- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

इथियोपियाका खगोलशास्त्रीहरू ‘एस्ट्रोबस’ यात्रामा

श्रेणी : उप-सहारा अफ्रीका, इथोपिया, Good News, कला र संस्कृति, नागरिक मिडिया, प्रविधि, महिला र लिङ्ग, युवा, विकास, विज्ञान, शिक्षा

डिसेम्बर २०१९ मा इथियोपियाको पहिलो भू-उपग्रह प्रक्षेपण गर्नु ठीक अघि एस्ट्रोबस इथियोपिया २०१९ ले उत्तरी इथियोपियामा खगोलीय यात्रा सुरु गर्नेछ। फोटो एस्ट्रोबस इथियोपियाको सौजन्यबाट।

इथियोपियाका अधिकारीहरू भन्छन् [1] उनीहरू यस महिना आफ्नो पहिलो भू-उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेछन्। ऐतिहासिक प्रक्षेपणभन्दा एक हप्ता अगाडि खगोल शास्त्रीहरू, वैज्ञानिक, कलाकार र अन्वेषक सम्मिलित २४ जनाको टोलीले  “एस्ट्रोबस इथियोपिया” [2] चढ्ने छन्, विज्ञान र कलाका लागि कार्यशालामा सक्रिय सहभागिता जुटाउदै उत्तरी इथियोपियाका आठ सहरहरूमा भ्रमण गर्नेछन्।

डिसेम्बर ७ मा अदिस अबाबाबाट प्रस्थान गरेर समूहले स्थानीय विश्वविद्यालयहरूद्वारा प्रबन्ध गरिएको कार्यक्रमस्थलमा अवधारणात्मक एवं विवेचनात्मक सोचलाई प्रोत्साहित गर्ने विभिन्न प्रकारका कार्यशालाहरूमा प्रति सहर १,००० भन्दा बढी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराउनेछ। कुल मिलाएर उनीहरूले ८००० भन्दा बढी विद्यार्थीहरू बीच पुगेर उनीहरूमा कौतूहल जगाउने उद्देश्य लिएका छन्।

“यात्राको मुख्य उद्देश्य वैज्ञानिक एवं अवधारणात्मक विचारहरू सम्प्रेषण गर्नु रहेको छ जुन हाम्रो दैनिक जीवनमा सुलभ तथा सान्दर्भिक छन्, र नौला एवं रोमाञ्चक विधि स्थापित गर्नु हो” नेबिहा शाफीले ग्लोबल भ्वाइसेजलाई एक भिडियो कलमा बताइन्।

इथियोपियाका खगोलविद्, शाफी हाल दक्षिण अफ्रिकामा रहेर आकाशगंगाको विकासक्रम बारे अध्ययन गर्छिन्। उनको रुचि पब्लिक आउटरीचमा पनि रहेको छ – विशेष गरी अझ बढी किशोरी तथा महिलालाई विज्ञानको क्षेत्रमा संलग्न हुन प्रोत्साहित गर्ने।

एस्ट्रोबस इथियोपिया कार्यशाला २०१७ मा एउटी किशोरी दूरबिनबाट हेर्दै। फोटो कार्ला भोन मुन्चो, एस्ट्रोबसको सौजन्यबाट।

जर्मनीमा फ्रिलेन्स डाटा वैज्ञानिकको रूपमा काम गर्ने खगोलविद् याबेबल तादेसीसँग शाफी २०१७ मा एस्ट्रोबस प्रारम्भ भएदेखि एस्ट्रोबस इथियोपियाको हिस्सा बनेका छन्। “कस्मिक माइक्रोवेभ ब्याक ग्राउण्ड डाटाको उपयोग गरेर ब्रह्माण्डको अनुसन्धान” गर्ने अन्वेषक तादेसी भन्छन् एस्ट्रोबसको अवधारणाले उनलाई त्यसबेला प्रभावित बनायो जतिबेला उनले सेनेगलको एस्ट्रोनोमी आउटरीच प्रोजेक्ट “एस्ट्रो ट्रक” को फेसबुक पेजमा फोटो देखे।

