- Global Voices नेपालीमा - https://ne.globalvoices.org -

दिजावा वोतुन्नोइ : एकुआना भाषालाई ब्युँताउन सघाउदै एक शर्ट एनिमेशन फिल्म

श्रेणी : ल्याटिन अमेरीका, भेनेजुएला, आदिवासी, कला र संस्कृति, नागरिक मिडिया, भाषा, साहित्य, Rising Voices
[1]

युट्युबबाट लिइएको एनिमेशनको स्क्रीनशट।

भेनेजुएला र ब्राजिलमा बस्ने आदिवासी एकुआना [2]माझ पुस्तौँपुस्तादेखि चलीआएको पौराणिक कथा दिजावा वोतुन्नोइलाई साउल कुयुयानी लोपेजले शर्ट एनिमेशन फिल्ममा ढालेका छन्।

यो फिल्मभरि पूर्णतया एकुआना भाषामा संवाद रहेको छ भने सबटाइटल स्पेनिशमा रहेको छ। यस फिल्ममा कैंयन् एकुआना अनुवादकर्ता तथा अनुसन्धानकर्ता सहभागी भए र फिल्मका विभिन्न चरित्रका लागि आफ्ना स्वर दिए। यस कथाका लेखक पनि निर्माण टोलीका सदस्य थिए।

यस पौराणिक कथाले एकुआनाहरू कसरी चमेराबाट मानिस भए भन्ने कुरा देखाएको छ। यसमा एकुआना कावाशिदिको कथा पनि रहेको छ। उनको पत्नीलाई दुष्ट आत्माले मार्छ र कावाशिदिलाई चुनौती दिंदै उनको बुद्धिको परिक्षा लिन्छ।

साउल कुयुयानी लोपेजले भेनेजुएलाको बोलिभार राज्यमा काउरा (अल्टो काउरा) नदीको किनारमा बस्ने सान्ता मारिया दे एरेबातो समुदायमाझ प्रचलित यस पौराणिक कथालाई जस्ताको त्यस्तै संकलन गरे।

भेनेजुएलाको सन् २०११ को जनगणनाअनुसार अमेजोनास र बोलिभार राज्यमा ७,९९७ एकुआना रहेका छन्। ब्राजिलको सन् २००० को जनगणनाअनुसार त्यहाँ ४३० आसपासका एकुआना [3] बसोबास गर्दै आएका छन्।

युनेस्को इन्टरएक्टिभ एटलस अफ द वल्र्डस् ल्याङ्ग्वेज इन डेन्जरले एकुआनालाई असुरक्षित भाषाका रूपमा वर्गीकरण [4] गरेको छ। एकुआना शिक्षकका अनुसार प्रायजसो अभिभावकले आफ्ना सन्तानलाई यो भाषा भावी पुस्ताका लागि हुने गरी सिकाउन जरुरी ठान्दैनन्। धेरैले आफ्ना बालबालिकालाई शहर लान्छन् ताकि उनीहरूले स्पेनिश प्रष्टसँग बोल्न सकून्। यस कारण उनीहरू आफ्नो पारिवारिक भाषा बिर्सन्छन्।

यसका लागि दिजावा वोतुन्नोइको एनिमेशन संस्करणले श्रव्यदृश्यमार्फत मौखिक रूपमा एकुआना भाषाको संरक्षणको लक्ष्य राखेको छ।

क्रिएजर क्रियटिभ स्टुडियोद्वारा निर्मित यस फिल्मका लागि इण्डिजिनस अर्गनाइजेशन अफ द कायु कुयुयानी बेसिन [5] तथा हम्बोल्ट फोरमले सहयोग गरेका थिए। यसको पहिलो स्क्रीनिङ जर्मनीको बर्लिनमा आयोजित हम्बोल्ट फोरममा जुलाई २०१७ मा गरिएको थियो।

यो फिल्म अक्टोबर २०१८ मा ग्वाटेमालामा आयोजित १३ औं इन्टरनेशनल फिल्म एण्ड कम्युनिकेशन फेस्टिवल अफ इण्डिजिनस/ नेटिभ पिपल्स (एफआइसीएमएवाइएबी) [6] को औपचारिक कार्यक्रमका लागि चुनिएको थियो। यसको पहिलो राष्ट्रिय प्रदर्शन इण्डिजिनस फिल्म फेस्टिवल अफ भेनेजुएलामा नोभेम्बर २०१८ मा भएको थियो।