- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

कोतदेभ्वारमा खेर जाने चकलेटबाट कोको बटर बनाउने दोस्रो उद्योगको शुरुवात

श्रेणी : उप-सहारा अफ्रीका, आइभोरी कोस्ट, अर्थशास्त्र र व्यापार, नागरिक मिडिया, महिला र लिङ्ग, वातावरण, विकास

अबिद्जान, कोतदेभ्वार। खेर जाने चकलेट पगालेर कोको बटर बनाउँदै एक आइभोरियन महिला। तस्वीर लेखकको अनुमतिमा प्रयोग गरिएको।

सम्पादकको नोट: सन् २०१८ डिसेम्बरमा डा जेस्लिन लेम्केले कोतदेभ्वारको भ्रमण गरिन् र खेर जाने चकलेटबाट कोको बटर बनाउने प्रक्रियाबारे जानकारी प्राप्त गरिन्। लेम्केले ग्लोबल भ्वाइसेजका लागि यस प्रक्रियाको शर्ट भिडियो बनाइन।

आठ सन्तानकी आमा, पैंतालीस वर्षीया फातिमा त्राओरे आफूले उत्पादन गरेको कोको बटर साबुन उत्पादकहरूलाई केही महिना बिराई बेच्छिन्। त्राओरे बस्ने कोतदेभ्वार विश्वको सबैभन्दा धेरै कोको बीन्स उत्पादन गर्ने देश हो।

मुख्य युरोपियन कम्पनीहरूले चकलेट बनाउनका लागि कोतदेभ्वारका फ्याक्ट्रीहरूसँग कोको बीन्स वा कोको बीन पेस्ट खरीद गर्छन्। तर आइभोरियनहरूले स्थानीयस्तरमा तेलयुक्त बीन्सको फरक उपयोग गर्छन्: उनीहरू खेर जाने चकलेटबाट कोको बटर बनाउछन् र त्यसलाई स्थानीय साबुन काबाक्रु बनाउन प्रयोग गर्छन्।

त्राओरे राजधानी अबिद्जान शहरमा बस्छिन्। उनी अबिद्जानको छिमेकी शहर युपोगोनमा रहेको एक चकलेट फ्याक्ट्रीबाट केही महिना बिराई कैंयौ टन खेर जाने चकलेट खरीद गर्छिन्।

कोको बटर बेच्दै त्राओरे। भिडियोबाट लिइएको स्क्रीनशट। लेखकको अनुमतिमा प्रयोग गरिएको।

फ्याक्ट्रीहरूले अधिकांश चकलेट पेस्ट युरोपका कम्पनीहरूलाई बेच्छन् र चकलेट राखिएका प्लास्टिक झोलाहरू मिल्काइदिन्छन्। त्राओरेले ती झोला टिपेर घर ल्याउछिन् र तीनमा टाँसिएका बास्नादार चकलेटका पेस्टलाई कोतरेर त्रिपालमा जम्मा गर्छिन्।

दाउराको प्रयोग गरी कैंयन् फलामे ड्रममा पानीसँगै ती चकलेटका पेस्टलाई उमाल्छिन् र कोको बटर बनाउछिन्। सन् २०१८ को डिसेम्बरमा लेम्केले त्राओरेसँगको अन्तर्वार्ता सम्मिलित यस प्रक्रियाको वर्णन गरिएको यो भिडियो बनाइन्।

कोको बटर यस क्षेत्रको लोकप्रिय तथा उपयोगी सामग्री हो। त्राओरे आफूले बनाएको बटर मुख्यतया काबाक्रु साबुन बनाउने महिलाहरूलाई बेच्छिन्। यो साबुन लुगा धुन तथा भान्साका भाँडाकुडा धुनका लागि उपयोगी र सस्तो सामग्रीका रूपमा स्थानीयस्तरमा प्रख्यात छ। असली काबाक्रु साबुन कडा र गोलो आकारको हुन्छ भने ताडीको तेल (पाम आयल) र कस्टिक सोडालाई पानीमा मिसाई बनाइन्छ।

[1]

काबाक्रु साबुन। तस्वीर: नारसिस इहुइ ब्ले। CC BY-SA 4.0

यी साबुन कोतदेभ्वारका धेरै शहरमा तथा छिमेकी मुलुक माली र बुरकिना फासोमा थोकमा वा प्रति गोटाका दरले बेच्न सकिन्छ। एउटा ठूलो साबुनको मूल्य २०० सिएफए फ्र्यांक (०.३४६ अमेरिकी डलर) पर्न आउछ। त्राओरेको कोकोबाट बनेको साबुन पाम आयलबाट बनेको काबाक्रु साबुनको आकर्षक विकल्पको रूपमा प्रस्तुत भएको छ।