
मलावीमा १ करोड ४० लाख मानिसहरू जीविकोपार्जनका लागि मुख्यतया कृषिमा निर्भर रहेका छन्। सन् २०१७ मा, देशमा खडेरीले आधाभन्दा बढी जनसंख्यालाई असर पुर्यायो। इयुको अनुदान प्राप्त यस परियोजनाले नक्सांकनका लागि ड्रोनको प्रयोग गर्दछ जसले विपद्को अवस्थामा मानिसहरूलाई सुरक्षित आश्रय प्रदान गर्न महत्वपूर्ण मानिने अस्पताल, विद्यालय र सडक जस्ता सुविधाहरू रहेका स्थानहरू पत्ता लगाउन मद्दत गर्दछ। फोटो युरोपियन युनियन / अनुक डेलाफोर्त्री। अप्रिल १३, २०१८ via Flickr CC BY 2.0.
सन् २०१६ देखि मलावी अफ्रिकामा मानव रहित विमान प्रणाली – जसलाई ड्रोन पनि भनिन्छ- प्रयोग गर्ने पहिलो मुलुक भएको छ। यस वर्ष, अफ्रिकाकै पहिलो एकेडेमी अफ्रिकी ड्रोन तथा डाटा एकेडेमी (एडीडीए) स्थापना गरेर मुलुक एक कदम अगाडि बढ्यो।
एडीडीए आधिकारिक रूपमा जनवरी १३, २०२० मा मलावीको लिलोन्वेमा स्थापना भयो।
“हामी दृढ विश्वास गर्दछौं कि मलावीमा ड्रोन र उन्नत तथ्याङ्क विश्लेषण तथा व्यवस्थापन प्रविधि जस्ता आधुनिक प्रविधिहरू अपनाउँदा हामीलाई हाम्रा सन्ततिहरूको आवश्यकता पूर्ति गर्न मद्दत मिल्नेछ,” मलावीका नागरिक उड्डयन विभागका निर्देशक जेम्स चकवेराले भने।
मलावी र छिमेकी मुलुकका नागरिकहरूको लागि खुला गरिएको एकेडेमीले विशेष गरी मानवीय सहायता र विपद् पूर्वतयारीमा ड्रोन प्रयोगका लागि आवश्यक पर्ने ड्रोन प्रविधिमा सक्षम बनाउनेछ।
उपाधि प्राप्त विद्यार्थीहरूले एडीडीए र संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को साझेदारीमा भर्जिनिया पोलिटेक्निक ईन्स्टिच्युट, भर्जिनिया पोलिटेक्निक ईन्स्टिच्युट र स्टेट युनिभर्सिटी (संयुक्त राज्य अमेरिकामा रहेको) बाट जारी गरिएको प्रमाणपत्र प्राप्त गर्नेछन्।
एकेडेमीले १० हप्ते पाठ्यक्रममार्फत सन् २०२० सम्म १५० जना विद्यार्थीहरूलाई दीक्षित गर्ने योजना बनाएको छ। पहिलो समूहले तालिम लिन सुरु गरिसकेका छन् र मार्च १८, २०२० मा उपाधि प्राप्त गर्ने छन्। यो समूहमा २६ जना विद्यार्थीहरू रहेका छन् जसमा मलावीका १६, अफ्रिकाभरबाट १० जना, र कक्षामा आधाभन्दा बढी छात्राको संख्या रहेको छ।
पहिलो एडीडीए समूहका सदस्य डेबोरा तम्बालिकाले मलावीमा एडीडीएको उपस्थितिको प्रशंसा गरिन्:
My sincere gratitude to be part of the first cohort of African Drone and Data Academy (ADDA) in Malawi. Getting to interact with International people and learn new skills in Drone Technology is really exciting. @MeloGasai @Sdhikrullahi @banza024 #Malawi#Drones https://t.co/LLpcBWjQu0
— Debora Mtambalika (@DeboraMtambali2) January 15, 2020
मलावी स्थित अफ्रिकी ड्रोन तथा डाटा एकेडेमी (एडीडीए) को पहिलो समूहको सदस्य हुन पाउँदा हार्दिक आभार व्यक्त गर्दछु। अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी गर्नु र ड्रोन प्रविधिमा नौला ज्ञान प्राप्त गर्नु साँच्चै रोमाञ्चकारी छ।
बायोमेडिकल शोधकर्ता साथै पहिलो एडीडीए समूहका सदस्य शिट्टूले एडीडीएको लक्ष्य र कामबाट उनी किन उत्साहित छन् भन्ने कारणहरू सेयर गरे:
Ever wonder if we can predict disaster before it happens, map out breeding habitats of the world most deadliest insects (mosquitoes), monitor outbreaks and transferring medical supplies to remote areas….
