-पारिस्थितिकी र यस क्षेत्रका परम्परागत समुदायहरूको अधिकार प्रवर्द्धन गर्दछ) पनि गोमेजको कामलाई सहयोग गर्ने संस्थाहरूमध्ये एक हो ।

जलवायु परिवर्तन

बीउ रक्षकको भूमिका गोमेजको जीवनमा धेरै चाँडै सुरु भएको थियो । सुरुमा बीउका लागि छुट्टै घर थिएन; तिनीहरूलाई मकै राख्ने भकारीमा भण्डारण गरिन्थ्यो । “र प्रत्येक बित्दो वर्षसँगै हामीले यी बीउहरू छनोट गर्दै आएका छौं । आज बजारमा सबैभन्दा बढी जीएमओ (transgenic/कृत्रिम रूपमा परिवर्तित) प्रजातिहरू पाइन्छन् ।,” उनी दुखेसो पोख्छन् । उनी आफ्ना बीउहरू खुला बजारमा, बीउ विनिमय मेलाहरूमा वा अर्डर अनुसार बिक्री गर्छन् ।

उनको यो संरक्षण कार्यले धेरै कठिनाइहरूको सामना गरिरहेको छ। “यदि तपाईंसँग बीउप्रति धेरै धैर्य र प्रेम छैन भने, तपाईंले हार मान्नुहुनेछ। यस काममा धेरै कम प्रोत्साहन छ र धेरै कम मानिसहरू यसमा रुचि राख्छन्। तर म आफूले रोपेको कुराबाट पाइने फाइदाहरूलाई हेर्छु। यति धेरै विषादी प्रयोग भइरहेको बेला यी कठिनाइहरूको सामना गर्न यो एउटा ग्यारेन्टी (सुरक्षा) हो। किनभने अहिले पूरै खेती प्रणाली बदलिएको छ।”

जेराल्डोले कृषि-पारिस्थितिकीय खेती विधि अपनाएका छन् जहाँ उनले कृषि-वन अर्थात् एग्राेफरेष्ट्री प्रणाली अपनाएका छन्। आफ्नो जग्गामा हिँड्दै गर्दा उनी हामीलाई इम्ली, सरिफा, काजु र जामुन जस्ता फलफूलका रूखहरू र औषधीय बिरुवाहरू देखाउँछन् । “यो सबै कुरा एकै साथ प्राप्त गर्ने एउटा तरिका हो: वातावरण संरक्षण गर्नुका साथै खाद्य उत्पादन र माटोको उर्वराशक्ति बढाउनका लागि एकीकृत कृषि-वन ।”

बिरुवा र उत्पादनहरूको विविधता यहाँ स्पष्ट देखिन्छ, तर नजिकै सुरु भएका एकल-खेती फार्महरू र जलवायु परिवर्तनको प्रभावले उनको उत्पादनलाई नोक्सान पुऱ्याइरहेको छ । “तपाईंले विषादीकाे प्रयोग नगरेता पनि अर्को व्यक्तिले गर्छ — उसले बालीमा औषधि छर्दा तपाईंले हावामा त्यसको गन्ध पाउन सक्नुहुन्छ । त्यसैले यसले हामीलाई असर गर्छ । आजभोलि त विषादी छर्कन उनीहरू ड्रोनको समेत प्रयोग गर्ने गर्छन् ।” नदीको पानी पनि दूषित भएको उनी बताउँछन् । “हामीले यसलाई दुःखका साथ हेर्छौं, किनभने कपासको एकल-खेती सुरु हुनुअघि यहाँ नदी बग्थ्याे । थोरै पानी परे पनि यो बगिरहन्थ्यो । तर तीव्र रूपमा भएको विनाशसँगै वन फँडानी भयो । आज सबै कुरा नाश हुँदैछ र जलवायु परिवर्तन ठ्याक्कै यसैको कारणले भएको हो ।”

Geraldo Gomes tending his garden.

