
सन् १९२९ ताकाको जापानको क्योटो। “१९२९ – अर्ली साउण्ड फूटेज अफ क्योटो, जापान” बाट लिइएको स्क्रीनक्याप। गाइ जोन्सद्वारा युट्युबमा सम्पादन तथा अपलोड गरिएको।
एक लोकप्रिय युट्युब च्यानलले पुनर्नवीकरण गरिएका सन् १९२९ ताकाको क्योटोका न्यूजरील फूटेज अपलोड गरेको छ। यस फिल्मको उल्लेखनीय पक्ष त्यस बेलाको जापानी शहरी जनजीवनको वास्तविक साउण्ड फूटेज समेटिनु हो। यस बेलाका न्यूजरील प्राय गरेर मूक हुने गरेका छन्।
यस न्यूजरीलमा स्पष्ट ध्वनिका साथ बजारका दृश्य, एक शिन्टो तीर्थस्थलमा आयोजित समारोह तथा एक युवतीले परम्परागत वाद्यवादन बजाएको लगायतका फूटेज समेटिएका छन्।
भिडियोग्राफर गाइ जोन्स ठ्याक्कै हालको भिडियो स्ट्याण्डर्डसँग दाँज्न सकिने गरी शदियौं पुराना फिल्महरू सम्पादन गर्छन्। यो फिल्म उनले पुनर्नवीकरण गरी युट्युबमा अपलोड गरेका दर्जनौं न्यूजरीलमध्ये एक हो।
प्राय गरेर जोन्सले ती फिल्मका वास्तविक गतिलाई कम गरी शहरका गल्लीहरूमा देखिने क्रियाकलापसँग मिल्ने वरपरका ध्वनि थप्छन् जस्तो कि उनले पुनर्नवीकरण गरेका करीब शय वर्ष अघिको यो टोक्योको न्यूजरील फूटेज।
त्यस बेलाको अद्भूत ध्वनि सन् १९२९ ताकाको अत्याधुनिक मुभीटोन क्यामेरामार्फत रेकर्ड गरिएको थियो। मुभीटोन साउण्ड सिस्टम चलचित्रका लागि ध्वनि रेकर्ड गर्ने अप्टिकल साउण्ड अन फिल्म विधि हो जसले ध्वनि तथा तस्वीरलाई समकालीन गराउँछ।
यो फूटेज फक्स मुभीटोन न्यूज कलेक्सनको कार्यवाहक युुनिभर्सिटी अफ साउथ क्यारोलाइना मुभिङ इमेज रिसर्च कलेक्सन्स (एमआइआरसी) बाट लिइएको हो।
नोट: डान स्ट्रीब्ललाई धन्यवाद दिनुका साथै यस न्यूजरील फूटेजको स्रोत एमआइआरसी भएको खुलाउन यस लेखलाई अद्यावधिक गरिएको छ।