All these are questions I seek to explore with drone…
— Shittu Dhikrullahi B (@Sdhikrullahi) January 23, 2020
के हामी घटना पूर्व नै विपद् पूर्वानुमान गर्न सक्नेछौं, विश्वका सबैभन्दा विषालु कीराहरू (लामखुट्टे) को प्रजनन स्थल पत्ता लगाउन सक्नेछौं, प्रकोप अनुगमन गर्न र दुर्गम क्षेत्रमा चिकित्सा सामग्री आपूर्ति गर्न सक्नेछौं …
यी सबै यस्ता चुनौतीहरू हुन् जुन म ड्रोनबाट पत्ता लगाउन चाहन्छु…
दोस्रो समूहका लागि आवेदन खुला गरिसकिएको छ।
एकेडेमीले मलावी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सन् २०२२ सम्ममा ड्रोन र डाटा इनोभेसनमा निःशुल्क दुई वर्षे स्नातकोत्तर तहको लागि साझेदारी गर्ने योजना बनाएको छ – यस्तो शैक्षिक कार्यक्रम पनि अफ्रिकामा पहिलो हो।
मलावीमा सदाका लागि ड्रोनहरू
लामो समयदेखि ड्रोन मलावीमा मानवीय कार्य सञ्चालनका लागि अत्यावश्यक उपकरणको रूपमा स्वीकार गरिएका छन्, जहाँ बाढीले ठूला विपद्को ४८ प्रतिशत हिस्सा ओगट्दछ। सन् १९४६ देखि मलावीमा बाढी विपद्को गम्भीरतामा वृद्धि भएको छ र मार्च २०१९ मा अल्पकालिक बाढीले ८०,००० भन्दा बढी मानिसहरू विस्थापित हुन पुगे।
बाढीको कारण पहिलेदेखि नै कमसल रहेका सडकहरू पहुँचयोग्य हुँदैनन् – बाढीले विशेष गरी दुर्गम, ग्रामीण क्षेत्रका प्रभावित समुदायहरूलाई पूर्ण रूपमा संपर्क विच्छेद गराउँछ। प्रभावकारी तात्कालिक अनुगमन र विपद् प्रतिकार्य पूर्वतयारीका लागि नवीन प्रविधि अपनाउन जरुरी छ।
जुन २०१७ मा मलावी सरकारले मलावीमा ड्रोन परीक्षण कोरिडोर सुरुवात गर्न युनिसेफसँग साझेदारी गर्यो जुन अफ्रिकामा पहिलो प्रयास थियो। ड्रोनले मानवीय कार्यलाई कसरी प्रभाव पार्न सक्छ भन्ने अनुसन्धान गर्नका लागि उनीहरूले यसको सुरुवात गरे। अव्यवस्थित पूर्वाधारले दुर्गम ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा अत्यावश्यक औषधी वितरणमा सधैं बाधा पुर्याएको हुनाले युनिसेफले मलावीमा ड्रोन परीक्षण स्थापना गर्न छनौट गर्यो।
नोभेम्बर २०१७ मा इको मलावी भनिने ड्रोनले १९-किलोमिटर घेरा भित्र औषधी पुर्यायो। इको मलावी पाँचवटा ड्रोनमध्ये एक हो जुन मलावीका १३ जना विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाको भर्जिनिया टेक युनिभर्सिटीको मानव रहित प्रणाली प्रयोगशालामा डिजाइन र निर्माण गरेका हुन्। यस उपलब्धि प्राप्त गर्नु अगाडि १३ जना विद्यार्थीसँग ड्रोन निर्माण सम्बन्धी सीमित वा कुनै अनुभव थिएन।
युनिसेफले मलावीमा खोप, रक्त आधान किट, एन्टिबायोटिक र औलोको औषधी वितरण गर्न ड्रोन प्रयोग गर्दै आएको छ। सन् २०१६ मा युनिसेफद्वारा गरिएको ड्रोन परीक्षणमा एचआईभी परीक्षणका लागि गाउँका बच्चाहरूको रगतको नमूनाहरू क्लिनिकमा पुर्याउन ड्रोनहरू प्रयोग गरिए। यी प्रयासहरूले दुर्गम क्षेत्रहरूमा एचआईभी पोजिटिभ आमाहरू र बच्चाहरूको लागि एन्टिरेट्रोभाइरल औषधीहरूको पहुँचमा सुधार ल्याएको छ।
युरोपियन युनियनले मलावीमा विभिन्न प्रकारका मानवीय पहलहरूमा पनि सहायता प्रदान गरेको छ जसले विपद् पूर्वतयारीसँग सम्बन्धित नक्सांकन, अनुसन्धान र निष्क्रमण प्रशिक्षणका लागि ड्रोनलाई उपकरणको रूपमा महत्व दिन्छ।
पूर्वी अफ्रिकामा ड्रोन
युगान्डाको विकास र मानवीय चुनौतीहरूको समाधान गर्न युगान्डा फ्लाइङ ल्याब भनिने आफ्नै ड्रोन केन्द्र छ। यो प्रयोगशाला नक्सांकन र तथ्याङ्क विश्लेषणसम्बन्धी केन्द्र हो जसले विद्यार्थीहरूलाई तथ्याङ्क संकलन र विश्लेषण गर्न प्रशिक्षण पनि दिन्छ।
