
टोक्योको मिताकास्थित गिब्ली संग्रहालयको “टोटोरो टिकट बुथ“। फ्लीकर प्रयोगकर्ता चप्परकुओको तस्वीर। लाइसेन्स: CC BY-NC-ND 2.0 ।
कोभिड–१९ महामारीले गर्दा केही समयसम्म बन्द रहेको, जापानको धेरैले मन पराउने पर्यटन गन्तव्यमध्ये एक गिब्ली संग्रहालयले युट्युबमा छोटा भर्चुअल टुर सञ्चालन गरेको छ।
यो संग्रहालय धनाढ्य र सम्भ्रान्त इलाका मिताकामा अवस्थित छ। मध्य टोक्योबाट पश्चिममा २० मिनेटको ट्रेन दूरीमा रहेको यो क्षेत्र स्टुडियो गिब्लीका एनिमेटेड दुनियालाई पुनःसिर्जना गर्नमा मात्र नभई यस स्टुडियोको कलात्मक प्रक्रियामा समेत समर्पित रहेको छ।
स्टुडियो गिब्लीका चलचित्रहरूमध्ये विश्वभरिका दर्शकमाझ लोकप्रिय हायाओ मियाजाकीको “स्पीरिटड अवे” र “माइ नेबर टोटोरो” समेत रहेका छन्। प्रत्येक वर्ष यस संग्रहालयले हजारौं आगन्तुक आकर्षित गर्दछ, तर सीमितलाई मात्र प्रवेशाज्ञा दिइन्छ। हरेक दिन यहाँ केही आगन्तुकले मात्र प्रवेश गर्न पाउँछन् र त्यसका लागि केही महिनाअगावै टिकट सुरक्षित गरेको हुनुपर्छ।
यो संग्रहालय फेब्रुअरी २५ देखि बन्द रहेको छ। घरबाटै काम गर्नेका लागि वेब मिटिङका बेला राख्न मिल्ने ब्याकग्राउण्ड निःशुल्क उपलब्ध गराएपछि गिब्ली स्टुडियोले गिब्ली संग्रहालयका छोटा भिडियो टुर आरम्भ गरेको छ।
यी पाँच भिडियो टुरमा संग्रहालयको बाहिरी भागका साथै भित्रका कोठा र प्रदर्शनीहरू हेर्न सकिन्छ।
“ह्वेर अ फिल्म इज बर्न” कोठामा “डेस्कको एउटा खालि पानाबाट वास्तविक चलचित्र बन्ने उत्प्रेरणा” लाई दर्शाइएको छ।
यी पाँचै भिडियो स्टुडियो गिब्लीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।
युट्युबर कोकोट्याकले मिताका स्टेशनदेखिको यात्रासमेत रहेको गिब्ली संग्रहालयको अलिक लामो टुरको भिडियो पोष्ट गरेका छन्: