- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

कोलम्बियामा बीज विनिमयले परम्परागत ज्ञान एवं खाद्य सम्प्रभुतालाई बढावा दिँदै

श्रेणी : ल्याटिन अमेरीका, कोलम्बिया, अर्थशास्त्र र व्यापार, आदिवासी, कला र संस्कृति, खाना, नागरिक मिडिया, वातावरण

महिला र पुरुषहरू सिल्भिया (काउका) मा बीज विनिमय गर्दै। फोटो जियोभाना ल्यान्डजाबल, अनुमति लिएर प्रयोग गरिएको।

मोनिका सोलर्ट पोलिन्डारा आदिवासी समुदायका कृषिविद् हुन्, जो दक्षिणी कोलम्बियाको काउका स्थित पोपायनबाट ३० किलोमिटर टाढा टोटोरो नगरपालिकामा बस्दछिन्। पोलिन्डारा समुदायले सन् २०१४ मा आदिवासी समुदायको मान्यता पाएको थियो।

सोलर्ट माध्यमिक विद्यालयका शिक्षिका हुन् र पोलिन्डाराको “फ्लेभर्स एण्ड नलेज” नामक परियोजनाको अंग हुन्, जसले स्थानीय खानाहरू जस्तै अर्राकाचा कन्द, सखरखण्ड र कोलम्बियाली काचा सिमीको उपभोगलाई प्रोत्साहन दिन्छ।

पोलिन्डारामा कृषि विज्ञानले उपभोगको लागि स्वस्थ खानाको उपलब्धता सुनिश्चित गर्दछ, आफ्नो परम्परागत उत्पादन प्रणालीको संरक्षण गर्दछ र आफ्नो बगैँचा मार्फत जैविक विविधताको संरक्षण सुनिश्चित गर्दछ।

कोलम्बिया, एउटा यस्तो देश जो आयात [1]को कारणले आफ्नो खाद्य सम्प्रभुता तीव्र गतिमा गुमाइरहेको छ-स्थानीय बीजको विनिमयले परम्परागत ज्ञान पुनः ग्रहण गर्न र संरक्षण गर्न मद्दत गर्दछ। यो किसान र आदिवासी प्रतिरोध [2]को एउटा रूप पनि हो जसले किसानहरूद्वारा स्थानीय रूपमा उत्पादित खाद्यान्न उपभोगको महत्त्वको बारेमा जागरूकता ल्याउँदछ।

सोलर्टको समुदायमा, मानिसहरू थोरै मात्रामा बीज छर्ने गर्दछन् जुन उनीहरूले बिक्री गर्नको लागि नभई वस्तु विनिमय गर्न पनि प्रयोग गर्दछन्। सामुदायिक निर्वाहमा योगदान गर्नुको अतिरिक्त “हामीले सङ्कलन गर्ने बीजको ज्ञान पाकशास्त्र, लोक वानस्पतिकी विधा र परम्परागत पशु चिकित्सा पद्धति, हाम्रो आफ्नै प्रविधि र कृषिसँग सम्बन्धित छ,” सोलर्ट भन्छिन्।

उनको समुदायमा दुई प्रकारका बगैँचाहरू छन्: घर सँगै रहेको बगैँचा-जहाँ मानिसहरू औषधिजन्य बोटबिरुवा र फलफूलका रूखहरू (जस्तै अर्राकाचा, सखरखण्ड र धनियाँ) रोप्छन्, वर्षभरि दैनिक उपभोगको लागि थोरै मात्रामा उब्जाउछन्; र सिमेन्टेरा -वर्षमा एक पटक खेती गरिने बगैँचा, जहाँ मकै, सिमी, मटर, आलु र “उलुको [3]” को मिश्रित बालीहरू हुन्छन्।

सेप्टेम्बर २०२१ मा, सोलर्टले सिल्भिया (काउका) मा आदिवासी  मिसाक [4] समुदायको नेतृत्वमा लास डेलिसियास बोटानिकल गार्डेन [5]  [4]एसोसिएसनले आयोजना गरेको बीज विनिमय कार्यक्रममा भाग लिइन्। ” “यदि किसानले बीज उपभोग गर्न वा बेच्न सक्दैन भने, रोपण गरिदैन र बीजसँग सम्बन्धित ज्ञान सँगै हराएर जान्छ” भन्दै बीज संरक्षण गर्नु पर्ने आवश्यकता रहेको ग्लोबल भ्वाइसेजलाई बताइन्।

यो बैठक लास डेलिसियास बोटानिकल गार्डेनको नेतृत्वमा दुईवटा परियोजनाहरूको एक हिस्सा थियो: “गार्डियन्स अफ द अर्थ” परियोजना, सांस्कृतिक अस्तित्वको आर्थिक सहयोग; र “अ साइन्सिया सिएर्टा” (“ट्रु नलेज”), लास डेलिसियास बोटानिकल गार्डेन विजयी बनेको प्रतियोगिता।

