ग्लाेबल भ्वइसेज शिखर सम्मेलन २०२४ः कहाँ गए ती सबै ब्लगरहरू?

ग्लोबल भ्वइसेसका सह-संस्थापक इथान जकरम्यान, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ‘कहाँ गए ती सबै ब्लगरहरू?’ विषयक छलफलकाे सहजिकरण गर्दै । राशा अब्दुल्लाले खिचेको तस्वीर, अनुमति लिएर प्रयोग गरिएको ।

काठमाडौं, नेपालमा भएकाे ग्लोबल भ्वइसेज शिखर सम्मेलन २०२४ को पहिलो सार्वजनिक दिनमा वर्तमान डिजिटल परिदृश्यसँग सम्बन्धित एउटा प्रश्न उठाइयो: ती सबै ब्लगरहरू कहाँ गए? बीस वर्षअघि, जब ग्लोबल भ्वइसेज (जीभी) काे थालनी भयो, ब्लगहरू उत्कर्षमा थिए । यी स्वतन्त्र, व्यक्तिगत प्रकाशन प्लेटफर्महरू दीगाे हुने देखिन्थे — कम्तीमा सामाजिक सञ्जाल तथा माइक्रोब्लगिङ साइटहरूले प्रभुत्व जमाउन थाल्नु अघिसम्म । यससँगै, एसईओ एल्गोरिदमहरूमा भएका परिवर्तनहरू र ब्राण्डहरू तथा मिडिया कम्पनीहरूले ब्लगहरूको शैलीलाई आत्मसात् गर्न थालेपछि, व्यक्तिगत ब्लगरहरूको प्रभाव घट्दै गयो र तिनीहरूको संख्या पनि कम हुँदै गयो । 

जीभीका सह-संस्थापक इथान जकरम्यानले सञ्चालन तथा सहजिकरण गरेको छलफलमा, नेपालको पहिलो ब्लगर दिनेश वाग्ले; भारतको न्यूजमेरिक्स ब्लगका सञ्चालक अपर्णा राय; फिलिपिनी अभियन्ता र  पूर्व युवा राजनीतिज्ञ मोङ पालाटिनो; र त्रिनिडाड र टोबागोकी जीभी प्रबन्ध निर्देशक जसले क्यारेबियनको पहिलो पोडकास्ट सिर्जना गरेकी थिइन्, जर्जिया पपलवेलले आफ्ना ब्लगरका रूपमा थालेकाे करियरको विकास र ब्लगहरू हराउँदा अनलाइन स्पेसमा भएकाे प्रभावबारे छलफल गरे । 

जकरम्यानले ब्लगिङले उनको हृदयमा “विशेष स्थान” राख्ने कुरा स्विकारे । सन् २००४ मा उनी र जीभीका सह-संस्थापक रेबेका म्याकिनन हार्वड विश्वविद्यालयमा भिजिटिङ स्कलर रहँदा ब्लगरकनमा भाग लिएका थिए र साेही बेला ब्लगहरूले विश्वव्यापी संवादलाई सहजिकरण गर्न सक्ला भनेर सोच्न थालेका थिए । उनीहरूको साेही जिज्ञासा वा साेच ग्लोबल भ्वइसेजको रूपमा परिणत भयो । जुन प्रारम्भमा ब्लग एग्रिगेटर थियो जसले पछि आंशिक रूपमा कुन ब्लगहरू पछ्याउने भन्ने ज्ञानका आधारमा केही ब्लगरहरूलाई समेट्याे पनि । जकरम्यानले थपे, “पछिल्ला २० वर्षमा, ब्लगहरू प्रमुख अनलाइन प्रविधिबाट सिमान्त अनलाइन प्रविधिमा परिणत भएका छन् ।” 

ब्लगिङ समयसँगै परिवर्तित हुँदै गएकाे छ, जसले मानिसहरूले आफूलाई अभिव्यक्त गर्ने अनलाइन स्पेसलाई पहिलेभन्दा अझ मूल्यवान बनाएको छ । पूर्ण रूपमा लाेप नभई सकेता पनि, ब्लगिङ दुई दशकअघिको बेला जस्तो भने छैन । ब्लगहरूमा त्यस्ता के थिए जसलाई यति रोचक र विशेष बनायो त? के तिनीहरूको आकर्षण र शक्ति प्रविधिसँग सम्बन्धित थियो? या लेखन शैलीसँग? या तिनीहरूले निर्माण गरेका समुदायहरूसँग? र वर्तमान अनलाइन प्लेटफर्महरूका मझधारमा हामीले के गुमायौं — वा के प्राप्त गर्यौं?

