आफ्ना इच्छाविपरित पाँचमध्ये एक नेपाली युवा हङकङबाट नेपाल फर्काइदैछन्

हङकङ युनिसनले ६ जुन २०२४ मा नेपाली युवाले त्यहाँ भोग्दै गरेका चुनौतिका बारेमा प्रेस ब्रिफिङ आयोजना गरेको थियो। फोटोः हान्स च्छे/एचकेएफपी। अनुमतिमा प्रयोग गरिएको।

यो आलेख हान च्छेद्वारा तयार पारिएको हो र हङकङ फ्रि प्रेसमा (एचकेएफपी) मे २०, २०२४ मा प्रकाशित भएको थियो। एचकेएफपीसँगको सामग्री साझेदारी सम्झौताअन्तर्गत यहाँ सम्पादित अंश प्रस्तुत गरिएको छ। 

अन्दाजी पाँचमध्ये एक नेपाली युवा आफ्ना बाबुआमाद्वारा हङकङबाट नेपाल फर्काइएका छन्, धेरै जना उनीहरूको इच्छाविपरित। एक गैरसरकारी संस्थाले जातीय अल्पसंख्यक समुदायका विद्यार्थीले पढाइ छोडेको दरको डरलाग्दो परिस्थिति देखाउँदै यो कुरा बाहिर ल्याएको छ।

समान अधिकार र यस शहरमा रहेका जातीय अल्पसंख्यक समुदायलाई समाहिकरण गर्नमा केन्द्रित गैरसरकारी संस्था हङकङ युनिसनले गत अप्रिल र मे महिनामा २६८ नेपाली युवाबीच गरेको एक अध्ययनले तीमध्ये ५० जनालाई उनीहरूका बुबाआमाले हङकङ छोडेर नेपालमा बस्न बाध्य गरेको कुरा सो संस्थाका कार्यकारी निर्देशक जोन च्छेले बिहिबार सार्वजनिक गरे। सर्वेक्षणमा भाग लिनेको औसत उमेर २२ वर्ष रहेको थियो।

“यो समस्याको आकार विचलित बनाउने खालको छ, हामी प्रत्येक पाँचमा एक जनाको कुरा गर्दैछौं, जुन कि जनसंख्याको सानो भाग होइन,” एचकेएफपीसँग च्छेले भने।

च्छेका अनुसार ४० प्रतिशत सहभागीले नेपाल पठाइनु पछाडि पारिवारिक समस्या र आर्थिक कठिनाइजस्ता कारण औंल्याए किनकि उनीहरूका अभिभावकले आफ्ना छोराछोरीका लागि हङकङमा लाग्ने पढाइ खर्च बेहोर्न नसक्ने भएका थिए।

तर यस शहरका नेपाली युवतीमध्ये केही नेपाल पठाइए किनकि उनीहरूका अभिभावकले उनीहरूको डेटिङ गर्ने चलनलाई अँगाल्न सकेनन्, च्छेले भने। कतिपय चरम अवस्थामा — अन्दाजी १५ प्रतिशत — नेपाली युवतीले बलजफती नेपालमा बिहे गर्नुपरेको छ, उनले थपे।

च्छेले उल्लेख गरेको एउटा मामिलामा एक १८ वर्षे युवतीले डेटिङ गर्न थालेपछि उनका अभिभावकले उनलाई नेपाल पठाए। ती युवती आफ्ना अभिभावकसँग कुराकानी गरेर मात्र हङकङ फर्कन सकिन् र च्छेले उनलाई भेट्दा उनी २४ वर्षकी भइसकेकी थिइन् र विश्वविद्यालयमा दोस्रो वर्षमा अध्ययनरत् थिइन्।

“उनी नेपाल फर्काइएकोमा निकै रिसाएकी थिइन्। उनले आफ्नो पढाइका केही वर्ष गुमाइन्,” च्छेले भने।

हङकङमा जन्मिएकी २६ वर्षीय नेपाली युवती एलिजा लिम्बूका अनुसार “परम्परागत सोच” भएका केही नेपाली अभिभावकलाई उनीहरूकी छोरीले पढ्दै गर्दा रोमान्टिक सम्बन्ध शुरु गरेको मन पर्दैन।

नेपालीहरू सँगसँगै नजिकै बस्ने हुनाले युवा जोडी सँगै हिडेको देख्नासाथ समाजमा गफ र हल्ला शुरु भइहाल्छ, उनले भनिन्। यसले गर्दा नेपाली अभिभावक चिन्तित हुन्छन् र उनीहरूकी छोरीलाई नेपाल फर्काउन थाल्छन्, उनले थपिन्।

नेपाली युवालाई नेपाल फर्काइनुको मुख्य कारण चाहिँ लागुपदार्थको प्रयोग रहेको च्छेले बताए। सर्वेक्षणमा भाग लिनेमध्ये १२.६ प्रतिशतले लागुपदार्थ प्रयोग गर्ने गरेको स्वीकारे, उनले भने र ७० प्रतिशतको विचारमा हङकङमा बस्ने नेपालीमाझ लागुपदार्थको दुर्व्यसन एउटा गम्भीर समस्या रहेको बताए।

पहिलो पटक लागुपदार्थ प्रयोग गर्नेको औसत उमेर १७ वर्ष रहेको र सबैभन्दा काञ्छा लागुपदार्थ प्रयोगकर्ता १२ वर्षको रहेको उनले बताए।

च्छेका अनुसार हङकङमा पढाइ छाड्ने नेपाली विद्यार्थीको दर ७.१ प्रतिशत रहेको छ। जबकि यस शहरमा समग्रमा पढाइ छाड्ने विद्यार्थीको दर मात्र ०.४ पतिशत रहेकोले नेपालीहरूको परिप्रेक्ष्यमा यो असमानता “डरलाग्दो” हो।

उनका अनुसार यद्यपि धेरै जना नेपाल फर्काइएकोमा दुःखी भए तापनि केही युवा उनीहरूका अभिभावकका दुःख बुझेर नेपालमै बस्ने कुरामा सकारात्मक छन्।

उनले सरकारलाई मारमा परेका नेपाली परिवारलाई अल्पकालीन आर्थिक सहायता प्रदान गर्न सुझाए। यसले पढाइ खर्च तिर्न नसकेर उनीहरूका छोराछोरीलाई नेपाल फर्काउनबाट रोक्नेछ।

तर नेपाली अभिभावकलाई आफ्ना छोराछोरीको व्यक्तिगत इच्छा अस्वीकार गर्दै उनीहरूलाई नेपाल फर्काउनबाट रोक्न उनीहरूमा दीर्घकालीन मूल्यमान्यता परिवर्तनको खाँचो रहेको कुरा च्छेले गरे। साथै उनले यो “हङकङको समाजको मूल्यमान्यता नभएको” कुरा थपे।

उनले नेपाली युवाले सशक्त भएर “नाइ” भन्न सक्ने साहस बटुल्न सिक्नुपर्नेछ र यसका लागि जनचेतनामूलक अभियानको खाँचो रहेको उल्लेख गरे।

सन् २०२१ मा हङकङमा २९,७०० नेपाली परिवार बसोबास गर्दथे र फिलिपिनो, इन्डोनेशियाली र भारतीयपछिको चौथो ठुलो जातीय अल्पसंख्यक समुदायका रूपमा रहेका छन्।

जनगणनाको तथ्याङ्कअनुसार नेपाली समुदायमा ३१.६ प्रतिशत २४ वर्षमुनिका रहेका थिए।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.