
दक्षिण-मध्य नेपालको चितवन राष्ट्रिय निकुञ्जमा ठूलो एकसिङ्गे गैंडा। तस्वीर: लेखक।
६ वर्षपछि भएको राष्ट्रिय गैंडा गणना २०२१ मा गैंडाको कुल संख्या ७५२ पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा रहेका छन्।
केही दशकअघि मात्रै चोरीशिकार तथा बासस्थान ह्रासको परिणामस्वरूप देशमा गैंडाको संख्या अत्यन्तै न्यून हुन पुगेको थियो । यद्यपि नेपाल सरकारको चोरीशिकार विरुद्ध पहल तथा संरक्षण पहलले विगत ६ वर्षमा संख्या बढाउन सहयोग पुर्याएको छ।
नेपालका संरक्षण जीवशास्त्री बाबुराम लामिछानेले ट्वीटरमा २०२१ को राष्ट्रिय गणनाबारे शुभ समाचारको घोषणा गरे:
Rhino population in Nepal up by 107, national population is now 752. Major increase in Chitwan (89). Chitwan population is now 694. pic.twitter.com/mn4jnfzOHa
— Babu Ram Lamichhane (@1baburam) April 10, 2021
नेपालमा गैंडाको संख्या १०७ ले बढ्यो, देशभर अहिले ७५२ पुगेको छ। चितवनमा ठूलो वृद्धि। अहिले चितवनमा गैंडाको संख्या ६९४ रहेको छ।
पछिल्लो राष्ट्रिय गैंडा गणना सन् २०१५ मा नेपालमा ६४५ गैंडा पाइएका थिए। तीमध्ये चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ वटा गैंडा रहेका थिए। विगत ६ वर्षको अवधिमा करिब १६१ गैंडा मरेका थिए। तीमध्ये ६ वटा चोरीशिकारीका कारण मारिएका थिए।
जथाभाबी चोरीशिकार तथा बासस्थान ह्रासको कारण ठूलो एक सिङ्गे गैंडाको संख्यामा गिरावट आएर ६० को दशकमा नेपालमा कुल संख्या १०० वटा हुन पुगेको थियो। तर सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि र कडा कानुन कार्यान्वयनको प्रयासले सन् २००० मा गैंडाको कुल संख्या ६१२ हुन गई पहिलेको अवस्थामा पुगेको थियो।
मार्च २२, २०२१ मा सुरु भएको देशव्यापी गणनामा करिब ३०० जनशक्ति र ६० हात्तीहरू परिचालन भएका थिए। गैंडा गणना तालिम प्राप्त गणकहरूद्वारा गरिएको थियो जसले गैंडाको लिङ्ग, अनुमानित उमेर, सीँगको आकार-प्रकार, गर्दन र पछाडिको भागमा रहेको घेरा जस्ता अलग अलग विशेषताहरू सहित काटेको घाउ, दाग र छाला जस्ता शरीरका चिह्नहरूको आधारमा प्रत्येक गैंडाको विवरण राखेका छन्। चितवनमा जंगली हात्तीले टोलीलाई आक्रमण गरेपछि र बर्दियामा एउटा बाघले माहुतेलाई मारेपछि यो गणना दुई पटक रोक्नुपरेको थियो।

राष्ट्रिय गैंडा गणना २०२१ मा करिब ६० हात्ती र ३०० जनशक्ति परिचालन गरिएको थियो। तस्वीर: लेखक।
२-२.५ मेट्रिक टन तौल हुने हात्तीपछिको दोस्रो विशाल जीव गैंडा कुनै बेला नेपाल, बंगलादेश र भुटानको केही भाग सहित सिन्धु, गंगा र ब्रह्मपुत्र नदी प्रणाली, पश्चिममा पाकिस्तान, पूर्वमा भारत-बर्मा सीमादेखि सम्पूर्ण उत्तरी भारतीय उपमहाद्वीपमा विचरण गर्दथ्यो। यद्यपि गैंडाको खागको चोरीशिकार तथा बासस्थान ह्रासको कारण ती नेपालको दक्षिणी मैदानहरू र उत्तर-पूर्वी भारतमा सीमित रहे।
फस्टाउँदो कालो बजारीले चोरीशिकार
गैंडाको मूल्यवान् अङ्ग खागको निम्ति परापूर्वकालदेखि आज पर्यन्त यसको चोरीशिकार हुँदै आएको छ। खाग केराटीन नामक एक प्रकारको प्रोटीनबाट बनेका हुन्छन् जुन कपाल, कत्ला, नङ्ग्रा, पञ्जा र खुरहरूमा पाइन्छ र एसियन संस्कृतिमा रोग निको पार्ने गुण रहेको विश्वास गरिन्छ।
