
सोलुखुम्बु जिल्लाको थामे गाउँ लेदो र गेग्य्रानसँगै आएको विनाशकारी बाढीले बगाएको छ। आनन्द नेपालको युट्युब भिडियोको स्क्रिनसट। डिजिटल प्रतिलिपि अधिकार।
सोनिया अवालेको यस लेख प्रथम पटक नेपाली टाइम्समा प्रकाशित भएको थियो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत सम्पादित संस्करण पुन: प्रकाशित गरिएको छ।
अगस्ट १६ मा बिहानको ठीक ९ बजे तिब्बती पठारको सिजाङमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको चार घण्टापछि नेपालमा ६५ किलोमिटर टाढा रहेको हिमताल विस्फोट भएर तल्लो भेगमा विनाशको श्रृंखला निम्त्यायो।
हिमताल विस्फोट हुनुको वास्तविक कारण यकिन भएको छैन; नजिकै गएको भूकम्पको कम्पनले तेन्जी रागी ताउ हिमालको दक्षिणी थुम्कोमा हिमपहिरो गएर वा भारी मनसुन वर्षाको कारण हिमोट खसेर ताल फुटेको हुन सक्छ।
कारण जेसुकै भए पनि, पग्लिएको हिउँ तल्लो तालतर्फ बग्यो, जसले गेग्य्रानको बहावलाई सक्रिय बनायो र उपत्यकाबाट थामे गाउँसम्म पुग्यो। भाग्यवश, विद्यालयका बालबालिकाहरू शुक्रबार बिहान चाँडै घर गएका थिए र त्यहाँका बासिन्दाहरूले नजिकै ठूलो आवाज सुनेपछि सुरक्षित स्थानमा भागेका थिए। त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन।
अगस्ट ४, १९८५ मा नजिकैको उपत्यकामा रहेको दिग्च्छो भनेर चिनिने एउटा ठुलो तालमा हिमपहिरो खसेपछि ताल फुट्दा थामेले एउटा दु:खद घटनाको सामना गर्यो। त्यस पश्चात् आएको बाढीले १२ जनालाई बगाएको थियो, नवनिर्मित जलविद्युत प्लान्ट ध्वस्त भयो, र सगरमाथा पद मार्गको एक भाग बग्यो।
हिमनदीविद् तेन्जिङ चोग्याल शेर्पा नाम्चे बजारमा रहेको आफ्नो घर अग्लो स्थानमा भएकाले सुरक्षित रहन सकेको आफ्नी आमाले बताएको सम्झन्छन्।
“आफ्नो घर सुरक्षित रहेतापनि बाटो क्षतिग्रस्त भएकाले खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको उनले बताइन्। काठमाडौं स्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा कार्यरत तथा हिमालयमा जलवायु-जन्य पकोपको मानचित्रका लागि रिमोट सेन्सिङ प्रयोग गर्ने शेर्पा कुनै बेला आफ्नो परिवार सडेको आलु खाएर गुजारा चलाउन बाध्य भएको” कुरा सम्झन्छन्।
थामेमा यस हप्ता आएको बाढीले हिमाली जीवनको जोखिमलाई स्मरण गराउने तेन्जिङको भनाइ रहेको छ, यो जोखिम जलवायु परिवर्तनको कारणले उल्लेखनीय रूपमा बढेको छ।
“दक्षिणमा सम्भावित जोखिमपूर्ण हिमताल लुम्दिङच्छो रहेको छ, जुन दुधकोशी नदीमा मिसिन्छ र रोल्वालिङको पश्चिममा च्छो रोल्पा छ, यो ताल अहिले तीन किलोमिटर लामो छ। र उत्तरमा दिग्च्छो छ, जुन १९८५ मा फुटेको थियो,” शेर्पा भन्छन्।

दिक त्शो (दिग्च्छो) नाम्चे, नेपालको हिमताल। तस्वीर: म्याट वेस्टोबी फ्लिकर। CC BY-NC-ND 2.0.
