सोनिया अवालेको यस लेख प्रथम पटक नेपाली टाइम्समा प्रकाशित भएको थियो र ग्लोबल भ्वाइसेजमा सामग्री साझेदारी सम्झौता अन्तर्गत सम्पादित संस्करण पुन: प्रकाशित गरिएको छ।
हिमालय पर्वत श्रृङ्खला ध्रुवीय क्षेत्रहरूपछिको बरफको रूपमा पानीको सबैभन्दा ठूलो भण्डार भएकाले यसलाई तेस्रो ध्रुव भनिन्छ। विश्वको सबैभन्दा अग्लो हिमश्रृङ्खलालाई एसियाको जलाशय पनि भनिन्छ तर संसारको छानोमा पानी रित्तिदै गएको छ।
आकाशमा नदी जस्ता सघन वायुमण्डलीय जलवाष्प स्काई रिभरले हावामा हुने समुद्रको पानीको मात्रा बोकेर हिमाल तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा गराउँछन्। यसरी परेको अधिकांश हिउँ वा पानी तल खस्छ, हिमालले विशाल स्पन्जहरू जस्तै काम गर्छन्। बाँकी बरफको रूपमा भण्डारण हुन्छ र गर्मीमा बिस्तारै पग्लन्छ जब हिमनदीले बरफ बगाउँछ।
तर जलवायु परिवर्तनले विश्वव्यापी औसत तापमान वृद्धिभन्दा छिटो हिमालयको तापक्रम वृद्धि गर्दै जलचक्रमा बाधा पुर्याइरहेको छ। वर्षा झन् अनियमित हुँदै गइरहेको छ, या त मुसलधारे वर्षा हुने या त लामो समयसम्म वर्षा नहुने अवस्था रहेको छ, भूमिगत पानी घट्दै छ, र हिमनदी खुम्चिँदै गएका छन्।
हिमालय पर्वत श्रृङ्खला र तिब्बती पठारमा उत्पत्ति हुने नदीले पहाडका बासिन्दाका साथै तल्लो तटीय क्षेत्रका १ अर्ब एसियालीहरूलाई आश्रय दिन्छन्, जोसँग आगामी दशकहरूमा सुख्खा मौसममा कम पानी हुनेछ।
यदि हरितगृह ग्यास उत्सर्जन घटाइएन भने, यस शताब्दीमा हिमालयका दुई तिहाइ हिमनदी समाप्त हुने भविष्यवाणी वैज्ञानिकहरूले गरेका छन्। सगरमाथा आधार शिविरमा पहिलेदेखि नै एउटा खोला बगिरहेको छ, र खुम्बु आइसफलमा बग्ने साना खोलाले यसलाई निकट भविष्यमा झरनामा परिणत गर्न सक्छन्।
सन् २०२० मा सगरमाथाको शुद्ध उचाइ मापन गर्ने टोलीमा रहेका खिमलाल गौतमले दुई पटक विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेका छन् र परिवर्तनहरू पनि महसुस गरेका छन्।
“सगरमाथा आधार शिविरमा हिमोट र पर्माफ्रोस्ट डरलाग्दो रूपले लुप्त हुँदैछन्। हिमनदी पग्लिदै छ, हरेक पटक जब म यहाँ आउँछु, झन् झन् कम हिउँ देख्छु,” गौतम भन्छन्।
उनी थप्छन्, “यसरी हिमालमा रहेको हिउँ छिटोछिटो पग्लिनाले यो ठूलो खोला अहिले आधार शिविर हुँदै बगिरहेको छ। पछिल्लो छ वर्षमा यहाँको औसत तापक्रम बढेको छ।”
माछापुच्छ्रे हिमाल जस्ता प्रसिद्ध हिमशिखरहरू कुनै मौसममा नाङ्गो चट्टानमा परिणत भएका छन्। अक्टोबर २००८ देखि अक्टोबर २०२० को बीचमा, सुदूर पश्चिम नेपालको ७,०३१ मिटर उचाइमा रहेको साइपाल हिमालले आफ्नो अधिकांश बरफ गुमाएको थियो, जसले पर्वतारोही, वैज्ञानिक र स्थानीयलाई स्तब्ध पारेको थियो।
सन् २००६ मा आमादब्लम हिमालको चुचुरो मुनिको हिम ढिस्को भत्किँदा छ जना आरोहीको मृत्यु भएको थियो। उक्त हिम ढिस्कोबाट आमादब्लम हिमालको नामाकरण गरिएको हो। “आमादब्लमको अर्थ आमाले लगाएको हार हो र बरफको यो ठूलो भाग भत्कियो र चकनाचुर भयो,” वातावरणविद् तथा उद्यमी दावा स्टिभन शेर्पा भन्छन्। “हामीले हाम्रा पहाडहरू मात्र गुमाइरहेका छैनौं, हाम्रो पहिचान र तिनले के अर्थ राख्छन् भन्ने तथ्यको एउटा महत्त्वपूर्ण हिस्सा पनि गुमाइरहेका छौं।”
पाकिस्तानको काराकोरम, तिब्बती पठार, भुटान र भारतमा अनुसन्धानकर्ताहरूले यस्तै निष्कर्ष निकालेका छन् जहाँ पर्माफ्रोस्ट पग्लिदै छ र हिमनदी घट्दै छन्।
“विगतमा, काराकोरमका हिमनदीहरू हिमालयका अन्य ठाउँहरूको तुलनामा बढी अपरिवर्तनीय थिए … तर अहिले यी हिमनदी पनि पग्लिन थालेका छन्,” काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का पाकिस्तानी रिमोट सेन्सिङ विशेषज्ञ शेर मुहम्मद भन्छन्।
छिटो पग्लनुको अर्थ हिम तालहरूको संख्या बढ्दै जानु पनि हो। चो ओयु हिमालको फेदमा रहेको नेपालको सबैभन्दा लामो हिमनदी नगुम्पा अहिले पग्लिएको पोखरी र गेग्रानले ढाकिएको छ र स्विस चिज जस्तै देखिन्छ। इम्जा हिमनदी ३० वर्षमा हिमतालमा परिणत भएको छ।
“इम्जा पहिले ताल थिएन, यो हिमनदी जमेको अवस्थामा रहने गर्दथ्यो,” दावा शेर्पा थप्छन्। “मेरो बुबाले ६० वर्षअघि जापानी आरोहण दलको साथ हिमनदीमा क्याम्प बसाउनुभएको थियो। आज हामीलाई उहाँले क्याम्प बसाउनुभएको त्यस ठाउँमा पुग्न रबरको डुङ्गा चाहिन्छ।”
नेपालमा ३,२५२ हिमतालहरू छन् र हिमनदी सन् १९९८ को तुलनामा तीन गुणा छिटो खुम्चिँदै छन्। धेरै हिमतालहरू हिमनदी पग्लिएको पानीले भरिएका छन् र फुट्ने खतरामा छन्। हिमतालको बाँधले पानी थेग्न नसकी हिमताल फुट्ने र तल्लो तटीय क्षेत्रमा आउने ठूलो बाढी अर्थात् हिमताल विष्फोटनको बाढी (GLOFs) मानव बस्तीका लागि मात्र नभएर पूर्वाधार परियोजनाहरूका निम्ति पनि खतरा हुन्छन्, ती पूर्वाधार परियोजनाहरूमध्ये प्राय: नदीको तल्लो भेगमा निर्माण गरिएका जलविद्युत आयोजनाहरू छन्।
भारी मनसुनी वर्षाको कारण ढुङ्गा, माटो, बालुवा, रूखका मुढा मिसिएका थिग्र्यान सोहोरिएर बग्दा सन् २०२१ को जुनमा मेलम्ची नदीमा आएको ठूलो गेग्रान बहावले कम्तिमा ३० जनाको ज्यान गयो, बस्ती जलमग्न भयो र काठमाडौंमा पानी आपूर्ति गर्ने नेपालको सबैभन्दा ठूलो पूर्वाधार परियोजना लगभग पूर्ण रूपमा ध्वस्त भयो।
हिमाल पग्लिने क्रम उल्लेखनीय भएतापनि मुहान सुक्ने र नदीको घट्दो बहावको कारण हिमालय क्षेत्रको ठूलो जनसङ्ख्या प्रभावित भएका छन्। लगातार खडेरी र सुख्खा मुहानका कारण मानिसहरूले आफ्नो गाउँ र जन्मथलो छोडिरहेका छन्।
कौसी खेतीका लागि पर्याप्त पानी उपलब्ध नहुँदा समेत घरमा बस्ने महिलाले टाढाबाट पानी ल्याउने लगायतका घरायसी कामको बोझ वहन गर्नुपर्ने बाध्यता छ। कामको बोझले नेपालका विभिन्न क्षेत्रमा बालविवाह र छात्राले विद्यालय छाड्ने संख्यामा वृद्धि भएको छ, जसले देशको विगतका उपलब्धिहरूलाई कमजोर पारेको छ।