खाग एसिया महाद्वीपका मलेसिया, कोरिया, भारत, भियतनाम र चीनमा परम्परागत औषधीहरूमा प्रयोग गरिन्छ। पछिल्ला दुई देश काला बजारीहरूको लागि सबैभन्दा आकर्षक रहेका छन्। खागलाई टुक्रा पारेर वा पिसेर बनाइएको पाउडरबाट ज्वरोदेखि बाथसम्म, टाउको दुखेकोदेखि उच्च रक्तचापसम्म, सर्पदंश, खाद्य विषाक्तता र भूतप्रेतको बिरामी उपचार गर्न प्रयोग गरिन्छ। यसैबीच कुनै बेला विष पत्ता लगाउन सक्षम हुने विश्वास गरिएको कुँदेर बनाइएको गैंडाको सीँगको कप र साना मूर्तिहरू सजावटका लागि खरिद हुन्छन् र गैंडाको सीँगबाट निर्मित गहनाको माग उच्च छ।
पश्चिमी मिडियाले एसियाली संस्कृतिमा यौनवर्द्धक औषधीको रूपमा खागको प्रयोग हुने गरेको प्रचार गरे तापनि साइन्टिफिक अमेरिकन रिपोर्टले यस्तो सम्भावना न्यून रहेको बताउछ र वास्तवमा केका लागि प्रयोग हुन्छ भन्ने कुरा गलत पश्चिमी रिपोर्टले पनि व्यापक रूपमा फैलाएको देखाउँदछ । तथापि, गैंडाको खाग मनोरञ्जनात्मक प्रयोगको लागि झन् झन् लोकप्रिय हुँदै गइरहेको छ – भियतनाममा, यसलाई “पार्टी ड्रग, आरोग्य परिपूरक र नव धनाढ्य सम्भ्रान्तहरूको ह्याङओभर उपचार” को रूपमा सेवन गरिने गार्जियनले लेखेको छ।
तथापि खाग मात्र मूल्यवान् होइन। आफ्नो प्रशंसित पुस्तक द सोल अफ द राइनोमा हेमन्त मिश्र र जिम ओट्टवे जूनियरका अनुसार गैंडाका शरीरका सबै अङ्गहरू खरिद-बिक्री हुन्छन् – जिब्रोको टुप्पोदेखि पुच्छरको फेदसम्म।
…many Indians and Chinese still believe a ten-gram dose of powdered rhino horn mixed with cinnabar is an instant cure for any kind of fever. Dried rhino tongue, powdered and mixed with milk, is believed to cure children with speech difficulties. Rhino meat is supposed to increase virility. Rhino urine is taken as a cure for asthma. Even rhino dung is valued as the best fertilizer for growing hot chillies. A rhino tail placed under the pillow of an [expectant] mother is supposed to ease labour pain. Powdered rhino penis is ingested as a cure for impotence.
गैंडाको खागको दस ग्राम पाउडर सिन्दूरसँग मिसाइएमा कुनै पनि प्रकारको ज्वरोबाट तत्काल आराम मिल्ने धेरै भारतीयहरू र चिनियाँहरू अझै पनि विश्वास गर्दछन्। गैंडाको जिब्रो सुकाएर बनाइएको पाउडर दूधसँग मिसाएर बच्चाहरूलाई खान दिएमा बोलीको समस्या ठीक गर्ने विश्वास गरिन्छ। गैंडाको मासुले पुरुषत्व बढाउँने विश्वास गरिन्छ। गैंडाको मूत्र दमको उपचारमा प्रयोग गरिन्छ। गैंडाको गोबर खोर्सानीका लागि उपयुक्त मलको रूपमा प्रयोग गरिन्छ। गर्भवती महिलाको सिरानी मुनि राखिएको गैंडाको पुच्छरले प्रसव पीडा कम गर्ने विश्वास गरिन्छ। गैंडाको लिंगको पाउडर नपुंसकताको उपचार गर्न प्रयोग गरिन्छ।

माइल अ मिनट पनि भनिने लहरे बनमाराले नेपालका संरक्षित क्षेत्रहरूमा रहेको गैंडाको बासस्थानलाई ढाकेको छ। तस्वीर: लेखक।