ब्लगिङका फरक बाटाहरू

नेपाली पत्रकार र देशकै पहिलो ब्लगर, दिनेश वाग्ले, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको ।

सन् २००४ मा, वाग्ले नेपालका पत्रकार थिए, जहाँ उनी प्रविधि, सङ्गीत र कलासम्बन्धी समाचारहरू लेख्थे । मुलधारका सञ्चारमा स्थान नपाएका कथाहरू उनले आफै सुरु गरेको ब्लगमा राख्थे । एक वर्षपछि, पूर्वराजा ज्ञानेन्द्रले देशमा आपतकाल घोषणा गर्दै सरकारलाई बर्खास्त गरे र राजनीतिक नियन्त्रण आफ्नो बागडाेरमा लिए; जसले देशलाई नै राजनीतिक सङ्कटमा धकेल्याे । केही समयका लागि समाचार कक्षहरू बन्द भए; जब सञ्चालन गर्न अनुमति दिइयो, तिनमा सैनिकहरूका बाक्लाे उपस्थिति थियो ।

अन्ततः, इन्टरनेटकाे पुनर्सञ्चालन पछि, मानिसहरूले आफ्नो विचार व्यक्त गर्न ब्लगहरूमा भर पर्न थाले । स्वयंसेवी भावमा ब्लगरहरूले देशमा राजनीतिक एजेन्डा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले । अचानक, व्यक्तिहरूले राजनीतिज्ञहरूलाई जवाफदेही बनाउन थाले । लोकतन्त्र पुनर्स्थापनाको सामूहिक अभियानमा, ब्लगिङ र पत्रकारिताबीचको सम्बन्ध स्थापित हुन थाल्यो ।

यसकाे ठीक बिपरीत, रायले भने आफ्नो व्यक्तिगत विचारलाई अभिलेख गर्न ब्लग सुरु गरेकी थिइन् । सामाजिक विज्ञान, प्रविधि र नवप्रवर्तनको संगममा काम गर्दै, उनले अन्तर्राष्ट्रिय विकासका मुद्दाहरूमा पनि ब्लग लेख्न थालिन् । उनले बङ्गाली भाषामा ब्लगहरू लेख्न थालिन् र समाचारमा कम ध्यान दिने पाठकहरूलाई आकर्षित गर्ने उपायका रूपमा लिमेरिक शैली अपनाइन् । सन् २००६ मा ग्लोबल भ्वइसेजमा संलग्न भएकी रायले ब्रिज ब्लगिङको उद्देश्यसहित ब्लगिङलाई “मानिसलाई मानिसका रूपमा बुझ्ने” अवसरका रूपमा हेरेकाे बताइन् । साथै, उनले सुनाइन्, “लेखन एकर्कासँग नजिक बनाउने र संसारलाई जोड्ने माध्यम थियाे ।”

तर केही समयपछि, मानिसहरू ब्लगका सट्टा इन्स्टाग्राम जस्ता प्लेटफर्मतर्फ आकर्षित हुन थाले। रायकाे सल्लाह छ, “आफ्नो विचार व्यक्त गर्न तपाईं माध्यमसँग सहज हुनुपर्दछ ।” जति मानिसहरूले भिडियो वा दृष्यहरूमा ध्यान दिन थाले, ब्लगिङ थप दृश्यात्मक बन्यो र प्रयोगकर्ताहरूले फेसबुक समूहमा लेख्न थाले र आफ्नो सामग्री क्रस-पोस्ट गर्न थाले ।

‘जहाँ मानिसहरू छन्, त्यही जानुस्’

अपर्णा राय, जो भारतकाे Newsmericks ब्लग लेख्छिन्, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको।

