- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

पंक्षी मार्ग पहिल्याउँदैः मोटसले प्रविधिको प्रयोग गरी क्यारिबियनमा प्रवासी चरा उड्ने मार्ग पत्ता लगाउँदछ

श्रेणी : क्यारेबियन, जमाइका, नागरिक मिडिया, प्रवास र अध्यागमन, प्रविधि, वातावरण

क्यारिबियन मोटस कोल्याबरेशनका लागि ग्राफिक, सौजन्यः बर्ड्सक्यारिबियन, अनुमतिमा प्रयोग गरिएको। मोटसका रिसिभिङ स्टेशनले राजमार्गमा रहेका स्वचालित टोल बुथजस्तै कार्य गर्दछन्, कुनै पनि चरा सो स्टेशन भएर जाँदा त्यो यात्रा रेकर्ड हुन्छ, स्वचालित टोल बुथले लाइसेन्स प्लेटको रेकर्ड राखेझै। प्रत्येक स्टेशनको रेञ्ज ९ माइल (१५ किलोमिटर) जति हुन्छ। रुडी टर्नस्टोन, तस्वीरः माइकेल कानिजारेस।

क्यारिबियनभरि विभिन्न प्रजातिका सबै खालका चराहरू प्रजननका लागि उत्तरी भेगतिरको लामो उडानका लागि तयार गर्दैछन्। यो उनीहरूको प्रवासको समय हो र वल्र्ड माइग्रेटरी बर्ड डे [1] (विश्व प्रवासी चरा दिवस) मनाएर यसबारे जनचेतना फैलाइँदैछ। यो दिवस सन् १९९३ देखि स्मिथसोनियन माइग्रेटरी बर्ड सेन्टर [2]ले मनाउन शुरु गरेको हो। त्यस बेलादेखि उत्तर अमेरिकीहरूले हरेक मे महिनामा यो दिवस मनाउँदै आएका छन् भने क्यारिबियन, मध्य र दक्षिण अमेरिकामा भने अक्टोबरमा मनाउने गरिन्छ।

संरक्षणकर्मीका दिमागमा घुमिरहने एउटा प्रश्न चाहिँ लगभग २०० प्रजातिक प्रवासी चरामध्ये कुनै विशेष समयमा कुन कुन चरा प्रस्थान गर्छन् भन्ने हो। उनीहरू कतातिर हिडेका हुन् त? उनीहरूको यात्रा सयौं वा हजारौं माइलको होला? उनीहरू आराम गर्न र खानाका लागि कहाँ रोकिन्छन्? अब, पंक्षी प्रवास [3]सम्बन्धी यी प्रश्नहरूका जवाफ केही हदसम्म एउटा नौलो कार्यक्रमले दिन मद्दत गर्नेछ।

जनावरहरूको गतिविधि पत्ता लगाई संरक्षण तथा पर्यावरणीय अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले डिजाइन गरिएको प्रभावशाली सहकार्यात्मक अनुसन्धान सञ्जाल मोटस वाइल्डलाइफ ट्र्याकिङ सिस्टम [4] बर्ड्स क्यानडा [5]ले विकास गरेको हो। ल्याटिनमा गतिविधिलाई मोटस भनिन्छ र यहि शब्द टिपेर यसको नामाकरण गरिएको हो। मोटसले स्वचालित रेडियो टेलिमेट्री [6] प्रयोग गरी न्यानो ट्याग गरिएका तथा मोटस रिसिभरसँग जोडिएका उड्ने जीवहरू जस्तै चरा, चमेरा तथा किराहरूको गतिविधि तथा व्यवहारबारे अध्ययन गर्दछ।

यस प्रणालीअन्तर्गत सयौं रिसिभर स्टेशन तथा मुख्यतया चराहरू समावेश २३६ प्रजातिमा जडिएका हजारौं न्यानो ट्याग रहेका छन्। यस सञ्जालबाट प्राप्त डाटाले चराबारे वैज्ञानिकका बुझाइ विस्तृत गरेको छ। यसले प्रवासी चराका मार्ग तथा उनीहरू रोकिने ठाउँ पत्ता लगाउनका साथै उनीहरूको गतिविधि, उनीहरूले प्रयोग गर्ने वासस्थान तथा प्रजनन र अन्य समयमा गर्ने व्यवहारबारे अध्ययनमा पनि सहयोग पुर्याएको छ। यस नवीन प्रविधि तथा सहकार्य र डाटा साझेदारीको बढ्दो सञ्जालले पंक्षी तथा जीवजन्तु संरक्षणमा ठुलो टेवा पुर्याउनेछ।