तादेसीले तुरुन्तै शाफीलाई फोन गरे र एस्ट्रो ट्रक जस्तै परियोजना गर्ने विचार प्रस्ताव गरे, तर खगोल विज्ञान आउटरीचको अतिरिक्त कला र मौलिकता पनि समावेश गर्ने गरी दायरा विस्तार गरे। दुवैले आफ्ना सहकर्मीहरूसँग मिलेर यस परियोजनाको डिजाइन बारे सोच्न सुरु गरे र अनुदानको लागि अन्तर्राष्ट्रिय खगोल विज्ञान संघ (आइएयु) को शाखा – एस्ट्रोनमी फर डेभलपमेन्टसँग कुरा गरे।

“हामीले हाम्रा साथीहरू, हाम्रा सहकर्मीहरूसँग कुराकानी गर्‍यौं र सबैजना, विशेष गरी मौलिकता र कलाको संयोजनबाट उत्साहित थिए – यो विज्ञान मात्र होइन,” शाफीले भनिन्।

यद्यपि, २०१५-२०१७ को बीचमा इथियोपियामा राजनीतिक अस्थिरता [3]का कारण परियोजना सुरु हुन दुई वर्ष लाग्यो। “त्यसबेलाको परिस्थिति चिन्ताको विषय थियो, हामीले विभिन्न क्षेत्रहरू हुँदै यात्रा गर्ने योजना बनाएका थियौं तर ती क्षेत्रहरूमा प्रदर्शनहरू भइरहेका थिए, त्यसैले हामीले केही समय पर्खनुपर्‍यो , र मुख्यतः बन्दोबस्तीका लागि [हामीलाई मद्दत गर्न]”, हामी [इथियोपिया] मा सहयोगी पनि चाहन्थ्यौं किनकि हामीमध्ये अधिकांश त्यस समयमा बाहिर थियौं, तादेसीले ग्लोबल भ्वाइसेजलाई एक भिडियो कलमा बताए।

दुवै मिलेर व्यवस्थापन टोली तयार गरे र इथियोपियाली अन्तरिक्ष विज्ञान समाज (इएसएस) [4]सँग साझेदारी गरे जुन इथियोपियामा पहिलो परियोजना थियो।

सन् २००४ मा ४७ संस्थापक सदस्यहरू सहित स्थापना भएको इएसएसमा हाल इथियोपियाभर १०,००० सदस्यहरू, १९ शाखाहरू र १०० स्कुल स्पेस क्लबहरू छन्। इएसएसले पहिलो पूर्वी अफ्रीकी एन्टोटो वेधशाला तथा अनुसन्धान केन्द्र स्थापना गर्‍यो, र आइएयुको सदस्यको रूपमा इएसएस एस्ट्रोबस इथियोपियाका लागि उपयुक्त साझेदार थिए। अधिकांश एस्ट्रोबस टोली सदस्यहरू इथियोपियाली अन्तरिक्ष विज्ञान प्रविधि संस्थान [5]मा कार्यरत छन्, संस्थानको आदर्श वाक्य “हामी हाम्रो मुलुकको हितको लागि अन्तरिक्षको अनुसन्धान गर्दछौं ” भन्ने रहेको छ।

एस्ट्रोबस इथियोपिया २०१९

एस्ट्रोबस इथियोपिया २०१९ यात्राले इथियोपियामा २०१७ को उद्घाटन संस्करणको रूपमा समान लक्ष्यहरू प्रतिबिम्बित गर्नेछ। २४ जना कलाकार, वैज्ञानिक, अन्वेषक र कथाकारहरूको समूहले युवाहरूलाई ताराहरू, ग्रहहरू, आकाशगंगा र ब्रह्माण्डको बारेमा जानकारी दिन एकै ठाउँमा ल्याउनेछ साथै समूहले कथा भन्न वा लेख्न, फोटोग्राफी, संगीत, चलचित्र, कृषि र फेसनको बारेमा पनि सिकाउनेछ। टोलीले तीन मुख्य स्थानीय भाषाहरूमा शैक्षिक सामग्रीहरू उत्पादन गर्दछ: अम्हारिक, ओरोमो र टिग्रीना।

एस्ट्रोबस इथियोपियाले अम्हारिक र ओरोमो जस्ता स्थानीय भाषाहरूमा खगोल विज्ञान र खगोल शास्त्रमा शिक्षण सामग्री उत्पादन गरेको छ।

