इन्डोनेसियाका आदिवासी पपुअनका संघर्ष तथा सफलता प्रदर्शन गर्दै एक नौलो फिल्म फेस्टिवल

दोश्रो पपुअन स्वतन्त्र फिल्म फेस्टिवलका केही सहभागीहरू। श्रोत: पपुअन भ्वाइसेजको फेसबुक पेज, अनुमतिमा प्रयोग गरिएको।

पपुअन भ्वाइसेज नामक भिडियोमार्फत पैरवी गर्ने संस्थाले सन् २०१७ देखि दुई स्वतन्त्र फिल्म फेस्टिवल आयोजना गरेको छ। यी फेस्टिवलहरूले इन्डोनेसियाको दक्षिणपूर्वी प्रान्तका आदिवासी पपुअनका जीवनी तथा संघर्षको प्रचार प्रसार गर्छन्।

सन् २०१५ मा ग्लोबल भ्वाइसेजले पपुअन भ्वाइसेजलाई एनगेज मिडियासँगको परियोजनाको रूपमा प्रस्तुत गरेको थियो। त्यही वर्ष पपुअन भ्वाइसेजले आफूलाई एक स्वतन्त्र संस्थाको रूपमा स्थापना गर्यो र हाल छ पपुअन क्षेत्रमा यसको उपस्थिति रहेको छ।

यस देशको सबभन्दा स्रोतको धनी तर नगदले गरीब यस क्षेत्रमा अन्य क्षेत्रबाट इन्डोनेसियनहरू ओइरिएर यहाँका आदिवासी पपुअनहरूलाई विस्थापित गरेका छन्। केही पपुअनले यसलाई अवैध अधिग्रहण गरिएको आरोप लगाएका छन् र इन्डोनेसियाबाट स्वतन्त्र हुनुपर्ने माग गरेका छन्।

इन्डोनेसियाको पपुआ तथा पश्चिम पपुआ प्रान्तको नक्शा। तस्वीर: गूगलम्याप।

यसै सन्दर्भमा, पपुआमा आयोजित प्रथम फिल्म महोत्सवको उद्देश्य यस प्रकार रहेको थियो:

to highlight the issues of the indigenous people of Papua through documentary films as well as to build public awareness of the important issues impacting them.

डकुमेन्ट्री फिल्मका माध्यमले पपुआका आदिवासीहरूका सवालहरूमा प्रकाश पार्ने तथा जनमानसलाई प्रभाव पार्ने महत्वपूर्ण सवालहरूका बारे जनचेतना अभिवृद्धि गर्ने।

यस फेस्टिवलका लागि लगभग ३० फिल्म पेश गरिएका थिए, ५० जनाले फेस्टिवल अगाडिका उत्पादन कार्यशालाहरूमा भाग लिएका थिए तथा १० फिल्म युवालक्षित कार्यशाला मार्फत निर्माण गरिएका थिए।

पहिलो सफलताबाट हौसिएर यस संस्थाले गत अगष्ट २०१८ मा १००० भन्दा बढी दर्शकको उपस्थितिमा दोश्रो फिल्म फेस्टिवलको आयोजना गर्यो। यस पालि पपुआका विभिन्न क्षेत्रबाट १९ वटा फिल्महरू पेश गरिएका थिए

पपुअन भ्वाइसेज समुदायद्वारा कीरोम रिजेनसी पपुआमा (जयपुरामा गत साता आयोजना गरिएको भन्दा पछि) आयोजित आज फेस्टिवल अगाडिको उत्पादन कार्यशालाको पहिलो दिन। यी कार्यशालाहरूले स्थानीय फिल्मनिर्माताहरूलाई #FestivalFilmsPapua2018 का लागि फिल्म निर्माण तथा पेश गर्न हौस्याएको छ। थप जानकारीको लागि प्रतिक्षा गर्नुहोस्।

एक फिल्म फेस्टिवल सहभागी मेकी यीमोका अनुसार त्यहाँ प्रदर्शित फिल्महरूले आदिवासी पपुअन जग्गाधनी तथा खानी र ताडीको खेतीका लागि जग्गा कब्जा गर्ने लगानीकर्ताबीचको विवादका बारेमा पर्याप्त जानकारी दिएका थिए।

एक इन्डोनेसियन गैरसरकारी संस्था पुसाकाका निर्देशक फ्र्यांकी स्याम्पर्यान्तेले यस फिल्म फेस्टिवलको महत्वबारे भने:

In Papua, there are very limited options to obtain information by ordinary people because information is controlled by certain dominant groups. The information in these films will be very useful for many people at the local, national and international levels.

पपुआमा आम मानिसका लागि जानकारी प्राप्त गर्ने सीमित विकल्प छन् किनकि केही प्रभावशाली समूहले जानकारीहरू आफ्ना नियन्त्रणमा राख्छन्। यी फिल्महरूले दिने जानकारी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धेरैका लागि उपयोगी हुनेछ।

यी दुवै फेस्टिवलका दौरान प्रदर्शित धेरै फिल्महरूले पपुअन नागरिकका दैनिक संघर्षका कथा भन्छन्।

उदाहरणका लागि सन् २०१७ को उत्कृष्ट फिल्म पुरस्कार विजेता ‘मोन्स ट्रक’ इम्यानुएल हिन्दोमले निर्देशन गरेको डकुमेन्ट्री हो र यसले कीरोम रिजेन्सीमा रहेको ताडीको खेतीमा काम गर्ने पूर्व ट्रक चालकको कथा समेटेको छ। उनले राजधानी जयपुराका नयाँ बजारसम्म तरकारी ओसारेर पपुअन महिला विक्रेता (पपुअनमा “मामा-मामा”) लाई नयाँ आयस्रोत दिलाउन मद्दत गर्ने तरिका पत्ता लगाउछन्:

‘द केयरटेकर अफ इसिओ हिल फरेष्ट’ अर्को उत्प्रेरक छोटो डकुमेन्ट्री हो जसले अलेक्स वाइसिमोनको कथा भन्छ। उनले पपुआको एक हराभरा जंगललाई पर्यटकका लागि एक प्रख्यात चरा अवलोकन गर्ने थलोमा रूपान्तरण गरेका छन्। यस फिल्मलाई अस्रिदा एलिजाबेथ, हारुन रुम्बारार, बर्नार्ड कोटेन, योसेफ लेभी आदिले निर्देशन गरेका छन्।

सन् २०११ देखि पपुअन भ्वाइसेज र एनगेज मिडियाले ५० भन्दा बढी फिल्मनिर्मातालाई प्रशिक्षण दिएका छन् र लगभग १०० वटा जति फिल्महरू निर्माण गरिएका छन्। यी फिल्महरू इन्डोनेसिया भित्र र बाहिर गरी ५० भन्दा बढी ठाउँमा प्रदर्शन गरिएका छन्।

कुराकानी शुरू गर्नुहोस्

Authors, please लग इन गर्नुहोस् »

निर्देशिका

  • सबै कमेन्टहरू सञ्चालकले समीक्षा गर्नेछन्. एक पटकभन्दा बढि कमेन्ट पेश नगर्नुहोस्, अन्यथा त्यसलाई स्पाम ठानिनेछ.
  • कृपया अरुलाई सम्मान गर्नुहोस्. अभद्र, अश्लील तथा व्यक्तिगत लाञ्छनायुक्त कमेन्टहरू प्रकाशित हुनेछैनन्.