“हामी दिग्च्छो बाढी पछिको सबैभन्दा खराब प्रकोपको सामना गरिरहेका छौं। यो खुम्बु क्षेत्रको लागि मात्र नभइ सम्पूर्ण हिमाली क्षेत्रका लागि महत्त्वपूर्ण चेतावनी हो, जसले हामीलाई हाम्रा दृष्टिकोणहरूमा पुनर्विचार गर्न, जोखिम न्यूनीकरण गर्न विकल्पहरू पहिचान गर्न र सुरक्षात्मक उपायहरू खोज्न प्रेरित गर्छ,” उनी थप्छन्।
सन् २०२१ मा मेलम्ची डाइभर्सनलाई ध्वस्त पार्ने बाढी, गत वर्षको सिक्किमको ठुलो बाढी वा हिमाली जिल्ला मुस्ताङको कागबेनी गाउँलाई ध्वस्त पार्ने गेग्य्रान बहावको तुलनामा थामे बाढी सानो प्रकृतिको प्रकोप थियो। यी सबै प्रकोप चरम वर्षाका कारण हिमताल फुट्ने वा हिमोट भत्किने गर्नाले भएका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनिल पोखरेल गाँउ माथिका हिमनदीहरू निरीक्षण गर्न भदौ १७ गते बिहान थामे गएका थिए। उनले टासी लाप्चा पास मुनि रहेका पाँचमध्ये दुई साना हिमताल फुटेर बाढी आएको पुष्टि गरे। स्याटेलाइट डेटाले दुई वर्षअघिसम्म उक्त स्थानमा चारवटा मात्र हिमताल रहेको देखाएको छ।
हिमालय पर्वत शृङ्खलामा अहिले हजारौं नयाँ हिमतालहरू छन् जसको नाम समेत छैन। नेपालमा सबैभन्दा जोखिमपूर्ण २० वटा हिमतालहरू देशको मध्य र पूर्वमा अवस्थित छन् तर चीनमा दर्जनौं विस्तारित तालहरू छन् जुन दुईवटा भोटेकोशी, अरुण र तामाकोशी जस्ता नदीहरूको सहायक नदीहरूमा मिसिन्छन्।
यी हिमतालहरूमध्ये केही आफ्नो आकार, विस्तार भइरहेको दर, र तल्लो भेगको बासिन्दाका निम्ति सम्भावित खतराका कारण भयावह छन्-जस्तै च्छो रोल्पा, इम्जाच्छो, र थुलागी।
तर, थामे बाढी र सन् १९७७ मा आमादब्लम हिमाल मुनिको नारे हिमतालजस्ता अन्य साना तालहरूले पनि ठूलो क्षति पुर्याउने देखाउँछन्।
थामेमा जस्तै अपेक्षाकृत सानो बाढीले पनि तल्लो भेगमा टाढासम्म क्षति पुर्याउन सक्छ। ओखलढुंगाको दुधकोशीमा रहेको रु ८ करोड (५ लाख ९६ हजार अमेरिकी डलर) मूल्यको पुल ध्वस्त पार्दै गेग्य्रान तीव्र गतिमा तल्लो भेगतर्फ बगेको थियो। तल्लो भेगका अधिकांश गाउँहरू खाली गरिसकिएको हुनाले कुनै हताहत हुन पाएन। बाढी ठुलो भएको भए यसले दुधकोशीमा ठूला जलविद्युत आयोजनालाई खतरामा पार्ने थियो।
थामे ३,८४० मिटरको उचाइमा छ, तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पोखरेल भन्छन् उनी यस हप्ता त्यहाँको असामान्य न्यानोपनले छक्क परे। उनी भन्छन्, “काठमाडौंमा भएको जस्तै अनुभव थियो।” “र स्याटेलाइट इमेजरीले गत महिना माथिल्लो भेगमा हिउँ तीव्र गतिमा पग्लेको देखाउँदछ जसले दुई तालहरूको क्रमिक विस्फोट निम्त्याएको हुन सक्छ।”
थामेको अवलोकनपछि आफ्नो प्रारम्भिक प्रतिवेदनमा पोखरेलले हिमतालको विस्फोट बिन्दु नजिकैको फोर्से वर्षा मापन केन्द्रले दैनिक ६५ मिलिमिटर वर्षा मापन गरेको उल्लेख गरे। उनले लेखे:
On August 16th, the temperature rose to a maximum of 15.9°C. On the same day, at the Rakhuwabazar Precipitation Monitoring Station in Khotang district near the Dudh Kosi River, the water level rose from 4.29 meters at 5:10PM to 5.53 meters at 5:40PM.
