- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

“हाम्रा भाषाहरू लोप भइरहेका होइनन्, नष्ट पारिँदैछन् ”

श्रेणी : मेक्सिको, आदिवासी, नागरिक मिडिया, भाषा, मानव अधिकार, द ब्रीज

 

यासनायाको भाषण र स्पेनिशमा अनुवाद गरिएको भाषणको भिडियो स्क्रीनशट।

यस वर्ष अन्तर्राष्ट्रिय आदिवासी भाषा वर्ष [1] उत्सवको रूपमा मनाउन सरकारी, शैक्षिक तथा नागरिक समाज संस्थाहरू व्यापक गतिविधिहरूका साथ लागिपरेका छन्। फेब्रुअरी २६ मा मेक्सिकोको कांग्रेसमा भएको यस्तो एउटा कार्यक्रममा मिक्से भाषाविद् तथा कार्यकर्ता यासनाया अगुइलरले सान लाजारोको प्रशासनिक भवनमा भाषाका बारेमा र ती जीवित रहने वा लोप हुने कारणहरूका बारेमा मिक्से (वा आयुक) भाषामा मन्तव्य व्यक्त गरिन्। यस ऐतिहासिक भाषणले मेक्सिकोको नाममा लुकेको गम्भीर आघात, अन्याय, लुटपाट र भेदभावलाई सशक्त रूपले उजागर गर्दछ।

तल लेखिएका शब्दहरू भाषणको स्पेनिश अनुवादको पुन: सम्पादित संस्करणको अनुवाद हुन्। मिक्सेमा लेखिएका मूल शब्दहरू यहाँ [2]फेला पार्न सकिन्छ।

नेवेम्प। पानीको भूमि। मिक्से।
गीयामी। पानी माथि। चिनातेको।
नाङी दा। पानीले घेरेको भूमि। माजातेको।
कुरिही। पानी भित्र। चिचिमेको।
नु कोयो। गरम बस्ती। मिक्सतेको।

यो उनीहरूले शहरको नाम राखेका थिए। त्यसपछि राज्य, मेक्सिकन राज्य: मेक्सिकोको नाम। नेवेम्पको पानीमा के छ?

म केही धारणा बारे चर्चा गर्न र प्रश्नको जवाफ दिन चाहन्छु। भाषा किन लोप हुँदैछन्? अहिले विश्वमा लगभग ६,००० भाषा बोलिन्छन्। संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयमा रहेको संकटमा परेका भाषाको सूचीले विश्वमा हरेक तीन महिनामा औसत एउटा भाषा लोप हुने देखाउँछ। युनेस्कोले आफ्नो रिपोर्टमा १०० वर्षमा कम्तिमा विश्वको आधा जति भाषा लोप हुनेछन् भनेको छ।

इतिहासमा यस्तो कहिल्यै भएको थिएन। यति धेरै भाषा कहिले पनि लोप भएका छैनन्। अहिले किन भाषा लोप भइरहेका छन्? करिब ३०० वर्ष पहिले विश्व विभाजित हुन थाल्यो र आन्तरिक सीमाना सिर्जना गर्यो: यो विभाजित रह्यो, कागजात बिना अन्य स्थानहरूमा यात्रा गर्न सम्भव थिएन। पृथ्वी लगभग २०० वटा देशहरूमा विभाजित रह्यो। हरेक देशको आफ्नै सरकार, आफ्नै झण्डा, आफैंले मात्र लाभ लिने मानसिकता र यस आन्तरिक एकरूपता निर्माण गर्नको लागि हरेक देशमा एकल भाषा लादियो। अन्य भाषालाई भेदभाव गरियो र यस विरुद्ध संघर्ष भयो।

२०० वर्ष पहिले, मेक्सिको भनिने अहिलेको राज्य स्थापित भयो। स्पेनले कब्जामा लिएको ३०० वर्षपछि, १८६२ मा जनसंख्याको ६५ प्रतिशतले आदिवासी भाषा बोल्दथिए। त्यसबेला स्पेनिश भाषा अल्पसंख्यकले बोल्ने एउटा भाषा थियो।

आज हामी आदिवासी मातृभाषा बोल्नेहरू ६.५ प्रतिशत छौं। स्पेनिश अब प्रचलित भाषा बनिसकेको छ। दुई शताब्दीअघि, नाहुत, माया, मेयो, टेपेहुवा, टेपेहुवानो, मिक्से र सबै आदिवासी भाषा बहुसंख्यकले बोल्दथिए, तर अहिले ती भाषा अल्पसंख्यकले बोल्ने भाषा बन्न पुगेका छन्।

