पितृसत्ताविरुद्ध लड्दै: भारतमा मस्लिम युवतीहरू फुटबल खेलेर ‘पुरुषको स्थान’ ओगट्दैछन्

“प्लेइङ्ग अगेन्स्ट प्याट्रियार्की: मुस्लिम गल्स ओन द ‘मेल स्पेस’ बाइ प्लेइङ्ग फुटबल” भिडियोबाट लिइएको स्क्रीनशट।

यो आलेख ग्रेस जोलिफले लेखेका हुन् र भारतअवस्थित पुरस्कार विजेता अन्तर्राष्ट्रिय सामुदायिक मिडिया संस्था भिडियो भोलन्टियर्समा प्रथम पल्ट प्रकाशित भएको थियो। ग्लोबल भ्वाइसेजसँगको साझेदारी अन्तर्गत यसको सम्पादित संस्करण यहाँ प्रस्तुत गरिएको छ।

मुस्लिम युवतीहरूको एक समूहले फुटबलर बन्ने सपना साँचेको छ। उनीहरू भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकाताको राजाबजार सुकुम्बासी क्षेत्रको सरकारी खेलमैदानमा प्रशिक्षणका लागि आउने गरेका छन्। उनीहरू ठुला मैदानमा धेरै दर्शकका सामु खेल्ने सपना देख्छन्। भिडियो भोलन्टियर्सका सामुदायिक संवाददाता देवगोपाल मोण्डलले केहि युवतीहरूसँग अन्तर्वार्ता लिएर एउटा भिडियो रिपोर्ट बनाएका छन्। यसमा यी युवतीहरूले कसरी खेलमार्फत लैंगिक मानदण्डलाई चुनौती दिइरहेका छन् भनी देखाइएको छ।

शाहीना जावेदले युवतीमात्र भएको यो फुटबल टीम खडा गरिन्। घरेलु हिंसा, दाइजो र बालविवाहविरुद्ध कार्य गर्ने रोशनी नामक गैरसरकारी संस्थाकी संस्थापक शाहीनाले विगत दश वर्षदेखि सामाजिक मानदण्डहरू भंग गर्दै आएकी छिन्। किशोरीहरूलाई सशक्त बनाउनुका साथै रोशनीले शिक्षामा महिलाको अधिकारबारे जनचेतनामूलक कार्यशाला पनि संचालन गर्ने गर्दछ।

यद्यपि खेलकुद जगतमा भारतीय महिलालाई धेरै पहिलादेखि भेदभाव गरिदैं आइएको छ, यी मुस्लिम युवतीहरू खेलकुद ‘पुरुषको मात्र स्थान’ हो भन्ने धारणाविरुद्ध लड्दैछन्। एक किशोरी मेहवी शिराका अनुसार सबैजना केटी भएको टिममा खेल्दा उनलाई केटीहरू पनि केटाहरू सरह सक्षम हुन्छन् भन्ने कुरा थाहा भयो:

We used to think boys can play football, but girls cannot, but then we realised that both of them can play. They are equal. If the boy can study more, a girl can also study more. If a boy can participate, a girl can also participate.

हामी सोच्थ्यौं केटाहरूले फुटबल खेल्न सक्छन् र केटीहरूले चाहि सक्दैनन्, तर पछि आएर थाहा भयो कि यो खेल दुवैले खेल्न सक्छन्। उनीहरू बराबर हुन्। यदि केटाले भाग लिन सक्छ भने केटीले पनि भाग लिन सक्छे।

भारतमा युवतीहरूको लागि खेलमा अघि बढ्नु सजिलो छैन। लिंगको आधारमा फरक पारिश्रमिक, महिला खेलाडीहरूतर्फ पक्षपातपूर्ण व्यवहार आदिमा लैंगिक भेदभाव देख्न सकिन्छ भने यौन टिकाटिप्पणी र दुव्र्यवहारका घटनाहरूको त कुरै नगरौं। यो असमानताले समाज तथा खेलकुद प्रणालीमा जरा गाडेका समस्याहरू दर्शाउछ। सुविधा, अवसर तथा सरकारबाट सहयोगको कमीले गर्दा पनि किशोरीहरूले खेलकुदप्रतिको आफ्ना सपना त्याग्न बाध्य हुन्छन्। तानी फातिमा भन्छिन्:

The ground does not belong to [the boys]. It's for all of us. We have the right to go there and play. They stop us from playing. We do not have a proper space to play which is affecting our game.

खेलमैदान केटाहरूको हैन। यो हामी सबैका लागि हो। हाम्रो त्यहाँ जाने र खेल्ने अधिकार छ। उनीहरू हामीलाई खेल्नबाट रोक्छन्। हामीसँग उपयुक्त खेल्ने स्थान छैन जसले गर्दा हाम्रो खेल प्रभावित हुन्छ।

भारतमा धेरैले खेलकुदमा लैंगिक समानता एउटा काल्पनिक आदर्श हो भन्ठाने पनि महिलाहरूले सामना गर्ने समस्याका बारेमा कुरा गर्न र तिनलाई समाधान गर्न मानिसहरूको चाहना र गतिविधि बढ्दो छ। खेल बदल अभियानअन्तर्गत भिडियो भोलन्टियर्सको भिडियो अधिकारकर्मीको (महिला र पुरुष बराबर सम्मिलित) सञ्जाल समानता र पितृसत्तात्मक मानदण्डलाई भंग गर्न समर्पित छ। महिलाहरूले कसरी पितृसत्ता भोग्छन्, सम्झौता गर्छन् र त्यसलाई चुनौती दिन्छन् जस्ता कुरा देखाउने तलको भिडियो कसरी भिडियो भोलन्टियर्सले ती कथाहरू भन्न चाहन्छ भन्ने उदाहरण हो।

सो भिडियो हेर्नुहोस्:

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.