सेल्भाराजा राजसेगरको भिडियो सम्मिलित यो आलेख पुरस्कार विजेता श्रीलंकाली नागरिक पत्रकारिताको वेबसाइट ग्राउण्डभ्युजमा प्रथम पटक प्रकाशित भएको थियो। ग्लोबल भ्वाइसेजसँगको साझेदारीअन्तर्गत त्यसको सम्पादित संस्करण यहाँ प्रस्तुत गरिएको छ।
३८ वर्षीया सरस्वती आफ्ना नानीहरूलाई स्कुल पठाउन बिहान ५:३० मा उठ्छिन् र त्यसपछि आफ्नो कामतिर लाग्छिन्।
सरस्वतीको कथाले मलाइयाहा (चियाबारी) तमिल समुदायका चुनौतीहरूमा प्रकाश पारेको छ। यो समुदाय श्रीलंकामा विगत १५० वर्षदेखि बस्दै र काम गर्दै आएको छ।
अभिभावकहरूलाई सरकारीे स्कुल खाजा योजना अनुरूप आफ्ना नानीहरूलाई चाहिने खाना पुर्याउन गाह्रो छ। उनीहरूले खाने रोटीमा पौष्टिकता लगभग शून्य छ तर उनीहरूले धेरैजसो जुटाउन सक्ने त्यति मात्र हो।
श्रीलंकाली चिया उद्योगले १० लाख बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ। ती मध्ये ५००,००० बढी चियाबारीका मजदुरहरू तमिल छन् जसमध्ये आधाभन्दा बढी महिला रहेका छन्। उनीहरू १९ औं शताब्दीमा बेलायती उपनिवेशका अधिकारीहरूले भारतबाट श्रीलंका ल्याएका सस्ता कामदारहरूका सन्तान हुन्।
चियाबारीका मजदुरहरूले आफ्नो दैनिक आधारभूत पारिश्रमिक बढाएर रू १००० (युएस डलर ५.५०) बनाउन वर्षौदेखि माग गरिरहेका छन्। ट्रेड युनियन तथा क्षेत्रीय चिया कम्पनीबीच हालै गरिएको सामूहिक पारिश्रमिक सम्झौताले दैनिक आधारभूत पारिश्रमिक रू ७०० (युएस डलर ३.९०) तोकेको छ। यस विरुद्ध चियाबारीका मजदुरहरूले व्यापक हडताल गरेका छन् तथा कोलम्बोमा एक्यबद्धता प्रदर्शन गरिएका छन्।
पढ्नुहोस्: श्रीलंकाली चियाबारी मजदुरहरू उचित पारिश्रमिकको माग गर्दै सडक प्रदर्शनमा
क्षेत्रीय चिया कम्पनीहरूका अनुसार रू १००० (युएस डलर ५.५०) प्रतिदिन दिन असम्भव छ। सिलोन चिया श्रीलंकाको प्रमुख निर्यातमध्ये एक भए तापनि यस उद्योगले प्रचुर मात्रामाा नोकसानी बेहोरेको छ जसका कारणमध्ये जलवायु परिवर्तन पनि एक रहेको छ। यद्यपि सरस्वतीको कथाले उनले कमाएको पैसाले उनको परिवार खर्च धान्न पनि नपुग्ने देखाउँछ। र, चियाबारी मजदुरका नयाँ पुस्ता लगातार काम छोड्न तथा अन्य काम खोज्न बाध्य छन्।
सो भिडियो हेर्नुहोस्:
சரஸ்வதியின் ஒருநாள் கதை maatram.org/?p=7508 #MalayagaTamil
Posted by Maatram on Tuesday, February 5, 2019