हलुंगो न्यानोट्याग फिट गरिएको कर्कल्याण्ड वार्बलर। ०.२ ग्राम वजन भएका यी साना ट्रान्समिटरले हजारौं माइलसम्म साना जीवजन्तुका गतिविधि पत्ता लगाउन अनुसन्धानकर्तालाई सघाउँछ। फोटोः स्कट वाइडेनसल, सौजन्यः बर्ड्सक्यारिबियन, अनुमतिमा प्रयोग गरिएको। 

कक्षाभित्र र बाहिर संरक्षण शिक्षालाई विस्तार गर्नका लागि शैक्षिक सामग्री [7]का रूपमा यो प्रविधि निकै नै उपयोगी रहेको छ। बर्ड्स क्यानडा तथा नर्थइष्ट मोटस कोल्याबरेशन [8]ले पाठ्यक्रम विकास गरेको छ। यसमा अन्तरक्रियात्मक कक्षा गतिविधिहरू समावेश गरिएका छन् जसले मोटस ट्र्याकिङ टुलमार्फत बालबालिकालाई चरा, तिनीहरूका प्रवास र संरक्षणका बारेमा सिकाउन सकिन्छ।

क्यानडा र संयुक्त राज्य अमेरिकामा मोटस स्थापित प्लेटफर्म भए पनि र मध्य तथा दक्षिण अमेरिकामा फैलिरहेको भए पनि क्यारिबियनमा हाल एउटा पनि सक्रिय रिसिभर छैन। जति धेरै मोटस स्टेशन राखिनेछन् त्यति धेरै ट्याग गरिएका चराका गतिविधिबारे जानकारी पाइनेछ। साथै, यस क्षेत्रमा बसोबास गर्ने वा यहाँ प्रवासमा आउने कैयौं लोपोन्मुख तथा संकटासन्न प्रजातिहरू ट्याग गरिएका छैनन्।

क्षेत्रीय गैरसरकारी संस्था बर्ड्सक्यारिबियन [9]ले एउटा महत्त्वपूर्ण भौगोलिक आवश्यकतालाई पूरा गर्ने जमर्को गरेको छ। मोटस सञ्जाललाई क्षेत्रीयस्तरमा विस्तार गर्न यस संस्थाले क्यारिबियन मोटस कोल्याबरेशन (सिएमसि) को नेतृत्व गर्दैछ। यसका योजनाअन्तर्गत यस क्षेत्रका द्वीपहरूका रणनीतिक स्थानहरूमा रिसिभर स्टेशन जडान गर्ने र मर्मतसम्भार गर्ने, प्राथमिकतामा परेका चरा प्रजातिमा न्यानोट्याग लगाउने, र विशेष किसिमले रूपान्तरित क्यारिबियन शैक्षिक पाठ्यक्रम लागु गर्ने कार्य रहेका छन्।

एकान्तमा रहेको क्यारिबियनलाई विश्वकै जैविक विविधताको “हटस्पट” [10] मानिन्छ र यहाँ ७०० प्रजातिका चरा बसोबास गर्छन्। यीमध्ये आधाजति यस क्षेत्रमा बसोबास गर्ने रहेका छन् भने १७१ क्यारिबियनका रैथाने प्रजाति हुन्। अन्य आधा प्रवासी चरा हुन् जसले आफ्ना समय अमेरिकाको समशीतोष्ण तथा उष्ण बासस्थानमा बिताउछन् र बाटामा पर्ने [11] कैयौं देशमा देखिन्छन्।

यस मोटस रिसिभर स्टेशन नक्शामा पहेंला थोप्लाहरू सक्रिय सटेशन हुन् भने सेतो बक्साले एकान्त क्यारिबियनका मापदण्ड रेखांकन गरेको छ। कैयन् द्वीपहरूमा जडान गरिएका केही मोटस स्टेशनहरू आँधीबेहरी र समुद्री आँधीले गर्दा भत्किएका र बिग्रिएका छन् र मर्मतको पर्खाइमा छन्। तस्वीर सौजन्यः बर्ड्सक्यारिबियन, अनुमतिमा प्रयोग गरिएको। 

केही प्रवासी चराहरूका लागि क्यारिबियन जाडो छल्ने सबभन्दा उपयुक्त गन्तव्य हो — उनीहरू शरदको पूर्वाद्धमा आउँछन् र बसन्त ऋतुसम्म बस्छन्। अन्य चाहिँ झन दक्षिणमा रहेका आफ्ना प्रजनन तथा जाडो बिताउने स्थान पुग्नु अघि यहाँका एक वा धेरै द्वीपहरूलाई आराम गर्न र पुनर्ताजगीका लागि प्रयोग गर्छन्। उनीहरू बसे पनि वा त्यहाँबाट अन्य लागे पनि यहाँका मानिस उनीहरूलाई मन पराउँछन्। उनीहरूका आगमन र प्रस्थानले ऋतुहरूको समय अवगत गराउँछ र यस क्षेत्रका लोककथा [12]देखि संगीत [13]लगायतका क्षेत्रीय सांस्कृतिक अभिव्यक्तिका लागि प्रेरणाका स्रोत हुन्।