सन् २००४ मा, लङ-फर्म वा लामा लेख सिर्जना गर्न सजिलो थियो । सन् २००७ सम्ममा ट्विटर आइसकेकाे थियाे; स्मार्टफोनहरू लगत्तै केही समयपछि आए । ब्लगरहरू दुईवटा विकल्पका मझधारमा थिए: आफ्नो लेखकको शैलीलाई पछ्याउने वा नयाँ प्लेटफर्महरूमा सरेका भीड पछ्याउँदै उतै जाने । 

यो दुईधारे तरवार जस्तै रहेकाे राय बताउँछिन् । “हामी त्यहाँ जानुपर्छ जहाँ मानिसहरू छन्, तर छोटा-फर्म्याटवाला माध्यमहरूमा तपाईंले सन्दर्भ दिन सक्नुहुन्न र जड बनाई राख्न सक्नुहुन्न ।” साथै, उनले स्वीकारिन् कि केवल लेखनले पनि दर्शकलाई सीमित बनाउँछ । तैपनि, जानकारीको गहिराइ महत्त्वपूर्ण छ ।

फिलिपिन्सको संसदबाट पहिलो पटक लाइभ ट्वीट गरेका प्लाटिनाेले अन्तर्क्रिया खण्डमा, ब्लगिङ आवाजहरू प्रवर्धन गर्न, रोचक सामग्री सिर्जना गर्न, नयाँ दर्शकलाई आकर्षित गर्न र सम्बन्धलाई स्थापना गर्न उपयोगी रहेकाे बताए । “यो समुदाय निर्माणसम्बन्धी हो ।,” उनी स्पष्ट पार्छन्, विशेष गरी गलत सूचना फैलाउने खतरा र पहुँचको चुनौतीको सन्दर्भमा ।

ब्लगिङकाे अभिन्न अङ्ग सम्बन्ध र समुदायहरू हुन्

ग्लोबल भ्वाइसेसकी प्रबन्ध निर्देशक जर्जिया पपलवेल, जसले क्यारेबियनको पहिलो पोडकास्ट सुरु गरेकी थिइन्, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको ।

मानिसहरूले ब्लगिङ किन छाडे त? पपलवेलका लागि यसको एउटा कारण परिदृश्य परिवर्तन हुनु थियो । “अहिलेको संसार मैले सोचेर आएकी होइन,” उनी हाँस्दै भन्छिन् । सन् २००५ मा जब उनले क्यारेबियन फ्री रेडियो, क्यारेबियनको पहिलो पडकास्ट सुरु गरिन्, त्यतिबेला यो माध्यम-विशेष नभएको निर्माता र लेखकको लागि एकमात्र नयाँ क्षेत्र थियो जसमा उनी प्रवेश गरेकी थिइनन् — त्याे थियाे, ध्वनी । “म पडकास्टिङबाट आकर्षित भएँ,” उनी भन्छिन् ।

सामाजिक सञ्जालको युगभन्दा पहिले, पपलवेल सम्झन्छिन्, यदि तपाईंले त्रिनिडाड र टोबागो वा क्यारेबियनको खोजी गर्नुभयो भने, तपाईंले सजिलै अनुमान लगाउन सकिने तस्विरहरू मात्र भेटिन्थे: मेला वा कार्निभल, समुद्रका किनारहरू र विशिष्ट संगीतका विधाहरू, जस्तै— क्यालिप्सो, सोकारेगे । उनको विचारमा, उनको क्षेत्रलाई पडकास्टिङले अनलाइन दुनियामा विविधता भर्ने मौका दियाे । तर अहिलेको डिजिटल स्पेसमा, कार्निभल र समुद्रका किनारका अझ धेरै तस्विरहरू छन्, जुन पपलवेल सम्झन चाहन्नन् । उनी भन्छिन्, “मैले अन्ततः यी स्थानहरूलाई पूर्णतया बदलिएकाे पाए ।”

प्रेरणाका नयाँ ठाउँहरू

ग्लोबल भ्वाइसेसका दक्षिणपूर्वी एशियाका क्षेत्रीय सम्पादक र पूर्व युवा राजनीतिज्ञ, मोंग पलाटिनो, डिसेम्बर ६, २०२४, शुक्रबार काठमाडौं, नेपालमा सम्पन्न ग्लोबल भ्वइसेस शिखर सम्मेलन २०२४ मा ब्लगिङसम्बन्धी प्यानलमा सहभागी हुँदै । पेइ ची चाङद्वारा खिचिएको तस्विर, अनुमति लिएर प्रयोग गरिएको ।

जकरम्यानले २००० को दशकको सुरुवातमा ब्लगिङलाई “आश्चर्य र संयोगको समय” भनेर सम्झन्छन्, जहाँ अनपेक्षित ठाउँहरू पत्ता लगाउने र जाेडिने कुरा थिए । उसाे भए, आधुनिक डिजिटल स्पेसमा पूर्व ब्लगरहरूले आफ्नो प्रेरणा कहाँबाट पाइरहेका छन् त?

रायका लागि, त्यो जीभीको राइजिङ भ्वाइसेस हो । उनकाे देश भारत जहाँ टिकटकलाई समर्थन छैन, त्यहाँ वहुसंख्यक युवाहरू रील्स, सबस्ट्याक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा आफूलाई अभिव्यक्त गरिरहेका छन्, उनले बताइन् । उनी थप्छिन्, “सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई अभिव्यक्त त गरिरहेका छन् तर म यो [ब्लगिङ जस्तै] हो भन्नेमा निश्चित छैन ।”

सामाजिक सञ्जाल चलाउने बानी प्रायः उनको कामले निर्धारण गर्ने र त्यो युट्युब रहेकाे, वाग्ले बताउँछन् । उनी भन्छन्, “म एल्गोरिदमलाई म के हेर्छु भन्ने कुरा निर्धारण गर्न नदिने प्रयास गर्दैछु । मलाई नियन्त्रणमा रहन मन पराउँछु ।” यस सन्दर्भमा, जकरम्यानले भने, “ब्लगहरू एल्गोरिदमिक थिएनन् ।” उनले थपे, ब्लग रील्स र तपाईंका मनपर्ने ब्लगरहरूले कुन ब्लगहरू सब्स्क्राइब गरेका छन् भनेर हेरेर प्राप्त गरिने खोजहरूको धेरै हिस्सा अहिले एल्गोरिदमकाे जिम्मामा छ ।

पालाटिनो दिनहुँ जीभी पढेर प्रेरित हुन्छन् । उनी भन्छन्, “विभिन्न भागहरूमा के भइरहेको छ भन्नेमा तपाईं अझ धेरै चासो राख्नुहुन्छ । यसले नयाँ दृष्टिकोण ल्याउँछ, जुन मूल्यवान छ । हामी अन्य समाजहरूका सोचाइलाई हाम्रा आफ्ना समस्याहरू समाधान गर्न लागू गर्न सक्छौं ।” नव फिलिपिनो आवाजहरूका कुरा गर्दा, पालाटिनो आफ्ना बच्चाहरूको विचारलाई पछ्याउँछन् । उनी भन्छन्, “युवाहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने ठाउँ दिनु महत्त्वपूर्ण छ र हामीले उनीहरू कहाँ छन् भन्ने कुरा पत्ता लगाउनुपर्छ ।”

यसैबीच, पपलवेल भन्छिन्, कम्तिमा अंग्रेजी बोल्ने क्यारेबियनमा धेरै अनलाइन कुराकानी अझै पनि फेसबुकमा भइरहेको छ, जबकि युवा टिकटकमा छन् र धेरै सामग्री इन्स्टाग्राममा रील्सका रूपमा पुनःप्रकाशित भइरहेका छन् । उनी भन्छिन्, “धेरै हास्यस्पद छ ।”, यद्यपि यी नयाँ प्लेटफर्महरू परम्परागत अर्थमा राजनीतिक स्थान भने होइनन्, लैङ्गिक सम्बन्ध र अन्य महत्त्वपूर्ण विषयहरूमा रोचक र प्रदर्शनात्मक तरीकाले टिप्पणीहरू प्रस्तुत हुँदै गएका छन् । उनी भन्छिन्, “म गी कुराहरूप्रति अलिकति अधैर्य छु,” तर उनी स्वीकार्छिन्, “यो त्यही छ र स्वतन्त्र रूपमा बगिरहेको छ।”

