- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

मध्य अमेरिका र पेरुमा प्रकृतिको सौन्दर्यमा आनन्द लिन ८ फोटोहरू

श्रेणी : ल्याटिन अमेरीका, ग्वाटेमाला, पेरु, नागरिक मिडिया, फोटोग्राफी, वातावरण, द ब्रीज, Green Voices

फोटो सौजन्य: डेनियल नुनेज।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस [1] मनाउन म तपाईँहरूसँग ग्वाटेमाला र पेरुका मेरा मनपर्ने वन्यजन्तुका तस्वीरहरू सेयर गर्दैछु। एक जीवशास्त्रीको रूपमा वन्यजन्तु फोटोग्राफी मेरो अभिरुचिको विषय बनेको छ, किनकि फोटोहरू विज्ञान र संरक्षणको पूरक हुन सक्दछन्। उदाहरणको लागि एउटा तस्वीरले अनुसन्धानमा के भइरहेको छ भनी पूर्वानुमान गर्न मद्दत गर्न सक्छ, उच्च महत्व नभएका प्रजातिहरूको पहिचान गर्न सक्छ, र नयाँ प्रजातिहरू र स्वभाव रेकर्ड गर्न सक्छ।

पाँच वर्षअघि मैले क्यामेरा समाएँ र समयको क्रमसँगै मैले देखेको जैविक विविधताको फोटो खिच्न थालें। फोटोग्राफीको लागि मेरो वास्तविक लगाव तब सुरु भयो जब म युनिभर्सिडेड डेल भाले डे ग्वाटेमालामा जीवविज्ञान पढ्दै थिएँ। मैले देखेका सबै जनावरहरूको कारण फोटोग्राफीमा आफूलाई समर्पित गर्ने निर्णय गर्दा म निरन्तर स्थलगत भ्रमणमा जान्थें।

मेरो मुख्य रुचि सदैव सरीसृप र उभयचरहरूमा थियो, सम्भवत: धेरैले उपेक्षा गर्ने जनावरहरू, तर क्रमिक रूपले मैले अन्य वन्यजन्तुहरू जस्तै चरा र स्तनपायीहरूको फोटो खिच्न थालें। संक्षिप्त विवरण सहित मेरा केही मनपर्ने फोटोहरू यहाँ राखिएका छन्।

मुख्यतया मेक्सिको, ग्वाटेमाला, होन्डुरस र कोस्टारिकामा पाइने एक पक्षी रेस्प्लेन्डेन्ट क्वेट्जल (फारोमाक्रस मोसिनो [2]), मेरो विचारमा संसारको सबैभन्दा सुन्दर पक्षी हो। यो तस्वीर लिनको निम्ति क्वेट्जलले आफ्नो गुँडमा देखाउने स्वभाव अवलोकन गर्दै मैले धेरै दिनहरू बिताएँ। ग्वाटेमालाको एटिट्लान ज्वालामुखी, सोलोलाको जङ्गलमा छ घण्टाभन्दा अधिक समयको प्रतीक्षा पश्चात, मैले भाले क्वेट्जलले आफ्ना बचेराहरूका लागि आहारा बोकेको देखेँ र त्यस क्षणलाई क्यामेरामा कैद गरें।

पेरुको ताम्बोपाता राष्ट्रिय आरक्षमा वर्षा भइरहेको मध्याह्नको समय। हामी नदीमा बिरालो प्रजातिका जनावर खोज्दै थियौं, मुख्यतया ज्यागुआर र पुमा। दुर्भाग्यवश, हामीले ती जनावरहरूलाई देखेनौं, तर हामीले ज्यागुआरले खाएको प्रजातिहरूमध्ये एक… क्यापिबारा (हाइड्रोकोरस हाइड्रोकेरिस [3]) देख्न पायौं। नदीमा क्यापिबाराको परिवार; बर्सादको पानीका थोपाहरू बीच, हामीले आमा र बच्चालाई देख्यौं।

