विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

दुर्लभ वाद्ययन्त्र संरक्षण गर्न संघर्ष गर्दै नेपालको एक मात्र लोकबाजा संग्रहालय

काठमाडौंको त्रिपुरेश्वर स्थित महादेव मन्दिर परिसरमा रहेको नेपाली लोकबाजा संग्रहालय। तस्वीर:लेखक। अनुमति लिएर प्रयोग गरिएको।

काठमाडौंको त्रिपुरेश्वर चोकमा दिनभर सवारी आवागमन भइरहँदा व्यस्त सडकबाट केही मिनटको पैदल दूरीमा सुनसान तथा शान्त त्रिपुरेश्वर महादेव मन्दिर रहेको छ, जुन काठमाडौं उपत्यकाको सबभन्दा ठूला मन्दिरहरूमध्ये एक हो। मन्दिर परिसरमा खासै चर्चामा नआएको संग्रहालय रहेको छ जहाँ नेपालको चारैतिरबाट संकलन गरिएका दुर्लभ नेपाली लोकबाजाहरू संग्रहित छन्। संग्रहालयको संकलन सांस्कृतिक महत्त्वको हुँदाहुँदै हाल यस संग्रहालय भविष्यमा समेत यसै स्थानमा सर्वसाधरणका लागि खुला राख्न कानुनी उल्झनमा फसेको छ। यदि संग्रहालयका संस्थापकले मुद्दा हारेमा संग्रहालय स्थानान्तरण गर्नु पर्ने हुन्छ।

राम प्रसाद कँडेल, नेपाली लोकबाजा संग्रहालयका संस्थापक तथा क्यूरेटर। तस्वीर: लेखक। अनुमति लिएर प्रयोग गरिएको।

संग्रहालयका संस्थापक तथा क्यूरेटर राम प्रसाद कँडेलले आफ्नी श्रीमती नन्दा शर्मासँग मिलेर १९९५ देखि लोकबाजा संकलन गर्दै आएका छन्। उनको उत्साहले उनलाई नेपालको सबै ७७ जिल्लाहरूमा पुर्याएको छ र हाल नेपालमा पाइने विभिन्न प्रकारका १३५० लोक संगीत वाद्ययन्त्रमध्ये उनले ६५० प्रकारका वाद्ययन्त्र संकलन गरेका छन्। उनी या त प्रयोगमा नरहेको पुराना वाद्ययन्त्र खरिद गर्दछन् या स्थानीय व्यक्तिहरूलाई नयाँ बनाइदिन आग्रह गर्दछन्। “हामी गाउँमा प्रयोग भइरहेका वाद्ययन्त्र कहिले पनि खरिद गर्दैनौं,” उनले ग्लोबल भोइसेजसँग कुरा गर्दै भने। “यदि हामीले प्रयोगमा आइरहेका वाद्ययन्त्र लियौं भने उनीहरूले के बजाउने, अनि परम्परा कसरी जोगिएला र?”

राम प्रसाद कँडेलद्वारा लिखित यस पुस्तकमा, हामी नेपालका ३६० भन्दा बढी वाद्ययन्त्र पाउछौं। पुस्तकमा वाद्ययन्त्रका उत्पत्ति, बनावट र कसरी हामी ती वाद्ययन्त्र बजाउन सक्छौं भन्ने बारेमा वर्णन गरिएको छ।

“हाम्रो लोकबाजा एकदम सरल छ,” उनले भने। “ती हाम्रै वरपर पाइने चीजबाट बनेका छन्, र उत्पन्न हुने संगीत झरनाको झर्झर, हावाको सुसाइ, चराचुरुङ्गीको चिरबिर र गाईवस्तु कराउँदाको जस्तो आवाज लगायत अन्यबाट प्रेरित छन्।” र प्रकृतिले वाद्ययन्त्रको आकारलाई पनि प्रभावित गर्दछ। उदाहरणका लागि केही वाद्ययन्त्र स्थानीय स्तरमा पाइने हर्रो , रुद्राक्ष , जौको दाना र गाईको पुच्छर जस्ता देखिन्छन्। काठमाडौंमा टुटी भएको कलात्मक धारो फेला परे पश्चात उस्तै आकृतिमा बनाइएको वाद्ययन्त्र हिँटी मंगाले टुटीवाल धारोबाट भाँडामा पानी भर्दाको जस्तो संगीत उत्पन्न गर्छ।

यद्यपि, संग्रहालयको स्थिति सन्तोषप्रद छैन। प्रदर्शित वाद्ययन्त्र दयनीय अवस्थामा छन् र संग्रहालयमा औँलामा गन्न सकिने आगन्तुकहरू मात्र पुग्दछन्, मुख्यतया गैर-पश्चिमी संस्कृतिका संगीत (एथ्नोम्यूजिकोलजी) अनुसन्धानकर्ताहरू। देशको सामाजिक, धार्मिक तथा सांस्कृतिक तथा सम्पदाको संरक्षण र सञ्चालनको जिम्मा लिने स्वतन्त्र संस्था गुठी संस्थानले कँडेललाई परिसर खाली गरिदिन भनेकाले चिन्ता थपिएको छ। जानकारीमा आए अनुसार, संस्थानले आफ्नो सम्पत्ति काठमाडौं विश्वविद्यालयलाई भाडामा दिने कुरामा सहमति जनाएको छ र उक्त विश्वविद्यालयले आफ्नो संगीत विभाग त्यहाँ राख्ने योजना बनाइरहेको छ। कँडेलले यस विरुद्ध काठमाडौं जिल्ला अदालतमा नालिश हालेका छन्।

कानुनी लडाइँ जारी रहँदै गर्दा, कँडेलको टोली नेपाली लोक संगीतको दस्तावेजीकरण र डिजिटलाइज गर्न व्यस्त छ। “एउटा गैर-सरकारी संस्था (एनजीओ) को रूपमा दर्ता गरिएको संग्रहालयलाई हामीले नेपाल सरकार वा त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण गर्ने इरादा लिएका छौं,” उनले भने। सजिलैसँग टुट फुट हुने वाद्ययन्त्र संरक्षण गर्ने संग्रहालय सार्न समय र पैसा चाहिन्छ, तर उनी संग्रहालयलाई स्थानान्तरण गर्नु नपर्ने कुरामा आशावादी छन्।

संग्रहालयमा प्रदर्शित केही दुर्लभ लोकबाजाका झलक यहाँ प्रस्तुत गरिएको छः

मुर्चुङ्गा। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

बिनायो। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

एक-तारे। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

जोर मुरली। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

बिन। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

धर्म डन्डी। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

मादल। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

नेकु। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

रनसिङ्गा। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

हिँटी मंगा। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

त्रि-ताल। तस्वीर: सच्चा कार्की। अनुमति लिएर प्रयोग गरिएको।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.