- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

आफ्नो ‘अति संकटापन्न भाषा’ को पुनरुत्थान गर्न गित्स्यान इन्टरनेट प्रयोगकर्ताका सिर्जनशील प्रयास

श्रेणी : उत्तर अमेरिका, क्यानाडा, आदिवासी, डिजिटल एक्टिभिज्म, नागरिक मिडिया, भाषा, Rising Voices
[1]

गित्स्यान गट ट्यालेन्ट प्रतियोगिता प्रवर्द्धन गर्नका लागि टि–शर्ट र क्याप। तस्वीरः एरिका विलियम्स, अनुमतिमा प्रयोग गरिएकोे।

विश्वव्यापी महामारी [2]का बेला पनि आदिवासी जनजाति आफ्ना भाषा जीवित राख्नका लागि नौला तरिका अपनाउँदैछन्। क्यानडाको ब्रिटिश कोलम्बियाका गित्स्यान जातिकै कुरा गरौः यस अप्रिलमा समर्पित भाषा अधिकारकर्मी शाइएन्न राभेन र जेस्सिका स्टारलन्डले फेसबुक समूह खडा गरे। यस समूहले गित्स्यान भाषाको प्रवर्द्धन गर्नुका साथै गित्स्यान गट ट्यालेन्ट [3] भन्ने अनलाइन ट्यालेन्ट प्रतियोगितामार्फत सामुदायिक सहभागिताका लागि प्रोत्साहन गर्दछ।

यस समूहमा ६०० भन्दा बढी सदस्यले नियमित रूपमा लोकप्रिय गीत, कविता तथा भ्वाइस–ओभरलाई फर्स्ट नेशन भाषा गित्स्यानिम्याक्समा प्रस्तुत गर्छन्। अन्य सदस्यहरूले ती प्रस्तुतिकरणमा टिप्पणी गर्छन् र आदिवासी अग्रजहरूको निर्णयमा विजयीहरूलाई पुरस्कृत गरिन्छ।

रिपोर्ट अन द स्ट्याटस अफ बि.सि. फर्स्ट नेशन्स ल्याङ्वेजेज २०१८ [4] का अनुसार, गित्स्यान (केही स्रोतमा गित्कस्यान) भाषाका ५२३ सहज वक्ता रहेका छन् भने थप ९८३ जनाले केही केही बोल्छन्, बुझ्छन् वा ब्रिटिश कोलम्बियाका ६ गित्स्यान समुदायमा यो भाषा सिकिरहेका छन्। युनेस्कोले ‘अति संकटापन्न भाषा’ का रूपमा वर्गिकरण [5] गरेको यो भाषा प्रायः जसो अग्रजहरू बोल्छन् तर युवा पिँढीमा स्थानान्तरण हुँदैन।

गित्स्यान गट ट्यालेन्ट प्रतियोगिताका सह–सञ्चालकमध्ये एक जेस्सिका स्टारलन्ड। तस्वीरः ट्यालोन गिलिस फोटोग्राफी, अनुमतिमा प्रयोग गरिएको।

प्राज्ञ डा. एम. जेन स्मिथका अनुसार गित्स्यान त्लेमलाक्सामितबाट आएका हुन् [6]। उत्तरपश्चिमी मध्य ब्रिटिश कोलम्बियाको माथिल्लो स्कीना उपत्यका उनीहरूको पुर्ख्यौली थलो हो जहाँ उनीहरू अहिले पनि बस्छन्।

भाषाका माध्यमले सर्वत्र हावी रहेको पश्चिमी विश्वदर्शनभन्दा पूर्णतया फरक दृष्टिकोण राख्ने गित्स्यान संस्कृति मौखिक इतिहासमा समृद्ध छ। युरोपियन उपनिवेशका पहल तथा एकपछि अर्को सरकारले लगाएका प्रतिबन्धात्मक कदमद्वारा यस दर्शनले सदियौंसम्म आदिवासी संस्कृतिको विनाश गर्नमा मद्दत गरेको छ [7]। भौतिक सम्पत्ति तथा व्यक्तिवादलाई प्राथमिकता दिने पश्चिमी अवधारणाको तुलनामा गित्स्यान संस्कृतिले जमीनसँग सद्भाव र समुदायलाई प्राथमिकता दिन्छ।

