न्याना मेरा हातहरू: एक नेपाली नवविवाहित जोडीको कथा

Image by Pratibha Tuladhar via Nepali Times. Used with permission.

प्रतिभा तुलाधरद्वारा खिँचिएको नेपाली टाइम्समार्फत अनुमतिपश्चात् प्रयोग गरिएको तस्वीर।

यो कथा प्रतिभा तुलाधरद्वारा  लेखिएको वास्तविक मानिसका जीवनमा आधारित मासिक स्तम्भ सबअर्बन टेल्स श्रृंखलाको एक हिस्सा हो र मूलतः नेपाली टाइम्समा प्रकाशित भएको थियो। सामग्री साझेदारी सम्झौताअन्तर्गत यहाँ सम्पादित संस्करण ग्लोबल भ्वाइसेजमा पुन: प्रकाशन गरिएको छ।

जब कल्पनाले पहिलो पटक आफ्नो भावी पतिको हात समातिन्, तब उनको दिमाग आफ्नो गृहनगरको समतल जमीनबाट हटेर छिट्टै उनको नयाँ घर बन्न लागेको काठमाडौंको फराकिलो सडकमा पुग्यो। उनी उठिन्, आफ्नो पतिको अनुहारमा हेरिन् र मुस्कुराईन्; उनको पछाडि फैलिएको गहुँको खेत एक सुनको पर्दाजस्तो देखिन्थ्यो र उनलाई तुरुन्तै त्यो क्षणको फोटो खिच्ने मन भयो। उनले सोचिन् कि शायद काठमाडौंमा राम्रो क्यामेरा भएको नयाँ फोन लिन सम्भव होला र उनले फेसबुकमा धेरै तस्बिरहरू पोस्ट गर्न सक्नेछिन्।

त्यस क्षणको एक वर्षपश्चात् कल्पनाले आफूलाई काठमाडौंको ब्युटी पार्लरको बन्द कोठामा पाउँछिन्। अहँ हैन, उनी आफ्नो आँखीभौं बनाइरहेकी छैनन्, न त उनले कपाल काटिरहेकी छिन्। अहिले त्यो ठाउँ, उनको काम गर्ने ठाउँ भएको छ। हरेक दिन १० देखि ५ बजेसम्म।

“वास्तवमा काम गर्ने समय त्यति खराब छैन,” उनी भन्छिन्। “पैसा त्यति धेरै छैन, तर मलाई काम दिने मान्छे भन्छन् कि ग्राहकहरुले टिप्स दिनेछन्।”

आफ्नो गृहनगरमा कल्पनाले धागोको प्रयोग गरेर आँखीभौंहरू टिप्ने, टिनको भाँडोमा मैन तताउने र त्यसलाई कपडाको पट्टिले निकाल्ने र फेशियल गर्न आएका महिलाको अनुहार र काँधमा मसाज गर्ने तालिम लिएकी थिइन्। उनका साथीहरूले उनलाई काठमाडौं जानुअघि यो सिक्नु सबैभन्दा राम्रो सीप हो भनी सल्लाह दिएका थिए। “काम खोज्न सजिलो छ,” तिनीहरूले भनेका थिए। “र यदि तपाईं विदेश जाँदै हुनुहुन्छ भने, अझ राम्रो हुनेछ। महिलाहरू ब्यूटी पार्लरहरूमा साँच्चै राम्रो कमाउँछन्।”

अब काठमाडौंमा, कल्पनालाई महसुस हुन्छ कि यहाँको जीवन त्यो कहानीसँग मेल खाँदैन जुन उनले घरमा धेरै पटक सुनेकी थिइन्।

उनले बाल्यकालमा आफन्तहरू भेट्न केही हप्ता काठमाडौंमा बिताएकी थिइन्, त्यसैले पक्कै पनि उनलाई यो शहरको बारेमा थाहा थियो। तर उनले वयस्कको रूपमा भेटेको काठमाडौं अलग, अँध्यारो र उदासीन थियो। बस सवारी अब आरामदायक होइन तर गाह्रो परीक्षा जस्तै हुन थाल्यो। उनी प्रायः जसो अन्य यात्रुहरूबाट नकुल्चिइकन उभिनको लागि ठाउँ खोज्न संघर्ष गर्छिन्। यो उनको लागि कुनै नौलो कुरा होइन तर चिंताजनक पक्कै हो, कसैको कुहिनो उनको अनुहारमा ठोक्किन्छ, कसैले निजी अंग उनको जीउमा टसाउँछ, कसैको ह्वास्स गन्हाउने सास उनको कपालमा पर्छ। कहिलेकाहीँ त उनको आँखा निन्द्रामा मस्त हुन्छ जबसम्म कन्डक्टरले “बालाजु!” भनेर भन्दैन।

यो यात्रामा उनको प्रति महिना ५००० नेपाली रुपैया (३८ अमेरिकन डलर) खर्च हुन्छ। “थुक्क!” उनी मन मनै सोच्छिन्। कल्पनाले बस यात्राभरि सुस्केरा हाल्छिन्।