यस तस्वीरले ग्वाटेमालामा पाइने कालो आँखा भएको भ्यागुता (अगालिचनिस मोरेलेटी [4]) समागम गरिरहेको देखाउँछ। रातको समयमा हामीले पानीको पोखरी नजिक धेरै भाले र पोथीका स्वभाव अवलोकन गर्न सफल भयौं। यो पोखरी मानिसले बनाएको एउटा सानो जलाशय थियो, जसमा यस प्रकारका प्रजातिहरूले पानीको स्रोतको फाइदा उठाउँछन् र अण्डा पार्ने गर्छन्। यो प्रजाति बेलीज, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस र मेक्सिकोमा पाइन्छ।

यो जताततै भेटिने एक प्रजाति हुन सक्छ, तर जब मैले यसलाई पहिलो पटक देखेँ, यो धेरै राम्रो अनुभूति थियो। सेन्ट्रोलेनिडे परिवारमा पेटको छाला पारदर्शी हुने भ्यागुताका धेरै प्रजातिहरू छन्, तर ह्यालिनोबेट्रेचियम विरिडिसिमम [5] ग्वाटेमालाको एक मात्र प्रजाति हो। यसका अंगहरूलाई यसरी विस्तृत रूपमा हेर्न पाउनु रोमाञ्चकारी अनुभव हो।

मेरो सबै भन्दा मनपर्ने फोटोहरूमध्ये एक, जहाँ मैले पेरुको ताम्बोपाता आरक्षको कोल्पा डे चुन्कोको माटो खाइरहेका तीन प्रजातिका बहुरङ्गी सुगा खिच्न सफल भएँ। वर्षाको कारण पहिलो दिन भिरालो सतहमा एउटा पनि चरा देख्न पाइएन तर भोलिपल्ट रुखमा ३०-४० वटाभन्दा धेरै यताउता उडिरहेका थिए, रुखमा बसेर आहारा खाइरहेका थिए। फोटोमा आरा मेकाओ [6] (गाढा रातो सुगा), आरा अराराउना [7] (नीलो-र-पहेंलो सुगा), र आरा क्लोरोप्टेरस [8] (रातो-र-हरियो सुगा) प्रजातिहरू देख्न सक्नुहुन्छ। 

ग्वाटेमालाको सबैभन्दा सुन्दर सर्पहरूमध्ये एक आकर्षक ग्वाटेमाला पाम भाइपर (बोथ्रीचिस बाइकलर [9]) हो। यस कारणले यो मैले खिचेको सर्पको फोटोहरूमध्ये पहिलो हो र यो मेरो मनपर्ने फोटोहरूमध्ये एक भएको छ।

मेरो अहिलेसम्मको सबैभन्दा अप्रत्याशित र कठिन क्षणमध्ये एक। यो अन्य प्रजातिहरू अवलोकन गर्न बिहान १० बजे पहाड चढे सँगै सुरु भयो। उपकरण बोकेर दिनभर हिँड्दा समेत लगभग केही फेला पार्न नसकिरहेको बेलामा रातको १० बजे अकस्मात् केही भेटिदा प्रसन्न भयौं। आइल्याश भाइपर (बोथ्रीचिस श्लेगेली [10]) सायद कोस्टारिका जस्ता देशहरूमा सजिलै पाउन सकिन्छ, तर ग्वाटेमालामा, यो क्यारिबियन भिरालो सतहको केही ठाउँहरूमा मात्र पाइन्छ।

अन्तमा, भ्यागुता रेनिटोमेया फेन्टास्टिका [11] मैले अवलोकन गर्न सफल भएको सबैभन्दा आकर्षक जनावरहरूमध्ये एक हो। यो भ्यागुता पेरुको सान मार्टिन र लोरेटो क्षेत्रको रैथाने प्रजाति हो, जसको मतलब यो त्यस क्षेत्रमा मात्र पाइन्छ। विशेष वासस्थानमा रहने प्रजाति भएकोले, वासस्थान क्षति र मानव गतिविधिले यस प्रजातिलाई खतरामा पारेको छ। यहाँ हामी भालेले आफ्नो पिठिउँमा चेपागाँडाहरू बोकिरहेको देख्न सक्छौं, जुन यी प्रजातिहरूको स्वभाव हो।

थप फोटोहरू हेर्नको लागि मेरो इन्स्टाग्राम [12]ट्विटर [13]मा जानुहोस्।