ती कसरी अल्पसंख्यकले बोल्ने भाषा बन्न पुगे? के हामीले अचानक हाम्रा भाषाहरू त्याग्ने निर्णय गर्यौं? अवश्य होइन। यो सरकारले लिएको भाषा नीतिमा निर्भर रह्यो जसले एकल भाषा स्पेनिशको पक्षपोषण गर्यो र अन्य भाषालाई अस्तित्वविहीन बनायो। हाम्रा भाषाबाट छुटकारा पाउन हाम्रा पुर्खाहरूले आघात, सजाय र आफ्ना मातृभाषा बोल्दा भेदभावको सामना गरे।

“तपाईंको भाषा निरर्थक छ,” उनीहरूलाई बारम्बार भनिएको थियो। “मेक्सिकन नागरिक हुन, तपाईंले राष्ट्रिय भाषा, स्पेनिश बोल्नैपर्छ। आफ्नो मातृभाषा बोल्न बन्द गर्नुहोस्” उनीहरूले जोड दिँदै भन्थे।

खास गरी राज्यले विद्यालय पाठ्यक्रमदेखि नै हाम्रो भाषा नष्ट गर्ने लक्ष्य सहित जबरजस्ती हिस्पेनिक संस्कृति लाद्न भरमग्दुर प्रयास गर्यो।

यो मेक्सिको थियो जसले हाम्रो भाषा नष्ट पार्यो, यसको नामको पानीले हामीलाई नामेट पार्छ र चुप बनाउँछ। कानुन परिवर्तन भए तापनि उनीहरुले शिक्षा, स्वास्थ्य, र न्यायिक प्रणाली भित्र भेदभाव कायमै राखेका छन्।

हाम्रो भाषा लोप भइरहेका होइनन्, तिनलाई नष्ट पारिँदै छन्।

जब उनीहरुले हाम्रो भूमिको सम्मान गर्दैनन्, जब उनीहरु भूमि बिक्री गर्दछन् र स्वीकार गर्दछन्, जब उनीहरु प्रतिवाद गर्नेहरूलाई हत्या गर्दछन्, हाम्रो भाषा नष्ट पार्दछन्।

जब हाम्रो मातृभाषा बोल्ने व्यक्तिहरूको हत्या गरिन्छ, आवाज बन्द गरिन्छ वा बेपत्ता पारिन्छ भने कसरी हाम्रो भाषा समृद्ध हुन्छ?

जुन भूमिबाट हामीलाई हटाइएको छ, त्यहाँ हाम्रो अभिव्यक्ति कसरी कामयाबी हुन सक्छ?

मेरो समुदाय ओक्साकामा स्थित आयुला मिक्सेमा, पानी छैन। लगभग दुई वर्ष पहिले, सशस्त्र समूहहरूले हामीलाई मूलको पानी प्रयोग गर्न बञ्चित पारे जुन हामीले पहिलेदेखि उपभोग गर्दै आएका थियौं । हामीले यसलाई निन्दा र हाम्रो हितको लागि प्रदर्शन गरेका भएतापनि यो अन्याय आज पनि जारी छ। कानुनले शुद्ध पानी हरेक व्यक्तिको मानव अधिकार हो भनेतापनि यो सुविधा हाम्रो घरहरूमा छैन र विशेषत: बालबालिका तथा वृद्धवृद्धाहरूलाई पीडित बनाउँछ।

जमिन, पानी, र रूख यस्ता वस्तुहरू हुन् जसले हाम्रो भाषाको अस्तित्वलाई कायम राख्दछन्। हाम्रो भूमि माथिको लगातार आक्रमणले हाम्रो भाषालाई कसरी पुनर्जीवित गर्न सकिनेछ?

हाम्रा भाषा लोप भइरहेका होइनन्, तिनलाई नष्ट पारिँदैछन्। मेक्सिकन राज्यले तिनलाई नामेट पारेको छ। एकमात्र मानसिकता, एकमात्र संस्कृति, एकमात्र राज्य, जसको नाम पानी राखिए सँगै हाम्रो भाषालाई अस्तित्वविहीन पारिँदैछ।

मिक्से भाषामा भाषणको पूरा भिडियो तल हेर्न सकिन्छ: