- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

[स्रोतपुस्तक] इन्डिजिनस ल्याङ्वेजेज: जिरो टु डिजिटल — तपाईंको भाषालाई अनलाइनमा राख्नका लागि मार्गनिर्देशिका

श्रेणी : नागरिक मिडिया, Rising Voices

[स्रोतपुस्तक] इन्डिजिनस ल्याङ्वेजेज: जिरो टु डिजिटल — अ गाइड टु ब्रिङ योर ल्याङ्वेज अनलाइनको कभर। CC BY 4.0 लाइसेन्सअन्तर्गत प्रयोग गरिएको।

डिसेम्बर २०१९ मा ट्रान्सलेशन कमन्स [1]ले एउटा नयाँ स्रोतपुस्तक “इन्डिजिनस ल्याङ्वेजेज: जिरो टु डिजिटल — अ गाइड टु ब्रिङ योर ल्याङ्वेज अनलाइन” प्रकाशन गरेको छ। यसमा भाषाहरूलाई कसरी कम्प्युटर र मोबाइल उपकरणको पहुँचमा पुर्याउने प्रक्रिया वर्णन गरिएको छ।

यस मार्गनिर्देशिकाको प्राक्कथनका अनुसार यो निर्देशिका आदिवासी जनजाति समुदाय, प्रविधिविद लक्षित रहेको छ र यी सम्बन्धित संस्थाहरूलाई मद्दत गर्नका लागि प्रकाशित गरिएको हो। यसमा “अनलाइन सूचना आदान–प्रदान गर्न चाहने, ज्ञानवर्धक सामग्री तथा दस्तावेज आदान–प्रदान गर्न चाहने, तथा उनीहरूलाई अन्यथा उपलब्ध नहुने सफ्टवेयर र उपकरण प्रयोग गर्न चाहने” भाषा समुदायलाई सहयोग गर्नका लागि क्रमबद्ध प्रक्रिया प्रस्तुत गरिएको छ।

यो निर्देशिका दुई मुख्य खण्डहरूमा विभाजित छ, प्रत्येक भागमा रहेका फ्लोचार्टले भाषाको वर्तमान स्थिति मूल्यांकन गर्न मद्दत गर्दछ र पाठकलाई उनीहरूको भाषाका लागि उपलब्ध प्रविधि प्रयोग गर्ने कार्यको शुरुवात गर्न मद्दत गर्दछ ।

यस निर्देशिकामा शब्दावली तथा युनिकोड [2], फन्ट एनकोडिङ, भाषा कोड, तथा फन्टका लागि सन्दर्भ सामग्री पनि समावेश गरिएका छन्।

यो सम्पूर्ण निर्देशिका एट्रिब्युशन ४.० इन्टरनेशनल (CC BY 4.0 [3]) लाइसेन्सअन्तर्गत उपलब्ध गराइएको छ र ट्रान्सलेशन कमन्सको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ [4]