जेराल्डो गोमेज आफ्नो बगैँचाको हेरचाह गर्दै । तस्बिर: डेनिस मात्सुमोटो, अनुमति लिएर प्रयोग गरिएको ।

सन् १९७० को दशकमा यस क्षेत्रमा पशुपालन, सिँचाई र कपासको एकल-खेतीका आयोजनाहरू भित्रिए, जसले तथाकथित ‘हरित क्रान्ति’ द्वारा प्रवर्द्धन गरिएका कृषि अभ्यासहरू जस्तै: हाइब्रिड बीउ, रासायनिक मल, विषादी र यान्त्रीकरणको प्रयोग गर्थे । गोमेजका अनुसार, “त्यो ठूलो विनाशको अवधि थियो… कपास खेतीका लागि धेरै स्थानीय बिरुवाहरू फँडानी गरिए । र मानिसहरूले धेरै कठिनाइहरू भोगे । किनभने कपासको एकल-खेतीलाई बैंकले ऋण दिएको थियो र मानिसहरू आर्थिक रूपमा त्यहिँ प्रणालीमा निर्भर भए । फलस्वरूप, धेरैले आफ्नो ऋण तिर्नका लागि आफ्नो जग्गा गुमाए,” उनी सम्झन्छन् । “यस्ता समयहरू पनि थिए जब तपाईं नदीमा दिउँसो नुहाउन जाँदा विषको त्यो सानो धार बगेर आएको देख्नुहुन्थ्यो, जुन चिल्लो र हरियो रंगको हुन्थ्यो ।”

“र यो प्रणाली जुन यहाँ मैले अपनाएकाे छु — धेरै पटक मानिसहरूले मलाई यो बौलाहाको खेत हो भन्थे, यो प्रणाली प्रयोग गर्नका लागि म पक्कै बौलाहा हुनुपर्छ भन्थे ।” उनी भन्छन् । “तर कमसेकम मैले धेरै प्रजातिहरूको जीवन त जोगाएँ । यो मेरो त्यही ‘बौलाहापन'का कारण नै सम्भव भएको हो । अन्यथा, आज सबै कुरा लाेप भइसकेकाे हुनेथियो ।”

जेराल्डोको यो “पागल खेत” काटिङ्गा क्षेत्रको संरक्षणका लागि अत्यावश्यक छ । ‘म्यापबायोमास’ प्लेटफर्मका अनुसार, सन् १९८५ देखि २०२३ को बीचमा यस बायोम (प्राकृतिक क्षेत्र) ले आफ्नो स्थानीय वनस्पति क्षेत्रको १४.४ प्रतिशत अर्थात् ८६ लाख हेक्टर गुमाएको छ । अब बाँकी रहेको भागले यस क्षेत्रको ५९.६ प्रतिशत अर्थात् ५ करोड १४ लाख हेक्टर मात्र ओगट्छ । झण्डै चार दशकमा कृषिका लागि प्रयोग हुने क्षेत्र १८ लाख हेक्टरले बढेको छ । सन् १९८५ मा यस गतिविधिले १ लाख १५ हजार हेक्टर ओगटेको थियो भने सन् २०२३ मा यो १९ लाख हेक्टर पुग्यो । सबैभन्दा बढी चरन क्षेत्र बढेको छ: १ करोड २१ लाख हेक्टर, जुन १९८५ र २०२३ को बीचमा ११२ प्रतिशतको वृद्धि हो (१ करोड ८ लाखबाट बढेर २ करोड २९ लाख हेक्टर पुगेको छ)।

जेराल्डो आफ्नाे बीउ घरलाई ‘बीउ संग्रहालय’ मा परिणत गर्न चाहन्छन् । “यहाँ जो कोही आउँछन्, उनीहरू सधैं यहाँको मदिरा लिएर जान्छन् । र हामी पारिवारिक खेतीको महत्त्वलाई जोगाउनु कति आवश्यक छ भनेर सबैलाई बुझाउँदै आएका छाैं ।”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.