यद्यपि, चराका संख्यामा गिरावट आउँदैछः आइयुसिएन [14]का अनुसार ५९ क्यारिबियन प्रजाति लोप हुने जोखिममा छन्, ३० संकटासन्न, २४ लोपोन्मुख र पाँच अति लोपोन्मुख रहेका छन्। हालै गरिएको एक अध्ययनका अनुसार सन् १९७० पश्चात् उत्तर अमेरिकाका ३० प्रतिशत चरा हराइसकेका छन् र धेरै क्यारिबियन प्रजाति सङ्कटग्रस्त छन्।

क्यारिबियन चराहरूले भोग्दै आएका समस्यामध्ये बासस्थान विनाश [15] तथा खण्डिकरण, प्रदूषण तथा मिचाहा प्रजाति रहेका छन्। साथै, यस क्षेत्रमा जलवायु सङ्कट [16] मानिसमात्रका लागि नभई वन्यजन्तुका लागि पनि स्थायी जोखिमका रूपमा रहिआएको छ। यस क्षेत्रले बढ्दो तीव्र समुद्री आँधी [17], लामो समयसम्म रहने खडेरी तथा सामुद्रिक वातावरणमा एक्कासी हुने परिवर्तन [18] भोग्दै आएका छन् [19]

हालका दशकमा क्यारिबियन चराहरूको अध्ययनले राम्रै प्रगति गरे पनि धेरै प्रजातिबारे आधारभूत ज्ञानको कमी रहेको छ। मोटस सहकार्यबाट प्राप्त ज्ञानले चराहरूलाई उनीहरूको पूर्ण जीवनचक्रमा तथा संख्यामा भइरहेको कमीलाई उल्ट्याउँदै संरक्षण गर्न महत्त्वपूर्ण हुनेछ।

क्यारिबियन प्राकृतिक स्रोत व्यवस्थापक तथा वातावरण संरक्षणमा काम गर्ने संस्थाहरूले मोटस सञ्जालबाट प्राप्त जानकारी रैथाने तथा प्रवासी चरा विचरण गर्ने यस क्षेत्रका मुख्य स्थानहरू पत्ता लगाउन प्रयोग गर्नेछन्। ती स्थान पत्ता लगाइसकेपछि क्यारिबियन सञ्जाल र अन्यत्रकाले ती ठाउँहरूमा आफ्ना कार्य केन्द्रित गर्दै जोखिम घटाउन तथा ती ठाउँहरू संरक्षण गर्न सक्षम हुनेछन्।

यस पहलले स्थानीय अनुसन्धान तथा वातावरणीय शिक्षा कार्यक्रमहरूको विकासमा टेवा पुर्याउनेछ। यसबाट स्थानीय ज्ञान बढ्ने तथा चराहरूलाई सराहना गर्ने बानी बढ्ने आशा गरिएको छ, साथै चराहरू र यस क्षेत्रमा पंक्षी संरक्षणमा काम गर्ने दुवैका लागि सहयोग हुने अपेक्षा गरिएको छ।

हालै जो बाइडेन प्रशासनले गरेको घोषणाले यो आशालाई झन उकासेको छ। बाइडेन प्रशासनले प्रवासी पंक्षी सम्झौता ऐन [20]लाई कमजोर बनाउन पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहल गरेको विवादास्पद व्यवस्था रद्द गर्ने [21] घोषणा गरेको छ। यस ऐनले सन् १९१८ पश्चात् चराहरूलाई संरक्षण प्रदान गरेको थियो। यस ऐनले अनुमति बिना प्रवासी चरालाई खेद्नु, शिकार गर्नु, गोली हान्नु, घाइते बनाउनु, मार्नु, पासोमा पार्नु, कब्जा गर्नु वा प्रवासी चरा, उनीहरूका अण्डा वा गुँडसंकलन गर्नु वा त्यसो गर्न खोज्नुलाई अवैध मान्दछ। यो विवादास्पद व्यवस्था ८ मार्चदेखि लागु भए पनि यसको स्थान चाडै नै नयाँ मार्गनिर्देशिकाले लिनेछ। अमेरिकाभरिका पंक्षीविद् तथा जीवजन्तु पक्षधरले यसलाई प्रमुख जीत मानेका छन्।

कुन चाहिँ क्यारिबियन द्वीपमा सबभन्दा पहिला दक्षिण–उत्तर फिर्ती यात्राका दौरान यी चराहरूका गतिविधि पत्ता लगाउने रिसिभिङ स्टेशन स्थापना हुनेछ भन्ने कुरा हाल अनिश्चित छ। तर, आशा छ कि यो कार्यक्रम यो द्वीपसमूहभरि चाडै नै बाक्लै गरी विस्तार हुनेछ।