ग्लोबल भ्वाइसेजको एशिया टीमले ताइवानको ताइपेइमा आउँदो जुन २ मा एशिया प्रशान्त मिडिया सम्मेलन आयोजना गर्दैछ। जिभी समुदाय र साझेदार संस्थाका आन्तरिक बैठकका साथै यस कार्यक्रमको अन्तिम दिन जुन २, २०१९ मा सार्वजनिक कन्फरेन्स आयोजना गरिनेछ। यस कन्फरेन्समा सहभागी हुन यहाँ दर्ता गर्नुहोस्।
ग्लोबल भ्वाइसेज एशिया प्रशान्त मिडिया सम्मेलनमा पत्रकार, ब्लगर, डिजिटल अधिकारकर्मी तथा अनुसन्धानकर्ताहरूको भेलाले एक अर्कासँग अनुभव र ज्ञान साट्नुका साथै नयाँ सम्बन्ध र साझेदारी गर्ने मौका जुराउनेछ। दुई विषयवस्तु: “एशिया प्रशान्तमा डिजिटल निरंकुशताको उदय र चुनौतीहरू” तथा “डिजिटल निरंकुशताप्रति नागरिकका प्रतिक्रिया”अन्तर्गत यस सम्मेलनले नयाँ तकनीकी राजनीतिक चुनौतीहरू तथा यसबाट इन्टरनेट अधिकार तथा एक्टिभिज्म, डिजिटल सुरक्षा तथा गोपनीयता, डिजिटल समावेशिता र विकासमा पर्न जाने असरलाई सम्बोधन गर्नेछ।
ताइवान फाउण्डेशन फर डेमोक्रेसी, ओपन टेक्नोलोजी फाउण्डेशन तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा ताइवानको सूचो विश्वविद्यालयको चाङ्ग फो-चुआन सेन्टर फर स्टडी अफ ह्युमन राइट्सले यो सम्मेलन सहआयोजना गर्दैछ।
अन्य सबै जिभी कार्यक्रमजस्तै ग्लोबल भ्वाइसेज एशिया प्रशान्त मिडिया सम्मेलनले विविध तथा सक्रिय विश्वव्यापी समुदायसँगको सिकाइ तथा साझेदारीका विशेष अवसर प्रदान गर्नेछ। सभास्थल, दर्ता, कार्यक्रम तथा अन्य विवरणका लागि सम्मेलनको वेबसाइट हेर्नुहोस् र यस मितिलाई सम्झिराख्नुहोस्!