अगस्ट १६ मा, तापक्रम बढेर १५.९ डिग्री सेल्सियस पुग्यो। सोही दिन खोटाङ जिल्लास्थित रखुवाबजार, दुधकोशी नदी नजिक रहेको वर्षा मापन केन्द्रमा जल स्तर साँझ ५ बजेर १० मिनेटमा ४.२९ मिटरबाट बढेर ५ बजेर ४० मिनेटमा ५.५३ मिटर पुगेको थियो।
भविष्यमा नेपालमा हिमताल विस्फोट र गेग्य्रान बहावका घटनाहरू बारम्बार दोहोरिने र झन् विनाशकारी हुने छन् जुन दैनिक जीवनको हिस्सा जस्तै बन्नेछ। हिमालयमा भूकम्पीय जोखिमले जलवायु संकटसँग सम्बन्धित जोखिमलाई थप जटिल बनाउँछ।
स्थानीय समुदाय र सरकारहरूसँग पूर्व चेतावनी प्रणालीहरू स्थापना गरेर, साना विकेन्द्रीकृत जलविद्युत आयोजनाहरूको निर्माण गरेर, बस्तीहरू र पूर्वाधारहरूलाई उच्च स्थानमा स्थानान्तरण गरेर, र विस्तृत जोखिम म्यापिङ सञ्चालन गरेर अनुकूलन गर्नुको विकल्प छैन।
शेर्पा भन्छन्, “हामी स्याटेलाइट म्यापिङमा मात्र भर पर्न सक्दैनौं र हाम्रो जस्तो विविधतायुक्त भूगोल र हावापानी भएको देशमा किन स्थलगत अवलोकन महत्त्वपूर्ण छ भनी थामेले देखाएको छ।” “हिमालय क्षेत्रमा ५० हजारभन्दा बढी हिमनदी छन् र हामीले तीमध्ये एक प्रतिशत पनि अध्ययन गरेका छैनौं।”
स्थलगत डाटाको अभावको बाबजुद, रिमोट सेन्सिङ प्रविधिमा उल्लेखनीय प्रगतिहरू भएका छन् जसले यस डाटा अन्तरलाई पूरा गर्न र गतिशील हिममण्डल बुझ्न मद्दत गरेको छ। इसिमोडको प्रतिवेदनले हालैका दशकहरूमा ग्लेशियर द्रव्यमान ६५ प्रतिशतले वृद्धि भएको देखाउँछ। प्रतिवेदनले आगामी शताब्दीमा बाढीको जोखिम अझै बढ्न सक्ने चेतावनी दिएको छ।
नेपालका धेरै नदीहरू सीमापार हुँदै बगेर आउने भएकाले चीनसँग द्विपक्षीय पूर्व चेतावनी संयन्त्र पनि जरुरी छ। परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै, नेपाललाई भविष्यमा हुन सक्ने सम्भावित जोखिमलाई प्रभावकारी रूपमा सामना गर्न हानि तथा नोक्सानको क्षतिपूर्तिको अतिरिक्त अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहिन्छ।
गत वर्ष, तेन्जिङ चोग्याल शेर्पाले जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमहरू सम्बोधन गर्न स्थानीय समुदायहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले #SaveOurSnow भनिने विश्वव्यापी पैरवी अभियान सुरु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
#SaveOurSnow अभियान मार्फत हिमाली समुदायहरूले मनसुनको चरम स्थिति, सुख्खा मुहान, हिउँदमा खडेरी, र लु चल्दा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सक्ने आशा राख्छन् ताकि उनीहरू अनुकूलन गर्न सकून् र बाँच्न सकून्। शेर्पा भन्छन्:
As glaciers melt and lakes expand, disasters like Thame will be more frequent, we have to adapt. We need to tell our stories to the world, even as they continue to debate on the topic, we are already facing the brunt of it without having caused it ourselves. At local levels, we have to get back on our feet and prepare for what's coming.
हिमनदी पग्लने र तालहरू विस्तार हुँदै जाँदा थामे जस्ता विपद् बारम्बार दोहोरिने छन्, हामीले अनुकूलन गर्नुपर्छ। हामीले हाम्रा अनुभवहरू संसारलाई बताउनै पर्छ। यस विषयमा बहस चलिरहँदा, त्यसका लागि हामी जिम्मेवार नभए पनि हामीले परिणाम भोगिरहेका छौं। हामीले स्थानीय स्तरमा हाम्रो स्थायित्व पुनर्स्थापना गर्नुपर्छ र भविष्यमा आउने चुनौतीका लागि आफूलाई तयार राख्नुपर्छ।