विनिमयको क्रममा उपभोगको परम्परागत विधिहरू पुनः ग्रहण गर्ने चाहना राखेर आलु र मकैका विभिन्न प्रजातिहरू, अन्य खाद्य पदार्थहरू आदानप्रदान गरिन्छ। फोटो जियोभाना ल्यान्डजाबल, अनुमति लिएर प्रयोग गरिएको।

बीज संरक्षण गर्दै

सोलर्टले नेशनल युनिभर्सिटीका जीवशास्त्री तथा कार्यक्रमका सहयोगी र आयोजकहरूमध्ये एक, जियोभाना ल्यान्डजाबलको निमन्त्रणा स्वीकार गरिन् जसले यस बैठकको उद्देश्यमध्ये एक संगठन, संरक्षक र बीजको संरक्षकहरूलाई सुरक्षा र संरक्षणसँग सम्बन्धित अनुभवहरू साट्नको लागि एकसाथ ल्याउनु रहेको औंल्याए।

अर्को उद्देश्य लास डेलिसियास बोटानिकल गार्डेन र यसको आफ्नै अर्थतन्त्र र शासन परियोजना, परम्परागत अभ्यासहरूको पुनः ग्रहण र क्षेत्रको सुरक्षा बारेमा जागरूकता ल्याउनु थियो। यस कारण विभिन्न गतिविधिहरूमध्ये एक पारिवारिक बगैँचा र “बीज घर” (कासा डे लास सेमियास), भ्रमण गर्नु थियो, जहाँ विभिन्न बीजहरू संरक्षित छन्।

बीज विनिमयको लागि भेला भएका मिसाक समुदाय, जसमा पुस्तैनी हस्तान्तरण हुने परम्परागत ज्ञान समावेश हुन्छ। फोटो जियोभाना ल्यान्डजाबल, अनुमति लिएर प्रयोग गरिएको।

“यो बैठकमा भाग लिन पुरस सिड हाउस (काउका) का बीज संरक्षक जुलियो गुआनाको लागि महत्त्वपूर्ण थियो। उनी एक संरक्षक हुन् जसले स्थानीय बीजको संरक्षण र पुनः ग्रहण गर्ने प्रयास गर्दछन् जसले लगभग बाह्र प्रकारका आलु ल्याए। जसमध्ये केही बीज संरक्षक र मामा मिसाक काएताना अलमेन्द्रा (…) द्वारा पनि संरक्षित गरिएको छ, ” ल्यान्डजाबल थप्छन्।

आफ्नो बीज भण्डार सँगै बोटानिकल गार्डेनले आलुको विविधता संरक्षण गर्ने, विगतमा उपभोग गरिएका र इलाकामा महत्त्वपूर्ण भएका उलुकोस, कन्दमूल र अन्य प्रजातिहरूलाई पुन: प्राप्त गर्ने लक्ष्य राखेको छ।

विज्ञान, प्रविधि तथा आविष्कार मन्त्रालयले “स्थानीय विकासका लागि वास्तविक विज्ञान,” [6] कार्यक्रम विकास गर्ने जसले देशका सामुदायिक संस्थाहरूको परियोजनाहरूलाई मान्यता दिन्छ र सहयोग गर्दछ, मन्त्रालयका क्लारा सिएरा बताउँछिन्।

“कार्यक्रमले विज्ञान, प्रविधि तथा आविष्कार मार्फत आफ्नो मूल रणनीतिको रूपमाज्ञानको सामाजिक उपयोगको प्रक्रियालाई जोड दिन्छ। यस रणनीतिले विशिष्ट सन्दर्भहरूमा नयाँ ज्ञान सिर्जना गर्न शैक्षिक ज्ञानको साथ स्थानीय एवं परम्परागत ज्ञानलाई जोड्ने संकेत गर्दछ, यसरी स्थानीय परिवर्तन हासिल गर्न सामुदायिक व्यवस्थापन र विकासलाई सुदृढ गर्ने आफ्नो उद्देश्य पूरा गर्दछ, “सिएरा थप्छिन्।

बीज  कृषि-पारिस्थितिकी र संरक्षणले समुदायको खाद्य सम्प्रभुतामा योगदान पुर्‍याउँछ र परम्परागत ज्ञानलाई पुनः ग्रहण गर्दछ जसले समुदायको भलाइको प्रत्याभूत गर्ने सिएरा प्रकाश पार्छिन्।

“हरेक पटक भलाइ हुने स्थानीय बीजको प्रयोगलाई समुदायले प्राथमिकता दिनेछन्। समुदाय र अनुकूलित लाभहरू बीचको विनिमयले प्रत्येक क्षेत्रमा बीजको प्रयोगको सुरक्षाको लागि समुदायको प्रयासलाई प्रकाश पार्नेछ,” सिएराले जोड दिँदै भनिन्।