ब्रिटिश कोलम्बियाका अन्य आदिवासी समुदायभन्दा भिन्न गित्स्यानहरूले क्यानडेली सरकारसँग कुनै पनि सन्धिमा हस्ताक्षर गरेका छैनन् [6] र उनीहरूको जमीन अरुलाई बेचेका पनि छैनन्। तर उनीहरूका संस्कृति तथा भाषालाई दमन गर्न रचिएका सरकारी कदमहरूबाट उनीहरू पनि अछुतो छैनन्।

इण्डियनको संहार गरौं, मानिसलाई बचाऔं [8]‘ मनसायले शुरु गरिएका आवासीय विद्यालयहरूले ती कक्षा लिन बाध्य पारिएकालाई मात्रै नभई गित्स्यानहरूका आगामी पिँढीलाई समेत प्रतिकूल असर पार्यो। यी विद्यालयहरूले युवा पिँढीलाई भाषा हस्तान्तरण गर्ने प्रक्रियामा रोक लगाउने काम गर्यो। त्यहाँ जाने आदिवासीले आफ्नो भाषा कहिल्यै सिकेनन् वा त्यो भाषा बोलेकोले गर्दा कडा सजाय पाए जसले गर्दा उनीहरूले आफ्ना बालबालिकाले त्यो भाषा सिक्नु उचित ठानेनन्।

[9]

गित्स्यान गट ट्यालेन्ट प्रतियोगिताका लागि समाचार, मौसम, र ट्राफिकबारे रिपोर्ट प्रस्तुत गर्दै गरेकी शाइएन्न राभेनको स्क्रीनशट। पूरा भिडियो हेर्नका लागि तस्वीरमा क्लिक गर्नुहोस्।

यी आवासीय विद्यालयका परम्परामात्र गित्स्यान गट ट्यालेन्टजस्ता भाषालाई जोगाउने पहलका चुनौती होइन। विश्वव्यापी भाषाका रूपमा अंग्रेजीको बढ्दो महत्व, सन्तोषजनक जागीर पाउँनका लागि अंग्रेजी बोल्नुपर्ने आवश्यकता तथा अंग्रेजी मिडिया सामग्रीको बिगबिगीले पनि आदिवासी भाषाको ह्रास हुनुमा भूमिका खेलेका छन् [10]

यी कारणहरूले गर्दा नै गित्स्यान गट ट्यालेन्ट फेसबुक समूह झन प्रभावशाली भएको छः यस भाषालाई निमिट्यान्न पार्न तत्पर प्रविधिकै सहारा लिई सो समूहले यस भाषाप्रति अभिरुचि बढाउँदैछ। गित्स्यान समुदायको मोबाइल एप [11] पनि गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ। यसलाई उनीहरू कथा तथा शब्द उच्चारण सुन्दै भाषा सिक्न प्रयोग गर्छन्।

हामीले यस फेसबुक प्रतियोगिताका आयोजकमध्ये एक जेस्सिका स्टारलन्डसँग इमेलमार्फत अन्तर्वार्ता लिएका थियौं। जेस्सिकाका अनुसार हालसम्म यो प्रतियोगिताले निकै राम्रो प्रगति गरेको छ, “सोचेकोभन्दा धेरैसमक्ष पुगेर।” गित्स्यान क्षेत्रका वक्ता, सिकारु तथा मौन वक्ताहरू सबै सहभागी भएका छन्, साथै शहरी क्षेत्रमा बस्ने सदस्यहरूले समेत भाग लिएका छन्। यस प्रतियोगिताको उद्देश्य गित्स्यान भाषाको प्रयोगलाई मूलधारका डोमेनमा समावेश गराउनुसमेत रहेको छ। यसका लागि उनीहरूले हवाइ सुरक्षा जस्ता भिडियो [12] र ‘ग्रेज अनाटोमी’ वा ‘सेसमी स्ट्रीट [13]‘ जस्ता लोकप्रिय शोका भागलाई गित्स्यान भाषामा भ्वाइस–ओभर गर्ने तथा लोकप्रिय गीतलाई यस भाषामा गाउने कार्य गर्दै आएका छन्।