एडीडीएका विद्यार्थी करेन असाबाले युगान्डा फ्लाइङ ल्याबमा अध्ययन गर्ने क्रममा पहिलो पटक ड्रोनमा चासो देखाए।
तान्जानियाले पनि औलोविरुद्ध लड्न र सम्भावित संवेदनशील स्थलहरू नक्सांकन गर्न ड्रोन प्रविधि प्रयोग गर्दछ। तान्जानिया फ्लाइंग ल्याब (टीएफएल) ले पाठ्यक्रम उपलब्ध गर्दछ, स्थानीय रोबोटिक सीपहरू निर्माण गर्दछ र नयाँ व्यवसायहरू समेट्दछ। टीएफएल केन्द्र पूर्वी अफ्रिकी क्षेत्रीय उडान प्रयोगशाला हो जसले अन्य उडान प्रयोगशालाहरूका प्रशिक्षकहरूलाई प्रशिक्षण दिन्छ। यसले नोभेम्बर २०१९ मा औलोविरुद्ध पहिलो ड्रोन प्रयोग गर्यो।
फ्लाइङ ल्याबहरू केन्या लगायत अफ्रिकाका १४ मुलुकहरूमा संचालित छन्। यद्यपि फिल्म निर्देशक सामुएल वान्जोहीले तत्काल ट्वीटर मार्फत केन्याले चर्को जरिबाना सहित ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको औल्याए।
3/4
Meanwhile in Kenya:
The Kenya Civil Aviation Authority (KCAA) has prohibited the use of drones, warning that those violating the ban risk a fine of Sh100,000 or a year in prison.— Samuel Wanjohi (@samdablew) January 15, 2020
यसै बीच केन्यामा
केन्या नागरिक उड्डयन प्राधिकरणले ड्रोनको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ र चेतावनी दिएको छ कि प्रतिबन्ध उल्लंघन गर्नेहरूलाई १००,००० शिलिङ जरिवाना वा एक वर्ष जेल सजाय गरिने खतरा छ।
रुवान्डामा ड्रोन मेडिकल डेलिभरी कम्पनी जिपलिन सन् २०१६ देखि सञ्चालित छ। २०१८ सम्ममा जिपलिनले दुर्गम स्वास्थ्य केन्द्रहरूमा राष्ट्रिय रक्त संचार बैंकको ३५ प्रतिशत रगत आपूर्ति गरेको छ।
मलावीमा ‘चौथो औद्योगिक क्रान्ति’
ड्रोनलाई व्यापारिक ढाँचा रूपान्तरण गर्ने, जलवायु परिवर्तनलाई रोक्ने, कृषि उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने सम्भाव्यता रहेको “चौथो औद्योगिक प्रविधि” को रूपमा मानिन्छ।
चौथो औद्योगिक क्रान्ति, जसलाई “उद्योग ४.०” पनि भनिन्छ, मानव विकासको वर्तमान युग हो जहाँ भिन्न प्रविधिहरू भौतिक तथा जैविक संसारसँग संयोजन भइरहेका छन्।
नेटिजेन क्रिस्टिना करिरले मलावीको भविष्य, खास गरी प्रविधिमा महिला सहभागिता बारे आशावादी हुँदै एडीडीएको सुरुवातलाई प्रशंसा गरिन्:
The first #drone #academy in Africa has opened in #Malawi . 26 #dronepilots, more than half of them #womenwhofly will get a topnoch education. #srf #UNICEF #powertowomen #frogleaping pic.twitter.com/YA11k75MYu
— Cristina karrer (@karrer_cristina) January 16, 2020
अफ्रिकाको मलावीमा पहिलो ड्रोन एकेडेमी स्थापना भएको छ। २६ ड्रोन पाइलटमध्ये आधाभन्दा बढी महिलाले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्।
सही नीति तथा योजना भएमा ड्रोन प्रविधिले गम्भीर समस्याहरू समाधान गर्न मद्दत गर्दछ। अहिले मलावीमा ड्रोन उडान गर्न वैध छ, तर नागरिकहरूले प्रत्येक उडान अघि नागरिक उड्डयन विभागबाट अनुमति लिनु पर्दछ। व्यवसायिक, संस्थागत वा गैर -नाफामूलक ड्रोन प्रयोगको लागि इजाजतपत्र लिन र दर्ता गर्न अनिवार्य छ।
एडीडीए, ज्ञान र सीप-निर्माणको माध्यमबाट, मलावीमा क्रान्ति ल्याउनका लागि असीमित सम्भावना पैदा गर्दछ।