उष्णप्रदेशीय वनस्पति माइल अ मिनट वा लहरे बनमाराको तीव्र फैलावट सँगै सेतो बनमारा, पाती झार, बनमारा र जलकुम्भी जस्ता अन्य मिचाहा प्रजातिहरू र सिमसार तथा पानी पोखरी सुक्नु, र एक प्रजातिको वनस्पति अर्कै प्रजातिले क्रमिक प्रतिस्ठापन गर्नु आदि सबैले नेपालमा गैंडाको प्राकृतिक बासस्थानमा गिरावट ल्याउन योगदान पुर्याएका छन्। यसका साथै मध्यवर्ती क्षेत्रहरू र वन करिडोरमा वन जग्गाको अतिक्रमणका साथै वनलाई बसोबास र कृषि क्षेत्रहरूमा रूपान्तरण गर्ने कार्यले प्राकृतिक बासस्थानलाई अझ खण्डित पारेको छ।
वन्यजन्तु अनुसन्धानकर्ता सुजीता ढकाल बासस्थान गिरावटको बारेमा चिन्तित छिन्:
It's a time to rejoice as the number of #rhinos in Nepal has increased to 752 after the census. However, the current habitat degradation bothers me and I wonder if it will be able to hold the healthy viable population in upcoming years. #Conservationhttps://t.co/yf1XxatabU
— Sujita Dhakal (@ForesterSujita) April 11, 2021
राष्ट्रिय गैंडा गणनापछि नेपालमा गैंडाको संख्या बढेर ७५२ पुगेको हुनाले अहिले खुशी हुने समय हो। तथापि, अहिलेको बासस्थान गिरावटले मलाई चिन्तित बनाउँछ र मलाई थाहा छैन यसले आगामी वर्षहरूमा स्वस्थ जीवित संख्यालाई कायम राख्नेछ या छैन।
पहलकदमी
गैंडाको अस्तित्वमा खतरा भए तापनि नेपालमा गैंडाको संख्या बढ्दैछ। सरकारी निकायहरू, समुदायहरू, संरक्षण संस्थाहरू र सुरक्षा निकायहरू गैंडाको संख्या नगण्य १०० वटादेखि पूर्वावस्थामा ल्याउन एकसाथ काम गरिरहेका छन्। समुदायमा आधारित चोरीशिकार विरुद्ध एकाइहरू र सैनिक गस्ती लगायतका पहलहरू, संरक्षित क्षेत्रहरूमा सीसीटीभी क्यामेरा सहित एन्ड्रोइडमा आधारित तात्कालिक स्मार्ट पेट्रोलिंग प्रणाली प्रयोगले यी बाक्लो छाला भएका जीवको संरक्षणमा ठूलो भूमिका खेलेको छ।
यो पनि पढ्नुहोस्: नेपालमा हालै गरिएको गैंडा स्थानान्तरणले संकटमा परेका जनावरहरूको लागि उज्ज्वल भविष्यको संकेत गर्दछ
ठूलो एक सिङ्गे गैंडा नेपालका लागि संरक्षण कार्ययोजना (२०१७-२०२१) ले जलाधार र मध्यवर्ती क्षेत्रहरूमा वन पुनर्स्थापना, घाँसे मैदानको व्यवस्थापन र पानी पोखरी निर्माण तथा सम्भारलाई प्राथमिकतामा राख्यो। साथै नेपालले गैंडालगायत जंगली जनावरहरूको संरक्षण गर्न र वन्यजन्तुको अवैध व्यापारलाई रोक्न भारत र चीनसँग प्रभावकारी सीमापार सहयोग स्थापित गरेको छ।
गैंडाको सुरक्षा प्रदान गर्नमा एक महत्वपूर्ण कारक स्थानीय व्यक्तिहरू पनि जागरूकतासहित आफ्नो भूमिका निभाउदै छन्। संरक्षित क्षेत्रको आसपास बसोबास गर्नेहरूले वन र वन्यजन्तु संरक्षणले वास्तवमा पर्यटकहरूलाई आकर्षित गरेर उनीहरूको आर्थिक सम्भावना सुधार गर्न सक्छ भन्ने महसुस गरेका छन्। मोंगाबेको रिपोर्ट अनुसार ती पर्यटकहरू (र उनीहरूको नगद) लाई स्थानीय क्षेत्र र ठूला होटेलबाहिर राख्ने उद्देश्यका साथ खोलिएका चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरि होमस्टे कार्यक्रमहरूले समुदायलाई आर्थिक लाभ पुर्याएका छन्। यहाँ विशुद्ध अनुभवको खोजीमा रहेका पर्यटकहरू स्थानीय परिवारहरूसँग बस्दछन् ।
द सोल अफ द राइनोमा मिश्रले लेखेझैं: “स्थानीय मानिसहरूले बुझ्दैछन् कि नेपालको राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षले मानव जीवनका लागि अति आवश्यक स्वच्छ हावा बनाई राख्न, नदी उपत्यका र जलाधार सुरक्षित राख्न, र स्वच्छ पानी बचाउन सहयोग पुर्याउँछ।”