- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

राइजिङ भ्वाइसेजको एक्टिभिज्मो लेन्गुवाजको पहललाई अन्तर्राष्ट्रिय मातृभाषा पुरस्कार प्राप्त

श्रेणी : नागरिक मिडिया, Announcements, Rising Voices
[1]

फेब्रुअरी २१, २०२१ मा बंगलादेशको ढाकामा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा पुरस्कार समारोहको शाहिदुल खाबेर चौधरीको सार्वजनिक भिडियोको स्क्रीनशट।

बंगलादेशको इन्टरन्यासनल मदर ल्याङवेज ईन्स्टिच्युट (आईएमआईएलआई) [2] ले राइजिङ भ्वाइसेजको एक्टिभिज्मो लेन्गुवाज [3] (ल्याङवेज डिजिटल एक्टिभिज्म) को पहललाई परियोजनाको “आदिवासीका भाषाहरूको संरक्षण, संवर्द्धन र पुनरुत्थानमा उत्कृष्ट योगदान” को सम्मान गर्दै प्रतिष्ठित अन्तर्राष्ट्रिय मातृभाषा पुरस्कार २०२० प्रदान गरेको छ [4]

गणतन्त्र बंगलादेशका प्रधानमन्त्री तथा आईएमएलआईका प्रमुख संरक्षक शेख हसीनाले फेब्रुअरी २१, २०२१ मा बंगलादेशको ढाकामा आयोजित एउटा सानो समारोह [5]मा पुरस्कार प्रदान गरिन्।

आईएमआईएलआईले भाषा सम्बन्धीआफ्नो कामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार व्यक्ति र संस्थाहरूलाई सम्मान गरेको यो पहिलो पटक हो। पुरस्कार अन्तर्राष्ट्रिय मातृभाषा दिवस [6]को उपलक्ष्यमा प्रदान गरिन्छ जुन १९९९ मा यसको स्थापना भएदेखि फेब्रुअरी २१ मा विश्वव्यापी रूपमा मनाउने गरिन्छ। हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारका लागि “मातृभाषाको संरक्षण, संवर्द्धन र पुनरुत्थानको सन्दर्भमा डिजिटल प्रविधिको नवीनतामा विशेष योगदान” पुर्याएको हुनुपर्ने मापदण्ड रहेको छ।

राइजिङ भ्वाइसेज [7],ग्लोबल भ्वाइसेज आउटरीच र डिजिटल इन्क्लुसन सेक्सनले मेक्सिकोको ओक्साकामा आयोजना गरिएको इन्डिजिनस ल्याङवेज डिजिटल एक्टिभिज्मको पहिलो भेला [8] पछि २०१४ मा ल्याटिन अमेरिका केन्द्रित एक्टिभिज्मो लेन्गुवाज [9]को पहल आरम्भ गर्यो। भेलामा राइजिङ भ्वाइसेज सह-आयोजक रहेको थियो। उक्त पहिलो भेलादेखि एक आपसमा सिक्न र आदान-प्रदानका लागि ठाउँ र नेटवर्क निर्माण गर्ने उद्देश्यले त्यस्तै भेलाहरू कोलम्बिया [10], पेरु [11], बोलिभिया [12], इक्वेडर [13], ग्वाटेमाला [14]चिली [15]मा सम्पन्न भएका छन्।

यी कार्यक्रमहरू बाहेक, राइजिङ भ्वाइसेजले चार देशहरूमा लघु-डिजिटल एक्टिभिज्म परियोजनाहरूलाई सहयोग पुर्याएको छ, दुई सहभागितामूलक अनुसन्धान परियोजनाहरू सञ्चालन गरेको छ, डिजिटल परियोजनाहरूको एक अनलाइन निर्देशिका [16] निर्माण गरेको छ, इन्डिजिनस ल्याङवेज डिजिटल एक्टिभिस्ट नेटवर्क [17]को बैठक बोलाएको छ, र चालू @ActLenguas [18] सामाजिक सञ्जाल अभियान प्रारम्भ गरेको छ जहाँ आदिवासी भाषा अभियन्ताहरू भाषा संरक्षणको लागि प्रविधिको प्रयोगको साथ एक पछि अर्को गर्दै आफ्ना अनुभवहरू बयान गर्छन्।

“यो पुरस्कार ल्याटिन अमेरिकामा ल्याङवेज डिजिटल अभियन्ताहरूको प्रभाव र उनीहरूको कामको विशेष क्षमताको प्रमाण हो,” राइजिङ भ्वाइसेजका निर्देशक एडी आभिलाले भने।

“इन्टरनेट र डिजिटल प्रविधिको प्रभावको लाभ उठाउदै यी अभियन्ताहरूले नयाँ पीढीका वक्ताहरूलाई आकर्षित गर्न र उनीहरूको भाषा अनलाइनमा उपलब्ध गराउन यी उपकरणहरूको प्रभाव सिद्ध गरिरहेका छन्। हामी सयौं आदिवासी भाषा अभियन्ताहरू र उनीहरूको समुदायहरूको तर्फबाट यो पुरस्कार स्वीकार गर्दछौं, जसले अन्यसँग आफ्नो विशाल ज्ञान र अनुभव सेयर गरेका छन् र यो आन्दोलनलाई सम्भव बनाएका छन्। हामी २०२२ मा आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय दशक तर्फ लम्किदै गर्दा उनीहरूलाई सहयोग जारी राख्न चाहन्छौं।”

सन् २०२१ का अन्य विजेताहरूमा बंगलादेशको जबरंग वेलफेयर एसोसिएशनका प्राध्यापक मोहम्मद रफीकुल इस्लाम र मथुरा बिकाश त्रिपुरा सम्मिलित छन्। अर्का पुरस्कृत अन्तर्राष्ट्रिय व्यक्तित्व इस्लाइमोव गुलोम मिर्जाभीक थिए जो उज्बेक भाषामा आफ्नो कामका लागि परिचित छन्।