- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

नेपालको लोपोन्मुख कुसुण्डा भाषा पुनर्जीवित गर्ने प्रयासमा प्रेरणादायी भूमिका निर्वाह गर्ने ज्ञानी मैया सेनको वृत्तचित्र

श्रेणी : दक्षिण एशिया, नेपाल, कला र संस्कृति, जातीयता र वंश, नागरिक मिडिया, फिल्म, द ब्रीज, Rising Voices, A clash of narratives: National identity and violent conflict in Ethiopia
[1]

ज्ञानी मैया सेन कुसुण्डा भाषाको अवस्थाको बारेमा कुरा गर्दै। वृत्तचित्र ‘ज्ञानी मैया [1]‘ को स्क्रीनसट (CC BY-SA 4.0 [2])

यो सबै एउटै ट्वीटबाट सुरु भयो। नेपाली भाषाका शिक्षक तथा अनुसन्धानकर्ता उदयराज आले [3]को कुसुण्डा भाषाको नयाँ शब्दकोष [4] प्रकाशित भएको ट्वीट देखेपछि मैले तुरुन्तै उक्त  भाषा [5]को जानकारीका लागि गुगल सर्च गर्न थालेँ । नतिजाहरू थिए: कुनै पनि भाषसँग सम्बन्ध नरहेको कुसुण्डा भाषाको एकमात्र सहज वक्ता – ज्ञानी मैया सेन कुसुण्डा [6]। यसले मलाई शब्दकोषको एक प्रति लिन प्रेरित गर्‍यो।

जब मैले शब्दकोष भेट्टाए, पश्चिम नेपालमा बसोबास गर्ने एक समयको फिरन्ते शिकारी जाति कुसुण्डाहरूको परिचय खण्ड पढ्न मलाई समय लागेन। २०११  को जनगणनाअनुसार कुसुण्डाको जनसंख्या २७३ [7] रहेको छ तर स्थलगत अध्ययनले वास्तविक संख्या १५० रहेको जनाएको छ। हाल कुसुण्डाहरू नेपालको कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ र सुर्खेत जिल्लामा बसोबास गर्छन्।

जब मैले शब्दकोषका लेखक उदयसँग कुरा गरेँ, उनले ज्ञानी मैयाकी बहिनी कमला सेन खत्री पनि कुसुण्डा भाषा सहज रूपमा बोल्न सक्ने बताए (कुसुण्डाहरू आफूलाई “गेम्येहाक” वा “म्येहाक” भन्ने गर्दछन्)। यो जानकारी पाएपछि म ढुक्क भएँ, किनकि बीबीसीको एक लेखमा कुसुण्डा भाषाको सहज वक्ता केवल एक जना मात्र रहेको [8]जनाइएको थियो।

मैले ग्लोबल भ्वाइसेजमा उक्त शब्दकोषको बारेमा लेख [4] प्रकाशित गर्ने बित्तिकै अनुवादकहरू अनुवाद गर्न कस्सिए। उनीहरूको मद्दतले हामीले अन्य भाषाहरूमा पनि यो कथा सेयर गर्न सक्यौं। यो कथा व्यापक रूपमा पढियो र जब मैले २०१७ को जीभी सम्मेलनमा [9] तत्कालीन ग्लोबल भ्वाइसेज उडियाका सम्पादक सुभाषिश पाणिग्रही [10]सँग भेट गरें, उनले ज्ञानी मैयाको बारेमा वृत्तचित्र निर्माण गर्न रुचि देखाए। कैयौँ पटकको छलफल र योजनापश्चात् अन्ततः २०१८ मा यो सपना साकार भयो जब उनलाई यस परियोजनाको निमित्त नेशनल ज्योग्राफिक सोसाइटी [11]बाट सानो अनुदान प्राप्त भयो।

शुभाशिष, ग्लोबल भ्वाइसेजका योगदानकर्ता आनन्द के.सी. र मैले काठमाडौंबाट यात्रा गर्यौ र कुलमोर नजिकै अनुसन्धानकर्ता उदयराज आलेसँग भेट्यौं। उनले आगामी दुई दिनसम्म हामीलाई अतिथिसरह घुमाए। पश्चिम नेपालको दाङ जिल्लाको कुलमोर गाउँमा रहेको ज्ञानी मैयाको घरमा उनीसँगको भेट हाम्रो लागि एउटा सपना साकार हुनु जस्तै थियो । हामीले ज्ञानी मैयासँग उदयको अन्तर्वार्ताको छायाङ्कन गर्नमा दुई दिन बितायौं। हामी क्यामेरा र रेकर्डर पछाडि बस्दथ्यौं, उदय ज्ञानी मैयासँग कुरा गर्थे र नेपाली भाषामा प्रश्न सोध्ने गर्थे। ज्ञानी मैया कुसुण्डा भाषाको सहज वक्ता हुनाले प्रायः कुसुण्डा भाषामा जवाफ दिने गर्थिन्।