यस वर्ष डिसेम्बर ११ मा हुने अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा ‘वुमन मुभ माउन्टेन्स’ रहेको छ । हिमालमा जलवायु परिवर्तन सङ्कट मात्र नभएर महिला र स्थानीय समुदायलाई सशक्तिकरण गर्ने अवसर पनि हो । वर्षाको पानी संकलन, पोखरी पुनरुत्थान र थोपा सिँचाइदेखि लिएर बाढीको जोखिम कम गर्न नदी किनारमा उखु र नेपियर घाँस रोप्नेसम्म स्थानीय अनुकूलनका नेपालमा धेरै सफल उदाहरणहरू छन्। तथापि, हिमालयमा जलवायु परिवर्तनको प्रभावसँग लड्न वायु प्रदूषण जस्तै क्षेत्रीय र सीमापार सहयोग चाहिन्छ। वास्तवमा, बिग्रँदै गएको क्षेत्रीय वायु प्रदूषणले हिउँ पग्लिने गतिलाई बढाइरहेको छ। सवारीसाधन, उद्योग र आगलागीबाट उत्सर्जन हुने कार्बन र धुवाँको कण उच्च उचाइमा पुगिरहेका छन् र विश्व उष्णीकरणका कारण पहिलेदेखि पग्लिरहेको हिमनदीहरूको पग्लने दर वृद्धि हुँदै गएको छ।
इसिमोडको महानिर्देशक भुटानका पेमा ग्याम्त्सोले भने: “हामीले सीमापार सहयोग बढाउन बढी ध्यान दिनु आवश्यक छ। त्यो सदैव हाम्रो लक्ष्य रहिआएको छ, तर मलाई लाग्छ, अब हामीले यी पहलहरूलाई द्रुत गतिमा अगाडि बढाउन आवश्यक छ।”
हिमालयको उचाइ र आर्द्रताको परिमाणको कारण हिमालयमा पृथ्वीको अन्य कुनै पनि स्थान भन्दा बढी जैविक विविधता छ। यस प्रकारको जैविक विविधताले प्रजातिहरू फस्टाउनको लागि उपयुक्त स्थान बनाउने अनुसन्धानकर्ताहरूको भनाइ छ। तर जलवायु परिवर्तनले संवेदनशील पर्वतीय पारिस्थितिकी तन्त्रमा विकसित वनस्पति र जीवजन्तुको विविधतालाई प्रभावित बनाइरहेको छ। अधिकांश प्रजातिको कहिल्यै अध्ययन भएको छैन, ती प्रचुर औषधीय र उपयोगी महत्वका हुन सक्छन्।
इजिप्टमा हालै सम्पन्न कोप २७ जलवायु शिखर सम्मेलनले जलवायु परिवर्तनबाट हानि–नोक्सानी भोगेबापत गरिब मुलुकहरूलाई क्षतिपूर्ति दिने संयन्त्रमा सहमति जनायो तर आवश्यक कार्बन उत्सर्जन न्यूनीकरण लक्ष्यहरू पूरा भएनन्। विश्वव्यापी औसत तापक्रम पूर्व-औद्योगिक युगको तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न सकिने कुरामा अहिले गम्भीर प्रश्न उठेको छ।
वैज्ञानिक र अधिकारीहरू – ६ करोड ५० लाख वर्ष पहिले डायनासोरहरूलाई पूर्ण रूपले नामेट पार्ने उल्कापिण्डको टकराव पछिको पृथ्वीमा जैविक विविधताको सबैभन्दा ठूलो क्षति ‘छैटौं विलुप्तता’ बाट बच्ने उपाय खोज्न डिसेम्बरको दोस्रो हप्ता मोन्ट्रियलमा भेला भएका थिए। यसको एउटा कारण जलवायु सङ्कट हो, तर मानव बसोबास र उपभोगले पनि बासस्थानहरू नष्ट गर्दै छ। इजिप्ट कोप २७ मा जस्तै मोन्ट्रियलमा संयुक्त राष्ट्र संघीय जैविक विविधता सम्मेलन (कोप १५) ले पनि विश्वव्यापी जैविक विविधता ढाँचाका लागि लक्ष्यहरू निर्धारण गर्नेछ।
कञ्चनजङ्घा क्षेत्रको पारिस्थितिकी तन्त्रमा जलवायु परिवर्तनको प्रभावको अध्ययन गरिरहेका भूगोलविद् अल्टोन सी. बायर्स भन्छन् : “मानिसहरूले हिमाललाई अभेद्य, अजेय ठान्छन्। हिमाल अजेय,अभेद्य हुँदैनन्, ती संसारको सबैभन्दा कमजोर पारिस्थितिकी तन्त्रहरू हुन् जसका कारण हामीले हिमाललाई विशेष महत्व दिन र सुरक्षा दिन आवश्यक छ।”