प्रविधिक अज्ञानताकाे समाधान तर्फ

यस परिप्रेक्ष्यमा, प्यानलका सदस्यहरूले विभिन्न स्थानहरूमा मिडियाको उदयलाई स्थान दिन आफ्नो अज्ञानतालाई कसरी समाधान गर्छन्? “यसलाई पछ्याउन गाह्रो छ,” वाग्ले स्वीकार्छन्, नयाँ X/Twitter चुनौतीकर्ता ब्लुस्काईलाई उदाहरण दिँदै । “कुनै बिन्दुमा, तपाईंले मानिसहरू कहाँ छन् भनेर पत्ता लगाउने प्रयास गर्नुपर्छ, तर साथसाथै ‘किन?’ भन्ने आत्म-स्वार्थद्वारा प्रेरित हुनु पनि आवश्यक छ।”

राय ती प्लेटफर्महरूलाई आफ्नो “स्थान” भनेर पूर्ण रूपमा सहज महसुस गर्दिनन्, तर भन्छिन्, “यो मान्यता दिन महत्त्वपूर्ण छ कि विषयहरू परिवर्तनशिल छन् र झन् फराकिलाे दर्शकहरूसम्म पुग्नका लागि हामी आफै पनि बदलिनु आवश्यक छ ।”

जीभीको लक्ष्य अपरिवर्तित छ’

ब्लगिङको युगबाट भएकाे थालनी, जहाँ व्यक्तिगत र राजनीतिक अभिव्यक्तिको संगम स्थान ओगटिएको थियो, वर्तमान डिजिटल स्थानको विविधतासम्म, जहाँ मानिसहरूले अझै पनि फरक स्वरूपमा आफूलाई अभिव्यक्त गरिरहेका छन् र राजनीतिक कदम चालिरहेका छन्, जीभी समुदाय यस समयसँग कसरी अनुकूलित भइरहेको छ?

पपलवेलले राइजिङ भ्वाइसेसले प्रकाशन गरेका ताजा सामग्रीतर्फ इङ्गित गर्दै भन्छिन्, जसको ठूलो हिस्सा अंग्रेजीबाहेकका भाषाहरूमा छ । उनी यस पहललाई “नवीनताको केन्द्रबिन्दु” भनी उल्लेख गर्छिन् । राइजिङ भ्वाइसेसले धेरै भिडियो सामग्रीहरू उत्पादन गर्छ र समुदायले “अत्यधिक प्रतिभा र गतिशीलता” प्रदर्शन गर्छ ।

पहुँच विस्तार र प्रवर्धनको सन्दर्भमा, पालाटिनो विश्वास गर्छन्, “पाठकहरूलाई सन्दर्भ दिने प्लेटफर्मको सधैं आवश्यकता रहन्छ ।” तर एउटा सर्त के हुन्छ भने “फ्रेमिङ प्रदान गर्ने काम भने तपाईंकाे हाे ।” उनी थप्छन्, “त्यस्ता ठाउँहरूमा पनि हुनु अत्यावश्यक छ, जहाँ जानकारीलाई हेरफेर गर्ने उद्देश्य हुन्छ ।”

ग्लोबल भ्वइसेस जस्ता प्लेटफर्मबाट लाभ उठाउन सकिने कुरमा वाग्ले सहमत भए । जसले उनलाई विश्वव्यापी दर्शक हासिल गर्नका साथै उनका सामग्रीलाई विभिन्न भाषाहरूमा अनुवाद गरेर सीमान्तकृत समूहहरूप्रति परिचित र पुहँच दिन मद्दत गर्याे । 

“जसरी सबैले छोटो स्वरूपमा आफूलाई अभिव्यक्त गरिरहेका छन्,” राय थप्छिन्, “व्याख्या गर्ने ठाउँ धेरै छैन । यो त टुक्राटाक्रीहरूलाई एकसाथ गाँसेर सिङ्गाे बुझाई प्रदान गर्ने कुरा जस्तो छ । [ग्लोबल भ्वइसेस] पूरै लुगा एकसाथ गाँसिरहेको छ ।”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.