९ दिवसीय भ्रमणको क्रममा, कम्तिमा १० बिभिन्न माद्यमिक विद्यालयका विद्यार्थीहरू स्थानीय विश्वविद्यालयका कार्यक्रम स्थलहरूमा नयाँ विचारहरू सिक्न, संपर्क स्थापित गर्न र संलग्न हुन भेला हुने छन्। टोलीका धेरै जसो सदस्यहरू खगोलशास्त्री र खगोलविद्हरू रहेतापनि शाफी र तादेसीले भने कि उनीहरूको ध्येय अन्य कुराहरूमा भन्दा बढी विवेचनात्मक र रचनात्मक सोचको बारेमा रहेको छ।

एस्ट्रोबस अन्वेषकहरूले विद्यार्थीहरूलाई कसरी चुनौतीहरूको सामना गर्ने भनेर प्रत्यक्ष रूपले सिकाउँदछन्, जसरी अधिकांश अन्वेषकले आ-आफ्नो क्षेत्रमा काम गर्दछन् – चाहे त्यो डिजाइन, फेसन, कविता, इन्जिनियरिङ, खगोल विज्ञान वा कला होस्। बुझ्न र व्याख्या गर्न, संयोजन र रचना गर्न, नयाँ विचारहरू र समाधानहरू सिर्जना गर्नको निमित्त “चुनौतीका शब्दावलीहरू” अध्ययनको महत्त्वबारे तादेसीले बताए।

समस्या समाधान गर्न “हामीले ज्ञान कसरी हस्तान्तरण गर्ने भन्ने जान्नु जरुरी हुन्छ र ज्ञान हस्तान्तरण गर्नको लागि अवधारणात्मक सोच चाहिन्छ” शाफीले भनिन्।

धेरै विद्यार्थीहरूका लागि खगोलीय अध्ययन गर्न पहिलो पटक टेलिस्कोप समाएको वा ड्रोन वा दूरबिन प्रयोग गरेको अनुभव हुनेछ। जिज्ञासु युवाहरूको हातमा अधिक उपकरणहरू प्राप्त गर्न, एस्ट्रोबस इथियोपियाले चन्दा संकलन अभियान सुरु गरेको [6] छ।

एस्ट्रोबस इथियोपिया २०१७ भ्रमणको अवसरमा एक विद्यार्थी टेलिस्कोपबाट हेर्दै। फोटो कार्ला भोन मुन्चो, एस्ट्रोबसको सौजन्यबाट।

ऐतिहासिक अन्तरिक्ष विज्ञान प्रगतिहरू

यो समूह इथियोपियाको भू -उपग्रह अन्तरिक्षमा ऐतिहासिक प्रक्षेपणको घोषणा गरिएको दिन डिसेम्बर १७ मा राजधानी अदिस अबाबा फर्किनेछ। टोलीले अन्तरिक्ष विज्ञान तथा प्रविधिमा इथियोपियाले हासिल गरेको राष्ट्रिय प्रगति साथै एस्ट्रोबसको उपलब्धिहरू प्रचार गर्न त्यहाँ उपस्थित हुने योजना गरेको छ।

“हामी उक्त्त अवसरलाई सदुपयोग गर्न चाहन्छौं, अलि फरक ढंगको सोचले हामी कहिलेकाहीँ प्रणाली सुधार गर्न सक्छौं,” तादेसीले भने कि इथियोपियाको अन्तरिक्ष विज्ञान तथा प्रविधिमा पछिल्ला प्रगतिहरू अझ बढी प्रकाश पार्नु पर्छ। उदाहरणको लागि भौतिक विज्ञानमा यस वर्ष नोबेल पुरस्कार तारालाई परिक्रमा गर्ने एक एक्जोप्लानेटको खोज [7]का लागि प्रदान गरियो र आइएयुले इथियोपियालाई उक्त खगोलीय वस्तुको नामाङ्करण [8]का लागि आग्रह गर्‍यो।

“हामी देशभित्र जे भइरहेका देख्छौं, राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि हामी सबै कुरा कुनै न कुनै चीजबाट सुरु हुन्छ भन्छौं – एउटा विचार जुन हस्तान्तरण हुन्छ,” शाफीले भनिन्। “कुनै ठूलो कुरा होइन, कुनै पनि यस्तो विचार छैन जुन महत्त्वहीन होस्।”