पार्लरमा सुरुका केही हप्ताहरूमा काम भनेको अन्य महिलाहरूसँग घुम्ने, गफ गर्ने, १५० रुपैयाँ (१.१३ अमेरिकन डलर) पर्ने बफ मोमो हप्तामा एक पटक खाने देखिन्थ्यो। प्रायःजसो ६० रुपैयाँ (४५ अमेरिकन सेन्ट) को चनासँग मसालेदार वाईवाई (इंस्टेंट नूडल्स)को कचौरा हुन्थ्यो। कल्पनाले आफ्ना स्कूलका दिनहरूमा बाल्यकालका साथीहरूसँग समय बिताएजस्तै पारिवारिक वातावरण पाएको महसूस गरिन्।

पार्लरमा काम गरेको दुई महिनाभन्दा कम समयमै कल्पनाले आफ्नो जिम्मेवारी बढ्न थालेको बताइन्। मालिकले उनलाई भन्यो कि व्यापार सुस्त छ र शहरमा पसलहरू बन्द हुँदैछन्, र उनले यसलाई जारी राख्नको लागि केही तरिका सोच्नुपर्ने हुन्छ। उनले त्यो ठाउँ कि त बेच्नुपर्ने वा नयाँ तरिकाले फेरि सुरु गर्नुपर्ने बताइन् ।

त्यसबेला कल्पनालाई चिन्ता थियो कि व्यवसाय बेच्नुको अर्थ आफूलाई जागिरबाट निकालिने छ। उनी बस भाडा र खाजा खर्च तिरेर मासिक तीन हजार रुपैयाँ जोगाउन सक्थिन्। आजकल उनी कहिलेकाहीँ मालिकले वास्तवमै आफ्नो व्यवसाय बिक्री वा बन्द गरोस् भन्ने कामना गर्छिन्। तर वास्तवमै त्यो भएन।

उनको रोजगारदाताले तुरुन्तै सबै ठीक गरी दिए। उनले व्यवसायको बोर्डमा “मसाज” शब्द थपिन्। र पहिले फेशियल सेवा प्रदान गर्न प्रयोग हुने उच्च ओछ्यान खाटहरू चाँडै मसाज टेबलमा परिणत भए। ती महिलाले कल्पनासँगै काम गर्ने तीनै महिलाहरूलाई कहाँ थिच्ने, कहाँ बल लगाउने, कहाँ मालिश गर्ने, कहाँ रगड्ने र कहाँ रोल गर्ने जस्ता तालिम पालैपालो दिइन्।

एक मसाजवालीको रूपमा आफ्नो नयाँ भूमिकामा कल्पनाले कहिलेकाहीं आफूले पुरुष र साथ साथै महिलाहरूलाई पनि सहयोग गरिरहेकी हुन्छिन्। पुरुषहरू प्रायः थलथले पेट भएका, अधवैंशे पुरुषहरू हुन्छन् जो चुपचाप भित्र आउँछन् र झटपट जान्छन्।

“एक पटक एक व्यक्तिले मलाई अनुचित प्रकारको सेवा माग्यो, र मलाई थाहा थिएन कि म क्रोधित थिएँ वा डराएको थिएँ। म कोठाबाट बाहिर निस्केर दिदीलाई बोलाएँ । तर दिदीले भनिन् कि केही ग्राहकहरूलाई खुसी पार्न गाह्रो छ, र दिदीले त्यस व्यक्तिलाई गर्नुपर्ने बाँकी सबै कामको लागि मेरो ठाउँ लिईदिईन्।”

कल्पनाका हातहरू स्कुलकी छात्राको जस्तै साना छन् र कसैले पनि कल्पना गर्न सक्दैनन् कि त्यस्ता साना हातहरूले कसरी पुरै ढाड वा पिंडौलामा मालिश गर्न सक्छन्। ती साना हातहरूले।

“मेरो श्रीमानलाई थाहा छैन। उनले अझै पनि यो पार्लर मात्रै हो भन्ने सोच्छन्, यो हो पनि। यदि म मसाजवालीको रूपमा पनि काम गरिरहेको छु भन्ने उनलाई थाहा भएमा शायद मलाई मार्न सक्छन्। मार्नु हुन्छ। यदि मैले अर्को काम पाएँ भने यो काम छोड्नेछु। यहाँसम्म कि घरेलु कामदारको काम पाएँ भने पनि।”

कहिले-काँहि म सोच्छु म एक दिन बिहान उठ्छु, कामको लागि निस्किन्छु, बालाजुबाट बस चढ्छु र चढिनै रहन्छु, जाँदै गर्छु, बसमा सुत्छु, केही बदाम र सुन्तला किन्छु अनि खान्छु। त्यसपछि फेरि सुत्छु, र छ बजे घर फर्किन्छु। उनले कहिल्यै थाहा पाउँदैनन्, हैन र? मेरो मतलब जबसम्म पैसा समाप्त हुँदैन?”

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.