ज्ञानी मैयाले कुसुण्डा संस्कृति र परम्पराका बारेमा धेरै रहस्य बताइन् । कुसुण्डाको खानेकुराको बारेमा कुरा गर्दै उनले भनिन् कुसुण्डाहरू खुर भएका जनावरलाई छुने र मार्ने गर्दैनन् तर पञ्जा भएका प्राणी खान मन पराउँछन् । यसको मतलब उनीहरूले हरिणजस्ता जङ्गली जनावरहरू कहिल्यै मार्दैनन् तर कुसुण्डाहरू मगर र थारू समुदायका अन्य जातिहरूसँग गाँउमा बस्ने भएकाले अहिले उनीहरूले बाख्रा र गाई पनि पाल्छन्।

कुसुण्डाहरू आफ्नो मनपर्ने शिकारको रूपमा गोहोरो र कालिजको शिकार गर्छन्। कुसुण्डा संस्कृतिमा गोहोरोको विशेष महत्व छ जुन वैवाहिक समारोह हुनु अघिको एक हिस्सा बनेको छ। दुलहाको परिवारले लुगा र पैसासहित गोहोरोको अण्डा र मासु हुनेवाला बेहुलीको परिवारलाई दिन सक्नुपर्छ। यदि उनीहरूले गोहोरोको अण्डा फेला पार्न सकेनन् भने विवाह गर्ने पक्षहरूबीच कुराकानी हुन सक्दैन। गोहोरोको मासु नहुनुको अर्थ “विवाह नहुनु” हो भन्ने जानकारी ज्ञानी मैयाले हामीलाई दिइन्।

ज्ञानी मैयालाई क्यामेराको अगाडि कुसुण्डा भाषा [5]मा बोल्न लगाउनु र फिल्ममा उनको दैनिकी अतिरिक्त दृश्यको रूपमा खिँच्नु सजिलो कार्य थिएन। उनको फिल्म खिँच्न हामीलाई दिनभर लाग्यो। युवाहरूलाई भाषा सिक्न पटक्कै रुचि नभएको तर आफ्नो मातृभाषा बोल्ने कुसुण्डाहरूको पिँढी निर्माण गर्न आफू तयार रहेको कुरा उनले पटक पटक दोहोर्‍याइरहिन्।

यो एक चुनौतीपूर्ण कार्य हो। कुसुण्डाको सांस्कृतिक पहिचान कसरी समाजमा समाहित भयो भन्ने कुरा हामीले ज्ञानी मैयाबाट थाहा पायौं। कुसुण्डाहरूले आफ्नो फिरन्ते जीवन छोडेर गाउँमा बसोबास गरे र युवाहरूले आफ्नो समुदाय बाहिर विवाह गर्न थाले। अल्पसंख्यक जातिको रूपमा छरिएर बसेका कुसुण्डाहरूले नेपाली र अन्य भाषाहरू बोल्न थाले र अन्ततः वयस्कहरूले पनि कुसुण्डा बोल्न छोडे। समय बित्दै जाँदा अधिकांश वयस्कहरूले कुसुण्डा भाषा बोल्न नसक्ने भए त्यसैले उनीहरूका छोराछोरीले पनि सिक्न सकेनन् ।

‘ग्यानी मैया’ को सीडी कभर’

३५ मिनेट लामो वृत्तचित्र “ज्ञानी मैया [1]” अन्ततः २०२१ मा क्रिएटिभ कमन्स एट्रिब्युशन-शेयरअलाइक ४.0 इन्टरनेशनल [2] लाइसेन्स अन्तर्गत सार्वजनिक रूपमा प्रयोग र डेरिभेटिभहरू र पुनर्वितरणलाई अनुमति दिने गरी रिलिज भयो। यस वृत्तचित्रको २१ मिनेट लामो डिभिडि संस्करण [13] यूएस लाइब्रेरी अफ कांग्रेस [14]मा संग्रहित छ। अन्ततः व्यक्तिगत अन्तर्वार्ताहरू कुसुण्डा भाषासम्बन्धी थप अनुसन्धानको लागि अनलाइन उपलब्ध हुनेछन्।

वृत्तचित्र छायांकन भएको डेढ वर्षपछि ८५ वर्षको उमेरमा २०२० जनवरी २५ मा ज्ञानी मैयाको आफ्नै घरमा निधन भएको [15] थाहा पाउँदा दुःख लाग्यो। ज्ञानी मैया जीवितै हुँदा नेपाल भाषा आयोगको सहयोगमा उदयले पाठ्यक्रम सहित व्यावहारिक कुसुण्डा भाषा शिक्षण आरम्भ गरे । कुसुण्डा भाषाको अर्की सहज वक्ता भारतमा बसोबास गर्ने ज्ञानी मैयाकी बहिनी कमला नेपाल फर्किइन् र व्यावहारिक परियोजनामा मद्दत गरिन्। उदय आलेसहित केही गैर- कुसुण्डाहरूले कुसुण्डाहरूलाई लामो समयदेखि बिर्सिएको आफ्नो मातृभाषा बोल्न सिकाउन जारी राखेका छन्। कुसुण्डा युवाहरू अहिले गर्वका साथ आफ्नो मातृभाषा बोल्छन्।

ज्ञानी मैया अब हामी माझ नभएपनि युवा कुसुण्डाहरूलाई आफ्नो भाषा बोल्न सिकाउने उनको सपना जीवितै छ । अहिले आएर कुसुण्डा भाषाको पुनरुत्थान सुरु भएको छ।