यस प्रतियोगिताले सिर्जनशीलतालाई प्रोत्साहित गरेको छ। युट्युब युजरनेम ‘गित्स्यानबुशगर्ल’ नाम भएकी एक सहभागी स्काइला ओलिभियाले तलको स्टप–मोशन भिडियो [14] प्रस्तुत गरेकी छिन्ः

उनका अनुसार कोभिड–१९ का बेला यस भर्चुअल प्रतियोगिताको महत्व झन धेरै बढेको छ किनकि “यसले सुरक्षित, भर्चुअल दूरीबाटै भाषाको प्रवर्द्धन गरेको छ” र गित्स्यान समुदायबीच ‘मनोबल उच्च राख्न’ मद्दत गरेको छ। यसैका लागि यो फेसबुक समूह सार्वजनिक राखिएको छः यस विश्वव्यापी महामारीको बेला पनि सकेसम्म धेरैभन्दा धेरै गित्स्यानहरूसँग अन्तक्रिया गर्दै यस भाषाको प्रवर्द्धन गर्न। यस समूहका सदस्यहरूले प्रतियोगिताका प्रस्तुतीहरू सुन्दा ‘सुखदायी अनुभूति’ भएको र यस समूहका पोष्टहरू ‘सिक्नका लागि उत्तम’ रहेको भनेका छन्।

स्टारलन्ड भन्छिन् यस समुदायले हवाई [15]मा र माओरी [16]का लागि न्युजिल्याण्डमा सञ्चालनमा रहेका जस्तै बालबालिकाका लागि भाषा अड्डा [17] खडा गर्न आर्थिक सहयोगका लागि आह्वान गरेको छ। जसले गर्दा उनीहरू गित्स्यान भाषामा तल्लीन भएर लाग्नेछन् र ठुलो हुँदा गित्स्यान र अंग्रेजी दुवै भाषा बोल्न जान्नेछन्। उनीहरूले आफ्ना क्षेत्रमा भाषिक–सांस्कृतिक क्याम्प खडा गर्नका लागि पनि आर्थिक सहयोगका लागि आवेदन दिएका छन्।

अर्को पहल सफल प्रशिक्षक–प्रशिक्षार्थी कार्यक्रम [18]को थालनीले यस भाषालाई बचाउन मद्दत गर्दैछ। क्यालिफोर्निया र अन्य अमेरिकी राज्यहरूमा सञ्चालित कार्यक्रमजस्तै यसमा समुदायका युवा सदस्यलाई एकजना अग्रजसँग जोडा बनाइन्छ र उनीहरू एक अर्कासँग आफ्नो आदिवासी भाषामा मात्र कुरा गर्छन्। यस फेसबुक समूहले स्थानीय संस्थाहरूबाट पुरस्कार र आर्थिक सहयोग तथा गित्स्यान भाषा फरर बोल्ने निर्णायकका लागि मानार्थ पारिश्रमिक आफैं प्राप्त गरेको छ। विजेतालाई लागि आर्थिक पुरस्कार दिइन्छ भने खास गरेर राम्रा प्रस्तुति पठाउनेलाई सहभागिता पुरस्कार दिइन्छ।

गित्स्यान गट ट्यालेन्ट गित्स्यान समुदायका लागि आफ्नो भाषामा आफ्ना अभिव्यक्ति पस्कने र रमाउने ठाउँमात्र नभई सो समुदायको निरन्तरको अनुकूलनशीलता र उत्थानशीलताको पर्याय भएको छ। विश्वको जुनसुकै कुनामा बस्ने गित्स्यानले पनि यस समूहमा समावेश हुन सक्छन् र योगदान गर्न सक्छन्। यसले गित्स्यानहरूबीचको सम्बन्ध प्रगाढ बनाउने मात्र नभई गित्स्यान र उनीहरूको भाषाबीचको सम्बन्धलाई पनि सुदृढ बनाउनेछ।